
काठमाडौँ, जेठ १४ । नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूको मागप्रति पूर्ण ऐक्यवद्धता जनाएको छ।
महासंघले सरकारसँग न्यायोचित मूल्य समायोजनको व्यवस्था तत्काल गर्न आग्रह गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ।
तर पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्दा उद्योग ठप्प हुने अवस्थामा पुगेको र यसले समग्र अर्थतन्त्रमा प्रतिकूल असर पारेको उल्लेख गरिएको छ।
मध्यपूर्वको युद्धअघि डिजेलको मूल्य प्रति लिटर रु. १३९ रहेकोमा हाल रु. २२५ पुगेको छ भने बिटुमिनको मूल्य प्रति केजी रु. ७५ बाट रु. १५५ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यसरी मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले करिब रु. १० अर्बभन्दा बढी नोक्सानी भोगिसकेको महासंघको भनाइ छ।
महासंघले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ अनुसार मूल्यवृद्धि भएमा अनिवार्य रूपमा मूल्य समायोजन गर्नुपर्ने कानूनी व्यवस्था रहेको स्मरण गराउँदै सरकारलाई तत्काल मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेको छ।
भारतले समेत मूल्यवृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको अवस्थामा नेपालमा त्यस्तो व्यवस्था नभएको कारण निर्माण उद्योग धराशायी हुने खतरा रहेको महासंघले चेतावनी दिएको छ।
महासंघले सबै अवधिका ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न, मूल्यवृद्धि अनुसार मार्गनिर्देशिका वा परिपत्र जारी गर्न, र निर्माण उद्योगलाई संकटबाट जोगाउन सरकारसँग निरन्तर पत्राचार गरिरहेको तर समस्या समाधान नभएको गुनासो पनि गरेको छ।

Leave a Reply