भनाइ छ ‘पानीमा पौडिरहेको माछालाई पानीको अस्तित्व थाहा हँुदैन । आशा जस्तो अन्धकार केही छैन । यसले जिन्दगीमा डढेलो लगाइदिन्छ । लक्ष्य विनाको आशा व्यर्थ छ ।’ एक महान अवसर हो – जिन्दगी । ठूलाठूला वैज्ञानिक बन्ने अवसर, दर्शन विज्ञान अनि गणितको खोजी गर्ने अवसर । यही अवसरको भरपुर उपयोग गरेर उनी धेरै कुरामा पहिलो बने । आनन्दकुटि विद्यापिठ स्वयभ्भुको पहिलो विद्यार्थी, यही अवसर प्रदान गर्यो त्रिचन्द्रको विएस्सी मर्निङ सिफ्टको पहिलो व्याजको विद्यार्थी र एमएस्सी फिजिक्सको पहिलो व्याजको विद्यार्थी । दुई वर्ष नौ महिनामै गणित विषयमा पिएचडी पनि गर्ने सफल उनै गणितज्ञ, शिक्षासेवी, काठमाडौं विश्वविद्यालयको संस्थापकमध्ये एक धरोहर हुनुुहुन्छ — डा. भद्रमान तुलाधर । उनको लगन र मेहनत कुरा सुन्दा यस्तो लाग्छ जीवनमा मानिसले गर्नु पर्ने अनगिन्ति कुराहरू हुन्छन् तर केहिले मात्र पुरा गर्न सक्छ । उहाँ भन्नुहुन्छ भगवान आफू भित्र खोज्नु पर्दछ । आफू भित्र भएको त्यो अदृश्य शक्तिको उपज आज मेरो सफलताको शिखर हो । समयको कालखण्डसँगै मौलाएका मेरा सृर्जनशीलताले नै आफू अहिलेसम्म काठमाडौं विश्वविद्यालयको गरिमामय पदमा अटाउन सफल भएको जिकिर गर्नुहुन्छ ।
जन्म शिक्षा दिक्षा
वि.सं. २००० साल भाद्र महिनामा जन्मेकाले उनको नाम भद्रमान जु¥यो । साँच्चै उनका स्वभाव र धारणालाई मनन गर्दा पाँच दशकभन्दा बढी ज्ञान र शिक्षाको ज्योति छर्नमा बिताएका उनी नामजस्तै भद्र छन् । बुवा पूर्णमान उपासक, आमा हिरादेवीको कोखबाट जेष्ठ सुपुत्रको रूपमा जन्मिएका ७१ वर्षे भद्रमान परिवारको एक्लो सुपुत्र हुन् । काठमाडौंको ऐतिहासिक धरोहरमध्ये एक मानिने टेबहाल, राजकीर्ति महाबिहार, संकटामा हुर्केका हुन् ।
बुवा सुरूमा त्रिपुरेश्वर स्थित घरेलुमा कारिन्दाको जागिरे हुनुहुन्थ्यो । पछि वहाँ ठुलो बुबाको बाटा जूट्टा पसलमा काम गर्नु भयो । लेखपढ गर्नमा आमा, पिताजी भन्दा तगडा भएको भद्रमान सुनाउनुहुन्छ । प्रायः बौद्धदर्शनका श्लोक कण्ठष्ठ थियो रे उहाको आमालाई ।
आनन्दकुटी विद्यापिठ स्वयभ्भूको पहिलो विद्यार्थी हुन् भद्रमान । त्यतिखेर न्हुच्छे बहादुर व्रजाचार्य त्यो समयका हेडमास्टर हुनुहुन्थ्यो । उहाँ सुनाउनुहुन्छ, ‘नेपाली कागजको रजिष्टरमा उहाँले नै मेरो नाम पहिलो विद्यार्थीको रूपमा दर्ता गरिदिनु भएको थियो । वि सं २००८ मा उक्त विद्यालयमा भर्ना भई उनले २०१४ सालमा सोही विद्यालयबाट एसएलसी सकाउनु भयो । छ बर्ष मात्र स्कूलमा बिताएका भद्रमानले प्रारम्भिक शिक्षा भने घरैमा पाएको बताए । उनी भन्छन्, त्यतिखेर एसएलसीको जाँच दिनका लागि फारम भर्न सिंहदरवार जानुपर्दथ्यो । आनन्दकुटीबाट एसएलसी दिने जम्मा तीन जना मात्रै थियौं । हिरा वहादुर स्थापित (केशव स्थापितका दाजु), म र अर्काे एक जना पुण्यरत्न तुलाधर थियौं, साथै, त्यसताका त्रिचन्द्र कलेजका प्रिन्सिपल गोदत्तमानका छोरा र छोरी क्रमशः अनन्तदत्त र सत्यव्रताले पनि सँगै एसएलसी परीक्षा दिएका थिए । इतिहासविद् भुवनलाल प्रधानको चेला हुँ भन्नेमा र उहाँबाट शिक्षा दीक्षा लिन पाउँदा आफूलाई अहिले अतिनै आनन्द लाग्ने बताउँछन् उनी ।
बाल्यकालमा रिसालु स्वभावका थिए रे उनी । आफ्नो वालापन सम्झदै तुलाधर सुनाउनुहुन्छ ‘स्कूल जान मनै नलाग्ने, जब बुबाले बौद्ध परम्पराको स्कूलमा लगेर भर्ना गरिदिनुभयो, अनि स्वभाव परिवर्तन भई ज्ञानी भएर पो निष्किए ।’ (हासो) संकटाको परिसरमा जन्मि हुर्किएकोे जीवनको सुरूआत कम्ती संघर्षपूर्र्ण थिएन तर सफलता त्योभन्दा धेरै मीठो भएको सुनाए । परिवारको आर्थिक समस्याका कारण आठ वर्ष सम्म घरमै स्वाध्ययन गरे । अरू साथीहरू सेन्ट जेभियर्स गइरहँदा आठ वर्ष पुगेपछि बौद्धमार्गी बुबाका पछि लागेर आनन्दकुटी विहार (पछि आनन्दकुटी विद्यापीठ नामले प्रख्यात भएकोछ) मा पुगे र १४ वर्षको उमेरमा त्यहीबाट एसएलसी पास गरें ।
धेरै विद्यार्थीको सोच एसएलसी पछि डाक्टर वा इन्जिनियर बन्ने हुन्छ । मेरो पनि मनको एउटा कुनामा यस्तै सोच थियो । त्यसैले त्रिचन्द्र कलेजमा आइएस्सी पढ्न भर्ना भएं । आशुतोष गांगुली प्रिन्सिपल हुनुहुन्थ्यो । म आनन्दकुटीको त्यस्तो भद्र संस्कारमा शिक्षा हासिल गरेर आएको मान्छे, संकटा क्षेत्र भित्र शिक्षित व्यक्तिहरू अत्यन्त कम भएकाकारण मेरो आइएस्सीको पढाई त्यति राम्रो भएन । घरमा पनि शैक्षिक वातावरण थिएन । त्यसैले बुवा आमालाई आर्थिक भार कम होस भनेर २०१८ सालदेखि आफैले पढेको स्कूल आनन्दकुटी विद्यापीठ स्वयम्भूमा शिक्षण पेशा सुरू गरियो । अहिले पनि मैले पढाउने काम भने छाडेको छैन् । ‘विद्यार्थीलाई पढाइरहेकै छु — शरीर रहेसम्म पढाइरहन्छु’ — उनले बुढ्यौली जोस देखाउदै भने ‘अहिले पनि दैनिक १८ घन्टा काम गर्छु, म पदको लालचा र आकांक्षामा भन्दा परिश्रम र संघर्षबाटै पाएको सफलतामा रमाउँछु ।’
बिहान विएस्सी अध्ययनका लागि त्रिचन्द्र कलेज धाउनु, दिउँसो पढाउन जानु दैनिकी बन्न थाल्यो । त्यससमय त्रिचन्द्रमा मर्निङ सिफ्ट भर्खरै खुलेको थियो । त्यहां पनि मर्निङ सिफ्टको पहिलो व्याजको विद्यार्थी बने । म पढाइमा मेहनती पक्कै थिए, तर अब्बल होइन । फिजिक्स पढ्ने तिव्र इच्छा मनको एउटा कुनामा थियो । वि सं २०१३ साल कार्तिकको कुरा, भारतको पहिलो राष्ट्रपति डा. राजेन्द्रप्रसाद नेपाल भ्रमणमा आउनुभएको थियो । विद्यार्थीकोतर्फवाट आनन्दकुटि विद्यापिठमा उहाँको स्वागत भाषण गर्ने विद्यार्थी पनि म नै थिएँ । त्यस्तै २०१३ साल माघमानै चीनका प्रधानमन्त्री चाउ एन लाईको नेपाल भ्रमण भयो । स्कूलका संस्थापक अमृतानन्द भन्ते ज्यादै सकृय मान्छे हुनुहुन्थ्यो । त्यसैले उहाँले चीनको प्रधानमन्त्रीलाई हाम्रो स्कूलमा ल्याउनुपर्दछ भनेर पहल गरी ल्याईछाड्नुभयो र त्यहां पनि उहाँलाई विद्यार्थीहरूमध्येवाट स्वागत गर्नेमा म नै छानिएँ । त्यही समय तत्कालिन चीनका प्रधानमन्त्री चाउ एन लाईले स्कूलका लागि के चाहिन्छ भनी सोध्नुभयो । प्रधानमन्त्री चाउ एन लाईको जवाफमा अमृतानन्दले कलेज स्थापना गर्ने लक्ष्य रहेको इच्छा जाहेर गर्नुभयो । केहीसमय पछि चिनीया वौद्ध संघबाट सो स्कूललाई आर्थिक सहयोग उपलव्ध गरियो । त्यस रकममध्येबाट बनेको मैत्री भवनको शिलान्यास भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूबाट २०१६मा सम्पन्न गरियो ।
अमृतानन्द भन्तेको तत्कालिन सोभियत संघसँग पनि राम्रो सम्बन्ध थियो । २०२२ सालमा दुई ट्रक विज्ञान प्रविधिका उपकरणहरू सोभियत संघले सहयोग प्रदान गरे । म विएस्सी पास गरेको मान्छेले पनि नदेखेका थुप्रै सामानहरू आए । सबै सामानहरू स्कूलका लागि उपयोग हुँदैन थिए, त्यसकारण मैले बढी भएका बाँकी सामानहरू या पब्लिक साइन्स क्याम्पस (हाल अमृत साइन्स क्याम्पस) लाई प्रदान गरौं या ती उपकरहरू उपयोग गरी आफैले अर्को छुट्टै साइन्स कलेज खोलौं भन्ने सल्लाह दिएं । हामी सँग ती सामान तह लगाउने अर्काे विकल्प पनि त थिएन ।
विशेषतः अमृतानन्द भन्ते र त्रिभुवन विश्वविद्यालयका पहिलो रजिस्ट्रार डा. परासरनारायण सुवालको प्रत्यक्ष सहयोगमा ‘आनन्दकुटी साइन्स कलेज’ बनाउन उनको प्रमुख भूमिका रह्यो । उनी सुनाउछन् ‘यसको पनि कथा छ’ –राम्रो साइन्स कलेजको स्थापना गर्नका लागि राम्रो प्रिन्सिपल चाहियो । उहाँ त्रिविको पहिलो रजिष्ट्रारको र त्यसवेला उहाँ विराटनगर गइ काम गर्न थाल्नुभएको थियो । त्यतिखेर उहाँलाई अमृतानन्दले सो कलेज स्थापना गरी सोको प्रिन्सिपल बनिदिन प्रस्ताव राख्नु भयो । तर उहाँले तलव ११ सय माग्नुभयो । अमृतानन्दले दिन राजी हुनुभयो, जवकी हाम्रो तलव डेढ सय भन्दा माथि थिएन । २०२२ सालमा साइन्सकलेजको स्थापना भयो । त्यसमा परासरनारायण सुवाल प्रिन्सिपल र म डिमोष्ट्रेटर भई काम गर्न शुरू गरियो । यही बीचमा त्रिविमा फिजिक्समा एमएस्सी तहको पढाई सञ्चालनमा आउने भयोे । उच्च शिक्षा हासील गर्नु पर्छ भन्ने मान्यताले हठात भई म त्यहा भर्ना भएँ र त्यहाँ पनि म नै एमएस्सी पढ्नेपहिलो व्याजको विद्यार्थी बन्न पुगेँ ।
रूसको यात्रा र गणितको विद्यार्थी
यसैबीच, सोभियत संघमा छात्रवृत्तिका लागि आवेदन दिइराखेको थिए । एकाएक मेरो कन्फरमेसन लेटर आयो । जनमैत्री विश्वविद्यालय मस्कोमा ३० जना विद्यार्थीहरू छात्रवृत्तिका लागि छनोट भएका थिए । पहिलो व्याजमा १९ र दोस्रो व्याजमा ११ जना गरेर त्यता गए । म दोस्रो व्याजमा मेकालिकल इन्जिनियर अध्ययनका लागि २०२३ सालमा सोभियत संघ प्रवेश गरे । ६ महिना रूसी भाषा, ६ महिना इन्जिनियरिङ सम्वन्धी विषयवस्तु अध्ययन गरेपछि मात्र इन्जिनियरिङ पढ्न पाउने व्यवस्था थियो । त्यहाँ गएर पढ्न थालेपछि पो थाहा पाँए कि मैले नेपालमा ‘गणित’ सिकेकै रहेनछु, खाली हिसाब गर्न मात्रै सिकेको रहेछु । म त आनन्दकुटी साइन्स कलेज स्थापना गरेर आएको, यहाँबाट फर्किएर त्यही कलेजमा पढाउनुपर्दछ भन्ने मनमा आयो । इन्जिनियरिङ पढ्नका लागि त्यहाँ पुगेको मान्छे म्याथम्याटिक्स पढ्छु भन्दै डिर्पाटमेन्ट चेन्ज गर्ने सोच बनाएपछि त्यहाँ भएका सबै छक्क परे । नेपालबाट त्यति बेलासम्म जो रूस जान्थे उनीहरूको एउटै लक्ष्य या त इन्जिनियर या डाक्टर बन्ने भन्ने हुन्थ्यो । मैले मात्र यस्तो निर्णय गरे । मैले यस्तो कुरा सुनाए पछि त्यो विश्वविद्यालयका मानिसहरू पनि छक्क परे । एउटा निवेदन लेख्न उनीहरूले आग्रह गरे । मैले निवेदन लेखे । त्यसपछि मेरो बाटो मोडियो म गणितको पो विद्यार्थी बन्न पुगे । साथीहरूलाई सुनाएँ मैले त डिर्पाटमेन्ट परीवर्तन गरेर म्याथम्याटिक्स पढ्न थाले नि ? भन्दा उनीहरूले उल्टै झपारे । म्याथम्याटिक्स स्नाकोत्तर हाम्रै देशमा खुलिसकेको, त्यतिबेला गणित विभागको कार्यालय अहिलेको वल्र्डटे«ड सेन्टर त्रिपुरेश्वरमा रहेको र राममान श्रेष्ठ त्रिविको पहिलो विद्यार्थी हुनुहुन्थ्यो । इन्जिनियरिङ पढेर त अरू पनि जान्छन् तर म म्याथम्याटिक्समा रूसवाट पहिलो पटक स्नातकोत्तर गर्दछु भन्ने सोच बनाएर म्याथ नै पढें । हामी २४ जना म्याथम्याटिक्समा भर्ना भएकोमा १८ जनाले मात्र सिध्यायौं । त्यसवेला मसंगै म्याथम्यटिक्स पढ्नेमा रसियाली नागरिक प्रा. भ्लादरमिर मिखैलोभिक फिलिपपोभ (Prof. Vladimir Mikhailovich Filippov) हुनुन्थ्यो, जो १९९३ देखि हालसम्म जनमैत्री विश्वविद्यालय, मस्कोका रेक्टर हुनुहुन्छ र उहां सन् १९९८ देखि २००४ सम्म रसियन फेडरेशनको शिक्षामन्त्री समेत वन्नुभएको थियो । अहिलेसम्म पनि वहांसंग मेरो सम्पर्क कायमै छ । वहाँले मलाई १९९८ मा ३८आंै वार्षिक दिवसमा, २००९मा ४९आंै वार्षिक दिवसमा र २०१०मा ५०आंै वार्षिक दिवसमा अतिथिको रूपमा निमंत्रणा गर्नु भएको थियो । गतसाल २०१३ को जुलाइमा रसियन एकाडेमी अफ् साइन्सेस् (Russian Academy of Sciences) ले आयोजना गरेको जेलफ्याण्ड सेन्टनरी (Gelfand Centenary) सम्मेलनमा भागलिन मस्कोजाँदा वहाँसँग फेरिभेट भएको थियो । त्यतिखेर म्याथम्याटिक्स पढ्न सितिमिति जोकोहीले आँटै गर्दैनथे । त्यस्तो अवस्थामा मस्कोबाट मेरो पढाई पुरा गरी सन् १९७२ मा स्वदेश फर्किएँ । त्यहाँ अध्ययनको अवधिमा सन् १९७१ तिर फिजिक्सका प्राज्ञ एथयतच प्बउष्तशब संग एकाएक सम्पर्क भयो । उनी क्याम्ब्रिजमा अध्ययन गर्दा रर्दरफोर्ड ९च्गतजभचायचम० को सबभन्दा मन पराउने अनुसन्धान कर्ता थिए । उनी १९७८ का भौतिकशास्त्र विषयका नोवेल पुरस्कार विजेता हुन पुगे । उनीसंगको सम्पर्क १९८४ सम्म कायम रह्यो । उहांसंगको सम्पर्कमा प्राज्ञिक ज्ञानगुनका कुराहरू र बौद्घ दर्शनवारे विचारहरू खुव आदानप्रदान गर्ने अवसर मिलेको थियो । १९८४ मा उहांको दुखद् देहान्त भयो । मस्कोको अध्ययन सम्पन्न भएपछि फर्केर लगतै आनन्दकुटी साइन्स कलेजमा पुगे । तर त्यो कलेज भने बन्द हुने अबस्थामा पुगिसकेको रहेछ । २०२९ सालमा नयाँ शिक्षा नीति लागू भए पछि त्रिवि अन्र्तगत केही कलेजलाई बन्द गर्ने नीति अनुरूप बन्द हुनेमध्येमा आनन्दकुटी साइन्स कलेज नै पर्यो । त्यसरी बन्द भएको आनन्दकुटी साइन्स कलेजका केही सामाग्री लिएर अहिले त्रिवि अन्र्तगत सोही स्थानमा प्राकृतिक विज्ञान संग्रालय खोलिएको छ । स्वदेश फर्किएर एक वर्ष आनन्दकुटी साइन्स कलेजमा पढाए पछि मेरो यात्रा धरानतिर मोडियो ।
व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानको स्थापना
२०२९ सालमा त्रिविले नयां शिक्षा योजना अनुसार विभिन्न इन्ष्टिच्यूटहरू खोल्ने निर्णय गरेअनुसार व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान धरानमा खोलिने भयो । त्यस अध्ययन संस्थानको डीनमा डा. परासरनारायण सुवाललाई तोकियो । उहाँको अडान थियो एसिस्टेन्ट नभइ त म कामै गर्दिन । त्यो समय त्रिभुवन विश्वविद्यालयको केमेष्ट्री विभागमा सुरेशराज शर्मा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई नै एसिसटेन्ट डीन बनाईयो । एसिस्टेन्ट लेक्चररको रूपमा मेरो यात्रा स्वदेश फर्किएको एक वर्ष पछि धरानतर्फ मोडियो । साथमा आनन्दकुटी साईन्स कलेजमा केमेष्ट्री विषय अध्यापन गर्दै आउनुभएका अनुपराज तुलाधर पनि हुनुहुन्थ्यो । २०३० सालदेखि विश्वविद्यालयमा सेवा गर्ने थालें । दुईवटा सर्टिफिकेट लेभलको कार्यक्रमहरू त्यहाँ सुरू गर्यौं – ल्याव टेक्नोलोजी र फुड टेक्नोलोजीमा । व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानको कम्प्लेक्स धरानको हात्तीसारमा बनेको छ । त्यहाँको हरेक बस्तुमा मेरो औलाको छाप छ किनभने त्यसको जगदेखि छानो हाल्ने समयसम्म म क्याम्पस चीफको रूपमा कार्यरत थिएं ।
२०३० देखि २०४२ सालसम्म म त्यहाँ कार्यरत रहें । व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्थापना गर्दा यसको मुख्य चारवटा कम्पोनेन्ट थियो – टिचिङ, रिसर्च, डकुमेन्टेसन र कन्सल्टेन्सी । तर त्रिविले बीचमा टिचिङ मात्रै त्यहाँ राख्ने र बाँकी सबै काठमाडौंमा ल्याउने निर्णय गरिदियो । रिर्सच पार्ट काठमाडौंमा ल्याइएपछि मात्रै खुलेको हो Research Center for Applied Science and Technology (रिकाष्ट) ।
विद्यावारिधिको प्रसंग
अव मलाई विद्यावारिधि गर्ने प्ररणा कहाँवाट मिल्यो भन्ने प्रशंग सुनाउँन चाहन्छु । पहिलो, सन् १९७५ तिर पद्मकन्या कलेजमा साइन्स विषयको चार दिने वृहत भेला दशै तिहारको बीचमा भएको थियो । सो भेलामा राममान श्रेष्ठ (जो गणित विषयमा पहिलो पिएचडी हुन्) ले सुनेछन् की – मैले धरानमा गणित विषयको पाठ्यक्रम विज्ञानकोभन्दा फरक तरिकाले अध्यापन गरेको । उहाँले त्यही बेला के भन्नु भयो भने – यस्तो अप्ठ्यारो कोर्स राखेर एउटै विद्यार्थी पनि पास हुदैन, किन यसो गर्नु भएको होला ? मैले उहाँसँग प्रतिवाद गरें, मैले राम्रै पढाएको छु, विद्यार्थीले जाँच दिएका छन्, नतिजा पनि आइसक्यो, विद्यार्थी पास पनि भइसकेका छन् । तपाईँले यो सबै के आधारमा भन्नुभयो भनी मैले उहाँलाई प्रतिप्रश्न गरे र आफ्नो भनाईमा अडिग रहेँ । त्यही बेलादेखि मैले निर्णय गरेको हुँ की – नेपालमा आफ्नो कुरा सुनाउनु छ भने पिएचडी डिग्री आवश्यक पर्दोरहेछ, अन्यको यहाँ कसैले कसैको कुरा सुन्नेवाला छैन । जिन्दगीमा च्यालेन्ज चाहिन्छ, गरेपछि अवश्य सफल भइन्छ जस्तो लाग्दछ ।
दोस्रो, धरान त राजनीतिक रूपमा पनि पहिले देखि नै अगाडि, त्यहाँ लेफटिष्टहरूले रसियन राजदूतलाई धरानमा निम्त्याएको रहेछ । राजेश्वर अचार्यले उहाँहरूलाई क्याम्पस देखाउने प्रस्ताव राख्नुभयो । उहाँहरूले मलाई झकझकाउनु भयो कि पिएचडी गर्नु पर्दैन । केही पछि मात्रै पो झसगं भए । त्रिविले फिजिक्स, केमेष्ट्री र म्याथमा छात्रवृत्ति लिई अध्ययन गर्ने सूचना निकाल्यो । त्यसवेला छात्रवृत्तिकोटा परराष्ट्रबाट राष्ट्रिय योजना आयोगमा आउने र राष्ट्रिय योजना आयोगबाट त्रिविको योजना महाशाखामा जाने प्रचलन थियो । पछि मिटिङका लागि म काठमाडौं आउंदा रूसको छात्रवृत्तिमा फिजिक्स, केमेष्ट्री र जुलोजीमा पो विद्यार्थीको मनोनयन भयो भन्छन् । जव कि जुलोजीको त्यहाँ सूचना नै निष्किएको थिएन । भएन चमत्कार ? मलाई चित्त बुझेन र डीनको कार्यालयमा गए । डीन कार्यालयले पनि त्रिवि अन्र्तगतको योजना शाखाले पठाए अनुसार मनोनयन भएको हो भनेर जवाफ दियो । उता राष्ट्रिय योजना आयोगमा गएर वुझ्दा त्रिविमा पठाएको पत्रमा भने भौतिकशास्त्र, गणितशास्त्र, रसायनशास्त्र नै लेखेको रहेछ, गडवडी कहाँबाट भयो नबुझी मनले धरै दिएन । अनि त्रिवि अन्र्तगतको योजना महाशाखामा गए । त्यो अफिस तिनताका त्रिपुरेश्वरमा नै थियो । त्यहाँ भएको रहेछ के भने – त्रिविको योजना महाशाखामा चिठ्ठी टाइप गर्नेले गणितशास्त्रलाई प्राणीतशास्त्र भनी टाइप गरिदिएछ र डीन कार्यालयले यसैलाई प्राणीशास्त्र भन्ने ठानी सो अुनसार मनोनयन गरेको रहेछ । यो भन्दा राम्रो कथा अरू के हुन्छ ? यही कारण एक वर्ष मेरो रूस यात्रा ढीलो हुन पुग्यो । त्यसै अवधिमा धरानमा भइरहेका भवन निर्माण कार्यहरू सम्पन्न गर्न पाएँ र वीरेन्द्र सरकारको धनकुटा सवारी भएको बखत धरान क्याम्पसको निरीक्षण गराउँन पाएँ ।
विद्यावारिधिका लागि मस्को
सन् १९७९ मा पुनः विद्यावारिधि गर्नका लागि मस्कोतर्फ लम्किए । जनमैत्री विश्वविद्यालयबाट २ वर्ष ९ महिनामा विद्यावारिधि सकाए । त्यस विश्वविद्यालयको रेकर्ड अनुसार अहिलेसम्म त्यत्ति छोटो अवधिमा विद्यावारिधि गर्ने म नै रहेछु । उडिरहेको बस्तुहरूलाई कसरी नियन्त्रणमा राख्ने भन्ने विषयमा विद्यावारिधि गरेको थिए । पहिलो साइन्टिफिक आर्टिकल अमेरिकाको Hadronic जर्नलमा १९८२ मै प्रकाशित भएको थियो । १९८३ मा विद्यावारिधि हासिल गरेँ । १९६० मा जनमैत्री विश्वविद्यालय स्थापना गर्ने समयमा Natural Sciences डिर्पाटमेन्टका डिनमा नियुक्ति हुनुभएका प्रोफेसर A. S. Galiullin मेरो सुपरभाइजर हुनुहुन्थ्यो । पछि आफैले स्थापना गरेको Theoretical Mechanics डिर्पाटमेन्टको प्रमुख हुनुहुन्थ्यो । मैले विद्यावारिधि गरेको विषय ज्यादै राम्रो र सान्दर्भिक रहेछ, जुनकारण पछिपछि सो विषयमा विद्यावारिधि गर्नेहरूले त्यही मेरो थेसिसलाई रेफरेन्स वनाएर धेरैले प्रयोग गरेको पाईएको छ । त्यहाँको अध्यापन अवधिमा नै मलाई आवश्यक पर्ने जस्ता म्याथम्याटीक्ससँग सम्वन्धित झण्डै ३ सय किताब किनेर मैले पोष्टबाट घर पठाइदिएको थिएँ ।
यद्यपि पिएचडी कोर्ष त छिट्टै सकाएँ तर एडभान्स कोर्स पनि लिएको कारणले अलिकति बढी समय मस्कोमै विताएँ । म एकदम इमान्दार, वफादार मान्छे, स्वदेश फर्किएको केही दिनमा नै धरान पुगें । त्यहाँ पुगेको केही पछि मलाई क्याम्पस चिफ भएर बसिदिनका लागि अथवा अन्य कामका लागि आग्रह आयो, मेरो इच्छा त त्यो थिएन । मेरो कर्मथलो चाहीं धरान नै थियो त्यसैले म त्यहाँ गएकोे हुँ । यद्यपि सधैं म धरानमा बसेर त हुदैन भन्ने लाग्यो । त्यसताका डा.सुरेशराज शर्मा राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव हुनुहुन्थ्यो । उहाँलाई भेटेर भने – म टेप रेकर्डर जस्तो भएर त्यही काम दोहो¥याएर गर्न चाहन्न, मेरो च्यालेन्जिङ रोल के छ भन्नुस् । म त्यो काम मात्र गर्न चाहन्छु जुन काममा च्यालेन्ज हुन्छ । डा.शर्माले यस विषयमा घरमा नै वसी कुरा गरौं भन्नुभयो ।
डा. सुरशेराज शर्माको घर बानेश्वरमा थियो । उहाँ, डा.सीताराम अधिकारी र रमेश ढुङ्गेल हरेक विहान मर्निङ वाक सँगै गर्नेगर्नुहुन्थ्यो । उहाँलाई अफिसमा भेटेको भोलीपल्ट म उहांको घरमा गएँ । उहाँले आफुहरू मर्निङ वाक गर्दाका वखत प्रायः नेपालको शिक्षा क्षेत्र खस्कँदै गएकोमा चिन्ता व्यक्त गर्ने गरेको र त्यसलाई कसरी सुधार्न सकिएला भन्ने मै केन्द्रित रहेको जस्ता कुरा सुनाउनुभयो । त्यही समय एउटा साइन्स कलेजको स्थापना गर्ने कुरा उठ्यो । त्यहींबाट एउटा साइन्स कलेजको खाका तयार भयो । डा. केदारलाल श्रेष्ठ र ध्रुवदाश मुल्मीलाई फिजिक्स, सुरेशराज शर्मा आफै र डा. सीताराम अधिकारीलाई केमेष्ट्री, डा. भद्रमान र मानबहादुर विश्वकर्मालाई गणित, डा. श्रीधर लोहनीलाई अंग्रेजी र डा. बासुदेव त्रिपाठीलाई नेपाली विषय पढाउने जिम्मा दिने तय गरियो । क्याम्पस चिफमा मलाई नै सिफारिस गर्नुभयो सुरेश सरले । त्यसताका त्रिवि विज्ञान संकायका डीन प्रोफेसर श्री सरस्वतीप्रसाद रिमाल हुनुहुन्थ्यो ।
यसरी हामीले काठमाडौं भ्याली क्याम्पस खोल्ने निर्णय गर्यौं । त्रिवि विज्ञान संकायवाट स्वीकृति पाएपछि २०४२ देखि २०४५ सालसम्म पुल्चोकको इन्स्टिच्युट अफ इन्जिनियरिङ हातामा विहान ६ः०० वजेदेखि १०ः१५ वजेसम्म र त्यसपछि काठमाडौ विश्वविद्यालयको स्थापना नभएसम्म पुल्चोककै मदन मेमोरियल स्कूलमा संचालन गर्यौं । सो कलेज संचालनका क्रममा हामीले एनआइडिसीमा नचलेको फालिएको लेथ मेसिन ल्यायौं । त्यो मेसिन ७ वर्षसम्म भ्याली क्याम्पसमा चलायौं, त्यत्तिमात्र हैन त्यो मेसिन यद्यपि काठमाडौं विश्वविद्यालयमा चलिरहेको छ । भ्याली क्याम्पस स्थापनाको एक डेढवर्ष पछाडि नै हामीले चांगुमा आफ्नै भवन बनाउन जग्गा पाएका थियौं र सो जग्गामा भवन बनाउन दाता श्री रणवहादुर शाह र श्री मोहनगोपाल खेतानवाट आर्थिक सहयोग प्राप्त भएको थियो । त्यहाँ भवन निर्माण गर्ने काम पुरातत्व विभागले रोकिदियो । त्यसपछि धुलिखेलमा भ्याली क्याम्पस निर्माण गर्न केही जग्गा प्राप्त भयो । सात वर्षसम्म यो क्याम्पस सञ्चालनमा आएपछि सोही क्याम्पसको पहलमा हामीले विश्वविद्यालय स्थापना गर्ने सपना देख्यौं ।
विश्वविद्यालयको सपना
भ्याली क्याम्पसलाई बदलेर काठमाडौं विश्वविद्यालय बनाउने कुरा हामीले प्रस्ताव गर्यौं । त्यसपछि हाम्रो प्रस्ताव तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई कहाँ पु¥यायौं । उहाँ सकारात्मक हुनुभयो । यस विषयमा २०४६ सालको आन्दोलनपछिको पहिलो संसदबाट काठमाडौ विश्वविद्यालय ऐनको मस्यौदा पारित गरी २०४८ साल मार्ग ४ गते लालमोहर पनि लाग्यो । यो विश्वविद्यालय २०४८ साल मार्ग २५ गतेदेखि संचालनमा आयो र सुरूमा यसको अफिस दाता श्री रणवहादुर शाहको काठमाडौको लाजिम्पाटस्थित “अम्विका निवास”मा थियो । एकेडेमिक प्रोगाम नभइ विश्वविद्यालय हुदैन, त्यसकारण गहना पोखरीको समुद्रमन विद्याप्रतिष्ठानको भवन भाडामा लिई आईएस्सी कार्यक्रम शुरू भयो । संस्थापन समयमा प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइराला कुलपति, डा. सुरेशराज शर्मा उपकुलपति, डा. सीताराम अधिकारी रजिष्ट्रार र म स्कूल अफ साइन्सका डीन भएँ । पछि मैले स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ आर्टस्को डीनको कार्यभार सम्हालें । विश्वविद्यालयको विस्तार हुंदै जाँदा विश्वविद्यालयको म पहिलो परीक्षा नियन्त्रक पनि भएं । यही बीचमा २०६३ सालमा डा.सीताराम अधिकारीले स्वास्थ्यको कारणले रजिष्ट्रार पदबाट राजिनामा गर्नु भयो र म विश्वविद्यालयको रजिष्ट्रार पदकोे कार्यभार समेत सम्हाल्न पुगेँ । नयाँ पिडीलाई नेतृत्व हस्तान्तरण गर्ने योजना अनुसार २०७० आषाढदेखि रजिष्ट्रार पदबाट अलग भई हाल म विश्वविद्यालयको संरक्षण समितिको आजीवन सदस्य र सल्लाहकार रहंदै आएको छु ।
‘आनन्दकुटी साईन्स कलेज, धरानको व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानको स्थापना तथा त्यसको सञ्चालनमा पनि महत्वपूर्ण भूमिका खेलियो ।’ काठमाडौं भ्याली क्याम्पस स्थापना गरेर त्यसको क्याम्पस प्रमुख पनि बनेँ । ‘एउटा क्याम्पस सफल बनाउन ठूलो परिश्रम चाहिन्छ, मैले भ्याली क्याम्पस चलाउँदा ६ वर्षसम्म एक दिन पनि अनुपस्थित नभई काम गरें र क्याम्पसले धेरै सफलता पायो’, उनले सुनाए – ‘धैर्य चाहिन्छ, आत्तिनु हँुदैन, निरन्तर परिश्रम गरेपछि सफलता पाइन्छ, काठमाडौ विश्वविद्यालय समेत गरी चारवटा शिक्षण संस्थाहरूको स्थापना गरेर सफल बनाउँदा म पनि सफल भए ।’ उनका अनुसार उनी ५० हजारभन्दा बढीका गुरू बनिसकेका छन्, अहिले जुनसुकै देशभित्र जाँदा पनि उनका विद्यार्थीहरू भेटिन्छ भन्छन् ।
गणितमा योगदान र पदक
नेपाल गणित समाजका अध्यक्ष समेत रहेका डा.तुलाधरको नेतृत्वमा दुईचोटी अन्तर्राष्ट्रिय गणित सम्मेलन नेपालमा भइसक्यो ।American Mathematical Societyको आजिवन सदस्य र इटालीको International Institute for Theoretical Physics and Advanced Mathematics (IFM) Einstein-Galilei संस्थाको संस्थापक सदस्य पनि हुन् उनी । उहाँले संसारका ठूलठूला गणित सम्वन्धी सभा सम्मेलनमा भाग लिनुभएको छ, जस्तैः World Mathematics Year Conference 2000, Macau; International Congress of Mathematicians 2002, Beijing and 2006, Hyderabad; International Mathematical Union General Assambly 2010, Bangalore; International Congress on Mathematical Education 2004, Copenhagen; International Congress on Industrial and Applied Mathematics 2003, Sydney; International Congress on the Teaching of Mathematical Modelling and Applications 2005, London; Asian Mathematical Conference 2013, Busan .
संसारकै सबैभन्दा ठूलो गणित विषयको सम्मान र पुरस्कार Abel Prize सन् २००३ देखि नर्वेले प्रदान गर्दै आएको छ । सन २००५ मा Prof. Srinivasa S.R. Vardhan लाई नर्वेका युवराज र सन् २००७ मा एचया। क्चष्लष्खबकब क्।च्। ख्बचमजबल लाई नर्वेका राजाले प्रदान गरेको कार्यक्रममा उनी पनि संलग्न थिए । नेपाल गणित समाजका अध्यक्षको नाताले International Mathematical Union को सन् २०१० देखि र South-East Asian Mathematical Society को सन् २०११ देखि Associate Membership प्राप्त गर्न सफल भएको छ डा.तुलाधरलाई ।
महेन्द्र विद्याभूषण, सुप्रवल गोर्खा दक्षिणबाहुबाट बिभूषित डा.तुलाधर नास्टबाट शिक्षा र गणित विषयमा विशेष पुरस्कार पाएका छन् । नेपालमै अन्तराष्ट्रियस्तरको ‘Himalayan Mathematics Research Institute (HIMARI)’ स्थापना गरी ठूलो जमातका स्वदेशी तथा विदेशी गणितज्ञहरू आई गहन अनुसन्धान गर्ने गराउने अझै ठूलो सपना देखेका छन् उनले । यसका लागि विभिन्न सरकारी र गैरसरकारी संघसंस्थामा प्रस्ताव समेत पठाइसकेका छन् । उनले An Introduction to the Theory of Stability of Motion’ नामक गणित सम्बन्धी अनुसन्धानात्मक पुस्तक पनि लेख्नुभएको छ । एकजना पाकिस्तानि सहित तीनजना पीएचडी निकाल्नु भएछ वहाँले ।
सफलताको सुत्र
ठूलो संर्घष र परिश्रमले काठमाडौं विश्वविद्यालयले सफलता पाएको बताउने उनीसँग काठमाडौं विश्वविद्यालयको सफलतालाई बचाइराख्न र अझ सफल बनाउने चार सूत्र छन् – ‘काविको आकार ठूलो बनाउनु हुदैन, बाहिरी राजनीति घुसाउनु हुदैन, बाह्य हस्तक्षेप हुन हुदैन र चलाइरहेका कार्यक्रमलाई स्थायित्व नदिई नयाँ कार्यक्रम अगाडि बढाउनु हुदैन’ ।
२०३० सालमा विमला तुलाधरसँग विवाह गरेको १० दिनमा नयाँ दुलहीलाई लिएर उहाँंको यात्रा धरानतिर मोडियो । विमला तुलाधर नेपालको सिनियर नर्समध्यकै एक थिइन् । उनका एउटै छोरा थियो । धरानको वृटिस क्याम्पमा जन्मेको, म आफै म्याथम्याटिक्सियनको नाताले स्वीजरल्याण्डको १७।१८औं शताब्दिको सवैभन्दा ठूलो शिक्षित र्बनौली ९द्यभचलयगििष्० परिवारमध्ये एकजनाको नाम दानिल भएकोले उनले पनि आफ्नो छोराको नाम ुदानिलु राखेको वताउँछन् । अटो मोवाइल इन्जिनियरिङ विषयमा पीएचडी गरेका उनी हाल काठमाडौं विश्वविद्यालयमा एशोसियट प्रोफेसरको रूपमा कार्यरत छन् । बुबा बितेको तेह्र महिना पछि २०५३ सालमा पत्नी बिमला बितिन् । त्यसपछि सिद्धार्थ बनस्थलीमा २८ वर्षसम्म कृषि विषयको अध्यापन गरेकी निरूला तुलाधर (ताम्राकार) सँग २०५४ मा विवाह भयो ।
धर्म र जीवन प्रतिको धारणा
बौद्धमार्गी उनी धर्मले मात्र होइन, कर्मले पनि सिर्जनशील, धैर्यवान् र क्षमतावान् बनेका छन् । काविको उपकुलपतिका लागि भविष्यको प्रभावशाली प्रत्याशीका रूपमा उनैलाई लिईन्छ । तर, उनी पदलाई परिस्थिति र समयको जिम्मेवारीका रूपमा मात्र लिन्छन् । पद र नाम होइन, कामको पछाडि दौडिए जीवनमा सफलता पाइने उनको अनुभव छ । ‘लक्ष्य राखेपछि फर्केर हेर्नु हुदैन, जति दुःख, संघर्र्ष र परिश्रम गर्नुपरे पनि पछि हट्नु हुदैन, त्यसले सफलता नै सफलता पाईन्छ’, उनले सम्झिए – ‘मेरा पनि धेरै कठिन दिन आए, सामना गरे, निरास भएर परिश्रम गर्न छाडिन, सफलता पाएं, सफलता पाएपछि पनि मातिएर योगदान गर्नमा एक इन्च कम गरिन । दुःखमा नआतिनु र सुखमा नमातिनु नै र एकचित्त भएर कर्ममै लागिरहनु नै मेरो धर्म र जीवन हो—कुराकानीको बिट मार्ने क्रममा उनले सुनाए ।
Leave a Reply