
न्यूयोर्क, चैत १३ । न्यूयोर्कमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सामुदायिक सरोकारका विषयमा केन्द्रित संवाद कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा परिवर्तित आप्रवासन कानुनदेखि समुदायले प्राप्त गर्न सक्ने सेवा सुविधासम्मका विषयमा छलफल भएको थियो।
संवादमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो। संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महावाणिज्यदूत दधी राम भण्डारीले समुदायको साथ र सहयोगले दूतावास अझ प्रभावकारी सेवा दिन सफल हुने विश्वास व्यक्त गरे। उनले डायस्पोरालाई नेपालको शक्ति भन्दै यसलाई विभाजित हुन नदिनुपर्नेमा जोड दिए।
विषय वक्ता एटर्नी डिल्लीराज भट्टले बसोबास गर्ने देशको कानुन पालना अनिवार्य भएको उल्लेख गर्दै सजगताका साथ नियम अवलम्बन गर्न आग्रह गरे। कार्यक्रम डिसी मेट्रो क्षेत्रकी संयोजक सिर्जना काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो।
संवादमा महावाणिज्यदूत प्रेम बहादुर बुढाथापा, एनआरएनए अमेरिका अध्यक्ष सत्येन्द्र साह, सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, फिप्ना अध्यक्ष तोरन गुरुङ, एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष वासु लामिछाने, पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार मोहनसिंह लामा, क्षेत्रीय संयोजक ओम आचार्यलगायतले पत्रकार, नेजा र समुदायबीचको सम्बन्धबारे धारणा राखेका थिए। कार्यक्रममा पत्रकार, अधिकारकर्मी, सरकारी प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply