‘शिक्षा वैज्ञानिक तथा व्यवसायमूलक हुनु पर्दछ’

बौद्ध राज निरौला,
उप–सचिव, शिक्षा मन्त्रालय

शैक्षिक संस्था भनेको पवित्र संस्था हो । यस्तो पवित्र ठाउँमा आएर नमिल्ने विचार दुर्गन्धित टुकुचा झैं प्रवाहित गर्नेहरुलाई कारवाही हुनुपर्छ । यस विषयमा समुदाय सचेत भएर अगाडी बढ्नु पर्छ ।

  • यो एउटा तितो यथार्थ हो । अनुसन्धानमुखी बजेट छैन । अझ विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गरेर नयाँ कुरा पत्ता लगाएर विकासका पूर्वाधारहरु खडा गर्दै प्रविधिहरु सिर्जना गर्नुपर्ने हो ।
  • विज्ञान प्रविधि भनेको छुट्टै क्षेत्र नभएर जीवनको एउटा अंग हो । विकसित देशहरुले विज्ञान प्रविधिको क्षेत्रमा विकास गरेका छन् भने हाम्रा जस्ता कम विकसित देशहरुले त्यसलाई क्रमश प्रयोग गर्दैछौं । प्रविधिको आवश्यकता र विकासको यति धेरै महत्व बढिसक्यो कि एउटा सामान्य लेखपढ गर्न जान्ने आमा वुवाहरुले पनि बाहिर देशमा वसेका छोराछोरीहरुसँग स्काईपमा कुरा गर्नुहुन्छ ।
  • विद्या नाम नरष्य, रुपम् धिकम् प्रछन्द गुप्त धन
    विद्या वन्धु जनो विदेश गमने विद्या परम् दैवतम् ।

    शिक्षामा नै देशको भविष्य देख्ने शिक्षा जगतका उज्ज्वल नक्षत्र, शिक्षा मन्त्रालयका उप–सचिव बौद्ध राज निरौला माता स्वर्गीय भुवनेश्वरी निरौला र पिता स्वर्गीय धर्मनान्द निरौलाका पुत्र हुन् । वि.सं. २०२० साल श्रावण ४ गते तेह्रथुमको एउटा पूर्वी पहाडको विकट गाउँमा जन्म लिएका निरौलाले एउटा असल विद्यालय, असल विद्यार्थी र असल शिक्षकहरुबाट नै असल राष्ट्र निमार्ण गर्न सकिन्छ भन्ने सोचका साथ निरन्तर शिक्षाको क्षेत्रमा संघर्ष गरिरहे । हुनत भेलबाढीहरुको आरोह अवरोहहरुसँगै बगरका ढुङ्गाहरु जति सुन्दर र मजबुत हुन्छन्, त्यतीनै जीवनमा पिर व्यथा र कठिनाईको प्रवाहरुको बीचमा ढकमक्क फुल्नुको मज्जा छुट्टै हुन्छ ।

    शैक्षिक निकाय भनेको ज्ञानको पुजारी भित्र्याउने स्थान हो । निरौला भन्छन्, शैक्षिक निकाय भनेको एउटा प्याज हो जुन गुणस्तरीय र सिंगो हुँदा राम्रो देखिन्छ तर दुई टुक्रा पार्दा आफ्नै आँखा रसाउन थाल्छ ।” प्राविधिक एवं गुणस्तरीय शिक्षा नै विकासको मेरुदण्ड ठान्ने निरौलासँग रिभोसाइन्स मासिकका लागि अमृता अर्यालले गरेको विज्ञान संवादमा गरेको कुराकानीको संपादित अंश ः

    तपाई विकट गाउँको सामान्य विद्यालयमा पढेको मान्छे मन्त्रालयसम्म आईपुग्न सफल हुनुभयो । त्यतीवेलाको विज्ञान ल्याव र अहिलेको ल्यावमा के फरक छ ?
    त्यतीवेला ल्यावमा गएर प्रयोगात्मक गर्नेभन्दा पनि शिक्षकले पढाएका कुरा अध्ययन गरेर परिक्षामा लेखिन्थ्यो । मैले मोरङ् जिल्लाको एउटा विकट गाउँको विद्यालयबाट एसएलसी उत्तिर्ण गरेको हुँ । एकदिन शिक्षकले प्रयोगात्मक गरेर देखाउनु भएको थियो रे त्यही दिन म विद्यालय उपस्थित हुन सकिन । प्रयोगात्मक अभ्यासका लागि सामाग्रीहरु र ल्याव नभएकाले थ्योरी मात्रै हुन्थ्यो । त्यतीवेला एउटा विकट गाउँको विद्यालयमा पढेर पनि मैले एसएलसीमा विज्ञान विषयमा ८८ नम्बर ल्याउन सफल भएको थिएँ । तर पछि मैले विद्यालयमा पढाउँदा प्रयोगात्मक अभ्यास कति महत्वपूर्ण हुँदो रहेछ भन्ने कुरा बुझें । अहिले विज्ञान शिक्षा परियोजनाले प्रयोगात्मक अभ्यासका लागि थुप्रै सामाग्रीहरु बाँडेको अवस्था छ । तर यो पर्याप्त भने छैन । विद्यालय स्तरमा प्रयोगात्मक गराउनको लागि खासै धेरै सामग्रीहरु चाहिँदैन । रसायनशास्त्र, भौतिकशास्त्रका अधिकांश अभ्यासहरु घरमा नै गर्न सकिन्छ ।

    अन्तर्राष्ट्रिय स्तरमा वर्षौं अघि आबिस्कार भएर प्रयोगमा आएका प्रविधिहरु नेपालमा अहिलेसम्म किन भित्रिन सकेन ?
    त्यस विषयमा मेरो अलि फरक धारणा छ । यदि प्रयोगशालामा आवश्यक सामग्रीहरु छन् भने त्यहाँ अभ्यास गरौं । अन्यथा त्यसलाई दैनिक जीवन पद्धतिसँग जोडेर अभ्यास गर्न सकिन्छ । जस्तै पेण्डुलमको बारेमा बच्चालाई पढाउन पर्दा पेण्डुलम छ भने पेण्डुलमको प्रयोग गरौं छैन भने त्यहि सिद्धान्त लिंगे पिंङ्मा प्रयोग हुन्छ । आफ्नो संस्कार तथा प्रचलनसँग जोडिएको कुराहरु देखाउँदा विद्यार्थीहरुले झन् चाँडै सिक्ने सम्भावना हुन्छ । जस्तै वाटर साईकलमा समुद्रको पानी बाफ बनेर उड्छ र हिमालमा ठोकिएर वर्षा हुन्छ भन्दा वच्चाले समुद्र र हिमाल नदेखेको पनि हुनसक्छ । घरमा तरकारी पकाउँदा पानीमाथि बाफ भएर जान्छ र पछि चिसिएर झरेर वाटर साईकल बनीरहेको हुन्छ । यो मात्र नभई कतिपय जनजातीको घरमानै रक्सी पार्ने चलन हुन्छ । यस्ता कुराहरु हामीले बच्चाहरुलाई देखाउन सक्छौं । विदेशीले प्रयोग गर्ने धेरै कुराहरु हामीसँगै छन् । चाहे ठूलो उपकरण प्रयोग गरौं चाहे सानो सिद्धान्त एउटै हो । त्यसैले नेपालमा प्रविधि भित्रिन सकेन भन्दा पनि त्यसलाई भित्र्याउन प्रयास गर्दै यहि भएका सामाग्रीहरुको प्रयोग गरेर हामीले धेरै कुरा सिक्न सक्छौं । इन्टरनेटको सुविधा छ भने त्यहाँबाट धेरै कुराहरु सिक्न सकिन्छ । सामान छ भने धेरै राम्रो छैन भने पनि जे उपलब्ध छ त्यसैलाई प्रयोग गरेर प्रयोगात्मक क्रियाकलापहरु अगाडी बढाउनु पर्छ ।

    भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुलाई सरकार तथा शिक्षा मन्त्रालयले आवश्यक सहयोग गर्न नसकेको हो ?
    राज्यलाई दुःख पर्दा समुदायले पनि सहयोग गर्नुपर्छ । एउटा विद्यालयमा हजार जना विद्यार्थी पढ्छन् भने उनिहरुको एकएक अभिभावक आएर विद्यालयको पुननिमार्णमा सहयोग गर्न सक्छन् । यसो गर्दा ठूलै स्कुल निमार्ण गर्न सकिन्छ । एउटा विद्यालय बनाउनु सरकारको मात्र नभई समुदायको पनि दायित्व हो । मैले आफू विद्यार्थी हुँदा विद्यालयमा काठहरु बोकेर सहयोग गरेको थिएँ । त्यतीवेला समुदायको असाध्य संलग्नता थियो । त्यसैले राज्यले मात्रै सबै कुरा गर्छ भन्नुभन्दा पनि विपत्तिको वेला समुदायको सहयोग निकै महत्वपूर्ण हुन्छ । तर सरकारले जिम्मा लिनुपर्छ भनेर समुदाय अलिकति पन्छेको जस्तो अवस्था छ । तर यो उपयुक्त वेला हो त्यो समुदायमा पढ्ने विद्यार्थीहरु त्यही समुदायको बाबुआमाको छोराछोरी भएको हुँदा अभिभावकले पनि उतिकै जिम्मेवारी लिएर अगाडी बढ्न आवश्यक छ ।

    पहिलो कुरा ल्याव भन्दा पनि भुकम्प प्रभावित जिल्लाका वास्तविक भूकम्पपीडित विद्यार्थीहरुका लागि कसरी सहयोग जुटाउने भन्ने हो । भूकम्पमा विद्यार्थीहरुले आफ्ना आमाबाबु दुवै गुमाउनु परेको विद्यार्थीहरुलाई ‘एशोएस भिलेज’ मार्फत निशुल्क पढाउने भनेर शिक्षा मन्त्रालयसँग सम्झौता भएको छ । पतञ्जली र कृष्णप्रणामी सेवा समिति नेपालले भूकम्पमा आमा वा वावु एउटा मात्र गुमाएकालाई पनि पढाउने भनिरहेको छ । यो अहिले प्रक्रियामा छ । ठूलो संख्यामा वास्तविक भुकम्प पीडित विद्यार्थीलाई निशुल्क पढाउने भन्ने कुरा भई रहेको छ । विद्यार्थी आमाबाबुको दायित्व भित्र पर्ने हुँदा आमाबाबु नगुमाएकाहरुलाई कमै सहयोग गर्न सक्ने अवस्था छ । घरै नभएको अवस्थामा आमाबाबुले दायीत्व पुरा गर्न गाह्रो त हुन्छ । तर पनि अहिले राज्यले नै ठूलो विपत्तिका कारण घाटा व्यहोर्नु परिरहेको अवस्था छ । राष्ट्रिय योजना आयोग नै त्रिपाल भित्र बस्नु परेको छ, प्रधानमन्त्रीको कार्यालय सरेको छ, सिंहदरवारमा बस्न सक्ने अवस्था छैन । यस्तो विपत्तीको काराणले गर्दा राज्यले सवै कुरा छिट्टै गर्न गाह्रो हुन्छ । राज्यका साथै विदेशी तथा स्वदेशी संघ संस्था तथा निकायहरुले पनि सहयोग गरिरहेका छन् । सामान्य टहरा बनाउनको लागि राज्यले अनुदान दिएको अवस्था छ । पाठ्यपुस्तकको कमी भएको अवस्थामा सरकार पाठ्यपुस्तक पु¥याउन कटिबद्ध छ । प्रक्रिया अनवरत चलिरहेको छ । भूकम्पपीडित विद्यालयहरुलाई राज्यले टेन्ट तथा त्रिपालहरु पनि वितरण गरेको छ ।

    एसएलसीको पाठ्यक्रम र प्रमाणपत्र तहको पाठ््यक्रममा किन यति धेरै अन्तर भएको ?
    एसएलसीको पाठ्यक्रम र प्रमाणपत्र तहको पाठ््यक्रममा अन्तर छ । पाठ्यक्रमको अन्तरले विद्यार्थीहरुलाई गाह्रो हुन्छ । तर उता विद्यालयको पाठ्यक्रम बढाउन पनि त्यही नै धेरै भईरहेको अवस्था छ । यता उच्च माध्यमिक स्तरमा घटाउने हो भने स्नातक तथा स्नातकोत्तर पढ्न गाह्रो हुन्छ । त्यसैले यो एकदमै कठिन छ । हाम्रा विद्यार्थीहरुले विदेशमा पनि गएर प्रतिस्पर्धा गर्नुपर्ने हुँदा यो पाठ्यक्रम आवश्यक छ । पढ्ने तरिका, र प्रयोगात्मक तरीका कम हुनसक्छ तर मुल्याङकन गर्ने हो भने विदेशी पाठ्यक्रम भन्दा हाम्रो पाठ्यक्रम उपयोगी छ । मैले पढेको वेलामा धेरै माध्यमिक स्तर र उच्च माध्यमिक स्तरमा झन् धेरै अन्तर थियो । अहिले त्यतीवेला जस्तो अन्तर छैन ।

    शिक्षा मन्त्रालयले विद्यालयहरुलाई त्यती वास्ता गर्न नसकेर विद्यालयले सोचे जस्तो प्रगति गर्न नसकेको भन्छन् नि ?
    मन्त्रालयले विद्यालयमा गएर पढाउने हैन । शिक्षा मन्त्रालयले नीति नियम निर्धारण कार्यन्वयन गर्ने हो । मन्त्रालयले निर्धारण गरेको नीतिले शिक्षकलाई नपढाऊ भन्दैन । संसारमा त्यस्तो कतै छैन जहाँ मन्त्रालय वा विभाग गएर सवै विद्यालयमा अनुगमन गर्न सकेको होस् । नेपालमा भएको ३४ हजार विद्यालयमा शिक्षा मन्त्रालय र विभागका मान्छेहरु अनुगमन गर्न गएर सम्भव हुँदैन । संसारमा यस्तो पद्धति कहि पनि छैन । विद्यालयले सरकारले अनुगमन गर्दिएन त्यसैले पढाउँदिन भन्न पाईदैन । मन्त्रालयको सर्वेसर्वा मान्छे जसरी मन्त्रीज्यू र सचिव ज्यू हो त्यसरी नै विद्यालयको सर्वेसर्वा प्रध्यानाध्यापक भएकाले त्यहाँको अनुगमन गर्ने, त्यसलाई पृष्ठ पोषण दिने,नराम्रो कुरा हटाएर राम्रो बनाउने, माथिल्लो निकायसँग सहजीकरण गर्ने , अप्ठेरो असजिलो परेको कुरा समुदाय र सरकारसँग भन्ने आदि गर्नुपर्ने हुन्छ । हामीलाई अनुगमन गर्दैन त्यसैले पढाइन भन्नुभन्दा पनि तलव खाएपछि आफ्नो जिम्मेवारी बोध हुनुपर्छ । आ–आफ्नो दायित्व सवै मान्छेले पुरा गर्दै जाने हो भने प्रगति सम्भव हुन्छ ।

    गणित पछि विज्ञानमा दोस्रो फेल हुनु , यति धेरै विद्यार्थीहरु फेल हुनुमा, शिक्षा मन्त्रालयको दोष हो कि होइन ?
    गणित र विज्ञान विषयमा धेरै विद्यार्थी फेल भए भन्न्ने गुनासा जहिले पनि आउँछन । एउटा कारण विज्ञान र गणित विषय अरु विषयभन्दा अलिकति कठिन हुनु हो भने अर्को कारण भनेको सम्बन्धित विषयमा दक्षता हासिल गरेको व्यक्ति पुग्न नसकेकाले हो । शिक्षक हुनलाई लाईसेन्स चाहिने र मानवीकीबाट विज्ञान र गणित पढेर आएकाहरुसँग लाईसेन्स नहुनु पनि एउटा कारण हो । अहिले सरकारले तालिम नभएपनि परिक्षा दिएर लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । लाइसेन्स पाएपछि पाँच वर्ष भित्रमा तालिम लिए हुन्छ भनेर सरकारले तोकिदिएकाले अन्य संकाय पढेकाहरुको लागि पनि शिक्षण पेसामा छिर्न सहज हुने अवस्था छ । त्यसैले आउँदा दिनहरुमा विद्यार्थीको नतिजा राम्रो हुन्छ भन्ने आशा गरौं ।

    शिक्षा मन्त्रालयको कर्मचारीको हिसावले नभएर मैले विद्यालयमा विद्यार्थीहरुलाई पढाउँदाको अनुभवको आधारमा भन्नुपर्दा विद्यार्थी फेल हुनु भनेको शिक्षक फेल हुनु हो । विद्यार्थी फेल हुनु नितान्त शिक्षककै कारण हो किनकी शिक्षकले जसरी पढायो त्यसरीनै विद्यार्थीले पढ्छ , जुन काम गर भन्यो त्यही काम गर्छ, जती गृहकार्य दियो त्यती गर्छ । अझ नकारात्मक कुरा भन्दा सकारात्मक कुरातीर लाग्नुपर्छ र को दोषी भन्दा पनि समाधान के हो भन्ने तर्फ लाग्न जरुरी छ । अर्को कुरा विभिन्न ठाउँहरुमा दरवन्दी नपुगेको हुँदा सम्बन्धित विषय पढाउने शिक्षकको अभाव पनि हुनसक्छ । यसमा शिक्षा मन्त्रालय पनि चिन्तित छ । शिक्षा मन्त्रालयले आफ्नो भूमिका निभाई रहेको छ ।

    नेपालमा अध्ययन तथा अनुसन्धान हुन नसक्नुको कारण के हो ? अनुसन्धानमुखी वजेट छैन भनिन्छ नि ?
    यो एउटा तितो यथार्थ हो । अनुसन्धानमुखी बजेट छैन । अझ विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गरेर नयाँ कुरा पत्ता लगाएर विकासका पूर्वाधारहरु खडा गर्दै प्रविधिहरु सिर्जना गर्नुपर्ने हो । रिसर्च गर्नुपर्ने राज्यको दायीत्व हुँदाहुँदै पनि राज्यसँग पर्याप्त बजेट नभएको कारण रिसर्च हुन नसकेको हो । अहिले सामान्य रिसर्च गरेर दुनियासँग प्रतिस्पर्धा गर्न सकिने अवस्था पनि छैन । विशेष खालको रिसर्च गर्नको लागि सरकारले बजेट खर्च गर्न सक्दैन । त्यो तितो यथार्थलाई हामीले स्वीकार्नु पर्छ र हाम्रो जस्तो विकासोन्मुख मुलुकमा एकै पटक ठूलो प्रगति गर्न गाह्रो हुन्छ ।

    शिक्षा मन्त्रालयले प्राविधिक शिक्षामा जोड दिन नसक्नुको कारण के हो ?
    प्राविधिक तथा व्यवसायीक शिक्षा नै विकासको मेरुदण्ड हो । धेरै पहिला पनि प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकतालाई औंल्याउँदै कुरा चलेको थियो । अहिले पनि राज्यको लागि प्राविधिक तथा व्यवसायिक शिक्षा असाध्यै आवस्यक छ । हाम्रा दिनहुँ जाने थुप्रै दाजु, भाई, दिदि, बहिनीहरुले सिप नभएको कारणले गर्दा कुल्लि काम गरेर बस्नु परेको अवस्था पनि छ । यहाँ एउटा सामान्य कपाल काट्ने मान्छे पनि सीप नभएको कारणले गर्दा भारतबाट आईराख्नु परेको छ । त्यसैले विभिन्न खालको तालिम एवं वैज्ञानीक तवरले प्राविधिक शिक्षा दिन जरुरी छ । त्यसको लागि सरकारले अहिले ९९ ओटा विद्यालय खोलेर प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गरिरहेको छ । निकट भविष्यमै सरकारले प्राविधिक तथा व्यवसायिक धारका शिक्षा सञ्चालन गर्ने रणनिती अवलम्वन गरेको छ । यो अहिले कक्षा ९ र कक्षा १० मा मात्र सञ्चालन भएपनि छिट्टै प्लसटुमा पनि सञ्चालन हुनेछ र यसको क्रमश विस्तार हुनेछ । यसो हुँदा प्राविधिक तथा व्यवसायीकधारबाट उत्पादन हुने जनशक्ति बढ्दै जान्छ र उक्त उत्पादित जनशक्तिले स्वदेश र विदेश दुवै ठाउँमा काम गर्न सक्छ । व्यवसायीक तथा प्राविधिक शिक्षा लिएर विदेशमा गएका जनशक्तिले ठूलो मात्रामा अर्थ नेपालमा भित्र्याउन सफल हुन्छन् भन्ने हाम्रो विश्वास रहेको छ । एउटा विद्यालय, शिक्षक विद्यार्थी, र समुदाय कटिबद्ध भएर लाग्दा शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याउन सहयोग मिल्छ ।

    कसरी हट्छ त्रिविविको वेथिती ?
    त्रिविविले राम्रो काम गर्न सकेको छैन भन्ने होइन । व्यवस्थापनको अभाव र बजेटको अभावकै कारण यस्तो समस्या भएको हुनसक्छ । त्यसलाई चुस्त दुरुस्त बनाउन अलि ‘रिसर्च ओरियन्टेड’ क्रियाकलापहरु गरेर त्रिविविलाई अझ सक्रिय बनाउन सकिन्छ । अर्को कुरा के हो भने अन्य ९ ओटा विश्वविद्यालय मध्ये धेरै विद्यार्थीहरु त्रिविविमा अध्ययन गर्छन् । विद्यार्थीको संख्या बढी भएपछि जुन ढंगले विद्यार्थीलाई शिक्षा दिनु पर्ने हो त्यो ढंगले शिक्षा दिन नसकेको अवस्था देखिन्छ ।

    कुनै पनि देशमा प्रमाणपत्र तह पास भएका सवै विद्यार्थीले व्याचलर पढ्ने र व्याचलर पढेकाले डिग्री पढ्ने खालको पद्धती हुँदैन । तर हाम्रो देशमा सवै आईए पढेकाले विए र विए पढेकाले एमए पढ्नै पर्ने पद्धती छ । यसो हुँदा अधिकांश विद्यार्थी त्रिविमा जान्छन् र ६० सिट भएको ठाउँमा ६ सय जना पढ्नु पर्ने अर्थात त्रिविविले क्षमता भन्दा बढी विद्यार्थीहरु पढाइरहेको अवस्था छ । त्यसैले शिक्षण सिकाई प्रभावकारी हुन नसकेको हो । यसको समाधानको लागि त्रिविले कोटा अनुुसार मात्र विद्यार्थी पढाउने गर्नुपर्छ । त्यहाँ जान नपाएका विद्यार्थीहरुलाई सरकारले खुला विश्वविद्यालयको व्यवस्था गरेको छ । शिक्षकहरुले पनि चारतिर काम गर्दै शिक्षण पनि भ्याउनु भन्दा त्यही विद्यार्थीहरुलाई रिसर्चमा लगाउने र त्यहीबाट मिल्छ भने केही पैसा लिएर विद्यार्थीहरुलाई फोकस गर्न सक्नुपर्छ । यसरी थोरै संख्यामा स्तरीय विद्यार्थीहरु पढाएर विशेष किसिमको शिक्षा दिन सकेको खण्डमा त्रिविविले मात्र नभई नेपाली शिक्षा जगतले नै छलाङ् मार्न सक्छ ।

    निजी विद्यालयलाई सरकारले वास्ता गरेन भन्छन् नि ?
    विद्यालयलाई हामीले वेवास्ता गर्ने भन्ने हुँदैन । सहुलयत दरमा ऋण उपलब्ध गराउनका लागि निजी विद्यालयहरुले शिक्षा मन्त्रालयमा प्रस्ताव गरेका थिए । शिक्षा मन्त्रालय ऋण उपलब्ध गराउने निकाय हैन । अर्थसँग सम्बन्धित काम भएकाले हामीले यस प्रस्तावलाई सकारात्मक ढंगले सम्बोधन गर्दिन अनुरोध गर्दै राष्ट्र बैंक मार्फत फर्वाड गर्दिएका छौं । राज्यले त्यसलाई कस्तो जवाफ दिन्छ त्यो सम्बन्धित निकायलाई नै थाहा छ । उहाँहरुको प्रस्तावप्रति शिक्षा मन्त्रालय सकारात्मक छ । अर्थमन्त्रालय र राष्ट्र बैंकको नियम अनुसार उहाँहरुले सम्बोधन गर्नुहुनेछ ।

    नेपालमा विज्ञान प्रविधिको विकास हुन नसक्नुको कारण के हो ?
    स्रोत र साधनको अभावका साथै अनुसन्धानमा पर्याप्त खर्च गर्न नसक्नु नै विज्ञान प्रविधिको विकास हुन नसक्नुको कारण हो । अनुसन्धान पर्याप्त गरेर अवसरहरु सिर्जना गर्न सकेको खण्डमा विज्ञान प्रविधिको विकास सम्भव छ । विज्ञान प्रविधि सम्बन्धि विशेष क्षमता भएका व्यक्तिहरुलाई विदेशबाट फर्काएर नेपालमा नै उपयुक्त रकम र अवसर दिन सकियो भने उनीहरुले राष्ट्रका लागि गौरवमय कार्यसम्पादन गर्न सक्छन् ।

    उच्च शिक्षा पढाउने नीजि कलेजका शिक्षकहरु घरको न घाटको गरि पढाइ रहेको अवस्था छ नि, यसमा शिक्षा मन्त्रालयले हेर्ने वा अन्य निकायले ?
    विद्यालय शिक्षा कक्षा १ देखि कक्षा १० सम्मको शिक्षा मन्त्रालय अन्र्तगत पर्छ भने कक्षा ११ र कक्षा १२ को शिक्षा उच्च माध्यामिक शिक्षा परिषद्ले हेर्छ । करिव ३५०० सामुदायीक विद्यालयहरु उच्च माध्यामिक शिक्षा परिषदबाट सञ्चालित भएका छन् । सामुदायीक विद्यालयमा सरकारले २ हजार शिक्षक दरवन्दी दिने भनेको थियो प्राविधिक कारण वस त्यो वितरण हुन सकिरहेको छैन । उच्च माध्यमिक तहको करिव ६ हजार शिक्षक बराबरको अनुदान कोटाका लागि तलव निकासा भईरहेको अवस्था छ । आवश्यकता अनुसार दिन नसके पनि त्यो तलव र दरवन्दिलाई कम भन्न मिल्दैन । कक्षा ११ र कक्षा १२ को व्यवस्था छुट्टै निकायबाट हुने र कक्षा ९ र कक्षा १०को व्यवस्थापन छुट्टै निकायबाट हुनेहुँदा अलिकति कठिनाई भएको हो । कक्षा ९ देखि कक्षा १० सम्म एउटै शिक्षकले पढाउने हो भने त्यती धेरै शिक्षकहरु चाहिँदैन । दरवन्दी वितरण गर्नको लागि विद्यालय शिक्षा कक्षा १ देखि कक्षा १२ सम्मको हुनुपर्छ । आजको मितिसम्म विद्यालय शिक्षा १ देखि १० सम्मको मात्रै भएको कारण दरवन्दी वितरणमा समस्या भएको हो ।
    सम्बन्धन मात्र दिएको ठाउँमा दरवन्दी दिन प्राविधिक हिसावले अलि कठिनाई छ । अहिले उच्च माध्यामिक शिक्षाको अनुदान कोटामा पढाई रहनु भएका शिक्षकहरु पनि शिक्षा ऐन आएपछि कक्षा ९ र १० मा पनि अध्यापन गराउनु हुन्छ । यसो भएपछि अलि सहज हुन्छ । शिक्षा ऐन वि.सं.२०२८ को ८ औं शंसोधन आएपछि अहिले देखिएको समस्या समाधान हुन्छ ।

    विद्यालय व्यवस्थापन समिति चयन गर्दा झगडा हुनुको कारण के हो ? यसमा बढी उत्तरदायी को हुनु पर्छ ?
    शैक्षिक संस्था भनेको पवित्र संस्था हो । यस्तो पवित्र ठाउँमा आएर नमिल्ने विचार दुर्गन्धित टुकुचा झैं प्रवाहित गर्नेहरुलाई कारवाही हुनुपर्छ । यस विषयमा समुदाय सचेत भएर अगाडी बढ्नु पर्छ । विद्यालय समुदायको भएकाले यसलाई राम्रो वनाउने वा नराम्रो वनाउने सवै जिम्मेवारी समुदायमा हुन्छ । समुदाय विद्यालयप्रति बढी उत्तरदायी हुन सकेको खण्डमा विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छ । सरकारले पनि समुदायलाई बढी उत्तरदायी बनाउनको लािग त्यही ढंगले प्रावधानहरु राखेको छ । सरकारले तोकेको प्रावधान अनुसार व्यवस्थापन समिति चयन हुनुपर्छ । चार जना अभिभावक, प्रतिनिधी शिक्षक, वडाको प्रतिनिधी ,हेडमास्टर र बुद्धिजीवी तथा चन्दा दाताबाट वसेर व्यवस्थापन समितिको चयन हुन्छ । व्यवस्थापन समितिको यस्तो संरचना हेर्दा स्थानीय मानिसहरु बसेरनै विद्यालय राम्रो बनाउनको लागि सरकारले ऐन निर्धारण गरेको छ । यती हुँदाहुँदै पनि कहिलेकाही व्यवस्थापन समितिको चुनावमा अप्रिय घटनाहरु घट्ने गरेको देखिन्छ । व्यवस्थापन समिति चयन गर्दा हुने अप्रिय घटनाहरु हुन नदिन व्यवस्थापन समिति चयन नियममा अलिकति परिमार्जन गर्नुपर्छ कि भन्ने वहस शिक्षा मन्त्रालयमा भईरहेको छ । मलाई लाग्छ, शिक्षा ऐन नियमावली परिमार्जन हुने क्रममा यस विषयलाई पनि कुनै न कुनै ढंगले सम्बोधन हुनेछ । कुनै असजिलो भएमा शिक्षा कार्यालय, विभाग, शिक्षा मन्त्रालय त्यसमा सहजीकरण गर्ने खालको भूमिका खेल्न तयार छ । मान्छे अरु प्राणीहरु भन्दा चेतनशिल हुँदाहुँदै पनि आफू विशिष्ट बन्नेक्रममा निकृष्ट भईरहेको हुन्छ । विद्यालय व्यवस्थापन समिति चयनमा यस्तो समस्या देखिँदा सिंगो राष्ट्रलाई नै ठूलो घाटा हुने हुँदा यस्ता निकृष्ट व्यवहारहरु हुनुुहुँदैन ।

    अन्तमा विज्ञान प्रविधिलाई कसरी बुझ्नु हुन्छ ?
    विज्ञान प्रविधि भनेको छुट्टै क्षेत्र नभएर जीवनको एउटा अंग हो । विकसित देशहरुले विज्ञान प्रविधिको क्षेत्रमा विकास गरेका छन् भने हाम्रा जस्ता कम विकसित देशहरुले त्यसलाई क्रमश प्रयोग गर्दैछौं । प्रविधिको आवश्यकता र विकासको यति धेरै महत्व बढिसक्यो कि एउटा सामान्य लेखपढ गर्न जान्ने आमा वुवाहरुले पनि बाहिर देशमा वसेका छोराछोरीहरुसँग स्काईपमा कुरा गर्नुहुन्छ । विज्ञान र प्रविधिसँग मान्छे जानेर या नजानेर पनि अभ्यस्त हुनुपर्छ भन्ने कुरा यसबाट पनि प्रष्ट हुन्छ । यो अपरिहार्य आवश्यकता भएकाले यसलाई सिक्दै जानुपर्छ । सरल, सर्वसुलभ र उपलब्ध स्रोत र साधनलाई सिक्दै जाने हो । प्रविधिको विकास गरेर हाम्रो देशले अरु देशहरुसँग प्रतिस्पर्धा गर्नको लागि निकै समयसम्म पर्खिनु पर्ने पनि हुन सक्छ । प्रविधि उत्पादन गर्ने जनशक्ति भन्दा हामीले अहिले ज्ञान उत्पादन गर्ने जनशक्ति उत्पादन गर्न सक्छौं । विज्ञान प्रविधिको विकास गर्न सकेमात्र समग्र देशले विकासको गति लिन सक्ने भएकाले हामी सवै विज्ञान प्रविधिको विकास तिर लाग्न आवश्यक छ ।