‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

रोबटिक्स एसोसियसन अफ् नेपाल (र्‍यान)ले चार वर्षपछि नेपालमा अन्तर्राष्ट्रिय रोबटिक्स प्रतियोगिताको आयोजना माघ २८ र २९ गते गर्दैछ। ‘यन्त्र साइन्स टेक आन्टरपेनरसिप फेस्टिफल’ अर्थात् यन्त्र विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सवको यो सहायक ‘इभेन्ट’ हो । कोशी मिनियन्त्र, मधेस मिनियन्त्र र एआइ कन्फेरेन्सजस्ता अन्य सहायक ‘इभेन्ट’ जुन सम्पन्न भैसकेको छ । ‘एआइ सफ्टबट ह्याकाथन’ भने फागुन ३ र ४ गते हुँदैछ। नेपालमा रोबटिक्स अध्ययन गर्न पाठ्यक्रममा समावेश तथा कलेजहरू नै छैनन भन्छन्, र्‍यानका अध्यक्ष विकास गुरुङ । उनी नेपालमा रोबटिक्स विकास तथा प्रवर्द्धनमा लागेको एक दशक भैसकेको छ । सन्दर्भमा, ‘यन्त्र ९.०’ अन्तर्राष्ट्रिय प्रतियोगिता नजिकै गर्दा र्‍यानका अध्यक्ष विकास गुरुङसँग रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोलले गरेको कुराकानीको सम्पादीत अंश:

अन्तर्राष्ट्रिय रोबटिक्सको आयोजना किन ?

सन् २०१० मा रोबटिक्स एसोसियसन अफ नेपाल(र्‍यान) स्थापनापछि रोबटिक्स, अटोमेसन र  एआइमा लाग्ने जतिपनि युवाहरू छन्, उनीहरूलाई एउटै प्लेटफर्ममा ल्याउन पर्ने चुनौती थियो । उनीहरूमा स्वदेशमै केही काम गर्छु भन्ने भाव झल्कन्थ्यो। ती युवाहरूलाई जोड्ने केही हदसम्म मसँग एउटा अन्तर सञ्जाल थियो । उनीहरूको दक्षतालाई थप विकास गर्न बौद्धिक व्यतित्वसँग जोड्न म चाहन्थेँ । त्यसका लागि हामीले राष्ट्रिय रोबटिक्स यन्त्र स्कुल सुरुवात गर्‍यौँ । प्रतियोगिता सुरु गरियो ।

त्यसबेला नेपालमा रोबटिक्स त्यति विकास भैसकेको थिएन । तर, अभियान भने सफल भयो । त्यसपछि यन्त्रमा कला जोड्दै आर्ट टेक एण्ड साइन्स फेस्ट भनेर सुरुवात गरियो । तर, त्यसमा एउटा समस्या देखियो । कस्तो भने, कलासँग सम्वन्धितहरुले रोबटिक्सको ज्ञान र विकासमा प्रयोग हुने कला उनीहरुले प्रस्तुत गरें । तर, रोबटिक्समा लागेकाहरुले भने रोबट कलात्मक बनाउन सकेनन् । त्यो हाम्रो कमजोरी अझै छ।

नेपालमा मूलभूत समस्या देखियो स्नातक अध्ययन गर्दासमेत रोबटिक्स र पछि कता हो कता हो भन्ने खालका कुरा आए। त्यसपछि हामीले यसलाई रोबटिक्स साइन्स टेक एण्ड आन्टरपेनरसीप भन्न थाल्यौँ । त्यही अन्तगत रहेर हामीले अन्तर्राष्ट्रिय रोबटिक्स प्रतियोगिता आयोजना गर्न थालियो । हामीले यन्त्र ५.० सुरु गरेपछि नेपालमा अन्तर्राष्ट्रिय रोबटिक्स प्रतियोगिता सुरुहुन थाल्यो।

प्रतियोगितामा के-के कुरा समावेश हुनेछन् ?

नवप्रवर्तनमा जाने र नेपालमा रोबटिक्सको राम्रो माहौल छ भनेर अन्य मुलुकलाई सन्देश दिने उद्देश्यले अहिले यन्त्र ९.० हुँदैछ। १२ वर्षदेखि गर्दै आएको प्रतियोगिताका दौरान अहिले रोबटिक्स जुधान प्रतिस्पर्धासम्म आइपुगेका छौँ । हुन त आम मानिसलाई यो रोबटलाई जुधाएर के नै हुन्छ जस्तो लागे पनि यसमा रोबट बनाउने सिप लुकेको हुन्छ । एउटा बलियो रोबट बनाउन सक्ने क्षमता विद्यार्थीहरूमा विकास भए भोलिका दिनमा अन्य किसिमका रोबट निर्माणमा काम लाग्ने हाम्रो बुझाइ रहेको छ ।

त्यस्तै, रोबटिक्स फुटबलको आयोजना हुन्छ। त्यस्तै यन्त्र अटोनोमस इण्डस्ट्रिज प्रतियोगिता भइरहेको छ । नेपाली औद्योगिक क्षेत्रमा यन्त्र मानवले काम गर्न पर्ने आवश्यकता बन्दै गइरहेको छ। यो रोबट मकरे र इण्डस्ट्रिजबीच सामञ्जस्यको रूपमा लिन सकिन्छ । त्योसँगै अर्को एउटा प्रतियोगिता रहेको यन्त्र स्वामारोयट भन्ने छ । त्यसमा चै एउटा रोबट-रोबट बिचमा सञ्चार गराउने हुन्छ । त्यसपछि रोबटलाई जिम्मा दिइएको ‘टास्क’ पुरा गर्ने हुन्छ ।

त्यस्तै, १२ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि गरिएको प्रतियोगिता रोबोटिन रहेको छ। यसमा कक्षा ९ देखि १२ कक्षासम्मको विद्यार्थीहरू  सहभागी हुन्छन् । यसमा ‘गारबेज टु गोल्ड’ भनेर काम दिइएको हुन्छ । यसमा साधारण खालका रोबट बनाउँछन् जसले फोहरहरू छुट्टाउन पर्ने हुन्छ । बालबालिका लागि ‘यन्त्रकिड्स’  प्रतियोगिता हुन्छ । यसमा कक्षा ४ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन्छन्।

कति देश सहभागी हुन्छन ?

दक्षिण एसियाली देशहरू भारत, बांग्लादेश, भुटान र श्रीलङ्का आउने भएको छ। त्यसबाहेक आइभरीकोस्ट, मालाविक र इरानको टिमसँग कुरा भइरहेको छ । चार वर्ष अघिको प्रतियोगितामा भुटान, भारत र बांग्लादेशलगायत पाँच टिम सहभागी थिए ।

पुरस्कारको राशि कति ?

पुरस्कारका राशि ‘रोबटिक्स वार’मा दुई लाख, रोबट इन्टरनेशनलमा साँढे एक लाख,  स्वामानोइडमा एक लाख, यन्त्रटिन्समा ७५ हजार, यन्त्र किड्समा ६० हजार, यन्त्र एक्स्पोमा ७५ हजार र यन्त्र सफ्ट बटमा ६० हजार कायम गरिएको छ । त्यसबाहेक अन्य रचनात्मक पुरस्कार छन् ।

कुनकुन संस्थाले सहयोग गरेको छ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँ महानगरपालिका, नगरपालिकाहरू र निजी क्षेत्रबाट सहयोग हुनेछ ।

नेपालमा रोबटिक्स क्षेत्रमा काम गर्दा कस्ता किसिमको चुनौतीका सामना गर्न पर्दछ ?

सामान्यतया रोबटसम्बन्धी ज्ञान र आर्थिक पक्ष खर्च गर्नुपर्ने हुन्छ । परिवारबाट प्रोत्साहन पनि कम  भइरहेको पाइन्छ । रोबट बनाउन सजिलो काम भने होइन । किनभने, पहिले साना रोबटबाट सुरु गरेपनि पछि ठुला रोबट बनाउँदा नयाँ खालका ज्ञानको खाँचो पर्दछ । नेपालमा अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्दा रोबट बनाउन सिकाउने पर्याप्त मेन्टर तथा ज्ञानको अभाव देखिन्छ । त्योसँगै, नेपालमा केही गर्छु भनेर रोबटिक्स कम्पनी खोलेको अवस्था पनि छ । तर नेपालमा इन्भेस्टरहरुले लगानी गरिसकेको अवस्था छैन । यी खालका चुनौती छन् ।

नेपालमा बनेका रोबट कहाँ कहाँ प्रयोग गर्न सकिन्छ ?

जलविद्युतको क्षेत्रमा रोबटिक्स अटोमेसनको प्रयोग गर्न सकिन्छ । रोबटको प्रयोगबाट जलाशय सफा गर्न सकिन्छ । पूर्वसूचना प्रणालीमा पनि रोबटिक्सको प्रयोग बढ्दैछ । रोबटिक्स भन्ने वितिकै अन्डरग्राउण्ड रोबटिक्स, ग्राउण्ड रोबटिक्स र एरियल रोबटिक्स हुन्छन् । अहिले आकाशमा उड्ने ड्रोनको प्रयोग अत्याधिक भइरहेको छ। ट्रान्समिसन,  सिडबम्पिङ ड्रोन, मेडिकल ड्रोन र डेलिभरी ड्रोनहरु छन् । कृषिमा ड्रोनको प्रयोग बढ्दै गैरहेको छ। शैक्षिक क्षेत्रको हकमा स्टिम एजुकेसनमा समावेश छ । औद्योगिक क्षेत्रमा ‘लजिस्टिक म्यानेजमेन्ट’ गर्न प्रयोग गरिन्छ । रेस्टुरेन्टमा खाना डेलिभरी गर्न रोबटको प्रयोग भइरहेको छ ।

परिवार, कलेज तथा औद्योगिक क्षेत्रले पनि रोबटिक्समा जनशक्ति तयार गर्न मद्दत नगरिरहेको अवस्थामा कसरी अगाडी बढ्न सकिन्छ ?

चुनौती सधैँ रहन्छ । प्रतियोगिता नै विद्यार्थीहरूको सिप विकास हुने स्थान हुन । प्रतियोगितामा विजयपछि नगद पुरस्कार पनि प्राप्त गरिरहेका हुन्छन्। नाम र दाम पाएपछि परिवार तथा कलेजहरूले पनि सहयोग गरेको अवस्था देखिन्छ । यसको लागि निरन्तर रोबटिक्समा लाग्ने हो । सरकारले यसमा पूर्ण साथ दिनुपर्दछ।

अन्तर्राष्ट्रिय क्षेत्रमा रोबटिक्स प्रतिस्पर्धामा नेपाली विजयी भएका छन्

भारतमा भएको आइआइटी टेक फेस्टमा दोस्रो र तेस्रो भैसकेका छन् । अमेरिकामा भएको रोबटिक्स प्रतियोगितामा पनि प्रथम भएको थियो । पुलचोक रोबटिक्स क्लबका टिमले विभिन्न श्रेणीमा पुरस्कार हासिल गरिसकेको छ ।

रोबटिक्सको विकासमा सरकारले कस्तो भूमिका खेलेको ?    

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन नीतिमा रोबटिक्स समावेश गरेको छ। पछिल्लो समय सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा एक अरबको बजेट विनियोजन गरेका छन् । त्यसबाट रोबटिक्सको क्षेत्रमा पनि पक्कै आउने छ। नास्टले पनि सहयोग गर्दै आइरहेको छ । रोबटिक्स र एआइ नीति बन्नेक्रममा छ । सरकारले अप्रत्यक्षरुपमा सहयोग गरिराखेको छ ।

औद्योगिक क्षेत्रले कतिको साथ दिएको छ? उनीहरूको रोबटिक्समा कतिको रुचि छ ?

हामीले रोबटिक्सको कुरा ठुला औद्योगिक क्षेत्रका सञ्चालकहरू समक्ष सुनाउन पाएका छैनौँ। रोबटिक्सको प्रयोगले उत्पादकत्वमा वृद्धि हुने कुरामा उहाँहरूसँग अन्तरसंवाद गर्ने अवसर मिलेको छैन। त्यसका लागि पव्लिक पाइभेट पार्टनरसिप (पीपीपी) मोडलको बहस सुरुवात गरिरहेका छौँ ।

नेपालका औद्योगिक क्षेत्रमा रोबटिक्स आवश्यकता भए पनि नेपाली रोबटलाई त्यति सान्दर्भिक नठानेको पो हो कि?

मलाई लाग्छ नेपालका औद्योगिक क्षेत्रका मानिसले नेपालीले स्मूथ तथा मजवुद रोबट बनाउन सक्छन् भन्ने छैन । यसको पछाडिका कारण चीन र भारतसँग उहाँहरु टेक्नोलजीको क्षेत्रमा भर पर्नु रहेको छ। त्यसमा थप अगाडी बढ्न हामीले चीनमा रहेको संस्था ‘चाइनीज इन्स्टिच्यूट अफ इलक्ट्रोनिक्स’सँग समझदारी पत्रमा हस्ताक्षर गरेका छौँ । कोरियन रोबटिक्स एसोसियसनसँग पार्टनसिप गरेका छौँ । ‘ग्लोबल रोबटिक्स कल्चर’ मा समावेश भएका छौँ । यसले विदेशी संस्थामा गएर हाम्रा विद्यार्थीले सिक्न वातावरण तयार हुने र नेपालमा रोबटिक्स इण्डस्ट्रिज निर्माणमा भूमिका खेल्नेछ । नेपालमा रोबट प्रयोग गरेर रेस्टुरेन्ट सञ्चालनमा छन् । रिद्दि सिमेन्टले रोबट टेकनोलजी प्रयोग गरेको छ । त्यसको अलबा इलेकट्रोनिक्स डिभाइसमा प्रयोग हुने पीसीवी इचिङ मेसिन र लेड मेसिनमा प्रयोग गरेको पाइन्छ ।

रोबटिक्स र इलेकट्रोनिक्स नङ र मासुको सम्बन्ध देखिन्छ, नेपालमा इलेकट्रोनिक्समा इन्जिनियरिङ गरेकाले रोजगारी पाउन सकिरहेका छैनन्, त्यस्तो अवस्थामा नेपालमा रोबटिक्स क्षेत्रमा जनशक्ति कसरी खपत हुन्छ?  रोजगार सृजना कसरी हुन्छ ?

यो ‘प्याराडक्स’ जस्तो देखिन्छ । तर रोबटिक्समा लाग्दै ड्रोन उडाएर एक दिनमा तीस हजारसम्म आम्दानी गरेको पाइन्छ। हाइड्रोपावरमा अटोमेसनको काम गरेर पैसा कमाइरहेका छन् । कृषिमा अटोमेसनको काम गरेर व्यापार गरिरहेका छन् । सुरुवातमा यो कठिन देखिन्छ । मिहिनेत गर्नेले पैसा कमाइरहेका छन् ।

भनेपछि रोबटिक्समा स्टाअप कम्पनीले रोजगार दिइरहेको छ?   

नेपालमा करिब ९० जति रोबटिक्स क्षेत्रका स्टाअप कम्पनीहरू छन् । उनीहरूले मजाले काम गरिरहेको छ । उनीहरू ‘स्टेसन’ भइरहेको देखिएको छ।

रोबटिक्स शिक्षाको मूल्याङ्कन कसरी गर्न सकिन्छ ?

नेपालका इन्जिनियरिङ कलेजमा यस विषयमा अध्यापन हुँदैन । विद्यालय तहमा हामीले घचघच्याइरहेको अवस्था छ । विद्यालय तहमा विद्यार्थीहरूले केही सिकिरहेको छ । यसले केही जनशक्ति उत्पादनमा सहयोग पुगिरहेको छ । विदेशमा मेगाट्रोक्सिस अध्ययन गर्ने, रोबट इलेकट्रोनिक्स पढ्ने, रोबटिक्स प्रोसेसिङ अटोमेसन पढ्नेले धानेको छ। रोबटिक्स क्लवहरुले नेपालको रोबटिक्स धानिराखेको अवस्था छ ।

पाठ्यक्रममा रोबटिक्स किन समावेश गरिएन ?

नेपालमा रोबट उत्पादन गर्ने कम्पनी छैन। साधारणमा रूपमा नेपालमा इण्डस्ट्रिज नभएसम्म अध्यापन नगर्ने भन्ने खालको देखिएको छ। तर ‘एआइ’ कम्पनीहरू खुलेका छन् । जसका कारण एआइ अध्ययन हुन थालिसकेको छ ।

र्‍यानले यस विषयमा कुरा किन उठाउन सकेन ?

हामीले यस विषयमा कुरा उठाइरहेका छौँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा रोबटिक्स महत्त्व बढ्दै छ। मुख्य कुरा नेपालमा रोबटिक्स इण्डस्ट्रिज नभएकोले भन्ने देखिन्छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

रोबटिक्स प्रतिस्पर्धाको मुख्य उद्देश्य भनेको भोलीका दिनमा नेपालमा रोबटिक्स इण्डस्ट्रिज बढोस् भन्ने हो । यस क्षेत्रमा सरकार र औद्योगिक क्षेत्रले सहयोग गर्न जरुरी छ । जसले भविष्यमा इण्डस्ट्रियल इनोभेसन हुँदै जानेछ ।