
ललितपुर । नेपालमा भौतिकशास्त्र अध्ययनरत विद्यार्थी लक्षित अनुसन्धानात्मक कार्यक्रम ‘फिजिक्स युथआउट फन्टियर्स नेपाल: होलोग्राफी हिमालय’को दोस्रो संस्करण सुरु भएको छ । गत शुक्रवार खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) सभा हलमा दोस्रो ब्याचका ७० विद्यार्थीहरू भेला गरी कार्यक्रम सुरु गरेको हो ।
विभिन्न विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूलाई आगामी छ महिना के-कस्ता पाठ्यक्रम हुने तथा अनुसन्धान गर्ने भन्ने बारेमा आयोजकले जानकारी गराएको थियो । कार्यक्रमका संयोजक किरण अधिकारीले भने, ‘यो कार्यक्रम विशेष रूपमा विश्व भौतिकशास्त्रको उच्चतम सिद्धान्तको सेरोफेरोमा अध्ययन गरिन्छ । त्यसपछि विद्यार्थीहरूलाई नयाँ अवधारणमा अनुसन्धान गराइन्छ।’
गत वर्ष इन्टरनेशनल सेन्टर फर थेरोटिकल फिजिक्स(आइसीटीपी): फिजिक्स विथआउट फ्रन्टियर्सको ५० हजार आर्थिक सहयोगमा १७ विद्यार्थी प्रशिक्षित भएका थिए । त्यसमध्ये तीन समूहले अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशनको अन्तिम चरणमा छ । जर्मनीको टेक्निकल विश्वविद्यालय इन म्यूनिकमा विद्यावारिधि गर्दै गरेका संयोजक किरणले भने, ‘पहिलो ब्याचका विद्यार्थीहरूले अनुसन्धान गरेका कुरा नयाँ विद्यार्थीहरूलाई जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।’
उनका अनुसार ‘क्वान्टम इन्फरमेसन’ले आइन्टानको सापेक्षतावाद सिद्धान्त र क्वान्टम मेकानिक्सलाई जोड्न ‘सेतु’को काम गर्दछ । यही अवधारणलाई होलोग्राफी भन्न सकिन्छ ।
उदाहरणका लागि व्लाकहोलको गुरुत्वलाई त्यसको सतह (सरफेस)मा भएको सूचना (इन्फरमेसन)ले मात्र व्याख्या गर्न सक्छ। ‘यो सिद्धान्त स्टिफेन हकिङ्सले व्याख्या गरेका थिए,’ किरणले भने, ‘जसमार्फत थ्रिडी (थ्री डायमेनसल) को सम्पूर्ण सूचना टूडी (टू डायमेनसल) रूपमा भएका सतहले व्याख्या गर्न सक्ने सिद्धान्तलाई होलोग्राफिक बुझ्न सकिन्छ ।’भौतिकशास्त्रका सिद्धान्तमा भएका कुराहरूलाई स्नातक र स्नातकोत्तरका विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गराउन ‘होलोग्राफी हिमालय’ कार्यक्रम रचना गरिएको आयोजकले जनाएको छ ।
रसुवा जिल्लामा जन्मेकी त्रिचन्द्र बहुमुखी क्याम्पसमा बिएस्सी चौथो वर्षमा अध्ययनरत ईव कुमारी लामिछानेले आफ्नो समूहको नेतृत्व गर्दै क्यान्टम केओस सिद्धान्त प्रयोग गरी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहयोग पुग्ने खालको अनुसन्धान गरेको बताइन ।
उनका अनुसार उपत्यकामा एउटा लोकल गाडी र अर्को गाडीको बिचको ग्याप धेरै हुन्छ । ‘त्यसरी ग्याप हुनु भनेको ड्राइभरले बढी कमाउन खोज्दा गाडीहरू एकदमै तितरबितर अनुसन्धानमा देखिएको छ,’उनले भनिन्,‘त्यसको समाधानको लागि ड्राइभर र प्यासेन्जर दुवैलाई फाइदा हुने तथा सडक जाम नहुने ‘अप्टिमाइज सिस्टम’को ‘क्वान्टम अल्गोरिदम’ विकास गरेको सोधकर्ता ईव कुमारी लामिछानेले बताइन् ।
‘यस कार्यक्रम छ महिनाको अवधि तोकिएको हुन्छ । जसमा तीन महिना अनलाइन मार्फत कक्षा सञ्चालन गरिन्छ । त्यसपछि अर्को तीन महिना अनुसन्धान कसरी गर्ने तथा कसरी लेख्ने भन्ने सिकाइन्छ । त्यसैको आधारमा हाम्रो समूहले यसमा काम गरेको हो,’ ईवले भनिन् ।
त्यस्तै अर्को प्रस्तुति क्वान्टम स्टेटहरू समयअनुसार परिवर्तन हुँदै जाँदा कति ‘कम्प्लिकेटेड’ हुन्छन भन्ने मापन गरेको सोधकर्ता मौसम घिमिरेले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री इन्जिनियर गणेश साहले भने, ‘यो कार्यक्रम उत्कृष्ट लाग्यो । यस्ता कार्यक्रमलाई कसरी संस्थागत रूपमा विकास गर्ने भन्ने जिम्मा विज्ञान क्षेत्रका अधिकारीहरूले सोच्न पर्ने बेला भएको छ ।’
‘अनुसन्धान भनेको निरन्तरताको कसी हो, निरन्तर लाग्न सके यसबाट मुलुकलाई फाइदा हुनेछ, पूर्वमन्त्री साहले भने,‘विज्ञान मन्त्रालयले यस्ता कार्यक्रम थप विकास गर्न पर्ने देखिन्छ ।’ विश्वविद्यालय पनि थप जागरुप हुन पर्ने बेला आएको छ । बाहिरी रूपमा यसरी साना समूहले काम गर्न सक्ने तर विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई गराउन किन नसक्ने (?),’ उनले भने । उनले प्रत्येक विद्यार्थीहरूले आफ्ना कलेजमा ‘फिजिक्स ओलम्पियाड’ गर्न सुझाए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह-सचिव इन्दुविक्रम जोशीले भने, ‘होलोग्राफी हिमालय कार्यक्रम नतिजा लक्षित छ।’ यसलाई मन्त्रालयले कसरी ग्रहण तथा विस्तार गर्ने भन्ने कुरामा थप छलफल गर्न सकिन्छ, जोशीले भने । ‘मन्त्रालयले कम्प्यूटेशनल तथा एआइमा काम गर्ने कार्यक्रम राखिएको छ । त्यसमा कसरी अगाडी बढ्न सकिन्छ, विज्ञहरूको सुझाव अपेक्षा गरेको छु,’ उनले भने ।
नास्टका सचिव डा. रवीन्द्र प्रसाद ढकालले पहिला बाहिर सुने जस्तो हल्ला नास्टले काम गर्न नसकेको पक्कै हो तर विद्यार्थीहरूका लागि पनि विभिन्न अनुसन्धानका कार्यक्रममा सहयोग गरिरहेको बताए । ‘नास्टका सातै वटा प्रदेशमा भएका विशिष्टकृत प्रयोगशालामा स्नातक वा स्नातकोत्तर गरेका विद्यार्थीहरूका लागि रोजगारीको आवेदन छिट्टै आव्हान गरिनेछ,’ उनले भने, ‘हामीले कल्पना गर्न छोड्न हुँदैन ।’
नास्टका सचिव ढकालले अगाडि भने,‘यो देशमा कसरी वैज्ञानिक अनुसन्धान गर्न सकिन्छ भन्ने कुरामा चिन्तन गर्न पर्नेछ ।’ सरकारले विज्ञान प्रविधिमा गरेको लगानीको रिटर्न खोजिराखेका छन्, त्यसकारण हामीले नेपालका समस्या समाधान गर्ने खालका अनुसन्धानमा जोड दिन पर्नेछ । कुनै एउटा नमुना काम गर्न सक्नु भयो भने त्यही प्रडक्ट लिएर विदेश जान सकिन्छ,’ उनले भने, ‘त्यसकारण ‘साइन्स इज् ग्लोबल, इनोभेसन् इज लोकल ।’
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका सहायक डीन डा. सुरेन्द्र कुमार गौतमले त्रिविले अहिले ‘एप्लाइड कोर्ष’ लाई संस्थागत विकास गर्न लागि परेको बताए । उनले भने, ‘आधारभूत विज्ञानका पक्षहरू घनिभूत छ । यसको विकास हुन उतिकै जरुरी छ ।’ विद्यार्थीहरू भनेको उदाउँदा घाम हो र प्राध्यापकहरू भनेको जुनको सन्दर्भ निकाल्दै सहायक डीन गौतमले भने, ‘अव तपाईँहरूले भौतिकशास्त्र विषयमा गहिरो चिन्तन गर्नुहोस् । ताकी त्यसलाई प्रयोगात्मक रूपमा पनि विकास गर्न सकियोस् ।’
त्रिवि केन्द्रीय भौतिकशास्त्रका प्राडा सिताराम व्याहुतले सैद्धान्तिक अनुसन्धानले प्रविधि निर्माणमा सहयोग पुग्ने बताए । उनले कम्प्यूटेश्नल अनुसन्धानले प्रविधि निर्माण किफायती भएको उल्लेख गरेँ । ‘४० वर्ष पहिले हवाईजहाजको कतिपय कुरामा अनुसन्धान गर्न पर्यो भने निकै कठिनाइ थिए । तर, आजकल त्यस्ता प्रयोगशाला कम्प्युटरमा सीमित भएका छन् । कम्प्युटरमा पूर्णतया परीक्षण सफल भएपछि मात्रै नमुना प्रविधि बनाउने छन्,’ उनले भने ।
आजकल औषधि बनाउन भन्दा पहिले कम्प्टयुरमा मोलिक्यूल्स बनाइन्छ । त्यसपछि मात्र औषधि बन्नेछ। यसकारण व्यवहारिक मात्र भनियो भने नयाँ सोचको विकास हुँदैन, उनले भने ।
मेरा लागि भौतिक शास्त्र सजिलो विषय थियो, त्यसकारण मैले भौतिकशास्त्र पढेँ । यसकारण भौतिक शास्त्रमा जम्मा पाँच वटा समिकरण (इक्वेसन) छन् । हामीले कुनै एकको पूर्णरुपमा सोलुसन गर्नुभयो भने सजिलो हुनेछ, प्राडा व्याहुतले विद्यार्थीहरूलाई अध्ययन टिप्स दिए ।
‘क्वान्टम केओस र गणितीय रेन्डम म्याट्रिक्सको प्रयोग जस्तो कुरालाई यातायातमा प्रयोग गर्न सकिने भनेर देखाउनु आफैमा खुशीको कुरा हो,’ उनले भने, ‘मैले नजानेका कुरा भर्खरका विद्यार्थीहरूले अनुसन्धान गरेका छन् ।’ त्यसकारण राज्यले सैद्धान्तिक विषयको अनुसन्धानलाई बेवास्ता गर्न हुँदैन,’ उनले भने ।
नेपालमा भौतिकशास्त्रको अनुसन्धान, अवस्था तथा चुनौतीहरूमा छलफलको क्रममा त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राडा रामेश्वर अधिकारीले विद्यार्थीहरूमाझ नेपाल बस्ने कति जना हात उडाउन आग्रह गर्दा, सत्तरी विद्यार्थीमा पाँच जनाले मात्र हात उठाएका थिए । उनले भने, ‘संसारभर जहाँ अध्ययन गर्न गए पनि कृपया देशमा फर्कन अनुरोध छ।’ राज्यले पनि आफ्ना दक्ष जनशक्तिलाई विदेशबाट स्वदेश फर्काउने वातावरण बनाउन ढिलाइ गर्न नहुनेमा प्राडा अधिकारीले जोड दिएका थिए । सो अन्तरक्रियामा विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा युनेस्को नेपालबाट ची गुय, बायोटेक्नोलोजी अफ नेपाल (बिएसअन) का अध्यक्ष नविननारायण मुननकर्मी, रोबक्टिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङ र त्रिविका प्राडा जीवन ज्योति नकर्मीको सहभागिता थियो ।
यस कार्यक्रम आइसिटिपी फिजिक्स विथआउट फन्टियर्स, त्रिवि पाटन बहुमुखी क्याम्पस, नास्ट, रिभोसाइन्स मिडिया र इज्यालो एकेडेमीसँगको सहकार्यमा गरिएको आयोजकका लक्ष्मण डंगोलले बताए।
होलोग्राफी हिमालय कार्यक्रममा स्टोनी ब्रुक विश्वविद्यालयका अनुसन्धानकर्ता डा. राजीव सिंहले ब्रह्माण्डीय विज्ञानमा र आयोजकका किरण अधिकारीले विद्यार्थीहरूलाई अध्यापन तथा अनुसन्धान गराएका थिए । विद्यार्थीहरूलाई पाइथन, लेटेक्स र किसकिटजस्ता ‘प्रोगामिङ कोर्स’ सिकाइएको थियो ।

Leave a Reply