October 28, 2024

मौसमविद प्रा. डा. विदुरप्रसाद उपाध्याय


प्रा. डा. विदुरप्रसाद उपाध्याय
प्रा. डा. विदुरप्रसाद उपाध्याय

संसारमा कोही मान्छे सफल छन् कोही असफल छन् । कोहीको जीवन सानदार छ कोहीको जीवन बेकार छ । यसका पछाडि केही वैज्ञानिक र केही मनोवैज्ञानिक कारणहरु हुन्छन् । आफू डुबेर अरुलाई उकास्न पनि भएन अरुलाई डुवाएर आफू उकासिनु झनै भएन । अरुलाई पनि उकास्ने र आफू पनि उक्लिदै एउटा उचाई प्राप्त गर्ने मान्छे नै बास्तवमा सफल मान्छे हो । मपाइत्वले फूलेका ठूला मान्छेहरु यत्रतत्र भेटिन्छ यद्यपि असल मान्छे भेटिनु भनेको दुर्लभ जस्तै भइसक्यो । अहंकारले फूल्ने मान्छेहरुको भीडमा ‘शान्त समुन्द्र’ जस्ता विद्धान भेटिन्छन । मान्छेको जीन्दगी आफैमा एउटा ‘इतिहास’ हो । हार्नेहरुको लेखिदैन इतिहास । जस्ले जित्छ उसैको लेखिने इतिहासको पानामा अर्काे एउटा नाम थपिएको छ । अध्ययन अध्यापन गराउने थलो त्रिभुभवन विश्वविद्यालय, विश्वविद्यलाय अनुदान आयोग, जल तथा शक्ति आयोगका सल्लाहकार समेत रहिसक्नुभएका प्रा. डा. विदुर प्रसाद उपाध्याय हाल अनुसन्धान गर्ने थलो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)मा सेवा आयोगका अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।

जन्म–शिक्षा–दिक्षा
१० अगस्त १९४८ अर्थात २००५ सालमा महोत्तरी जिल्लाको मनरा भन्ने ठाँउमा आमा यज्ञकुमारी देवी र पिता गंगाप्रसाद उपाध्यायको कोखबाट मेरो जन्म भएको । म परिवारको कान्छो छोरा थिए । नाबालकै छदा आमा गुमाए । अढाइ वर्षको हुँदैमा माताको देहबसान भएको हुँदा स्मरणमा आमाको सम्झना छैन । भावुक हुदै उपाध्ययाले सुनाउनुभयो ‘१९ बर्षको हुँदा बुवा वित्नुभयो ।’ र काँधमा जिम्मेवारीका पहाडहरु आइलागे । हारेर त कहाँ नै पुग्थ्यो र जिन्दगी जे जस्तो भए पनि अगाडि वढ्नु नै पर्दथ्यो । गाँउको मिडिल स्कूलबाट ६ कक्षासम्मको शिक्षा हासिल गरियो । त्यो समय अहिले जस्तो नेपाली भाषको पाठ्यक्रम कहाँ पढ्न पाउनु ? अहिलेका विद्यार्थीहरु त निकै भाग्यमानी छन । हिन्दी भाषाकै पाठ्यक्रमको अध्ययन गर्नुपर्दथ्यो । बालापनको त्यो क्षणले अहिले पनि मिठो झोका हानेर जान्छ ‘नेपाल यात्रा भन्ने पुस्तक थियो । हाम्रा देशका प्रधानमन्त्रीको नाम जवहरलाल नेहरु, प्रधानमन्त्रीको नाम डा. राजेन्द्र प्रसाद हो भन्दै घोक्नुपर्दथ्यो । पाठ्यक्रम सबै हिन्दीमा हुन्थ्यो । यस्तै पाठ्यक्रम पढेर हुर्किएको हो म । नेपालको बारेमा पाठ्यक्रम नै थिएन भन्दा पनि फरक नपर्ला । भारतीय पैसाको बोलवोला थियो । बसाई नेपालको थियो तर बोलबोला भारतकै । नेपाली विषयका शिक्षक मात्रै नेपालका अरु सबै शिक्षकहरु भारतबाट ल्याइएका हुन्थे । ६ कक्षा सम्मको शिक्षा हासिल गरेपछि वाँकी अध्ययनका लागि मेरो पाइलाहरु जनकपुर तिर मोडियो । पाठ्यक्रम उही हिन्दी भाषामै थिए । केवल स्थान मात्रै परिवर्तन भयो अरु परिवर्तन केही भएन ।

म ऐच्छिक नेपाली लिन चाहन्थे तर त्यहाँका शिक्षकले गाली गरेको आज पनि सम्झन्छु भन्दथे ‘तिमी यहाँबाट जयनगर जाउ ‘खुर्सानी’ भन कसैले बुझ्दैन ‘मिर्च’ भन सबैले बुझिहाल्छन । काठमाडौं त तिमी कहिले काँही जाने न हो खुर्सानी भन्न नआएर तिमीलाई केही फरक पर्दैन तर मिर्च बोल्न आएन भने तिमीलाई नै अप्ठ्यारो पर्दछ ।’ उनले मलाई ऐच्छिक नेपाली नलिनका लागि आग्रह गरको थिए यद्यपि मैले ऐच्छिक नेपाली विषय नै रोजे । र, त्यहीका स्कूलबाट २०२० सालमा एसएलसी उत्र्तिण भए । बाल्यकालमा मेरो स्वभाव निकै अस्थिर खालको थियो एकै ठाँउमा थिर भएर बस्नै नसक्ने । टेवलटेनिस, फुटवल, भलिबल सबै खेल्नुपर्दथ्यो । पढाइमा मध्यम थिए । झ्यालका डन्डी उप्काएर सिनेमा हेर्ने गएको हिजै जस्तो लाग्दछ ।

त्रिचन्द्रसँगको साइनो
एसएलसी ०२० सालमा उत्र्तिण गरेपछि उच्च शिक्षाका लागि यात्रा राजधानी खाल्डोमा मोडियो । तीनवटा बस फेरेर काठमाडौं आइयो । आइएस्सी अध्ययनका लागि त्रिचन्द्रमा भर्ना भए । सुरेशराज शर्मा, सुरेशराज चालिसे, शंकरप्रसाद शर्मा, जगदिशमान प्रधान, जीडि पन्त, माधवप्रसाद शर्मा लगायतका प्रध्यापकहरुको चेला हुने सौभाग्य मिल्यो । ०२२ सालमा विद्यार्थी आन्दोलन चल्यो । राजनीति बारे केही थाहा थिएन । राजनीति के हो ? राजनीतिले के गर्छ केही थाहा थिएन । थाहा नहुँदा नहुदै पनि लहै लहैमा होमिएको विद्यार्थी आन्दोलनमा होमिएको असर चाही पढाइमा देखा पर्यो । यही कारण आइएस्सीमा खासै सन्तोषजनक नतिजा ल्याउन सकिएन ।

पटनातिरको पाइला
बुवा विरामी भइरहने, काठमाडौं बसेर उहाँलाई पटना हस्पिटल ल्याउने लैजाने गरिरहन असहज हुनथाल्यो । त्यहीकारण स्नातक तहको अध्ययनका लागि यात्रा त्रिचन्द्र कलेजबाट पटनातर्फ मोडियो । १९ बर्षको उमेरमा बुवाको निधन भयो । म’मा केही परिवर्तन धेरै जिम्मेवारीहरु आए । बाच्नका लागि संर्घष भनेझै बाकी उच्च शिक्षाको अध्ययनका लागि समेत मैले काम गर्नुपर्ने भयो । २४ सालबाट २८ सालसम्म करिव चार वर्ष अध्यापन गराइयो । त्रिविविमा विज्ञान सकाय भारतको पटना विश्वविद्यालयबाटै भित्रिएको हो । विहार विश्वविद्यालय पनि भर्खरै पटना विश्वविद्यालयबाट छुटेर आएको थियो । यता पनि विएस्सी रसायनशास्त्र, भौतिकशास्त्रमा गणित विषय हुन्थ्यो । जुन पुस्तक यहाँ पढिन्थ्यो त्यही पुस्तक त्यहाँ पनि पढिन्थ्यो । यी सबै पटना विश्वविद्यालयका सिष्टर विश्वविद्यलायका रुपमा खडा भएका हुन । विएस्सीमा राम्रै नतिजा ल्याए । पटनाबाट विएस्सीको अध्ययन पूरा गरि सकेपछि फेरी एमएस्सी अध्ययनका लागि काठमाडौं भित्रिए ।

विश्वविद्यालयसँग मितेरी
आइएस्सी त्रिचन्द्रबाट, विएस्सी पटना विश्वविद्यालयबाट उत्र्तिण गरिए पछि मनले मानेन । मनले घिर्सादै घिर्सादै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर तिर डो¥यायो । सन् १९७२ मा एमएस्सी अध्ययन गर्ने थाले । सातौ व्याज थिए । विश्वविद्यालयको शिक्षा सकिएको बर्ष नै विवाह बन्धनमा वाधिए । श्रीमतिले म्थाथम्थाटिक्समा पिएचडी गरिन मैले फिजिक्समा । पछि पोष्ट ग्रयाजुएड इन मिटिरोलजी गरे । मिटिरोलजीमा मैले पिएचडी गरे । उनले म्थाथम्याटिक्समा पिएचडी गर्ने सँगसँगै जस्तो भयो । नयाँ विषय भएकोले मैले छिट्टै नियुक्ती पाए तर उनको केही ढिला भयो । उनी पनि डीन भएर भर्खरै रिटायर्ड भइन । फिजिक्सबाट मिटिरोलजीमा सरेपछि चार वर्ष मैले मिटिरोलजी(मौसम विज्ञान) पढाए ।

सात वर्ष यता अध्यापन गराएपछि पिएचडी गर्नका लागि ३७ सालमा इन्डिया गएको थिए । प्रोफेसर भी. पी. सुव्रमिन्यमको मातहतमा रहेर तीन वर्षमा पिएचडी सकाएर स्वदेश फर्किए । अहिले त धेरै विश्वविद्यालयहरुमा जलवायु विज्ञान पढाइ हुन थालेको छ किनकी अहिले यस्को ‘स्कोप’ बढ्दै गएको छ । बाख्राले घाँस खाए पनि नखाए पनि ‘क्लाइमेट चेन्ज’को असर भन्न थालेका छौं । यसै बाट प्रष्ट हुन्छ मौसम विज्ञानको महत्व । त्यो समय आनन्द विश्वविद्यालयमा मात्रै मिटिरोेलोजी पढाइहुन्थ्यो ।

त्रिचन्द्र कलेजमा हामी मौसम विज्ञान पढाइरहेका थियौं अन्य बिषयहरुमा एमएस्सीको पढाइ सुरु भए पछि मिटिरोेलोजी विषयको एमएस्सी सुरु भएन । म विभागिय प्रमुख थिए त्यतिखेर देवेन्द्र गिरी भिसिको पिए हुनुहुन्थ्यो । भिसी कार्यालय तीनताक त्रिपुरेश्वरमा थियो । भिसी समक्ष यो कुरा राखे पछि उहाँले पाठ्यक्रम बनाउनका लागि आग्रह गर्नुभयो । त्यस समय म र दिपक कान्त राजउपाध्याय गरि दुई जना मात्रै थियौं त्यो विभागमा । भौतिकशास्त्र भन्दा यो अलि व्यवहारिक तर्फ केन्द्रित भयो । मौसम पूर्वानुमान छुट्टै विषय भयो । मौसमका समग्र विषयबस्तुलाई समेटेर कोर्स निर्माण गर्यौं । यसैलाई परिमार्जन गरेर मौसम विज्ञानमा एमएस्सी तह खोल्ने निर्णय भयो । खोल्ने त भनियो तर कहाँ खोल्ने ? उहाँहरुले गान्धीभवन देखाइदिनुभयो तर त्यहाँ भूगर्भ विभाग पहिल्यै देखि नै खडा थियो । धेरै पछि मात्रै हामी कीर्तिपुर सरेका हौं । मौसम विभागको हेड अफ दि डिर्पाटमेन्ट भएर रहदा भवनहरुको निर्माण गर्ने काम सम्पन्न भयो । एमएस्सी र पिएचडी प्रोगाम मेरै ‘इनिसेसनमा’ मा सुरु भएका हुन । मेरै अण्डरमा रहेर दुइ जना विद्यार्थीले पिएचडी गरिसकेका छन् । लोचन देवकोटा (जो एचओडी हुनुहुन्छ) र श्रीकृष्ण अधिकारी नार्कमा अफिसर भएर रिटायर्ड भइसक्नुभयो । एचओडी भएर रहदै गर्दा मलाई सरकारी निर्णयबाटै विश्वविद्यालय अनुदान आयोग तिर तानियो ।

‘पोष्ट डग’ जस्तो अनुदान आयोग
मेरो लागी नौलो स्थान थियो विश्वविद्यालय अनुदान आयोग । पढाइरहेका मान्छेलाई फ्याट्ट अनुदानमा आयोगमा लगियो । त्यहाँ रहदा केही उल्लेख्य काम गरियो । हाइएर एजुकेसन प्रोग्राम मेरै पालामा आएको थियो । त्यो प्रोजेक्ट सिर्धै आफैलाई आओस अरुलाई नजाओस भन्ने त्रिविवि चाहन्थ्यो तर विश्वविद्यालय अनुदान सबै विश्वविद्यालयहरुको अन्नदाता । पहिला त एउटै विश्वविद्यालय थियो त्रिभुवन विश्वविद्यालय । अहिले त विश्वविद्यालयको संख्या १० वटा भन्दा माथि पुगिसेकको छ । पोखरा, लुम्विनी,दकाठमाडौं, पूर्वाञ्चल लगायतको विश्वविद्यालय त्यस समयमा जन्मिसकेका थिए । सबै विश्वविद्यालय छन भने कसैलाई काखा कसैलाई पाखा गर्न त भएन । राजाको प्रत्यक्ष शासनकाल लागु भइसकेको थियो । मेरो एउटै अडान थियो त्यो प्रोजेक्ट विश्वविद्यालय अनुदान आयोगमा आउनुपर्दछ । विश्व बैंकबाट ६० मिलियन डलरको प्रोजेक्ट आउदै छ र त्रिविविको आफ्नै अत्तो थापेर बसेको थियो ।

वासिङ्गन डिसिमा म आफैं गएको थिए प्रोजेक्टमा साइन गर्न । विश्वविद्यालय अनुदान आयोगलाई म जानु भन्दा अगाडि पोष्ट अफिस डग भनिन्थ्यो । कारण के भने नेपाल सरकारबाट आएको पैसा थुपार्ने र बाड्ने काम मात्रै गर्दै आइरहेको थियो । त्यो भन्दा अरु केही कामै नहुने । तर विधानमा चाही अन्तर्राष्ट्रिय दाताहरुसँग सम्बन्ध बढाएर अनुदान ल्याउने र विश्वविद्यालयलाई उल्लेख थियो । त्यसैले मैले यो पोष्ट डग अफिस होइन र बनाउनुहुदैन भनेर काम गर्ने थाले । गरे के हुदैन र ? हामी कहाँ त प्रयास सम्म पनि गरिदैन । मेरै कार्यकालमा इसिमोडले अनुदान आयोगलाई केही अनुदान दिएको थियो । हाम्रो उच्च माध्यमिक शिक्षा कोल्याप्स भइरहेको छ । यो देखेर निकै दुख लाग्छ मन कुडिन्छ यहाँ त दुखेको मनमा नुन चुक छर्नेहरु मात्रै भेटिन्छन । त्रिविविबाट सम्बन्धन पाएका कलेजहरुका लागि दिइएको पैसा तलव भत्तामै सकिने । कति सम्म पीडा छ भने चक डष्टर किन्ने पैसा समेत नभएर बेहाल । अहिले त त्रिविविलाई अनुगमन गर्ने कोही भएन । विद्यार्थिले जे भन्यो क्याम्पस चिफले त्यही गर्ने । त्रिविविसँग यति धेरै विद्यार्थी, यति धेरै भौतिक पूर्वाधार छन् । तै पनि ती किन कोल्याम्पस भइरहेका छन ? यस तर्फ कस्ले सोच्ने ? कस्ले चिन्ता गर्ने ? कस्लाई छ र फुर्सद ? तीन वर्ष अनुदान आयोगमा बिताएपछि फेरि मन्त्रालय तिर तानिए । जल तथा शक्ति आयोग हाल जल तथा उर्जा आयोग बनेको छ यसैको सल्लाहाकार बनेर चार वर्ष बसे । तीन वर्ष पछाडि म पुन त्रिविविमा नै फर्किए । त्रिविविमा आउने जाने मेरो क्रम चलिनै रह्यो । मौसम विज्ञानको हेड अफ दि डिर्पाटमेन्ट, विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष, जल तथा तथा उर्जा आयोगको सल्लाहकार हुदै पुन त्रिविविमै फर्किएर म रिटायर्ड भए

रिटायर्डपछिको जीवन
शैक्षिक क्षेत्रकाट म बाहिर जानै सक्दिन । मेरो नशा नशामा शिक्षा प्रतिको चिन्ता मात्रै छ । सायद यही पृष्ठभूमीबाट आएको कारणले पनि हुनसक्दछ शैक्षिक क्षेत्रको हितका लागि केही गर्नुपर्दछ भन्ने उदेश्यले यही बीचमा नेशनल इन्सिच्युड अफ हेल्थ साइन्स, स्तुपा सामुदायिक अस्पताल लगायतको अध्यक्षको रुपमा कार्यरत छु । लुम्बिनी एकेडेमिक कलेज, मदन भण्डारी मेमोरियल कलेजको बोर्ड मेम्वरको रुपमा कार्यरत छु । त्रिविविबाट रिटाएर्ड भएको हुँ तर टार्यड त भएको छैन नि । उनको वूढ्यौली जोश कायमै छ ।

यसरी आइपुगे नाष्टमा
म त्यतिखेर युएसएमा थिए । युएस जानु केही दिन अगाडि केही साथीहरुले नाष्टमा अध्यक्ष बनेर आए हुन्छ भन्ने आशय व्यक्त गरेका थिए । जबाफमा ‘म लबिङ गर्नेका लागि जान्न । ल जाउ भन्छन भने जान तयार छु । दिए पनि ठीकै हुन्छ नदिए पनि ठीकै’ भनेको थिए । साथीहरुले बायोडाटा मागेका थिए । बायोडाटा दिएर युएस गएको थिए उतै हुँदा थाहा पाए मलाई यता नियुक्त गरिएको रहेछ । आउ कि नआउ भन्ने लागिरहेको थियो रिटायर्ड लाइफमा घर बसिरहनुभन्दा यता आए साइन्टिसहरुसँग भेटघाट हुन्छ भन्ने लाग्यो र सेवा आयोगको अध्यक्षको रुपमा नाष्टमा भित्रिए । २ बर्ष वितिसकेको छ । यहाँ पनि क्लाइमेट चेन्जको, पोलिमर, नानो टेक्नोलोजी सोलार इनर्जी लगायतमा काम भइरहेको छ । विज्ञान र प्रविधि गरि दुईवटा सेक्सन छन् नाष्टमा । प्रविधि पट्टिको प्रमुख भौतिकशास्त्र नै पढेर आउनुभएको र सिनियर साइन्टिस पनि भौतिकशास्त्र नै अध्ययन गरेर आउनुभएको, म पनि भौतिकशास्त्रनै अध्ययन गरेर आएको हुँदा हाम्रो वेभ मिल्दोरहेछ क्यारे । बेला बखत भेटघाट र कुराकानी हुन्छ ।

प्रश्न त उठ्छ नाष्टका लागि राज्यले यत्रो लगानी गरिरहेको छ प्रतिफल चाही खोइ त ? त्यसो त त्रिविवि माथि पनि राज्यको अथाह लगानी छ नि खै त प्रतिफल ? तर हामी देख्दैनौं त्रिविविले गरेको यो प्रोडक्सन पनि त हेर्नुपर्यो । आज देशका उच्च तह र ओहोदामा पुगेकाहरु त्रिविविकै उत्पादन हुन । तर खोला त¥र्यो लैरो बिर्सियो भएको मात्रै हो । नाष्टले जति गर्नु पर्ने हो त्यति गर्ने नसकेको चाहीँ पक्का हो । त्यसमा दुइमत छैन । म पनि स्वीकार्छु यो सत्य । सत्य स्वीकार्न के को आपत्ति ? अनुसन्धानका लागि अत्यन्त न्युन पैसा छुट्टाएर दिइएको हुन्छ । पैसा तलव भत्तामा नै सकिन्छ । संस्था चाही रिसर्च गर्ने भनेर स्थापना भएको छ । रिर्सच गर्नेका लागि सुको कौडी छुट्टाइएको छैन अनि कसरी हुन्छ रिर्सच ? के हुन्छ रिर्सच ? हालत यही रिकाष्टको जस्तो हुन्छ । सरकारले पाल्न पनि नसक्ने फाल्न पनि नसक्ने । सुरुमा राम्रै पैसा पाएको थियो नाष्टले । राम्रै काम पनि गरेको हो । यद्यपि पछिल्लो चरणमा पैसा काटिदै लगियो । कार्यक्रमहरु पनि खोसिदै लगियो । अनि हामी कहाँ विज्ञान र प्रविधिको विकास नभएकोमा हामी चिन्ता मात्रै गर्दछौं तर किन हुन सकेन भनेर कहिल्यै कारण खोतलदैनौं ?

जीवनको लेखाजोखा
जीवनको यो साढे ….दशकको पानाहरु पल्टाउछु कहिलेकाही एकान्तमा एक छोरा अमेरिका पुगेको छ उतै अध्ययन गर्दै छ । छोरी नोवल मेडिकल कलेज विराटनगरमा लेक्चरको रुपमा कार्यरत छिन । अवकास पछिको यो जीवन वातावरण विज्ञानको विषयमा केही लेख्न खोजीरहेको छु । क्लाइमेट चेन्जका विषयमा धेरै लेखहरु प्रकाशित गरिसकेको छु । त्यसैको संकलन प्रकाशन गर्ने विचार गरिरहेको छु । जीवन भन्नु नै संर्घष हो । संर्घष भएन भने जीवनमा मज्जा आउदैन रहेछ । संर्घषको मैदानमा कहिले हारिन्छ कहिले जितिन्छ । जित्दा खुशी भइन्छ हार्दा दुखी भइन्छ । यो मानवीय स्वभाव नै हो । अध्ययन अध्यापन गराउने थलो देखि लिएर अनुसन्धान गर्ने थलोसम्म आइपुगियो । मेरो वुझाइमा अनुसन्धान गर्ने थलो भन्दा अध्ययन अध्यापन गराइने स्थान अत्यन्त गतीशील छन् । जीवन भनेकै गतिशीलताको अर्काे नाम हो जहाँ गतिशीलता हुदैन त्यो त खिया लागेर जान्छ । आज नसकिए पनि भोली नासिन्छ । जीवनमा जे पाए जति पाए खुशी सन्तृष्ठ छु । विज्ञानले असन्तोषम परम् सुखम भने पनि सन्तोषम् परम् सुखम् यही नै असली मन्त्र हो सुखी हुने । खुशी रहने ।

धर्म प्रतिको धारणा
नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानको उहाँकै कार्यकक्षमा गफिदै थियौं । आखिरी सोधाई थियो हाम्रो ? धर्म के हो ?‘ धर्म जीवनको बाटो हो । भगवान भनेको नै प्रकृति हो । हामी प्राकृतिक विज्ञानको विद्यार्थी भएकोले पनि भगवान भनेको नै प्रकृति हो । प्रकृति भनेको आफैमा गतिशील कुरा हो । त्यसैमा मुभिङ हुनका लागि बनाएको आचारसंहिता नै धर्म हो ।’ विज्ञान र धर्मको फुय्जन गर्दै उनले कुरा टुङ्गाए ।

प्रस्तुतिः हरि गजुरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×