सबै शाखामा ‘पुमोरी प्लस’ सफ्टवेयरको प्रयोग

देवेन्द्र प्रताप शाह प्रमुख कार्यकारी अधिकृत,नेपाल बैंक

केही बर्ष अघि अस्तित्वको संकटमा रहेको नेपाल बैंक लिमिटेड अहिले जुरमुराएर उठ्दै छ । कुशासन र निस्क्रिय कर्जाले थलिएर बिघटनको डिलसम्म पुगेको यो बैंकलाई सुधार्न विश्व बैंकको सहयोगमा नेपाल राष्ट्र बैंक आफै पनि लाग्यो, व्यवस्थापनको जिम्मा लियो, विदेशीलाई यो बैंक हाँक्न पनि दियो ।

तैपनि, बैंक पूर्ण सुधारको क्रम रोकिएको छैन किनकि बैंक पूर्ण सुधार हुन वाँकी नै छ ।एक बर्ष अघि मात्र राष्ट्र बैंकले ब्यबस्थापन छाडेपछि नयाँ संचालक समिति गठन भयो,बैंकको सुधारको लागि नयाँ मार्ग प्रस्सत गरियो ।सुधारको यही अभियानलाई अगाडि बढाउन आफुलेजिम्मेवारी सम्हाल्न आइपुगेको बताउँछन, बैंकका प्रमुख कार्यकारी देबेन्द्र प्रताप शाह ।
पेशाले चार्टड एकाउन्टेण्ड शाहसँग तीस वर्षभन्दा वढि अबधिको बैंकिङ्ग अनुभव छ ।उनले ५ बर्ष भन्दा बढी कृषि विकास बैंकको प्रमूख कार्यकारी अधिकृत भएर काम गरेका छन् । उनीसँग विमा समितिको कार्यकारी अध्यक्षरहेर काम गरेको समेत अनुभव छ । नेपाल बैंकमा भित्रिएसँगै उनले बैंकमा प्रयोग भइरहेको दुईवटा सफ्टवेयरबाट एउटैसफ्टवेर पुमोरी प्लसले काम लिन खोजेका छन् ।
लामो समयदेखि यहाँ बैंकिङ क्षेत्रमा कृयाशिल हुनुहुन्छ, बैंकिङ र प्रविधि बीच कस्तो सम्बन्ध पाउनुहुन्छ ?

अन्योन्याश्रित सम्बन्धहुन्छ नि । आजको जमानामा प्रविधि विना बैंकिङको परिकल्पना गर्न सकिदैंन ।

नेपाल बैंकले के कस्ता प्रविधिको प्रयोग गरिरहेको छ ?

४४ वटा शाखा न्युट्रन सफ्टवेयरबाट र अरु शाखा पुमोरी सफ्टवेयरबाटचलिरहेको अवस्था थियो अस्तिसम्म । न्युट्रन अब्सोलेट भइसकेको छ । कोबोल भाषामा लेखिएको यो सफ्टवेयरको भाषा बुझ्ने प्राविधिज्ञ पनि नपाइने अवस्था छ, यति मात्र हैन, बैंकको आवश्यकता नै नबुझ्ने यो सफ्टवेरले धेरै समस्या दिइरहेको थियो । त्यसैले सुधारकै लागि पुमोरी सफ्टवेयरमै लैजाने योजना बनेको हो । यही माघ १ गतेदेखि हाम्रा सबै शाखा पुमोरीबाट चल्दैछ । नेपाल बैंकको परिप्रेक्षमा हालैयो फड्कोमारिएको हो, तर यो अन्तिम फड्को हैन ।

प्राविधिक जनशक्ति पाइने सभ्भावना कतिको छ ?

जान्ने बुझ्ने विशेषज्ञ पाउन त जुनसुकै क्षेत्रमा पनि गाह्रै छ । सफ्टवेयर अपटेडका लागि भनेर माथिल्लो तहमा नै कर्मचारी ल्याएका छौं । उहाँकै सहयोगलेदुईवटा सफ्टवेरबाट संचालित यस बैंकमा एउटै पुमरी प्लसमा जान संभव भएको हो ।

नेपाल बैंक व्रान्चलेस बैंकिङमा प्रवेश गरेको छ कि छैन ?
शुरु त गरेका छौ, तर त्यति धेरै अगाडि वढेका छैनौं ।

बैंकको अनलाइन मार्फत भुक्तानी गर्न व्यवस्था कस्तो छ ?
सकभर आफ्ना ग्राहकहरुलाई वढि भन्दा वढि सुविधा दिनसक्नुपर्ने हो । तर अहिले नेपाल बैंकमा अनलाइन भुक्तानी गर्ने व्यवस्था छैन । प्रविधिलाई अव थप सशक्त बनाउने बिषयमा सोच्ने र केही गर्ने समय आएको छ ।

सबैभन्दा पूरानो बैंक हो नेपाल बैंक । विकासको मेरुदण्ड भनेको विज्ञान तथा प्रविधिलाई मानिन्छ । यही क्षेत्रमा कार्यरत नाष्ट,रिकाष्ट,नार्क जस्तासँग सहकार्य गर्नसक्ने अवस्था कतिको छ ?

अनुसन्धानमा लगानी गर्नका लागि उहाँहरुबाट प्रस्ताव आएमा मेरिटलाई ध्यान दिदै गर्न नसकिने छैन । सबैभन्दा पुरानो बैंक भएकोले ग्राहकको विश्वासछ, यद्यपि प्रविधिमा अलिकति पछाडि परेका थियौँ । प्रविधिमा अगाडि नगई चुस्त दुरुस्त हुन नसकिने बुझेरै एउटै सफ्टवेयर प्रयोग गर्न खोजेकाछौं ।

भनिन्छ एउटा कृषकले लालपूर्जा धितो राखेर सहजै ऋण पाउँछ । तर एउटा रिर्सचर(वैज्ञानिक)लाई चाहिँ ऋण पत्याइदैन भनिन्छ नि?

धितोलाई महत्व दिइएको अवस्था होला, तर धितो मात्र सबै थोक हैन । व्यवसायीको सीप, क्षमता र इमान्दारी पहिलो पाटो हो,धितो दोश्रो पाटो मात्र हो । तर राष्ट्रले गर्न पर्ने अनुसन्धानको लागि बैंकले ऋण दिने कुरा अलि युक्तिसंगत भएन, यसमा त राज्यको कोषबाट खर्च हुन प¥र्यो ।

बैंकहरुले यस्तोमा सहयोग नै नगर्ने त ?

राज्यले अनुदान दिएर अनुसन्धान गर्न पर्ने क्षेत्रमा ऋणको उपयोग गर्न ठिक हुन्न भन्ने मेरो भनाइ हो ।

पछिल्लो समयमा बैंकिङ सफ्टवेयर भित्र गएर सूचना चुहाउने, ह्याक गर्ने, ग्राहकको पैसा चोर्न समस्याहरु पनि देखिएका छन् । यस्ता समस्या न्यूनिकरण गर्ने बैंकसँग के कस्ता योजना छन ?

नेपाल बैंकमा भन्दा पनि अन्य बैंकमा यस्तो सुनिएको छ । योग्यता मात्र हैन, अन्य बैंकमा यस क्षेत्रमा काम गरिसकेका अनुभविको सेवा लिदैछौ ।तर प्रहरी भन्दा चोर एक कदम अगाडि भनेजस्तै वेइमान गर्नेहरु जहाँ पनि हुन्छन, हाम्रो प्रयास त्यसलाई कम गर्दै लाने हो ।हामी हरेक वर्ष लेखाको अडिट गर्दछौं, तर सिष्टमको अडिट पनि अनिवार्य छ । तर राष्ट्रबैंकले अडिट गर्दछ । अर्को कुरा, हामी पनि अहिले इन्टरनल अडिटका लागि आउटसोर्सिङ गर्ने वारेमा सोचिरहेका छौं । इन्टरल अडिट गर्दा सिष्टम अडिट पनि गर्दछौं । 

नेपाल बैंकलाई के कस्तो प्राविधिक समस्या छ?

ठूलै प्राविधिक समस्या थियो तर विस्तारै हल गर्दैछौं ।

नेपाल बैंकमा कतिपय शाखामा जादा अझ पनि कम्युटरकृत हुन सकेकोछैन,बहिखाता नै पल्टाउनुपर्ने अवस्था छ भन्ने गरिन्छ ?

होइन,सबै खाता कम्युटरकृत भइसकेका छन् । जहाँ बत्ति छैन सोलार टेक्नोलोजी, डिजेलप्लान्ट राखेर भए पनि बैंकका शाखाहरु चलाइरहेका छौं । 

लामो समयसम्म यहाँले कृषि विकास बैंकमा काम गर्नुभयो,नेपाल बैंक र त्यो बैंक बीच प्रविधिमा के फरक पाउनुभयो ?

एसियाली बिकास बैकको सहयोगमा अहिले कृषि बैंकले कोर बैंकिङ सिष्टम भित्राइसकेको छ,त्यसो गर्दा पनि अनेक काण्ड भएको सुनिन्छ । हामी पुमरीमै छौँ । उसका धेरै शाखा अझै म्यानुयल्ली चलिरहेको छ । कुनै चीज त्यहाँ राम्रो, कुनै चीज यहाँ राम्रोको स्थिति छ ।

थप केही भन्नु पर्ने छ कि?

खासै केही छैन, अबको केही महिनामै नेपाल बैंकले प्रविधिको सहयोग लिएर चमत्कार गर्ने स्थिति छ ।

कस्तो चमत्कार होला?
हेर्दै जानुस, न । नेपाल बैंकको विगतको इज्जत र प्रतिष्ठा फर्काउने कुरा हो ।