प्रधानमन्त्री प्रचण्डद्वारा नास्ट नवनिर्मित प्रविधि भवन उद्घाटन

नास्ट नवनिर्मित प्रविधि भवन प्रधानमन्त्रीद्वारा उद्घाटन गरिदै। तश्वीर: नास्ट

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को नवनिर्मित प्रविधि भवन तथा वायोमेडिकल अनुसन्धान प्रयोगशाला उद्घाटन गरेका छन्।  नास्टको ४१ ‌औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उद्घाटन गरेको हो ।

सो नवनिर्मित वायोमेडिकल प्रयोगशालामा नेपालका आयुर्वेदिक गुण भएका जडीबुटीमा थप अध्ययन तथा अनुसन्धान हुनेछ। नास्ट प्रविधि भवनमा नवप्रवर्तनको विकासमा टेवा पुग्ने खालका  अध्ययन-अनुसन्धान तथा विकास हुने विश्वास गरिएको छ ।

उद्घाटनपछि प्रधानमन्त्री दाहालले भने, ‘नयाँ प्रविधि भवनको सहायताले प्रविधि विकास तथा अनुसन्धान गर्ने वातावरण बन्नेछ ।’ नास्टको थप विकास तथा सम्वृदीका लागि आगामी १६ औँ पञ्च वर्षे योजनमा निरन्तर छलफल अगाडि बढाउनमा प्रधानमन्त्रीले जोड दिए ।

प्रधानमन्त्री दाहालले अहिलेको सरकारले १ अरब अनुसन्धान कोष स्थापना गरिसकेको छ, त्यसले युवा पुस्तालाई वैज्ञानिक अनुसन्धान गर्न प्रोत्साहन हुनेमा आशा व्यक्त गरेँ । नेपाल सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी तथा सहयोग गर्न नसकेको स्वीकार गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सरकारका केही बाध्यता हुन्छन्, तर त्यस बाध्यताको नाममा विज्ञान तथा प्रविधि क्षेत्रको विकासबाट पछि हट्न हुँदैन ।’ ‘अहिलेको अवस्था सहकार्य र समभावको हो, एकाङ्की भएर गन्तव्यमा पुग्न कठिन हुने राजनीतिक तथा अन्य उदाहरण हामीसँग धेरै रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरेँ ।

नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले ४१ औँ वार्षिक उत्सवमा विभिन्न विधाका वैज्ञानिक तथा प्राविधिकलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।

नास्ट ४१ औँ वार्षिक उत्सवको अवसरमा पुरस्कार वितरण पछि तश्वीर खिचाउँदै प्रधानमन्त्री प्रचण्ड । तश्वीर: नास्ट

कुलपति राष्ट्रिय नवप्रवर्तन् पुरस्कार आयुर्वेदिक चिकित्सालय नरदेविलाई दुई लाख नगदसहित पुरस्कार प्रदान गरेका छन् । त्यस्तै दुई लाख राशिको प्रकृति संरक्षण पुरस्कार पंक्षी संरक्षण सङ्घलाई दिइएको छ ।

एक लाख राशिको विज्ञान पुरस्कार विराटनगरका डा. नबल श्रेष्ठलाई प्रदान गरिएको छ । एक लाख राशिको प्रविधि पुरस्कार डा. बालकृष्ण बललाई प्रदान गरिएको छ ।

त्यस्तै ७५ हजार राशिको विज्ञान तथा प्रविधि युवा पुरस्कार माइक्रोबायोलजी केन्द्रीय विभाग कीर्तिपुरका डा. सुप्रिया शर्मा, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवनका डा.  देवराज अधिकारी,  त्रिवि वनस्पति केन्द्रीय विभागका डा. मुक्तिराम पौडेलाई प्रदान गरिएको छ । त्यसैगरी ७५ हजार राशिको महिला विज्ञान तथा प्रविधि पुरस्कार त्रिचन्द्र बहुमुखी क्याम्पसका डा. शान्ता पोखरेलाई प्रदान गरिएको छ ।

७५ हजार राशिको विज्ञान शिक्षक पुरस्कार सात प्रदेशका सात जना क्रमशः दामोदर सिग्देल (मोरङ),  बद्री नारायण झा  (बारा),  मुकुन्द प्रसाद कफ्ले (काठमाडौँ), शेखरनाथ शर्मा पौडेल (कास्की), डिल्लीराम खनाल (रुपन्देही), भीम बहादुर वि.क.(जुम्ला) र केशव राज विष्ट (दार्चुला)लाई प्रदान गरिएको छ।

विज्ञान तथा प्रविधिमा विशिष्ट योगदान गरेबापत वरिष्ठ वैज्ञानिकहरू क्रमशः प्राडा मेघराज धिताल (भूगर्भ शास्त्र),  प्राडा गोविन्दराज घिमिरे (वनस्पति शास्त्र), इ. डिल्ली रमण शाक्य (इलेक्ट्रिकल इन्जिनियरिङ), प्राडा तेजबहादुर सिंह महत (वन विज्ञान) र डा. रीता थापा (चिकित्सा शास्त्र)लाई प्रत्येकलाई ४० हजार नगदसहित पुरस्कार प्रदान गरिएको छ।

पुरस्कार वितरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले नवप्रवर्तन हुने खालका कार्यक्रमलाई विशेष प्राथमिकता दिन आग्रह गरेँ। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नवप्रवर्तनलाई व्यावसायिकीकरण गर्नमा जोड दिए ।

नास्टका उपकुलपति प्राडा दिलिप सुब्बाले प्रदेशमा विशिष्टकृत प्रयोगशाला सञ्चालनका लागि सातै प्रदेशमा सहकार्य गरी यस वर्षदेखि सञ्चालन गरिने बताए । त्यस्तै, नास्टका सचिव डा. रवीन्द्र प्रसाद ढकालले नेपालका मौलिक प्रविधिलाई समय सापेक्ष बनाउन आवश्यक प्रक्रियाको थालनी भैसकेको बताए ।

नास्टले ०७९ र ८० सालको गरी करिब एक सय वैज्ञानिक, संघसंस्था, शिक्षक, विद्यार्थी, पत्रकार र आफ्ना कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।