|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, वैशाख २० । दक्षिण एसियाली मुलुकहरूलाई एउटै व्यापारिक प्लेटफर्ममा जोड्ने उद्देश्यसहित “दोस्रो साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ। सार्क मुलुकका सहभागीहरू काठमाडौं आइपुग्न थालेका छन्।
वैशाख २४ देखि २८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने यस अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यवसायिक गतिविधि पुनः सक्रिय बनाउने अवसरका रूपमा हेरिएको छ। लामो समयदेखि सुस्त व्यापारिक वातावरणबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।
इन्ट्रोडक्शन ट्रेड शोज नेपालले आयोजना तथा व्यवस्थापन गर्ने मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरोको सहकार्य रहनेछ। भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले यसलाई समर्थन गरेको छ।
नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, मोरङ चेम्बर अफ इन्डस्ट्रीज, नेपाल–चाइना एक्जिक्युटिभ काउन्सिल, नेपाल कस्मेटिक व्यवसाय संघ लगायतका संस्थाहरू सहयोगीका रूपमा रहेका छन्।
भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका प्रदर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार करिब १५० भन्दा बढी प्रदर्शक सहभागी हुने र झण्डै एक लाख स्थानीय दर्शक तथा पाँच हजार अन्तर्राष्ट्रिय प्रतिनिधि उपस्थित हुने अनुमान गरिएको छ।
मेलामा कपडा, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका उत्पादनहरू प्रदर्शनीमा राखिनेछन्। साथै व्यापारिक भेटघाट, फुड फेस्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिने जनाइएको छ।
आयोजकले मेलाले उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन, क्रेता–बिक्रेता सहकार्य विस्तार र व्यापारिक सम्बन्ध मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply