|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, जेठ, १४ । ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ मा २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ ।
एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक आरोहण गरेर आफ्नै पुरानो कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
यस्तै धेरै पटक सगरमाथा आरोहण गर्ने महिला लाक्पा शेर्पालगायतलाई पनि सम्मान गरिएको थियो । यस पटक कार्यक्रमको पूर्व सन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको पनि विशेष सहभागिता रहेको थियो ।
राष्ट्रपति पौडेल ‘समिटर्स ब्रेकफास्ट’ मा सरिक भई सगरमाथा आरोहीहरूसँग साक्षात्कार गरेका थिए । यसले यो कार्यक्रमको गरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ बढाएको आयोजकको विश्वास छ ।
वरिष्ठ पर्वतारोही एवम् सेभेन समिट ट्रेक्सका सञ्चालक मिङ्मा शेर्पाले नेपालका हिमालले विश्वभरका पर्यटकलाई आकर्षित गरिरहेको बताए । हिमाल आरोहणमा शेर्पा गाइडले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । ‘पहिलेको तुलनामा अहिलेका शेर्पाहरू धेरै बलिया र तालिमप्राप्त छन्, हामी हाम्रो विदेशी आरोहीलाई सुरक्षित रूपमा शिखरमा पुर्याउन सधैँ तत्पर छौँ, उनले भने ।
एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोहीको सम्मानका गत वर्षदेखि एभरेष्ट समिटिएर्स समिट कार्यक्रम सुरुवात गरेको र दोस्रो वर्षमा आइपुग्दा नै कार्यक्रमको दायरा फैलँदै गएको बताए ।
‘हामीले गत वर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सुरुआत गरेका थियौँ, पहिलो संस्करण भव्य रूपमा सम्पन्न हुनुले नै यसको महत्त्व र दायरा प्रस्ट पारेको छ । यो नेपालको मात्र नभएर विश्वव्यापी कार्यक्रम बनिसकेको छ,’ उनले भने ।
सबैको साथ र सहयोगले यो कार्यक्रम भव्य भएको भन्दै नेपालले सबैप्रति आभार व्यक्त गरे । यस पटक सरकारबाट नै यो कार्यक्रमको लागि सहकार्य भएको उनले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल टुरिजम बोर्डलाई विशेष धन्यवाद दिए ।
यस्तै आगामी दिनमा पनि सबैसँग हातेमालो गर्दै यो कार्यक्रममलाई अझ व्यापक बनाउँदै लैजाने उनले बताए ।
हिमालयको भविष्यका लागि एकजुट आवाज विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहीहरूको अद्वितीय साहस र योगदानलाई कदर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । यसबाट नेपालको पर्वतीय पर्यटनलाई विश्वमाझ अझ उच्च राख्न र साहसी आरोहीको सम्मानका लागि मद्दत पुग्ने अध्यक्ष नेपालले बताए ।

Leave a Reply