भनाई छ सबै पहाडमा रत्न वा मणि पाइदैन,सबै हात्तीका मस्तकमा मोती पाइदैन, संसारका सबै ठाँउमा महापुरूषहरू पाइदैनन् । अर्थात श्रेष्ठ र दुर्लभ वस्तु पाउनका निम्ती निकै संर्घष गर्नुपर्दछ । प्रलयकालमा समुन्द्रले पनि सिमा नाघ्दछ तर समुन्द्र र सज्जन व्यत्तिमा यही नै फरक छ । सज्जनको जीवनमा जस्तै प्रलय आए पनि उस्ले मर्यादाको सिमा कहिल्यै उल्लंघन गर्दैन । कठिन परिस्थितीमा पनि आफ्नो मर्यादालाई नभुल्ने यी तिनै नेपाली भौतिक विज्ञानका क्षेत्रमा स्वनामधन्य पात्र हुनुहुन्छ—प्रा डा शेखर गुरूङ ।
वाल्यकालमा इलामको आसपास वाख्रा र भैसीको गोठालो लाग्ने एउटा बालक कसरी प्रोफेसर हुदै त्रिविविको हेड अफ दि डिर्पाटमेन्ट सम्म बन्न सफल हुनुभयो । यस अंक हामीले उहाँको जीवनका भोगाइहरूलाई उहाँकै शव्दमा पस्कने जमर्को गरेको छौ ः
जन्म–शिक्षा–दिक्षा
इलामको एउटा बिकट मावु गाँउ वडा नम्वर ९ मा पदमलाल गुरूङ र नरमाया गुरूङको कान्छो पुत्रको रूपमा जन्म भएको हो । मध्यमवर्गिय परिवारमा जन्मेको भए पनि त्यस समयमा स्कुले शिक्षा निकै अप्ठयारो विषय थियो । वुवा पदमलाल अनपढ हुनुहुन्थ्यो । यद्यपि उहाँको उत्कट चाहना थियो सन्तानले शिक्षा दिक्षा हासिल गरून । र आफूले जस्तो आफ्नो सन्तानले दुख कष्ट भोग्न नपरोस । पिता पदमलाल विद्यालाई कामधेनु गाई भन्नुहुन्थ्यो । यसले समय अगावै फल दिने विदेशमा आमाले झै रक्षा गर्ने भएकाले यस्लाई गुप्त धन मान्नुहुन्थ्यो । त्यसैले माता पिताले अति दुख कष्ट झेलेर भए पनि शिक्षा दिक्षा दिनमा कुनै कञ्जुस्याई गर्नु भएन । बाल्यकालको स्कुले जीवनको किरिङ मिरिङ याद वालुवाटार प्रधानमन्त्री निवास देखि उत्तर तर्फ रहेको आफ्नै निवासमा सुनाउदैहुनुहुन्छ गुरूङ ।
स्कुल पढ्दा एउटै मात्र कक्षाकोठा थियो । एउटै कोठामा अध्ययन गरेर १ देखि ६ कक्षासम्म पढियो । सानो कक्षाको विद्यार्थीहरू पछाडि वस्नुपर्दथ्यो भने ठूलो कक्षाका विद्यार्थीहरू अगाडि वस्दथे । शिक्षक एउटै मात्र हुन्थे । गाँउको ठाँउ न हो, न त गतिलो तलव, न त खान बस्नको सुविधा यही कारण महिना नवित्दै शिक्षकहरू फेरिरहन्थे । अनि खाली भएको ठाँउमा शिक्षक खोज्ने काम बुवा पदमलालको भागमा पर्दथ्यो यसरी ६ कक्षासम्म सोही स्कुलबाट उत्र्तिण गरेपछि बाकी अध्ययनका लागि दार्जिलिङ तिरको ढोका खुल्यो । हिजो मैले ६ कक्षासम्म अध्ययन गरेको स्कुलमा अहिले दश कक्षासम्म पढाई हुन्छ ।
वुवा खलकका तीन भाइहरू कालिम्पोङ दार्जिलिङ तिरै हुनुहुन्थ्यो । घरेलु परिस्थितीले गर्दा ठूलो दाजुले उति साह्रो अध्ययन गर्नुभएन ।उहाँ घरकै काममा सिमित हुनुहन्थ्यो । माइलो दाजुले एसएलसी र साइलो दाजुले व्याचलर सम्मको अध्ययन गर्नुभएको थियो । दार्जिलिङमा माइलो दाजुको साथमा रहेर सात कक्षा देखि एसएलसी सम्मको शिक्षा ‘घुम व्याइज हाइस्कुल’बाट हासिल गरे । अहिले जस्तो सुविधा तिनताका कहाँ पाउनु ? सात कक्षा पढ्न माइलो दाजुसँग मावुवाट दार्जिलिङ जाँदा मानेभञ्ज्याङ हो पहिलोपटक गाडि देखेको । सुरूमा सो स्कुलमा अध्ययन गर्दै गर्दा साथीभाइहरूले हेयको दृष्ट्रिले हेर्दथे । पाखे र खरीगाठे ठान्दथे । तैपनि पढ्नमा अत्यन्त लगाव थियो ममा । कतिसम्म भने वाख्रा गोठालो गएको समयमा स्कुलको घन्टी लागेको सुनेभने पनि म गोठालो लाग्न छाडेर पढ्न तिर दौडन्थे । सात कक्षाका दोश्रो टर्मिनल परीक्षामा म दोश्रो स्थान ल्याउन सफल भए । वातावरण कसरी परीवर्तन भयो भने पहिला हेयका दृष्ट्रिले हेर्ने, पाखे ठान्ने विद्यार्थीहरू पनि नजिक झुम्मिन थाले । विषय पिच्छे फरक शिक्षक हुँदा रहेछन भन्ने घुम हाइस्कुलमा पुगेपछि मात्रै थाहा लाग्यो । पढ्न पर्दछ र पढेर केही गर्नुपर्दछ भन्ने उत्प्रेरणा जागेर आयो । उत्प्रेरणा मिलेपछि मानिसलाई जिन्दगीमा थप उर्जा मिल्दोरहेछ । घुम स्कुलबाट सन् १९६६ मा एसएलसी पहिलो श्रेणिमा उत्र्तिण गर्ने म मात्रै थिए । एसएलसीमा राम्रो अंक ल्याएको कारण थप शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त भयो । बाँकी उच्च शिक्षा अध्ययनका लागि नर्थ प्वाइन्ट कलेजमा प्रि–युनिभर्सिटी शिक्षा हासिल गर्नेका(त्यस समयमा प्रि–युनिभर्सिटी शिक्षा हासिल गर्नुलाई इन्टरको मान्यता हुन्थ्यो ।)दार्जिलिङमा भर्ना भए । छात्रवृत्तिमा पाएको सानै रकम भए पनि गुरूङले आफ्नो पितालाई खुट्टामा राखेर ढोकिदिदाँ पिताको खुशीको सिमा रहेन । खुशीको आशु बहाउदै पिताले ‘पढ्दै गर्दा त छोराले पैसा कमाउदछ’ भने पछि भविष्यमा छोराले केही गर्दछ भनेको मेरो कानमा अहिले पनि गुञ्जिरहको छ ।
मलाई सानै देखी एउटा कुराले खुबै छुन्थ्यो साइन्स पढ्ने मान्छेहरू कि त ‘हो’ भन्न जान्दछन वा त ‘होइन’ भन्न सक्दछन् । सायद स्वभावैको कारण पनि म साइन्सको विद्यार्थी बने । अझै थपौ, अन्तरआत्माको आवाज सुनेर म विज्ञानको विद्यार्थी बने । सायद मेरो बाबु आमाको एउटै इच्छा पनि थियो यो छोराले जसरी पनि पढोस ।
विएस्सी तहको पहिलो तहमै उत्कृष्ठ नतिजा हासिल टिवी क्षत्री सरले दार्जिलिङ सरकारी कलेजका प्रध्यापक श्री एचएन भट्टाचार्य सर(उहाँ भारतीय मिसन मार्फत केही समय त्रिविविमा कार्यरत हुनुहुन्थ्यो ।)लाई यो केटो काठमाडौमा पढ्न चाहन्छ । पहिलो पार्टमा राम्रो नतिजा ल्याएको हुँदा सेकेण्ड पार्टमा पनि राम्रै नतिजा ल्याएर उत्र्तिण गर्छ भन्ने ठोकुवा गरेरै उहाँले एउटा सिफारिस पत्र लेखिदिनुभयो । भट्टाचार्य सरले लेखिदिनु भएको सो सिफारिस पत्र बोकेर म काठमाडौं आए । तत्कालिन हेड अफ दि डिर्पाटमेन्ट प्रा डा बलराम जोशी सरलाई भेटेपछि उहाँले हुन्छ पढ भन्नुभयो । त्यसपछि रजिष्टरमा मेरो नाम प्रोफेसर देवेन्द्रराज मिश्र सरले लेखिदिनुभयो । यसरी एमएस्सी तहको शिक्षा हासिल गर्नेका लागि काठमाडौ खाल्डोमा भित्रिए । दाजुहरूको इच्छा म पाइलट बनोस भन्ने थियो । तर मेरो लक्ष्य यो बन्ने त्यो बन्ने केही थिएन । केबल मनमा केही थियो भने जसरी पनि पढ्नुपर्दछ भन्ने मात्रै थियो ।
सन् १९७० मा काठमाडौ भित्रिएपछि टुडिखेलमा वदाम खादै खुबै वसियो । त्यस समय गुणस्तर तथा नापतौल विभागको कार्यलय सुन्धारामा थियो । जागिरको लागि आवेदन दिए । तर ठिक सोही समयमा जाडो विदामा म घर गएको थिए फर्कदा त नाम निस्किएको भए पनि ढिलो भएको भन्दै जागिर पाइएन । त्यस समय अहिलेको जस्तो पूर्व पश्चिम राजमार्ग खुलिसकेको थिएन । इलामबाट काठमाडौं आउँदा दार्जिलिङबाट सिलगुढी रक्सौल निष्किएर भीमफेदीको बाटो हँुदै आउनुपर्दथ्यो । यसरी आउदा समय लाग्दथ्यो नै । कीर्तिपुरमा बस्दा होस्टल पनि कहिल्यै छोडिन र किताब पनि कहिल्यै छोडिन । मेरो डिउटी भन्नु नै पढ्नु हो मैले पढ्नु पर्दछ भन्ने मात्रै लाग्दथ्यो । सायद यही लगनको कारण होला मास्र्टस लेभलमा त्यस समयमा पाचौ वर्ष र छैटो वर्षको रूपमा वर्गिकरण गरिएको थियो । पाचौं वर्षमा युनिभर्सिटी टप नै भए तर छैटौं वर्षमा कल्चरको प्रेम खत्रीले पछि पारें । म दोश्रो भए । यद्यपि साइन्सको टप नै भए र मेरो पोल्टामा पद्मराज पदक पर्यो ।
भोलीपल्टैदेखि जागिर
त्यससमय अहिलेको जस्तो जागिरको दुख पनि थिएन । रिजल्ट भएको भोलीपल्टै देखी म विश्वविद्यालयमा एसिस्टेन्ट लेक्चरको रूपमा जागिर गर्न थाले । एसिसटेन्ट लेक्चरको त्यो समयको तलब रू ४७५ थियो । लेक्चरको तलब त्यो समय ६५० थियो । एक वर्ष एसिसटेन्ट लेक्चररको रूपमा पढाए पछि फिजिक्सका अन्य लेक्चरर र प्रोफेसरहरूलाई पछाडि पार्दै म विट्रिस काउन्सिलले लिएको परीक्षामा मेरो नाम निष्कियो र विट्रिस काउन्सिलको सहयोगमा अध्ययनका लागि वेलायत पुगें । त्यहाँबाट एमएस्सी सकाए पछि म स्वदेश फर्किए । किन किन मेरो मन विदेशमा रम्न सकेन । रत्नपार्कमा तिनताक स्वीट भ्याली र न्यूरोडको रञ्जना हल चर्चित थिए । यी वाहेक अरू नदेखेको मलाई एकैपटक दिल्लीको पाँचतारे अशोका होटलमा राख्दा होस वा वेलायतमा पुग्दा होस कति सास्ती र हण्डर खेप्न पर्यो । त्यो दुखको त वेहिसाब छ ।
कुनै कुरामा पनि यो गर्नुपर्दछ भन्ने गन्तव्य मेरो कहिल्यै पनि भएन । यस्तो भए पछि बीचमा आउने बाधा र व्यवधानले पनि कमै मात्रामा अवरोध र अड्चन ल्याउदो रहेछ । त्यहाँबाट नेपाल फर्किएर डेढ वर्षको अध्यायपन पश्चात जर्मनी तिर लम्किए । जर्मनी जाँदाको पनि कहानी निकै रोमाञ्चक छ । देशैभरको साइन्सको मास्टरहरूलाई पछि पार्दै मेरो नाम अग्रपत्तिंमा परेपछि मेरो जर्मनी अध्ययन गर्ने जाने ढोका खुल्यो ।
कम्युटर यसरी भित्राइयो
त्रिविवि सबैभन्दा पहिला हामीले नै कम्युटर भित्रायौं । त्यो इसिमोडका फालिएको थियो । कुनै समय योजना आयोगका उपाध्यक्ष समेत हुनुभएका डा. पिताम्वर शर्मा तीनताका इसिमोडमा काम गर्नुहुन्थ्यो । उहाँकै सहयोगमा सो कम्युटर विश्वविद्यालयमा भित्राइयो । यति मात्रै होइन् सबैभन्दा पहिला इन्टरनेट समेत त्रिविविमा जोडियो । इन्टरनेट एक्सेस प्राप्त भएपछि विदेशमा निवेदन दिने प्रोफेसरहरूको संख्या पनि ह्वात्तै वढ्यो । इन्टरनेटको सुविधा जोडिएसँगै छोटो समयका लागि विदेशिने प्रोफेसरहरूको संख्या ह्वात्तै घट्यो । तीनताक इन्टरनेट जडान गर्दा कतिसम्म भने भाइरस लाग्छ भनेर विद्यार्थी तथा इन्टरनेट प्रयोगकर्ताहरू जुत्ता चप्पल बाहिरै खोलेर भित्र कार्यलयमा प्रवेश गर्ने गर्दथे । इन्टरनेट जोडिए पछि विद्यार्थीहरू पनि कम्युटरमा झुम्मिन थालें । त्यस बेला सिडिसीको भबनमा कम्युटर राखेका थियौं । त्यहाँको गेट होचो थियो । विद्यार्थीहरू रातको १२ बजेसम्म पनि गेट नाघेर कम्युटर भएको ठाँउमा पुग्दथे । म विद्यार्थीहरू नगएसम्म तिनीहरूलाई कुरेर बस्दथे । कम्युटर जम्मा ४ वटा मात्रै थियो । मेरै कार्यकालमा क्याम्पस कम्पाउण्ड लगाउने काम भयो । पहिला अहिलेको जस्तो सुविधासम्पन्न भवन थिएन । सबै टहराहरू थियो विश्वविद्यालय । मेरै पालामा वल्ड वैंकले सहयोग प्रदान गर्यो र अहिलेको सुविधासम्पन्न भवन बन्न सफल भयो । पढ्दा खेरी पनि पढ्नुपर्दछ भन्ने मात्रै ख्याल भयो अन्य केही कुराको ख्याल आउदैन थियो । जब जागिर खाँए मलाई दश पाँचको जागिर होइन चौविसै घण्टा केबल कामको मात्रै चिन्ता र ध्यान हुन्थ्यो । कसरी मेरो कामलाई प्रफेक्ट गर्न सक्छु । मेरो ख्यालमा यही मात्रै हुन्थ्यो । वार्डन भएर पनि काम गरें । वार्डन पछि पोक्टोन भए, त्यसपछि सदस्यसचिव हुदैं हेड अफ दि डिर्पाटमेन्ट हँुदै म प्रिन्सिपल सम्म भए । तपाईहरू कल्पना पनि गर्न सक्नुहुन्न कि एक जमानामा मैले यी पाँचै वटा पद एकै समयमा समहाल्नुपर्ने अवस्था आयो । यसैमा अझै कलेजको वार्डन समेत थपिएको थियो । राजनीतिक उथुलपुलका कारण वार्डनहरू बस्न नमान्ने, माथिबाट नाम स्विकृत भएर आयो तलबाट स्वकृत नहुने लगायतको समस्या देखिएपछि नसम्हालेर के गर्ने ? यी सबै भएर रहदा विद्यार्थीहरूको अनेक आन्दोलनको सामना गर्नुपर्यो । मैले राजनीतिक दलका विद्यार्थीहरूको साथमा रहदा नै धेरै कुरा सिकें । त्यो समय चर्चामा अनेरास्ववियू र नेविसंघ लगायतका मात्रै थिए । विद्यार्थीहरू जहिले पनि सैद्धान्तिक तर्क गर्दथे । एउटा गाउँको ठिटो जो वाल्यकालमा वाख्रा गोठालो लाग्दथ्यो । अध्ययनको सिलसिलामा दार्जिलिड पुगियो । त्यहाँबाट बेलायत, जर्मन लगायतको विदेशी भूमीमा अध्ययनकै लागि पुगियो । पञ्चायतकालमा होस्टेलमा वार्डन थिए । त्यही समय अनेकन काण्ड घट्यो । त्यही समयमा सबैभन्दा बढि राजनीतिको प्रभाव पनि यही स्थानमा भयो । सिमीत स्रोत र साधनमा असिमित काम गर्नुपर्दथ्यो । त्यो मेरो अहोभाग्य नै थियो । जुन मेरो बालापनको सपना पनि थिएन । कल्पना भन्दा बाहिरको विषय थियो । आफूले जे जति गरें । सो कामबाट म पूर्ण सन्तुष्ट छु ।
प्रशासनलाई विज्ञानको आँखाले हेर्दा
म स्वभावैले पनि राजनीतिक मान्छे होइन । अहिले पनि विश्वाश गर्छु म राजनीति गरेर बाच्न सक्दिन । म विल्कुलै सामाजिक प्राणी हुँ । सामाजिक काम गर्दा नै मलाई विशेष खुशी लाग्दछ । तै पनि त्यस समय विद्यार्थी नेताहरूको जुन किसिमको तर्क र वहश गर्दथे—त्यस किसिमको वहस सुन्दा मलाई भित्रैदेखि आनन्द प्राप्त हुन्थ्यो । दार्जिलिङबाट पहिलो पटक काठमाडौ आउँदा नेविसंघ, अनेरास्ववियु लगायतको चर्चा हुन्थ्यो । एकपटक त मैले साथीभाईका माझमा प्रश्न तेर्साइ पनि हाले । अनेरास्ववियु भनेको एमाले, नेविसंघ भनेको काग्रेस निकटको होइन यो स्ववियु भनेको कता पट्टिको पार्टी हो ? मेरो प्रश्न सुनेर साथीहरू जोडले हासेका थिए । मेरो राजनीतिक चेत सुरूमा साह्रै कम थियो । अहिले पनि त्यस्तै नै हो । कीर्तिपुरमा काम गर्दा विद्यार्थीहरूसँगको यो घुलमिलले नै मलाई जमातमा बोल्न सक्ने बनायो । कहिले विद्यार्थीले मलाई पिटे, कहिले मैले विद्यार्थीलाई पिटें । लाइव्रेरीको घटना, गोलघरको घटना लगायतका घटनाहरू चर्चामा रहें । यी सबै घटना पछि विद्यार्थीहरू भन्दथे सर यो सबै तपाईलाई गरेको होइन तपाइको कुर्सी माथि प्रहार गरेको मात्रै हौं । हेड अफ दि डिर्पाटमेन्ट हुँदा म माथि कस्तो कस्तो काण्ड घटाइयो ? विद्यार्थीहरूको जाँचमा समयमा केही विद्यार्थी रेस्टिकेट भएका थिए । यही कारण केही विद्यार्थीहरूले तपाईको इन्टेनसन नै यस्तै थियो भन्दै उनीहरूले आक्रोश पोखेका थिए । त्यो आक्रोश त्यसै पोखिएको पनि थिएन । आफ्नो जीवन नै तहस नहस हुने देखिएपछि विद्यार्थीहरूले पोखेको आक्रोश थियो । एचओडी हुँदा मैले तीनै विद्यार्थीहरूसँग साथीकै तरहले काम गरें । विद्यार्थीहरूले पछि यो कुराको महशुश गरें पनि । मैले कहिल्यै पनि पूर्वाग्राही भएर काम गरिन । र, मलाई पूर्वाग्राही भएर बाच्न मन पनि लाग्दैन ।
फिजिकल सोसाइटीको जन्म
शंकर प्रसाद प्रधान र हामी लगायतका केही साथीहरू सोसाइटीकोे स्थापनाकाल देखी नै रह्यौ । देशमा विज्ञान तथा प्रविधि त्यसमा पनि भौतिक विज्ञानको केही देन दिन सकौ भनेर नै हामीले सोसाइटीको स्थापना गरेका थियौं । सुरूमा सचिवको रूपमा कार्यरत रहें । र पछि चार चार पटक चारकार्यकालसम्म अध्यक्षको रूपमा काम गरियो । सोसाइटीकोे स्थापना गर्नुको प्रमुख कारण नेपालका भौतिकशास्त्रीहरूलाई केही सहयोग गर्न सकौं भन्ने थियौं ।
पछिल्लो चरणमा साइन्स ओलम्पियाडमा नेपालका विद्यार्थीहरूले पनि प्रतिनिधित्व गर्दै आएका छन् । मेरो चाहना चाही विद्यार्थीहरूले गोल्ड म्याडल ल्याउन सकुन भन्ने थियो । जुन पूरा हुन सकेको छैन । व्रोञ्ज मेडलसम्म मात्रै नेपाली विद्यार्थीहरूले हासिल गर्न सकेका छन्, २ पटक सम्म । यद्यपि हामीले छनोट गरेका विद्यार्थीहरू राम्रो स्थानमा पुगेका छन् । हामी त्यसैमा गर्व गर्दछौं । ओलम्पियाडमा टिम लिडर भएर प्रिसिडेन्ट नै गएको भए पनि हुने हो विदेशतिर तर ममा त्यस्तो मोह कहिल्यै भएन । सधै हाम्रा यूवा पिडिहरूलाई नै टिमको प्रतिनिधित्व गर्दै विदेश पठाए । आफूले काम गर्दिने तर जानुपर्दछ चाँही यूवाहरू । किनभने समाजको लागि सिक्न पर्ने भनेका त यूवाहरूले नै हो । अहिले पनि ओलम्पियाडको फस्ट सर्कुलर आइसकेको छ । देशको लागि गर्छु भन्नु त गफै होला तर समाजका लागि केही गर्न सकिन्छ किनभने हाम्रो थर भनेकै त्यही नै हो ।
धर्म प्रतिको धारणा
धर्मलाई हेर्ने दृष्टिकोण समय काल र परिस्थितीसँग गासिएको हुन्छ । विज्ञानले जे कुरा पनि कि त छ भन्छ कि त छैन भन्दछ । यद्यपि भगवान प्रति आस्था प्राय वूढेसकाल भए पछि राख्ने गरेको पाइन्छ । त्यसकारण भगवान धर्म भनेको शक्तिको एउटा केन्द्र हो जस्तो लाग्दछ । त्यो शक्तिको केन्द्रले कुनै कुनै उमेरसमुहको मान्छेलाई वढि आर्कषण गर्दछ । मानिसले आफूलाई आपत्ति परेपछि अन्तरआत्माबाटै भगवान अर्थात त्यो अदृश्य शक्तिलाई पुकार्दछ । त्यही नै भगवान प्रतिको पुकारा अर्थात शक्तिको आराधना हो ।
जीवन प्रतिको धारणा
कल्पना, सपना यी सबैको एउटा रूप नै जीवन हो । जीवन छ र त हामी जीइरहेका छौं । राम्रो नराम्रो आफ्नो धारणाको निर्माण गरिरहेका छौं । जीवनमा के पाँए र के गुमाए यो खोज कहिल्यै गरिन मैले । एक बारको जुनीमा यस्तो खोजमा लाग्ने हो भने मान्छे एवनर्मल मुडमा जान पनि के बेर ? जीवनमा के पाए र के गुमाए होइन कि जे पाउनु थियो त्यो पाँए र जे गुमाउनु थियो त्यो गुमाए त्यसरी जादा नै जिन्दगी सरल होला जस्तो लाग्दछ । विज्ञानले भन्छ नि केही कुरा पनि आफैमा पूर्ण हुदैन । यदि मान्छेले पाउन पर्ने कुरा पुर्ण रूपमा कहिले पो पाउन सक्दछ र ? जति पायो उति प्राप्त गर्ने इच्छा बाकी नै रहन्छ ।
अवकास पछिको जीवन
फिजिकल सोसाइटीमा इमिडेट पास्र्ट प्रेसिडेन्टको रूपमा रहेको छु । राय सल्लाह दिने हो दिएको राय सल्लाह मान्नै पर्दछ लागु गर्ने पर्दछ भन्ने पनि त छैन । यस्को अलवा भद्रका ली सेवा सदनमा महासचिवको रूपमा क्रियाशील छु । यी संस्थाले वूढा वुढी देखि लिएर वच्चा वच्चीहरूको लागि काम गर्दै आएको छ । जीवन भोगाइको अन्तरंगलाई पुस्तकको रूप दिने पनि विचार गरिरहेको छु । बोलेको कुरा हराएर मेटिएर जान्छ तर किताबको रूप दिन सकियो भने त्यो कहिल्यै पनि मेटिदैन जीवन्त रहन्छ । यही सोचमा छु ।
Leave a Reply