प्राकृतिक स्रोतको उपयोगमा अग्रसरता बढ्दै

 –धु्रवप्रसाद शर्मा

म्याग्दी । केही वर्षअघिसम्म विप्रेषण र व्यापारबाट धानिएको म्याग्दी जिल्ला पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदालाई सहीरूपमा सदुपयोग गरेपछि आर्थिक समृद्धिको बाटोमा लम्किएको छ ।

प्राकृतिक सम्पदाको धनी म्याग्दीमा पर्यटकीय स्थलहरू प्रशस्त छन् । स्थानीयस्तरमा सञ्चालित केही गैरसरकारी संस्थाको पहलमा पर्यटन क्षेत्रको विकासका लागि साझेदारी कार्यक्रमहरू सञ्चालन भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनकुमार विश्वकर्मा बताउँछन् ।

म्याग्दी जिल्ला जल र खनिज सम्पदाले पनि धनी छ । जिल्लाका विभिन्न ठाउँ भएर बग्ने ५० भन्दा बढी नदीनाला छन् । यी नदीबाट करिब एक हजार २०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेपनि हालसम्म १०४ मेगावाट विद्युत्मात्र उत्पादन हुन सकेको छ । म्याग्दी भएर बग्ने कालीगण्डकी नदीबाट कालीगण्डकी जलविद्युत् परियोजना सञ्चालनमा रहेको छ । मुक्तिनाथ उद्गमस्थल रहेको कालीगण्डकी नदी शालिग्रामका लागि प्रख्यात छ । यस नदीमा स्नान गरेमा पवित्रता प्राप्त हुने जनविश्वासले धार्मिक पर्यटनको विकास भएको छ ।

म्याग्दी खोला, रघुगंगा खोला, रितुङ खोला, मिस्त्री खोलालगायत खोलालाई ऊर्जा खोलाहरू भनेर चिनिने गरिन्छ । रघुगंगा खोला, रितुङ खोला र कालीगण्डकी गर्जमा विद्युत् उत्पादनका लागि योजनासमेत अगाडि बढिसकेको छ । म्याग्दीका अन्य नदीमा पनि विद्युत् उत्पादनका लागि प्रचुर सम्भावना रहेकाले यस जिल्लालाई भविष्यमा विद्युत् ऊर्जा र पर्यटकीय क्षेत्रका रूपमा चिनाउन सकिने संघका अध्यक्ष श्रेष्ठको विश्वास छ । त्यस्तै, कालीगण्डकी र म्याग्दी नदीमा ¥याफ्टिङको पनि सम्भावना छ ।

उपचार पर्यटन
म्याग्दी जिल्लामा उपचार पर्यटन फस्टाउँदो क्रममा छ । यहाँका तातोपानी कुण्डहरूमा नुहाउने र रोग निको पार्ने अभ्यास धेरै पहिलेदेखि हुने गरेको छ । सिंगा तातोपानीमा बर्सेेनि दशौँ हजार मानिस नुहाउने र रोग निको पार्ने उद्देश्यले आउँछन् । उत्तरी म्याग्दीको भुरुङ तातोपानीमा पनि तातोपानीको कुण्ड रहेको छ । भुरुङ तातोपानीमा मुख्यतः अन्नपूर्ण पदयात्रामा आउने पर्यटकले आनन्द लिने गरेका छन् । यी दुवै तातोपानी कुण्डले जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

जिल्लाका दाना, घार, दग्नाम, दोवा र मुदी गाविसमा समेत प्राकृतिक तातोपानी कुण्ड रहेका छन् । त्यस्तै, उपचारको उद्देश्यले चौँरीको रगत पिउने कार्यले समेत अचेल पर्यटकीय महत्व पाउन थालेको छ । हाल म्याग्दी जिल्लाको खोप्रालेकमा हरेक वर्ष साउन महिनामा चौँरी गाईको रगत पिउने मेला लाग्छ । मेलामा दुई हजारदेखि पाँच हजारसम्म मानिस पुग्ने गरेका छन् ।

ग्रामीण पर्यटन र वायरलेस इन्टरनेट
म्याग्दीका केही सांस्कृतिक महत्वका बस्तीहरू ग्रामीण पर्यटकका लागि आकर्षक रहेका छन् । छन्त्याल जातिको सबभन्दा ठूलो बस्ती भएको गुर्जा गाउँ, मगर र छन्त्याल संस्कृतिको नमुना अध्ययन, चिमखोला, दोबा, पाउद्वारजस्ता गाउँ महत्वपूर्ण छन् ।

त्यस्तै, सूचना प्रविधिको उपयोगबाट चर्चा पाउन सफल म्यागासेसे विजेता महावीर पुनको नागी गाउँ यस जिल्लाको ग्रामीण पर्यटनको महत्वपूर्ण बस्ती हो । विकट ग्रामीण क्षेत्रमा वायरलेस इन्टरनेट प्रविधिको उपयोग गरिएको पहिलो गाउँका रूपमा नागीलाई लिइन्छ । हाल, यस जिल्लाका उत्तरपूर्वका १० गाविस र पश्चिमतर्फका आठ गाविसमा वायरलेस इन्टरनेटको नेटवर्क पहुँच पुगिसकेको छ ।

सामुदायिक लजको सञ्चालन
अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि म्याग्दीको नागी, खोप्रा, हिस्तान, मोहरेडाँडा, टिकोट, ढाँडखर्क गाउँमा सामुदायिक लज सञ्चालनमा छन् । नेपालमै पहिलोपटक समुदायको सक्रियतामा खुलेका लजमा हुने आम्दानीले विद्यालय सुधार र सामाजिक विकासका कार्यमा लगानी गर्न सहयोग पुगेको छ । लजले स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै स्थानीय युवालाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ । अन्य जिल्लाका लागि पनि यी सामुदायिक लज उदाहरणीय बन्न सक्नेछन् ।

जैविक विविधता र पर्वतारोहण
म्याग्दी जिल्लामा वनस्पति र जीवजन्तुको विविधता रहेको छ । साथै, ती विविधताहरूको अध्ययनका लागि यहाँ उपयुक्त वातावरणसमेत छ । ढोरपाटन सिकार आरक्षको केही क्षेत्र म्याग्दीमा पर्छ । जिल्लाको उत्तरी क्षेत्र मुदी, कुइनेमंगले, चिमखोला, नारच्याङ आदि स्थानमा जैविक विविधताको अध्ययन–अनुसन्धान गर्न सकिने जिल्ला वन कार्यालयका रेञ्जर चन्द्रमणि सापकोटाको भनाइ छ ।

परापूर्वकालदेखि नै भिर मह निकाल्ने अभ्यास जिल्लामा रहिआएको छ । यहाँ हिमाल आरोहणको पनि अत्यधिक सम्भावना छ । यस जिल्लामा धौलागिरि हिमाल प्रथमदेखि छैटौँसम्म, अन्नपूर्ण, नीलगिरि, चुरेनी हिमाल, मानापाथी, गुर्जा हिमाललगायत दुई दर्जनभन्दा बढी हिम चुचुरा रहेका छन् । यी हिमालको आरोहणबाट पनि जिल्लाले आर्थिक लाभ लिन सक्ने धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँ बताउनुुहुन्छ ।

कृषि उत्पादन
म्याग्दी कृषि उत्पादनका दृष्टिकोणले बहुआयामिक छ । उच्च पहाडदेखि तराईसम्म हुने बालीको उत्पादन यो जिल्लामा गर्न सकिन्छ । उत्पादित प्रमुख व्यावसायिक बालीहरूमा सुन्तला जातका फलफूल, बेमौसमी÷मौसमी तरकारी, आलु, तरकारीका बीउ, अन्नबालीका बीउ, स्थानीय सिमी, च्याउ, मह आदि मुख्य रहेका छन् ।

पछिल्ला वर्षहरूमा जिल्लाबाट सुन्तला, तरकारी बीउ, अन्नबालीका स्रोत बीउ, बर्खे आलु, ताजा तरकारी प्रांगारिक, मह आदि निर्यात हुने भए पनि सबैको वास्तविक परिमाण भने कोहीसँग छैन । जिल्लाको शिख गाविसको पाउद्वारमा चीज उत्पादन गरिन्छ । यहाँ उत्पादित चीज पर्यटकलाई सेवा दिने होटलहरूमा खपत हुने र केही पोखरामा समेत निकासी हुने गरेको छ । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा जाम, जुस, सिस्नोको धूलो, अल्लोका कपडा, नेपाली हाते कागजको समेत उत्पादन हुने गरेको छ ।

खनिज सम्भावना
म्याग्दी जिल्लाका विभिन्न स्थानमा तामाखानी, शिशाखानी, स्लेट ढुंगा, खरिढुंगा खानी रहेका छन् । यी खानीको उपयोग भने हुन सकेको छैन । तामा, सिसा, स्लेटजस्ता खनिजको उत्पादन गरी निर्यात गर्न सकिने सम्भावना छ । साथै, अन्य खनिजहरूको समेत सम्भाव्यता अध्ययन गर्न सकिन्छ । तर, सञ्चालनमा रहेका खानीसमेत सरकारले बन्द गरेका कारण नयाँ खानीको उत्खनन हुन सकेको छैन ।

जडीबुटी
यस जिल्लाको हिमाली भेगका गुर्जा, मुदी, कुइनेमंगले, चिमखोला, नारच्याङलगायत गाविसमा यार्सागुम्बाको संकलन हुने गर्छ । पछिल्ला वर्षहरूमा यहाँबाट करौडौँ रुपैयाँको यार्सागुम्बा निर्यात हुने गरेको छ । यार्सागुम्बाबाहेक सतुवा, पाँचऔँले, नीरमसी, कटुकी, सिलटिमुर, टिम्मुर, बोझो, हर्राेबर्राे आदि जडीबुटी तथा लोक्ता, अल्लोपुवा, लालीगुराँसको जुस, चिमखोले डोको आदि वनपैदावार यस जिल्लामा उत्पादन तथा संकलन भई निर्यात हुने गरेका छन् । यस क्षेत्रमा मात्र ३०५ जना मानिस संलग्न छन् ।

यीबाहेक म्याग्दी जिल्लामा प्रशस्त जैविक तथा आनुवांशिक स्रोतहरू रहेका छन् । ती स्रोतहरूको समुचित रूपमा प्रयोग हुन नसक्दा स्थानीय बासिन्दाले खासै लाभ लिन नसकिरहेका स्थानीयकै भनाइ रहेको छ । पछिल्लो समय जिल्लाको पर्यटन विकासका लागि समुदाय पनि जुर्मुराउन थालेको छ । जिल्लाका धार्मिक, ऐतिहाँसिक तथा पुरातात्विक महत्वका स्थानहरूको संरक्षण गर्न र ती स्थानहरूको माध्यमद्वारा पनि जिल्लाको पर्यटन विकास गर्न सकिन्छ भन्ने मनसायले म्याग्दीमा पर्यटन विकास समितिको गठन गरिएको छ ।