जैविकप्रविधिका ‘हस्ति’ प्रा. डा. मुकुन्द रञ्जित

‘मूलम् भुजङ्गैः शिखरं प्लवङ्गैः, शाखा विहङ्गैः कुसुमानि भृङ्गैः,आसेव्यते दुष्टजनैः समस्तै र्न चन्दनं मुञ्चति शीतलत्वम्’

सात वर्ष अमेरिका बसेको, त्यहाँबाट भर्टिकल्चरमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति,रातारात यति धेरै ख्याती कमाइएछ कि त्यहाँ रहदा खुट्टा तान्नेहरु धेरै भेट्टिए । फोकटका गफ गरेर जागिर खानेहरुका लागि उनी आँखाका ‘तारो’ भए । तर स्वाभिमानी स्वभावका रञ्जित कसैको चाकडी÷ चाप्लुसी गर्न जान्दैनथिए । उनले जानेको एउटै कुरा थियो,अनुसन्धान, निरन्तर अनुसन्धान ।

हात हालेको स्थानमा सफलता प्राप्त गरेरै छाड्ने यि हस्ति हाल आफ्नै ग्रीन रिर्सच एण्ड टेक्नोलोजी ल्यावको स्थापना गरी अनुसन्धानको क्षेत्रमा समेत उत्तिकै दतचित्त/सक्रिय छन् ।

१९९० मा हामीले विकास गरेको प्रविधि दक्षिण एसियामै पहिलो । टिस्यु कल्चरमा हामी नै पहिलो । केरामा समेत यस प्रकारको अनुसन्धान भइसक्यो । महेन्द्रनगर अहिले पनि केराको उत्पादनमा अव्वल छ, कारण उही हो । मार्फा, जुम्लाको स्याउ लोकप्रिय छ । तर त्यही कीर्तिपुरको रहेको टिस्यु कल्चर ल्याव बन्द अवस्थामा छ ।

२६ वर्ष भइसक्यो हामीले भाइरस ‘फ्रि आलु’ बनाउन थालेको । हामी सबै कुरामा पहिला छौं तर हाम्रो ताल कस्तो छौं ।

 अर्थात चन्दनको वृक्षको जरामा सर्प, सबैभन्दा माथि बाँदर, हाँगाहरूमा चराचुरूङ्गी र पूmलहरूमा भ्रमर बसेर लगातार सताइरहेका हुन्छन, तापनि सो वृक्षले आफ्नो शीतलता कहिल्यै गुमाउँदैन । हो,उनी अर्थात प्रा डा मुकुन्द रञ्जितको जीवनमा पनि धेरै ठूलो आधी वहेरी आयो । तर उनी आफ्नो कर्तव्यपथबाट एक इन्च पनि तलमाथि भएनन् । निरन्तरको खोज÷अनुसन्धान त्यागपछाडि उनैले पत्ता लगाए भाइरस फ्रि आलु । जो दक्षिण एसियाकै पहिलो बन्न पुग्यो । साढे सात वर्षसम्म कृषि अनुशन्धान परिषद् (नार्क)मा रहेर तीस लाख भाइरस फ्रि आलु उत्पादन गरी वितवरण गर्ने यी वायोटेक्नोलोजी क्षेत्रका नेपालका एक जना हस्तिले भोगेको सात दशक लामो जीवन यात्रा र अनुसन्धानका घटनाक्रम यस अंकमा समेट्ने प्रयास गरेका छौं ।

जन्म–शिक्षा–दिक्षा
कोही व्यक्ति विना कारण यो धर्तीमा अवतरण गरेको हुँदैन । हरेक व्यक्ति धर्तीमा आउनुको पछाडि कुनै न कुनै कारण हुन्छ । विं सं २००४ साल आश्विन महिनामा बुवा कीर्तिदास रञ्जित, आमा नानीछोरी रञ्जितको कोखबाट तीन भाई दुई बहिनी, पाँच सन्तान मध्य बीचको सन्तानको रुपमा जन्मिएका मुकुन्द रञ्जितको नेपाली भूमीमा अवतरण हुनुको एउटै कारण थियो, नेपाली विज्ञान तथा प्रविधिको क्षेत्रलाई उल्लेख्य योगदना दिनु । काठमाडौं जैसीदेवल, ज्यावहाल टोलमा जन्मिएर हुर्किएका रञ्जितका पीताले उक्त समय(राणाकाल)मा चार कक्षासम्मको अध्ययन गर्नुभएकोथियो । आफ्नो किरिङमिरिङ हुँदै गरेका वाल्यकाल सम्झन्छन ‘पिताजीले जागिर पनि खानुभएको थियो ।’ तर उनका हजुरवुवा रहेछन त्यो समयमा नामी ठेकेदार । वीर अस्पतालको खाद्यान्नको ठेक्का उनैले गरेको । उही समय देखि चलेको भनाई न हो,उत्तम खेती मध्यम व्यापार,अधम जागिर । अन्ततः बुवा पनि जागिर छाडेर हजुरवुवाकै वीडो समाउन आइपुगेको र पछि व्यापारतिर होमिएको उनले भुलेका छैनन् ।

स्कूले शिक्षा विश्वनिकेतन हाइस्कूलबाट भयो । १४ वर्षकै उमेरमा अर्थात विं स. २०१८ सालमा एसएलसी उत्र्तीण गरे । भावुक हुदैं भन्दछन ‘सोही वर्ष हजुरबुवा वित्नुभयो ।’ हुने विरुवाको चिल्लो पात भनिएझैं पढाईमा सानै देखि अव्वल थिए उनी । विश्वनिकेतन हाइस्कूलमा प्रायः प्रथम हुन्थे तर,जीवन सधैं कहाँ सरल रेखामा मात्र हिड्थ्यो र ? नसोचेको थर्यातको सामना गर्नु पनि जीवनको अर्काे रुप रहेछ । फलामे ढोका मानिने एसएलसी परीक्षा उनका लागि नमिठो नतिजा लिएर आयो । जीवनमा कहिलेकाँही खुशी र दुःख एकैपटक पनि आँउदा रहेछन । एसएलसीमा उत्र्तीण भए खुःशी यसअर्थमा भए तर प्रथम श्रेणीका लागि जम्मा तीन अंक मात्र पुगेन त्यही कारण दुखी पनि ।

भनिन्छ नि, विद्यार्थीको प्रथम विद्यालय भनेको घर तथा परिवार हो । त्यही घरबाट सिकेको अनुशासन, मेहनतको कमाई हो अहिले पनि गुरुहरुले भेट गर्दा अकंमाल गर्नुहुन्छ । कारण उनी विद्यालयमा सधैं इमान्दार र मेहनती थिए । गुरु गभ्भीरमान मास्के (अग्रेजीको शिक्षक)को नजरमा पर्न सफल भए । कपाल सेतै फुलिसक्दा समेत अध्यापन पेशा नछाडेका रञ्जित भन्छन ‘जस्लाई म कहिल्यै विर्सन सक्दिन ।’

यस्ता पनि हुन्छन ‘गुरु’
व्यापारको अलवा उनका परिवार कृषि कर्ममा पनि हेलिएको थियो । उनको वाल मस्तिकमा वारम्वार लाग्दथ्यो हाम्रो कृषि वैज्ञानिक हुनै सकेन । त्यही कारण उनको झुकाव पनि कृषितिर वढ्दै गयो । विशेष गरी धान,गहुँ,मकै भन्दा पनि ‘हिल एग्रिकल्चर’ले उनको मनलाई खिच्दै रह्यो । रुची त थियो त्यही समयमा कृषि विज्ञान पढुँ तर अहिले जस्तो तिनसमय कहाँ हुनु ? एसएलसी उत्र्तीण गरेसँगै आइएस्सी अध्ययनका लागि हालको अमृत साइन्स क्याम्पसमा भर्ना हुन पुगे । आफ्नो दर्जनौ गुरुमध्यका गभ्भीरमान मास्केलाई सम्झनुका पछाडि कारण खोतल्दै उनी सुनाँउछन ‘अमृत साइन्स क्याम्पस(तत्कालिन पव्लिक साइन्स) मा मोतीकाजी केमेष्ट्री विषय अध्यापन गराउथे । मोतीकाजी र गभ्भीरमान सर एउटै टोलको । कक्षा सञ्चालन भइरहँदा मोतिकाजी सरले भन्नुभयो ‘मुकुन्द रञ्जित को हो ?’ उनको सातो गयो लौ वूढाले वित्याउने भए,मुटुको ढुकढुकी तेज गतिमा वढउदै हात उठाए । कक्षा सिद्धाए पछि भेट्न निर्देशन भयो । कक्षा सकिए पछाडि उनै गुरुसँग भेट गरे गुरुले तब पो राज खोले हरेक दिन तिम्रो नोटकपि मलाई देखाउनु ।’ अहो ! गुरुको अनुग्रह,गुरुको कृपा ! उनको मन त्यसै त्यसै पुलकित भयो । गुरुको नजरमा पर्नु भनेको चानचुने कुरा होइन यी गुरुलाई अहिले पनि सम्झन्छन ।

फल उद्यान विभागमा जागिरे
आइएस्सी उत्र्तीण गरेसँगै के गर्ने कसो गर्ने दोधारमा थिए । शिक्षा मन्त्रालयबाट अध्ययनका लागि त्यो समयमा छात्रवृत्ति पाइन्थ्यो । जे त होला भनेर भरेका थिए । नाम निस्कियो । उनको जीवनको रथ मोडियो अमेरिकास्थित युनिभर्सिटी वेरुटतर्फ । त्यहाँ रहेर विएस एग्रिकल्चर,एग्रिकल्चर इन्जिनियरिङमा चार वर्ष कोर्स सिद्धाए । त्यहाँ जागिर खाने अवसर नमिलेको पनि होइन तर सबै अवसरलाई लत्याउदै उनी फर्किए आफ्नै मातृभूमी । अलिहेको जस्तो समय थिएन । हातमा सर्टिफिकेट थियो । रोजगारी खोज्दै हिड्नु पर्दैनथ्यो, रोजगारी खोज्दै आउथ्यो । विं सं २०२६ साल साउन १ गते देखि सरकारी जागिरे बन्न पुगे । त्यो समय कृषि विभाग अन्र्तगतका पाँच वटा विभाग थिए । उनको नित्यकर्म बन्न पुग्यो फल उद्यान विभागमा धाउनु,अध्ययन अनुसन्धान गर्नु । यसरी जीवनका आठ वर्ष त्यही विताए । उनको काम गर्ने शैलीका कारण चार वर्षमा वढूवा पाए । त्यहाँबाट भर्टिकल्चररिष्ट भएर जिल्ला जिल्लामा पुगे । ८० प्रतिशतसम्म अनुदान दिएर राजमार्गले छोएको जिल्लाहरुमा फलफूल उत्पादन गर्ने कामको नेतृत्व लिए ।

विद्यावारिधीका लागि अमेरिका
यसरी आठ वर्षसम्म काम गर्दैगर्दा लाग्यो जागिर खाएर मात्र जीन्दगिको गाडी गन्तव्यसम्म पुग्दैन । घिडघिडो सास अडाउनु मात्र जीवन होइन । जीवनको उदेश्य अर्कै छ,मेरो कर्म अर्कै । अध्ययन÷अनुसन्धानमा दत्तचित्त भएर लाग्ने प्रण गर्दै विंस ०३४ सालमा (एफएओबाट) अमेरिकामा मास्र्टस गर्नका लागि स्कोलरसिप पाए । क्यालिर्फोनियास्थित क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा पुगेर फ्रुट्स कमलोजीमा मास्र्टस गरे । हुने विरुवाको चिल्लो पात जो थिए उता पुगेर समेत चमत्कार देखाए । गोल्डमोडल टपर जो हात पारे । उनको अध्ययनप्रतिको लगाव देखेर गोराहरु समेत प्रभावित नभइ रहन सकेनन । पिएचडीका लागि अफर गरे । ढुंगा खोज्दा देउता मिलेझै भयो मेरा लागि भन्दछन ‘स्कोलरसिप पनि पाए ।’ वायोटेक्नोलोजीको अभिन्न अंग टिस्यु कल्चरमा रिर्सच गर्न थाले । दिनरात,घाम पानी केही भनिएन । चेरी नामक फलफूलमा त्यसलाई कसरी उत्पादन वढाउने,रोगसँग कसरी लड्ने क्षमता वढाउने भन्ने विषयमा विषयमा हो,उनले पिएचडी गरेको । उनको प्रोफेसर थिए डेली केष्टर जस्ले फलफूलको विषयमा लेखेको पुस्तक संसारभर चर्चित छ । यस्ता चर्चित प्रोफेसरका उत्पादन मुकुन्द रञ्जित २०४१ सालमा स्वदेश फर्कदा नामको अगाडि डाक्टरको उपाधी झुण्डिसकेकोथ्यो ।

जस्ले भित्राए ‘स्टवरी’
सात वर्ष दुई महिना अध्ययन विदा मिलाएर उनी विदेशिएको थिए । जागिर कीर्तिपुरस्थित भर्टिकल्चर स्टललिसमै थियो । अव उनका लागि चूनौतीको पहाड थियो हासिल गरेको ज्ञानलाई स्वदेशमा कसरी लागू गराउने ? त्यही गरिएको अनुसन्धानको प्रतिफल ककनी एलो कम्पोजिट अन्न उत्पादन गरियो तर जति जमिनबाट उत्पादन हुनुपर्नेथियो त्यति हुनसकेन । उनको एउटै ध्यान थियो, कृषि कर्म गरेर नेपालीहरुको जीवनस्थर कसरी उकास्न सकिएला ? दिमागलाई हर क्षण हर प्रहर यही प्रश्नले रन्थनाउथ्यो । स्टवरीको स्वाद सम्झदा मात्र पनि हाम्रो जीव्रोबाट पानी आँउछ । हो त्यही स्टवरी नेपालमा पहिलो पटक भित्राउने उनै हुन ।


ककनीमा स्टवरी खेतीको सभ्भाव्यता बारे अध्ययन गरे । र, क्यालिफोर्नियाबाट ल्याइएको स्टवरी टायगा,टप्स ल्याएर ककनीमा लगाउन सुरुवात पनि भयो । २० वर्ष पछाडि उनी त्यहाँका जनताका जीवनस्तर उकासिएको देख्दा आफ्नो काम सफल भएकोमा गर्व गर्दछन । स्टवरी पछाडि उनको ध्यान स्याउमा कलमी गर्ने काम भयो । वूढो भएका रुखहरुलाई नयाँ बनाउने अनुसन्धान कीर्तिपुरमा ,दामन,जुम्ला र मार्फा लगायतका स्थानमा बसेर गरियो । वूढा रुखलाई यूवा कसरी पार्ने भन्नेमा नै मेरो ध्यान केन्द्रित थियो । २०४७ सालसम्म म कीर्तिपुरमा थिए । त्यहाँ रहदा टिस्यु कल्चरको ल्यावको स्थापना गरियो । क्यालिफोर्नियाका उच्च तहका अनुसन्धानकर्ताहरु समेत त्यो ल्याव हेर्न आएका थिए । प्रोफेसर मुरासिकिले त ‘क्यालिफोर्नियाको ल्याव यहीँ स्थापना गरिदिएछौं,ल्याव हेरेपछि एक वर्ष विदा लिएर तिमीसँगै काम गरौं जस्तो लाग्न थाल्यो ।’सम्म भनेका कुरा आज पनि सम्झन्छन उनी । यो कुरा सम्झदा मात्र पनि उनको मनमा एक प्रकारको उत्साहको सञ्चार हुन्छ । भन्दछन ‘मलाई जस्ले सिट्सको बारेमा सिकाउनुभएकोथ्यो,मेरो गुरुको पनि गुरुले त्यस्तो भन्दा नोवेल पुरस्कार जीतेभन्दा पनि वढि मन फुरुङ्ग भयो ।’
दक्षिण एसियामै पहिलो

कीर्तिपुरबाट उनको सरुवा भयो खुमलटार नेपाल कृषि अनुसन्धान परिषद्मा । त्यस समय नेपालमा १५ प्रजातीका आलु प्रचलनमा थिए । ति आलुमा निरन्तर गरिएको अनुसन्धानबाट आलुमा ६ थरीका रोगहरु मुख्य मुख्य देखापरे । जिरो भाइरसको आलुको बीउ उत्पादन गर्न प्रोजेक्ट लागू गरियो । लामो अनुसन्धान पछि ‘भाइरस फ्रि’ आलुको उत्पादन गर्न सफल भइयो । एउटा नीजि कलेजमा प्रध्यापन पेशा अंगालिरहेका यी गुरुको मुहारमा एकाएक चमक आयो । भने ‘दक्षिण एसियामै भाइस फ्रि आलु निकाल्न सफल भइयो ।’ यो सफलतासँगै उनका ‘हाईहाई’ चुलियो । विभिन्न जर्नलहरुमा आठ÷दश वटा रिर्सच आर्टिकल प्रकाशन भए । यस पछाडि उनलाई विदेशबाट अफरको ओइरो लाग्न थाल्यो । भाइरस फ्रि आलु बीउ लगेर थाइल्याण्ड,दक्षिण कोरिया, भारत, पाकिस्थान, भुटान, श्रीलंकामा पठाए । वंगलादेशले आलुमा परीक्षण गरी भाइरस फ्रि आलु निकाल्न प्रस्ताव नै गर्यो ।

दुश्मनी पनि …
भनिन्छ नि, दुश्मन कमाउनका लागि केही गर्नु पर्दैन । बास एक पछाडि अर्काे सफलता हात लागे पुग्दछ । सात वर्ष अमेरिका बसेको,त्यहाँबाट भर्टिकल्चरमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति,रातारात यति धेरै ख्याती कमाइएछ कि त्यहाँ रहदा खुट्टा तान्नेहरु धेरै भेट्टिए । फोकटका गफ गरेर जागिर खानेहरुका लागि उनी आँखाका ‘तारो’ भए । तर स्वाभिमानी स्वभावका रञ्जित कसैको चाकडी÷ चाप्लुसी गर्न जान्दैनथिए । उनले जानेको एउटै कुरा थियो,अनुसन्धान, निरन्तर अनुसन्धान । फटाहाहरुको राजमा इमानन्दारहरु टिक्न सक्दैनन् । रञ्जित पनि टिकेनन् । खाइपाइ आएको जागिर त्यागेर हिडे । निरन्तर अध्ययन÷अनुसन्धान कर्ममै होमिए । त्यहाँ जागिर छाडेर २ वर्ष रहदा आलुमा अध्ययन गर्न थालियो । तीस लाख त्यस्ता आलुका दाना बनाए । झण्डै तीन लाख डलरको आलुको दाना बनाएर कृषकहरुलाई वितवरण गरियो । अहिले पनि नेपालका ७५ वटै जिल्लामा आलुको खेती हुन्छ । त्यसबाट आउनुपर्ने जति उत्पादन आउनसकेको छैन । कारण यही नै हो आलुलाई भाइरसले खत्तम पारेको छ । जीवनका झण्डै एक दशक जागिरे जीवन बिताएको अनुभव कहिलेकाँही ठण्डा दिमाग पारेर सोच्दछन नार्क विभागबाट अलग भएसँगै एउटा दुश्मनी सुरु भयो । नार्कलाई होच्चाउने,खोच्याउने क्रम त्यही बेला देखि सुरु भएको हो,आजपर्यन्त छदैछ ।

आफ्नै ल्यावको स्थापना
जागिर छाडेपछि उनी खुल्ला अकाश मुनिका चराजस्तै भए । स्वच्छन्द रुपमा उड्न थाले । भन्छन ‘नार्क छोडेपछि स्वतन्त्र अनुसन्धानकर्ताको रुपमा काम गर्न थालियो । आफनै ल्यावको स्थापना गरियो ।’ यो बीचमा जिटीजेट्, नार्कको फण्ड ल्याए र ‘सिट्रसमा’ अनुसन्धान गरियो । आलुमा सफलता हात लागेसँगै त्यस पछाडि जीवनमा आफूले देखेको उदेश्य, जीन्दगिको सपना पूरा गर्नतिर लागे । ‘भाइरस फ्रि फ्रुट्सहरु कसरी निकाल्न सकिएला ? आलुमा हासिल गरेको सफलतालाई सुन्तला, जुनार, निवुबा, भोगटे, कागती यी सिट्रस जातीमा कसरी हासिल गर्न सकिएला ? उनको मन मस्तिक माथिंगल अव यो प्रश्नले रन्थाउन थाल्यो । विद्यावारिधी गर्दा चेरीमा उनले अध्ययन गरेका थिए । रुट ट्रट र फुड ट्रट भन्ने गरिन्थ्यो ठीक उसैगरी उन्नत जातको उत्पादनको लागि कलमी गर्न थाले र सफलता पनि पारे । ‘एउटा विजुमा हुने, वीउ नै कुहेर जाने, विरुवा मर्ने, दोस्रो भाइरस रोग सिटिभि, अर्काे सिइटी भन्ने रोग रहेछ । तर त्यसलाई जाच्ने प्रविधि छैन, त्यही कारण बगैचाको बगैचा ध्वस्त भएर गइरहेको रहेछ । माइक्रोग्राफटिङ प्रविधि प्रयोग गरी शुद्ध विरुवा उत्पादन ग¥र्यौ ।’ कान्तिपुर भ्याली कलेजको आफ्नै कार्यकक्षमा आफ्नो सफलताको रहस्य सुनाए ‘जाली घरमा यस्ता विरुवा रोप्ने, त्यहाँबाट उत्पादन भएको कलमी बोटहरुलाई जोडने भनेको २० वर्ष भयो । यसरी उत्पादन लमजुङ र गोर्खाका किसानहरुलाई हस्तान्तरण गरियो । यसरी हात हालेको स्थानमा सफलता प्राप्त गरेरै छाड्ने यि हस्ति हाल आफ्नै ग्रीन रिर्सच एण्ड टेक्नोलोजी ल्यावको स्थापना गरी अनुसन्धानको क्षेत्रमा समेत उत्तिकै दतचित्त÷सक्रिय छन् ।

ज्ञान हस्तान्तरणमा सक्रिय
आफूले सिकेको ज्ञान यूवापुस्तामा हस्तान्तरण गर्ने उदेश्यले दश वर्ष समय सान इन्टरनेशनल कलेजमा विताए । त्यहाँ रहदा १३५ विद्यार्थी ग्रायजुएट गराए । सय भन्दा वढि विद्यार्थी एमएस्सी र पीचएडी गर्नका लागि विदेश गइसकेकाछन । एउटा गुरुको सफलता के हुन्छ ? जव विदेश÷स्वदेशमा रहेको विद्यार्थीले भन्दछ‘गुरु आज म यो स्थानमा आउनुको पछाडि हजुरको ठूलो हात छ,जव विद्यार्थीको मुखबाट यस्तो लवज सुन्दछन,उनी त्यसै÷त्यसै भावुक हुन्छन । उनैले सान कलेजबाट उत्पादन गरेकामध्य वायोटेक्नोलोजीका ६५ विद्यार्थी अमेरिकामा स्कोलरसिपमै अध्ययनरत छन । हाल उनी कान्तिपुर भ्याली कलेजमा आफ्नो ज्ञान वाड्न आइपुगेको छु । वायोटेक्नोलोजी विभागको प्रमुख बनेर ।

विंस. २०४५ सालमै स्थापना भएको वायोटेक्नजोलोजी एसोसियसन (जुन संस्था आठ वर्ष महासचिव हुदै हाल सचिवको जिम्वेवारी सम्हालिरहेका उनी विगत दुई कार्यकाल देखि अध्यक्ष छन ) मा समेत उनी उत्तिकै क्रियाशिल छन । त्यस्तै,२०६० साल देखि नेपाल प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सदस्यका रुपमा मनोनीत उनी त्यहाँ रहेर कृषिमा फलफूल र वायोटेक्नोलोजी विद्या हेरिरहेकाछन ।

कहिले उमो लाग्छ, वायोटेक्नोलोजी ?
प्लान्ट वायोटेक्नोलोजिष्ट भएको नाताले एक दशक अगाडि प्लान्ट ‘टिस्युकल्चर’ गर्ने आठ÷दश वटा प्रयोगशाला थिए । यो बीचमा ‘डिजिज फ्रि’ विरुवा निकालेर विदेशमा पठाउने काम भएका थिए । २६ वर्ष भइसक्यो हामीले भाइरस ‘फ्रि आलु’ बनाउन थालेको । हामी सबै कुरामा पहिला छौं तर हाम्रो ताल कस्तो छौं । कहिलेकाही देशको हालत सम्झेर दिक्क मान्दछन यी प्रोफेसर ‘रिर्सच एण्ड डेभलपमेन्ट (आर एण्ड डि)लाई किन सँगसँगै राखेको ? किनभने रिर्सच विना डेभलपमेन्ट सभ्भव हुदैन तर हाम्रो हालत हेरौं रिर्सचमा कौडी छुट्टाइएको छैन अनि हामीलाई चाहिएको छ रातारात विकास कसरी सभ्भव हुन्छ ? प्रश्न हामीतिरै तेर्साए ।

१९९० मा हामीले विकास गरेको प्रविधि दक्षिण एसियामै पहिलो । टिस्यु कल्चरमा हामी नै पहिलो । केरामा समेत यस प्रकारको अनुसन्धान भइसक्यो । महेन्द्रनगर अहिले पनि केराको उत्पादनमा अव्वल छ, कारण उही हो । मार्फा,जुम्लाको स्याउ लोकप्रिय छ । तर त्यही कीर्तिपुरको रहेको टिस्यु कल्चर ल्याव बन्द अवस्थामा छ । धुलो र खिया लागेर ल्याव प्रयोगबिहिन अवस्थामा छ । नेपालको १५ वटा जिल्लामा अलैचीको औधी राम्रो खेती हुन्छ । ६३ सालमा ४ अरवको अलैची निर्यात ग¥र्यौ । ९० प्रतिशत उत्पादन नदिदा समेत उत्पादन अर्थात जम्मा १० प्रतिशत उत्पादन हुँदा हासिल गरिएको उपलव्धी थियो यो । अलैचीमा छिर्के र फुर्के नाम गरेका दुई वटा भाइरस छन । यो निकाल्ने प्रविधि पनि हामीले विकास गरिसकेको छौं । ४० अरव आम्दानी अरु कुन क्षेत्रबाट आँउछ ? यसतर्फ किन हामीले सोच्न सकेका छैनौं । ककनीका स्थानीयको जीवनस्तर के कारणले उठ्यो ? त्यहाँका जनताको आयस्तर ‘स्टेवरी’ले उठायो । भावुक हुँदै यी प्रोफेसर भन्दछन ‘वायोटेक्नोलोजीले हाम्रो कृषि क्षेत्रलाई धेरै राम्रो परिवर्तन ल्याउन सक्दछ ।’ हाल सान कलेज,ह्वाइट हाउस,कान्तिपुर कलेज,काठमाडौं विश्वविद्यालय गरी हरेक वर्ष एक सय बिस विद्यार्थी उत्पादन गरिरहेका छौं । अहिलेसम्म करिव वाह्र सय विद्यार्थी उत्पादन भइसकेको छ । जबसम्म उद्योगले यो क्षेत्रमा लगानी गर्नसक्दैन तबसम्म यस्ता जनशक्ति विदेशिरहन्छन । अव वूढेशकालमा उनको एउटा सपना÷धोको छ,नेशनल वायोटेक्नोलोजी सेन्टर खोल्ने । तर,राज्य यहि हो । लौ न विज्ञान तथा प्रविधिको क्षेत्रमा केही गरौं भन्दा कसैको कानमा पस्दैन ।

विवाह बन्धन
भनिन्छ,श्रीमानको सफलाको पछाडि श्रीमतिको सबैभन्दा ठूलो हात हुन्छ । रञ्जितले जीवनमा जति सफलता पाए त्यसको पछाडि चन्द्रलक्ष्मीको महत्वपूर्ण हात र भूमिका छ । जो सँग उनी सरकारी जागिर खाएको पाँच वर्ष पछाडि विवाह बन्धनमा बाधिएका थिए । वुवाको गुण उनका सन्तानहरुमा समेत सरेको हो । छोरा चमन वायोटेक्नोलोजीमा पिएचडी गरिरहेका अर्थात वावुको बीडो थामिरहेका छन भने छोरीले जापानमा न्यूरोअंकोलोजीमा रिर्सच गरिरहेकीछिन् । उनका विभिन्न अनुसन्धानमुलक लेख÷ रचनाहरु प्रकाशित भइसकेकाछन ।

धर्मप्रतिको धारणा
जस्ले आलु, केरा, स्याउ लगायतका वीजमा अध्ययन गरे, यी प्राज्ञिक व्यक्तिको धर्मप्रतिको धारणा के हो ? जान्ने हाम्रो इच्छा रह्यो । प्रश्न भुँइमा खस्न नपाउदै ‘भगवान छ÷छैन भन्ने कुरामा हामी अल्मलिनु नहुने धारणा राख्दै आफू ‘रिलिजन’मा विश्वाश गर्ने तर धर्मकर्ममा विश्वाश नगर्ने धारणा राखे । धर्ममा भन्दा पनि हाम्रो ध्यान कर्तव्यप्रति केन्द्रीत हुनुपर्दछ । कर्म नै सबैभन्दा ठूलो कुरा हो भन्दै आफ्नो कुरा विट मारे ।

प्रस्तुतिः लक्ष्मण डंगोल/हरि गजुरेल

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *