म र मैले देखेको विज्ञान

किन कुनै विरुवामा फूल फुल्दछ, किन  कुनै विरुवामा फल लाग्दछ, किन कुनै बिरुवा रुख हुन्छ र किन सबै बिरुवा रुख हुन सक्दैन ।

स्व. दयानन्द बज्राचार्य

‘…अवकाशप्राप्त जीवनमा दयानन्द बज्राचार्यको दैनिकी ‘मैले के गरें र मैले के गरिन’ भन्ने खोज्दैमा बित्ने गरेको छ । ६६ वर्षे उमेरमध्ये झण्डै ५० वर्षसम्म सधैं दौड, दौड र दौडको दिनचर्याबाट मुक्ति पाएको अनुभव भइरहेको छ आजभोली । भाइसाथीले आग्रह गरेका टार्नै नसकिने बाहेक कुनै कार्यक्रममा उपस्थित हुने रुचि पनि छैन र भरसक कुनै संघसंस्थाको औपचारिक जिम्मेवारी सम्हाल्ने मोह पनि छैन । काम, काम र काम अनि जिम्मेवारी, चुनौती र सङ्घर्षले चालिस वर्षदेखि थिलथिलो भएको जस्तो गरी दयानन्द बज्राचार्य अब सार्वजनिक भन्दा पारिवारिक र व्यक्तिगत प्रयोजनको लागि महाराजगञ्जस्थित आफ्नो निवासमा समय खर्च गर्ने तालिका बनाउने ध्याउन्नमा हुनुहुन्छ । अनि तालिकाको शिरानमा अध्ययन र लेखनका मुख्य शीर्षक बुनिएका छन् …।’

दयानन्दका हजुरबुबा नेपालकै प्रथम आयुर्वेद चिकित्सालय गुह्येश्वरी मेडिकल हलका संस्थापक हुनुहुन्थ्यो । काठमाण्डौको खाँटी नेवार वस्ती मरुटोलमा ६६ वर्ष ६ महिनाअघि जन्मनुभएका बज्राचार्यले दश वर्षको उमेरसम्म स्थानीय शान्ति कुञ्ज स्कूलमा अध्ययन गर्नुभयो । पाँच र छ कक्षामा सो विद्यालयमा अध्ययन गरिसकेपछि एकैपटक नौ कक्षामा भर्ना हुनुभएका बज्राचार्यले बाह्र वर्षकै उमेरमा विद्यालय शिक्षा पूरा गर्नुभयो ।

शुरुको चरणमा अध्ययनलाई कता लैजाने भन्ने योजना थिएन । बाल्यकालदेखिको आफ्नो स्वभाव र अभिभावकको चाहनाबीचमा केही दूरी पनि देखियो । त्यसैले छोटो अवधिको लागि मानविकी क्याम्पसमा भर्ना भए पनि पछि बज्राचार्यको अध्ययनको घुम्ती परिवर्तन भयो र लैनचौरस्थित पब्लिक साइन्स क्याम्पस (हालको अस्कल) मा भर्ना हुनुभयो । विशिष्ट श्रेणीमा आइएस्सी सकाएपनि चिकित्साशास्त्र पढेर डाक्टर बन्नुपर्दछ भन्ने परिवारको धून थियो । बिएस्सी अध्ययनका लागि घन्टाघरस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि बज्राचार्य आमविद्यार्थी जस्तै बोटविरुवा र फूलका वासनाहरूमा रमाउनुभन्दा किन कुनै विरुवामा फूल फुल्दछ, किन कुनै विरुवामा फल लाग्दछ, किन कुनै बिरुवा रुख हुन्छ र किन सबै बिरुवा रुख हुन सक्दैन भन्नेजस्ता जिज्ञासु प्रश्न खेलाउने गर्नु हुन्थ्यो । अब पुनः चिकित्साशास्त्रमा लाग्ने कि अरू नै क्षेत्र रोज्ने भन्ने विषय दयानन्द बज्राचार्यले शिक्षा मन्त्रालयले प्रदान गरेको स्नातकोत्तर (एमए) छात्रवृत्तिमा गोरखपुर विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएसँगै निर्णयमा आयो । सन् १९६६ मा उहाँले वनस्पति शास्त्रको स्नातकोत्तर तहको परीक्षामा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गर्नुभयो ।

गोरखपुरमा अध्ययन गर्दै गर्दा एउटा चेतना विकास भयो, अध्यापनले मानिसलाई उच्च तहको ज्ञान हासिल गर्न सघाउ पु¥याउँदछ । त्यति नै बेला बाल्यकालमा मनमा खेल्ने वनस्पतिजन्य प्रश्नहरूको उत्तरहरू पनि उहाँले पाउन थाल्नु भयो । सायद् यही जिज्ञासुपन र अध्ययनप्रतिको उत्साहले उहाँले गोरखपुर विश्वविद्यालयको सबै प्राज्ञिक कीर्तिमानहरू तोड्नुभयो । उहाँकै अनुभवमा, ‘पहिले त विश्वविद्यालयका विभागीय प्रमुखको रोजाईको भन्दा फरक विषय (बज्राचार्यको रोजाई Plant Physiology र विभागीय प्रमुखको विषय Plant Pathology थियो । विश्वविद्यालयमा परम्परागत रूपमा विभागीय प्रमुखको विषय नै छान्नुपर्दछ अन्यथा परीक्षा बिग्रन्छ भन्ने मान्यता रहँदै आएको थियो) छानेर र दोस्रो फरक विषय रोजेर पनि प्रथम श्रेणीमा प्रथम भएर नयाँ कीर्तिमान बनेको थियो ।’

अध्यापनकालः बीस वर्षको उमेरमा बज्राचार्य काठमाण्डौ फकर्नुभयो विशिष्ट श्रेणीको उच्च शिक्षाको प्रमाणपत्र र ज्ञानको गह्रुंगो भारी बोकेर । काठमाण्डौ आएलगत्तै त्रिभुवन विश्वविद्यालयमा युवा अध्यापक बन्नुभयो र बनस्पतिशास्त्रको स्नातकोत्तर तहमा अध्यापन गराउन थाल्नुभयो । वातावरण रमाइलो थियो, कक्षामा कतिपय विद्यार्थी उहाँसँगै त्रिचन्द्र कलेजमा बिएस्सी अध्ययन गर्ने सहपाठीहरू थिए । बनस्पति शास्त्रको पहिलो ब्याचमा रहेका आठजनामध्ये तीनजना आफूभन्दा सिनियर, चारजना आफूसँग तँ त र म म गर्ने विद्यार्थी हँुदा अध्यापनको वातावरण बनाउन नै बज्राचार्यले कम्ता सकस गर्नुपरेको
थिएन । परिणाम, यही सकसले उहाँलाई पढाउन सक्छु र सक्नुपर्दछ भन्ने आत्मबोध भने गरायो ।

त्यतिबेला नेपालमा एमएस्सी प्रथम श्रेणीमा उत्तृर्ण जनशक्तिको अभाव थियो । यसैले बज्राचार्यले जर्मनीको फ्रेइबर्ग विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति निर्विवाद प्राप्त गर्नुभयो । सन् १९७५ मै उहाँ जर्मनीबाट विद्यावारिधी गर्ने प्रथम नेपाली बन्नुभयो । उहाँलाई लाग्छ, यी सब सफलता चिकित्साशास्त्र अध्ययन नगरेकोमा प्राप्त भएको थियो, बोटबिरुवा र वनस्पतिबारेको जुन जिज्ञासा बाल्यकालदेखि नै थियो त्यसको उत्तर पाइरहँदा सँगसँगै सफलताले पनि पछ्याइरहेको थियो ।

जर्मनीमा अध्ययन गर्दा बज्राचार्यले विश्वस्तरीय सुविधासहितको अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएको थियो त्यो पनि नोबेल पुरस्कार प्राप्त दर्जनौं प्राध्यापकहरूको साथमा । यही बीचमा उहाँले विश्वका चालिसभन्दा बढी देशहरूको भ्रमण गर्नुभयो । अध्ययनको क्रममा बज्राचार्यले नोबेल पुरस्कार प्राप्त झण्डै तीन दर्जन (३१ जना) वैज्ञानिकहरूसँग सङ्गत गर्नुभयो ।

जर्मनीमा अध्ययन अनुसन्धान गर्दाताकाका केही रोमाञ्चक संस्मरणहरू अहिले पनि बज्राचार्यको दिमागमा घुमिरहन्छ । जस्तै, सँधै आफूले पढ्ने पाठ्यपुस्तकका लेखकहरू जो वनस्पति शास्त्रमा विश्वकै नेतृत्वकर्ताहरू मानिन्थे, तिनीहरूलाई भेट्दा बज्राचार्यलाई न्यूटनलाई भेटेको अनुभूति हुन्थ्यो । अनि त्यहाँ ‘म नेपालको विश्वविद्यालयमा दुई वर्ष स्नातकोत्तरलाई अध्यापन गराएर आएको’ भन्दा लाज लाग्ने स्थिति रहँदा उहाँले आफ्नै केही कुरा लुकाउनु परेको थियो । जर्मनीमा पुगेर साँच्चैको विज्ञान बुझ्ने अवसर पाएकोमा उहाँको मनभित्र हुने उथलपुथलको त के कुरा ।

फर्केर फेरि नेपालकै प्रसंग, दयानन्द बज्राचार्य त्रिभुवन विश्वविद्यालयको इतिहासमा ३१ वर्षको उमेरमा प्राध्यापक बन्नुहुने पहिलो युवा प्राध्यापक भइसक्नुभएको थियो । लगन र मिहनत भए मान्छेलाई सफलताको सिंढी उक्लन छेक्नसक्ने कुनै कुरा हुँदैन र यसलाई डा. दयानन्द बज्राचार्यले ४१ वर्षको उमेरमै त्रिभुवन विश्वविद्यालयको रेक्टर र पछि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपकूलपति जस्तो जिम्मेवार उच्च पदमा पुगेर प्रमाणित गर्नुभयो । त्यसैले त उहाँलाई लाग्छ, ‘ती विभिन्न पद र जिम्मेवारीहरू कतै मलाई नै कुरेर बसिरहेका पो थिए कि ?’ जस्तो ।

लेखन र जागिरः बज्राचार्यको विशिष्टताको अर्को पाटो नियमित लेखन हो । सृजना हो । बचेखुचेको समयमा निरनतर लेखन र सृजनाकर्ममा लाग्ने बज्राचार्यको बानीले उहाँलाई लेखक बनाएको छ । अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान प्रतिवेदन प्रकाशन र प्रतिष्ठित प्रकाशनहरुमा नियमितजसो लेख रचना प्रकाशन गर्न पनि भ्याउनुभएकै छ । अहिलेसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरूमा वनस्पति विज्ञानमा ४० भन्दा बढी अनुसन्धान प्रतिवेदनहरू प्रकाशित छन् बज्राचार्यका । ती प्रतिवेदन नेपाल, भारत, फ्रान्स, इजरेल, जापान, जर्मनी, मलेसिया, बेलायत तथा अमेरिकाका प्रतिष्ठित प्रकाशनहरूमा छापिएका छन् । उपलब्धीको अर्को पाटो के हो भने ती अनुसन्धानका निश्कर्षहरू यूरोप र अमेरिकाका बार्षिक समीक्षा, विश्वविद्यालयस्तरीय पाठ्यपुस्तक तथा इन्साक्लोपेडियासम्ममा सङ्ग्रहित छन् । आधा दर्जनभन्दा बढी अनुसन्धानकेन्द्रित पुस्तक र महत्वपूर्ण विषयमा लेखिएका लेख रचना तथा विचारको सङ्गालोको त गन्ती नै छैन भन्दा पनि हुन्छ ।

कुनैबेला थियो, विद्यावारिधि सकाउनासाथ दयानन्द बज्राचार्यलाई अमेरिकास्थित नर्थ क्यारोलीन विश्वविद्यालयबाट अध्यापन अनुसन्धान गर्र्ने प्रस्ताव आएको थियो । तर विदेशमा रहनुभन्दा स्वदेशमा बसेर अध्यापन कर्ममै लागेर नेपाली विद्यार्थीहरूलाई प्रोत्साहन दिनु नै उहाँको लागि उपयुक्त लाग्यो । विश्वविद्यालयको वनस्पतिशास्त्र विभागको प्रमुख, डिन, निमित्त रजिस्ट्रार, रेक्टरलगायतका विभिन्न उपल्ला तहमा बसेर काम गर्दै आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्न नै उहाँलाई रुचिकर लाग्यो ।

बज्राचार्यलाई लाग्छ, त्यतिबेला अमेरिका हानिएको भए सायद् नेपालमा जस्तो रङ्गीन र सन्तुष्टिको जीवन त्यहाँ नपाइन सक्दथ्यो, देशले अपेक्षा गरेको व्यक्तिगत योगदान पनि अमेरिका बसेर पूरा नहुन सक्दथ्यो । बिदेश जानुअघि आफ्नो बाबुले बुढेसकालमा देखाएको पुत्रप्रतिको मोहसहितको ‘फेरि तेरो अनुहार देख्न पाइने हो कि होइन’ भन्ने एकै वाक्यले बज्राचार्यलाई सधैंभरी बिदेश बस्ने रहर त्याग्न बाध्य बनायो ।

दयानन्द बज्राचार्य यो वा त्यो रूपमा नेपालको विज्ञान तथा प्रविधिको क्षेत्रमा सबैभन्दा सक्रिय र सबैभन्दा बढी देखिने अनुहार हो भन्ने कुरा अहिले तथ्य बनिसकेको छ । विभिन्न देशका राष्ट्राध्यक्षहरूसँग बसेर विज्ञान र प्रविधिको विकास र विस्तारको विषयमा छलफल चलाउनु, प्रतिष्ठित राजनीतिज्ञहरूसँग बसेर विज्ञानका योजनाहरू तयार पार्नु त अब नियमित गतिविधिभित्रै पर्न थालिसकेको छ बज्राचार्यका लागि ।

प्राज्ञिक तहमा बसेर डा. दयानन्द बज्राचार्यले स्वदेश र विदेशमा रहेर विद्यावारिधि र स्नातकोत्तर तहको दुई दर्जनभन्दा बढी शोधको परीक्षण र मूल्यांकन गर्नुभएको छ । विभिन्न संघसंस्थामा रहेर विज्ञान तथा प्रविधिको रणनीति तयार गर्नमा पनि उहाँको उत्तिकै योगदान रहेको देखिन्छ । त्रिभुवन विश्वविद्यालय जर्नल, विज्ञान तथा प्रविधि इन्स्टिच्यूट जर्नल, प्राकृतिक इतिहास जर्नललगायतका प्रकाशनहरूमा आवद्धता त छँदेछ, नेपाल बोटानिकल सोसाइटी र नेपाल जर्मन प्राज्ञिक एसोसिएसनको नेतृत्वको उत्तिकै अनुभव छ । शैक्षिक तथा प्राज्ञिक रूपमै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका वनस्पति विषय समिति, अनुसन्धान समिति र विज्ञान सङ्कायको बोर्डमा रहेर अनुसन्धान संयोजन परिषद्लाई गति दिन बज्राचार्यको योगदान कम छैन ।

सम्मान र पदकको सूचीमा पनि डा. दयानन्द बज्राचार्यसँग उत्तिकै रमाइला तथ्याङ्क छन् । सन् १९६७ को महेन्द्र विद्याभूषण दोस्रो, सोही वर्ष महेन्द्र विद्याभूषण प्रथम, सन् १९९९ मा प्रसिद्ध गोरखा दक्षिणबाहूलगायतका विज्ञान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदानका दर्जनौं प्रशंसापत्र र सम्मानका ओइरो लागेका छन् । पछिल्लो चरणमा पाइएका सम्मान र दोसल्लाको लामो सूचि त छँदैछ ।

प्रतिष्ठानको नेतृत्वः अब अहिलेको नास्ट अथवा पुरानो रोनाष्टको प्रसंग, तात्कालीन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (हालको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान) को स्थापना (वि.स. २०३९) देखि नै दयानन्द बज्राचार्य त्यसमा जोडिंदै आउनुभयो । प्रतिष्ठान स्थापनाताकाको पन्ध्रजनाभित्र पर्नुभएका बज्राचार्यले पहिला तत्कालीन राजाहरूबाट र पछि विभिन्न प्रधानमन्त्रीहरूद्वारा नियुक्त विभिन्न उपकूलपतिहरूसँग रहेर काम गर्नुभयो । पछि सन् १९९७ मा बज्राचार्य आफैं प्रतिष्ठानको उपकूलपति नियुक्त हुनुभयो । तर प्रतिष्ठान प्रवेशका शुरुका दिनदेखि नै बज्राचार्यलाई काम गर्ने सहज वातावरण भने रहेन । कतिपय कर्मचारीहरूले उपकूलपतिको कार्यादेशलाई समेत नटेरेको उनुभव छ उहाँसँग । कार्यालय हड्ताल र तालबन्दी हुने सरकारी निकायको रूपमा चिनिएको र नेतृत्व र कर्मचारीबीच भनाभन र अपमानजनक व्यवहारसमेत हुने गरेको रोनास्टमा आफू अनुकूल वातावरण तयार गर्न हम्मेहम्मे प¥यो बज्राचार्यलाई । तर जब वातावरण तयार भयो र अस्तित्वको संकटमा पुगेको प्रतिष्ठानले आफ्नो पहिचान खोज्ने क्रम शुरु भयो त्यसपछि बज्राचार्यले पनि गन्नलायक उपलब्धीतिर प्रतिष्ठानलाई डोहो¥याउनुभयो ।

प्रतिष्ठानको नेतृत्व सम्हाल्दाताकाको उपलब्धीमूलक कार्यहरूको फेहरिस्त पनि छ बज्राचार्यसँग । स्थापनाको सोह्र वर्षसम्म आफ्नै स्थायी भवन संरचनासमेत थिएन प्रतिष्ठानसँग । कहिले वानेश्वर कहिले अनामनगर चहारिरहेको प्रतिष्ठानलाई एउटा संवैधानिक अंग सरहको विज्ञान तथा प्रविधि प्रतिष्ठान बन्यो । कर्मचारीको हातबाट प्रतिष्ठान विज्ञान क्षेत्रका व्यक्तिहरूको सरल पहुँचमा पुग्यो । नेतृत्व सम्हालेको तीन महिनामै प्रतिष्ठानको अहिलेको भवन रहेको हात्तिवनमा ८० रोपनी क्षेत्रफलको जमीन सरकारबाट स्वीकृत भयो । अन्ततः उहाँकै नेतृत्वमा प्रतिष्ठानले विज्ञान तथा प्रविधिको भन्नलायकको सुविधासम्पन्न भवनबाट कार्यसञ्चालन गर्ने हैसियत राख्यो । खेलाडीको नाममा अभिभावक बिदेश जाने जस्तो परम्परा प्रतिष्ठानमा पनि थियो, जो निरुत्साहित भयो । आदि आदि… ।

बज्राचार्यको अनुभवमा उहाँले देशलाई दिनुभएको अर्को योगदान के भने नेपालको विज्ञान तथा प्रविधि यहीं मात्र खुम्चिरहेको वस्तुगत यथार्थ चिर्दै यसलाई अन्तराष्ट्रियकरण गरियो । अनुसन्धानका क्षेत्रमा थुप्रै नयाँ कार्यक्रम आयो र ती कार्यक्रमहरूबाट विज्ञान तथा प्रविधिको क्षेत्रमा थुप्रै नयाँ नेपाली अनुहारहरूले स्थान पाए । विज्ञान अध्ययन केन्द्रको स्थापना र जनशक्ति विकासका लागि दुई दर्जनभन्दा बढी नेपाली अनुसन्धानकर्मीलाई वैदेशिक तालिममा पठाउन सक्नुलाई उहाँ त्यतिबेलाको सन्दर्भमा ठूलो उपलब्धी रहेको मूल्याङ्कन छ उहाँको ।

तर अन्य देशको तुलनामा नेपालको विज्ञान र प्रविधिको क्षेत्र अझै धेरै पछाडि पुगेकोमा बज्राचार्यलाई पनि भित्रैदेखि कताकता ग्लानी महसुस हुन्छ । राज्यले गरेको वेवास्ताको शिकार र राजनीतिक दलहरूको दूरदर्शिताको अभावको परिणाम विज्ञानले समाजदेखि राज्यको उपल्लो तहसम्म प्राथमिकता नपाउँदा अरूको जस्तै बज्राचार्यको पनि मन अमिलो हुने र हुँडलिने हुन्छ । अझै पनि उहाँको आशा छ, देशको गरिबी निवारणको लागि विज्ञानलाई हैसियतप्राप्त स्थानमा पु¥याउन सकिए विकास असम्भव छैन । देशमा विज्ञानमन्त्री हुन अनिच्छा प्रकट गर्ने राजनीतिज्ञको हूलबाट यसलाई बचाएर कम्तीमा वर्षमा एउटा विज्ञानको श्वेतपत्र मात्र पनि राज्यको तर्फबाट जारी गरि केही नयाँ कार्यक्रमहरूलाई स्थान दिन सकिए नेपाल पछाडि नपर्ने उहाँको तर्क र विश्वास दुवै छ ।

सृजना र कर्मलाई वेवास्ता गर्यो भने मान्छेको जीवन निरर्थक हुन्छ । अनुभवमा निखार ल्याउनका लागि पनि मान्छेले आफूलाई समयानुकूल चलायमान बनाउनु गतिशील उपयुक्त हुन्छ । अझ त्यसमा सामाजिक हित, राष्ट्रिय हितको विषय छ भने त त्यो सुनमा सुगन्ध भनेजस्तै हुन्छ । अहिले दयानन्द बज्राचार्य पनि त्यही सुगन्धको प्राप्तिका लागि नेपालको विज्ञान तथा प्रविधिको क्षेत्रलाई थप विकसित र थप मजबुत बनाउने कुनै स्वायत्त संस्थाको निर्माणबारे सोचिरहनुभएको छ । कम्तीमा नयाँ पींढिले विज्ञान तथा प्रविधिलाई पनि अन्य प्राविधिक विषय (चिकित्साशास्त्र, इञ्जिनियरिङ आदि) सरह प्राथमिकतामा राखे त्यो नै ठूलो उपलब्धी हुने उहाँको निश्कर्ष छ ।

(रिभोसाइन्स वर्ष १ अंक ३ मा प्रकाशित)