जुजुमान | जुजुमान वर्डप्रेस डट कम
एसएलसी आउँदैछ हेर्नुस्। नेपाली मिडिया यदि विद्यालय हुन्थ्यो, र यहाँ काम गर्ने रिपोर्टर, पत्रकार, सम्पादक आदि विद्यार्थी हुन्थे र एसएलसीमा सामेल हुन्थे भने – सबका सब विज्ञान विषयमा फेल हुन्थे होलान। मिडिया स्कूलले गोल खान्थ्यो होला। अनि बेइज्जत हुन्थ्यो होला।
दु:खको कुरा, यस्तो कुनै जाँच दिनु नपरे पनि उक्त सम्भावित बेइज्जती देख्न पाइन्छ, मिडियाले लगभग हरेक पल्ट ‘सादा’ (raw/basic/hardcore/आधारभूत भन्न खोज्या) विज्ञानका लेख छाप्दा।
हामीले बिहान उठेदेखि प्रयोग हुने दन्तमञ्जन, साबुन, पानीदेखि लिएर सुत्दा प्रयोग हुने कपासको सिरक, बुट्टेदार तन्ना, निभाइने बत्ती आदि सबैमा विज्ञानको भूमिका हुन्छ। जीवन सहज छ किनभने विज्ञानले कैयन आविष्कार दिएको छ। तर दैनिक जीवनलाई मिनेट-मिनेटमा सहयोग गर्ने वा असर पुर्याउने यो क्षेत्रबारे हाम्रो मिडिया भने बडो कारूणिक रूपमा देखिन्छ। अरु विषयमा नङ्ग्रा तीखा भएको मिडिया विज्ञानका कुरालाई वैचारिक छलफल बनाउने प्रयास गर्दा लुते बिरालो जस्तो देखिन्छ। यसैले पनि होला, आधारभूत विज्ञानका कुरालाई खासै महत्व दिएको देखिन्न। किन होला? विज्ञानलाई ठाउँ दिइएपनि कसरी दिइन्छ? योबारे २-४ शब्द लेख्न मन लाग्यो।
पहिले मिडियाले विज्ञानबारे छापेका केही उदाहरणहरु दिन्छु:
१. फागुन ३, २०७१ मा कान्तिपुर दैनिकले छाप्यो “नेपालीले पुष्टि गरे डार्बिनको सिद्धान्त”।
फ्याट्ट पढ्दा ‘वाह, गजब गरेछ यो मान्छेले’ लाग्छ। खासमा जुन रिसर्चबारे यो खबरमा कुरा गरिएको छ, त्यो निकै गुणस्तरीय रिसर्च हो। UK को ‘नेचर’ जर्नलमा छापिने रिसर्च ऐरेगैरे खालका हुन्नन्। यो कामको लागि यी नेपाली, र यिनको टिमलाई बधाई दिनुपर्छ।
तर अब समाचारमा ध्यान दिउँ:
क) नेपाली एक्लैले पुष्टि गरेको सन्देश दिन्छ शीर्षकले। रिसर्च एक्लैले गरिन्न यो जमानामा। रिसर्च पेपर नै पढ्ने हो भने पनि देखिन्छ कतिजनाले गरेका भनेर। रिसर्च कामलाई रिफर गर्दा ‘our work’ अथवा ‘we did…’ भनिन्छ।
ख) पुष्टि?? किन पुष्टि, र कसले भन्यो पुष्टि भएको भनेर? डार्विनको सिद्धान्त के हो, वैज्ञानिकवृत्तमा कसरी लिइएको छ भनेर लेख्ने हो भने एउटा किताबै बन्छ। यतिमात्र भनौँ, पुष्टि शब्दको प्रयोग यहाँ हाँस्यास्पद र ‘विचरा रिपोर्टर + सम्पादकको ज्ञान’ भन्ने खाले छ। ‘डार्विनको सिद्धान्तमा जिनोमिक्सद्वारा थप प्रकाश’ या यस्तै केही लेखेको भए सटिक हुनेथियो।
(थप: विज्ञानमा “कुनै कुरा छ” भनेर पुष्टि प्राय: हुँदैन, या भनौँ पुष्टि गर्न सधैँ सकिँदैन। बरु “कुनै कुरा छैन” भनेर पुष्टि गर्न सजिलो हुन्छ (rejecting null hypothesis)। जब कुनै कुरा छैन भनेर पुष्टि (statistical significance) हुन्छ, तब त्यसको उल्टो “कुनै कुरा छ” भन्ने logic लाई मान्यता दिइन्छ। शायद सबै observations पुष्टि गर्न नसकेकै कारणले विज्ञानको पर्याय बनेको छ ‘रिसर्च’ शब्द।)
ग) ‘गालापेगोस’ टापुलाई ‘कालापावस’ लेखिएको छ। जाबो एउटा नाम लेख्दा त यस्तो त्रुटि छ। ‘नेपाल’ लाई कुनै विदेशीले ‘गेपाल’ लेखेजस्तो केटाकेटी पाराको हेलचक्रयाइँ।
२. नागरिक दैनिकले छापेको थियो केही सालअघि मंगलग्रहमा पानी रहेको नेपाली विद्यार्थीले पत्ता लगाए।
माथि १.क) को कुरा यहाँ पनि लागु हुन्छ। खबर यसरी लेखिन्छ कि यो सबै काम नेपालीले मात्र गरेको हो, र नेपाली नभएको भए यो हुनै सक्थेन। शीर्षक मात्र सनसनीखेज र गलत बनाउने, तर लेखमा चैँ पूरै टिमले गरेको भन्ने। मान्छे उल्ल्याउने कामलाई प्राथमिकतामा राखेजस्तो।
यतिसम्म चैँ मान्नुपर्छ कि अलिअलि भए पनि लेख्ने प्रयास भएको छ। हुन त म ‘गलत लेख्नुभन्दा नलेखेको बेस’ भन्ने खाले मान्छे परेँ। तर धेरैलाई ‘कोशिससम्म त गरेका छन विचराहरुले’ भन्ने पनि लाग्दो हो। गरेका होलान, तर उनीहरुको यो कोशिसमा छुट्ने एक निकै साधारण कुरा हो रिसर्चको लिङ्क। जस्तो, छापा माध्यमहरुमा देख्न पाइन्छ – “वैज्ञानिक भन्छन् ….” वा “वैज्ञानिकहरुका अनुसार …”। तर कहाँ भन्छन, कुन जर्नलमा भन्छन भनेर एउटा लिङ्क राख्न सकिन्न? लिङ्क राख्नलाई त्यति कष्ट नहुनुपर्ने हो। लिङ्क नराख्दा छापिएका खबरहरुमा वैज्ञानिकहरुले भनेको कुरा हो या हैन भनेर निर्क्यौल कसरी गर्नु? माफ गर्नुहोला, नेपाली मिडियाको चरित्रका कारण उनीहरुलाई त्यति विश्वास गरिहाल्न सकिन्न (they do not have the benefit of doubt)।
अब थप केही उदाहरण ती खबरहरुको, जुन पढ्दा र सुन्दा ‘थुक्क’ भन्न मन लाग्छ।
३. ‘प्याजबाट बिजुली’, ‘आलुबाट बिजुली’, ‘पीपलको पातबाट मोबाइल रिचार्ज’ आदि। हेर्नुस्, दुनियाँमा धेरै जैविक कुराहरुबाट बिजुली निकाल्न सकिन्छ। के दिनको एउटा ‘फलानो तरकारीबाट बिजुली निस्कने रहेछ, क्या गजब’ भन्ने समाचार छापेर बस्ने?
बिजुलीकै कुरा गर्दा: एउटा अनलाइन पत्रिकाले छापेको थियो, ग्राभिटेशनबाट बिजुली निकाल्ने एक युवाको प्रयासबारे। कदम सह्राहनीय हो तर उक्त रिपोर्ट पनि ज्यादा इमोशनल (कसरी उनले दु:ख पाए, कसरी उनका जहान-परिवारले हण्डर खेपे) भावमा लेखिएको छ, र विज्ञानका बारे कम। ती युवाले भन्न चाहेनन् होला, आफ्नो ठाउँमा छ। तर लेखलाई सकिनसकी रुञ्चे बनाउने व्यर्थको प्रयास किन पो हो।
४. नागरिक दैनिकले नै अलि दिनअघि छापेको खबर: “कसरी हटाउने स्वाइनको भ्रम?”
उक्त लेखको एक वाक्यांश: ‘डब्लुएचओले नै सच्याइसक्दा पनि सञ्चार माध्यमहरूले भने सजिलोका लागि स्वाइन फ्लु भनिरहे,’ डा. श्रेष्ठले भने, …
अच्छा। भनेपछि सञ्चार माध्यमहरुले सजिलोको लागि जे मन लाग्छ त्यही लेख्ने त र’छन नि। ट्वाँ तब परिन्छ जब यसो भन्दा भन्दै पनि रिपोर्टर साथीले शीर्षक दिएका छन: “स्वाइनको भ्रम कसरी हटाउने?”
पढ्दा यो पनि बुझिन्छ कि विचरा कुनै एक सुंगुर दिग्भ्रमित छ, र उसको भ्रम कसरी हटाउने भनेर सारा देश चिन्तामा छ। लाग्छ, ‘नेता’ र ‘सहमति’ एउटै वाक्यमा छैनन् भने हाम्रो मिडियाको रिपोर्टिङको कठैबरा हविगत छर्लङ्ग हुन्छ।
अनि मिडियाको थोरै र सतही खोक्रा जानकारीमा रुचि अड्केको देख्दा नि गजब लाग्छ। ‘के भयो’मा विशेष ध्यान छ, तर ‘कसरी गरियो’बारे त्यति छापेको देख्न पाइन्न? ‘नेपालीले हेलिकप्टर बनायो।‘ ‘सजीवनको दानाबाट तेल निकाल्यो।‘ ‘वि.पी. राजमार्ग क्या च्वाँक!‘ यस्ता राम्रा खबर सुन्न पाइन्छ। किन र कसरी सजीवनको तेल बन्छ, यसको तुलना पेट्रोलसँग कसरी हुन्छ? Efficiency के छ, पर्यावरणीय रूपमा, र economically? यस्ता रिपोर्ट आउने कहिले? वि.पी. राजमार्ग ‘जापानिज इञ्जिनियरिङ प्रविधिमा बनाइएको’ भनेर खोक्छन पनि। तर खासमा जापानिज इञ्जिनियरिङ भनेको के हो, पिचको ग्रेड किन र कति, डिग्री किन र कति, भार थेग्न सक्ने क्षमता कति, मर्मत सम्भारमा प्रयोग हुने प्रविधि पनि छुट्टै छ कि? – खै यीबारे लेखिएका? मैले आजसम्म देखेको छैन।
कान्तिपुरले ‘कोपिला’मा साना नानीहरुका लागि भनेर विज्ञान सेक्सन राख्दो रहेछ। यो निकै राम्रो हो। तर माथिल्लो स्तरको विज्ञानका कुरा चाहिँ पत्रिकामा किन नराखेको? विज्ञान बुझ्ने, बुझाउने, सम्पादन गर्ने, आदि क्षमता नभएर हो? नत्र, ‘बेलुन किन आकाशमा उड्छ?’, ‘हाई किन आउँछ?’, ‘जुँगा कत्तिको बढ्छ?’ आदिबाट कति सिक्ने? यीभन्दा गहन कुरा पढ्न चाहनेले विदेशी सञ्चारमाध्यमतिर जानुपर्ने हुन्छ। ‘सूचना-प्रविधि’ नाम दिएर वेब म्यागजिन र ठूला पत्रिकाले अनलाइन संस्करणहरुमा ठाउँ दिन्छन। तर मोबाइल फोन, टिभी आदि बाहेक खाँट्टी विज्ञानका कुरा समेटिन्नन्। आधारभूत विज्ञान भन्दा पनि सूचना-प्रविधितिर ढल्किएका हुन्छन यस्ता रिपोर्टहरु।
कस्तो कुरालाई आधारभूत विज्ञान भन्ने? योबारे सबै यहाँ लेखेर त भ्याइँदैन तर मिडियामा गलत व्याख्या गरी वा हल्ला ज्यादा गर्न धमाकेदार शीर्षक राखी आएका समाचारहरुमा केन्द्रित भएर भन्दा निम्नलाई मान्न सकिएला:
– डार्विनका सिद्धान्त खासमा के हुन? उनको सिद्धान्तमा अपुग के होलान, र समयानुसार कसरी हेरिएको छ? जेनेटिक्स, जिनोमिक्स, र इकोलोजी+इभोलुशन का फिल्डमा भइरहेका नयाँ आविष्कारहरुले कसरी यी सिद्धान्तहरुबारे थप प्रकाश पारिरहेका छन?
– कृषिमा हाइब्रिड, सिन्थेटिक, जीएमओ के हुन र कसरी बनाइन्छन? यीबीच सम्बन्ध होला? हामीले खाने बाली कसरी विकास (breeding process भनौँ अहिलेलाई) हुन्छन? विषादीको बढ्दो प्रयोग र बालीको विकासक्रमसँग के सम्बन्ध?
– वातावरण परिवर्तनका गुदी कुरा के हुन? सगरमाथामा हिउँ घट्दै जानु, बढ्दा पहिरोका प्रकोपहरुसँग यसको सम्बन्ध? जमीनबाट अत्याधिक पानी तानेका कारण काठमाडौँमा भूकम्प आउँदा हुने असरहरुबारे वैज्ञानिक रूपमा अनुमान गर्न सकिएला?
(यसैको सेरोफेरोमा: पोखरा इलाकामा देखिएका सिन्क होलहरुबारे बहुत गजब लेख कुन चैँ पत्रिकाले छापेको थियो। जिओलोजिस्टको डाटासहित आएको बडा मजेदार आर्टिकल थियो त्यो। त्यस्तै गुण भएका थप आर्टिकलहरुले स्थान पाउन!)
– बिजुली कसरी बल्छ? कस्तो बिजुली हाम्रोलागि सबैभन्दा उपयुक्त हुन्छ? अघिको आलुवाला उदाहरणमा फर्केर जाने हो भने, पानी र आलुबीच प्रतिष्पर्धा गर्दा के ‘आलु बिजुली’ ले जित्ला (वैज्ञानिक कारण)? आदि।
मैले माथि लेखेका कतिपय प्रश्नहरु नाजायज होलान, किनभने म कृषिको विद्यार्थी हुँ, र अरु क्षेत्रबारे त्यति थाहा छैन मलाई। तापनि, यी प्रश्नहरुलाई सुरुवाती उदाहरणहरु मात्र मान्ने हो भने पनि यस्ता धेरै प्रश्नहरुको वैज्ञानिक कारण खोज्न सकिन्छ; तीबारे लेख्न सकिन्छ। तर विज्ञानका खोजमूलक विषय मिडियाका मान्छेको विज्ञानसँग डर भनौँ या उदासीनता, खै के छ कुन्नि, यस्ता विषय खोतलेर लेखेको देख्न पाइन्न। हुन त विचरा रिपोर्टर साथीहरुको लेख्ने मन हुँदाहुँदै पनि जागिर धान्नका लागि ‘नेताले रिबन काटेको, बाख्रा पालेको बारे लेख्’ भनेर आएको अर्डर मान्नुपर्ने बाध्यता नि होला। नत्र मन त कसलाई नहुँदो हो र ४ दिन फिल्डमा गएर नयाँ क्षेत्रका रोचक कुरा टिपेर ल्याएर मिडियाबाट प्रशारण गर्न? हल्का गाह्रै होला विचराहरुलाई। तर दोषमुक्त भने छैनन्। मिडियाले गलत वा सनसनीपूर्ण खबर छाप्दा नागरिकले पाउने सूचना र सन्देश, र यिनीहरुले समाजमा पर्नसक्ने प्रभावहरुबारे पक्कै पनि सिकाइन्छ होला कक्षाकोठा तथा ट्रेनिङ सेमिनारहरुमा। भुल्न भएन योबारे।
अर्को खराब पक्ष भनेको, नेपाली संलग्न नभएको विज्ञानका कुरा छाप्नै हुन्न जस्तो गरिन्छ नेपाली मिडियामा। यो लेख पढ्नेहरुले याद गर्नुस्, ‘नेपाली विद्यार्थीले यो गरे वा उ पत्ता लगाए’, ‘नेपाली डा. को टिमले यो गर्यो वा त्यो हासिल गर्यो’ बाहेकका खबर विरलै पढ्न/सुन्न पाइन्छ हाम्रा सञ्चारमाध्यमहरुमा। के नेपालीले ‘विश्वमा नेपाललाई चिनाउनु’ बाहेक अरु मानिसहरुले गरेका विज्ञानका शोध, आविष्कार छाप्न नहुने? विश्वमा भइरहेका यस्ता प्रगतिहरुमा नेपाली मान्छे संलग्न नभए छाप्नयोग्य छैन भनेर कसले बुद्धि दिएको होला? फेरि छाप्दै छापेको छैन भन्न खोजेको हैन मैले। तर, १ महिनाभरमा छापिने वा रेडियो-टिभीमा प्रशारण गरिने ‘रिबन कटाइ’ र ‘मालिक पूजाइ’ भर्सेस् ‘विज्ञान’ र ‘आविष्कार’ बीच ट्याली गरौँ, अनि प्रष्ट हुन्छ मैले उठाएको कुरा।
यति लेखिसकेपछि मिडियाका साथीहरुले भन्लान:
उडाइयो, होच्याइयो – अब सच्याउँ भन्दा फेरि आपत अर्कै छ – धेरै सोल्टीहरु ‘म (मिडियाको मान्छे) भन्दा जान्ने कोही छैन’ भन्ठान्छन। सच्याउने प्रयास गरौँ भने ‘बढ्ता जान्ने भए’, ‘हाम्लाई उडाए, गाली गरे’ भन्छन। गल्तीलाई गल्ती भन्नु उडाउनु हो भने उडाएकै सही। हावा कुरा किन लेख्यौ भनेर सोद्धा चित्त दुखे दुखेकै सही। तर विज्ञानले नभनेको, नघटेको वा नभएको कुरा आफ्नै विवेचनामा आधारित भएर छाप्ने दुष्प्रयास गर्नेहरुले विज्ञानका विद्यार्थीहरुले गर्ने गाली, आलोचना, मजाक, सच्याइ, सुझाव सबैको सामना गर्न पनि तयार हुनुपर्यो। सामना गर्ने ह्याउ नभए कसरी लेख्नुपर्छ भनेर सिकून, साँचो-गलत के हो पहिले बुझून।
विदेशीहरु पनि गर्छन – हो, विदेशी पत्रिकाहरुले पनि गल्ती गर्छन। विदेशी पत्रकारहरु सबै कुरामा जानिफकार हुँदैनन्… पत्रकार मात्र हैन, कुनै व्यक्तिले सबै कुरा जान्दैन, यो सामान्य हो। तर विदेशीहरुले त गल्ती गर्छन, हामी बामे सर्दै गरेको नेपाली मिडियाले गल्ती गर्नु कुन ठूलो कुरा भयो र भन्ने तर्क वाहियात छ। विदेशीलाई हेरेर मापदण्ड बनाइनुपर्छ भनेर सोच्ने दिमाग कस्ता? गल्तीलाई सापेक्षिक बनाउँदा आउने परिणामले कसैलाई भलो गर्दैन। तल्लाघरेले घोडा नभेटेर गधा चढेछ, पल्लाघरेले गधा नभेटेर धुरी चढेछ भन्दैमा आफूले धुरीमाथिको के चढ्ने? अरुले जे गरुन, हामी चाहिँ गल्ती नगरौँ भन्ने सोचका साथ अघि बढ्न सकिन्न? अनि मेरो अनुभवमा, विदेशी मिडिया/पत्रकारहरुले गल्ती गरे भने कि त पछि सच्याउँछन, कि सुझाव लिन्छन, ताकि यस्तो गल्ती फेरि नहोस्। तर हाम्रोमा यो चलन छैन। जे लेखियो, सो लेखियो। न आत्मालोचना छ, न गल्ती भएछ भनेर भूलसुधार छ। एकपटकको, दुईपटकको गल्तीलाई गल्ती भनेर बिर्सन सकिन्छ। बारम्बार गल्ती गर्ने प्रवृत्ति दोहोरिन्छ भने त्यो व्यवहारमा लिँडे मूर्खता देखिन्छ।
मिडियामा काम गर्ने धेरैको विज्ञान ब्याकग्राउन्ड हुन्न। मानविकी/आर्ट्स/इकोनोमिक्स पढेकाहरुबाट विज्ञानका लेख तथा रिपोर्टहरु पढ्ने आशा गर्नु एक हिसाबमा त बेकारै होला। तर विज्ञानमा चासो राख्ने साथीहरु हुँदै नहुने त हैनन् होला मिडियामा। यस्ता रूचि भएका साथीहरुलाई उचित ट्रेनिङ दिने तथा वैज्ञानिकहरुको संसर्गमा राख्दिने हो भने सिकिहाल्छन नि केही समयमै के लेख्नुपर्छ, किन लेख्नुपर्छ भनेर। वा विज्ञान पढेकालाई जागिर दिइयोस्।
लेख्न नआए प्रोफेसरहरु, वा विज्ञान संकायमा उक्त विषय पढ्दै गरेका मास्टर्स वा पिएचडी लेभलका विद्यार्थीहरुसँग छलफल गरेर लेख्न सकिन्छ। ब्याचेलर पढेका वा पढ्दै गरेका तेज विद्यार्थीहरुलाई सोद्धा पनि पाप लाग्दैन यार। गलत सूचना सम्प्रेषण हुनुभन्दा सोधेर १ दिन ढिला छापे हुन्न? गलत छाप्ने हो भने किन लेख्नुपर्यो र? भोक हटाउने नाममा पेट भर्नै पर्यो भनेर विषालु च्याउ खाएर मरेजस्तै भएन?
जमाना पहिलेजस्तो छैन हेर्नुस् मिडियाका साथीहरु। अचेल धेरै पढेका, बुझेका नेपालीहरु छन पहिलेको तुलनामा। युवापुस्ता अहिलेसम्मकै सबैभन्दा शिक्षित जमातमा पर्दछ। सनसनीपूर्ण खबर लेखेर तर गलत सूचना, वा गुणस्तरहीन खबर पस्केर ‘मेरो काम सकियो’ भन्नेहरु तत्काल पक्राउ पर्छन यिनीहरुको आँखामा। सत्यतथ्य के हो, त्यसमा जोड दिएमा राम्रो। नसके सिकाइ माग्नुस्, सिक्नलाई उमेर र पदले छेक्दैन; सिकेर कोही सानो हुन्न।
साभारः जुजुमान वर्डप्रेस डट कम
Leave a Reply