2025-07-02

कता जाँदैछ इन्जिनियरिङ शिक्षा ?

एक्काइसौं शताब्दीका इन्जिनियरमा समय सुहाउँदो प्राविधिक र व्यावहारिक ज्ञान हुनु आवश्यक छ । यसैले इन्जिनियरिङ शिक्षालाई समयसापेक्ष परिवर्तन गर्दै जानुपर्छ ।


–लक्ष्मण डंगोल |


?????????????

 इन्जिनियरका लागि सैद्घान्तिक तथा विशिष्ट प्राविधिक ज्ञान आवश्यक रहे पनि नेपालका इन्जिनियरमा यो ‘गुण’ खस्कँदै गएको छ । यहाँको इन्जिनियरिङ शिक्षा प्रणाली पुरानै ढर्राबाट सञ्चालन हुँदै गएकोले यो अवस्था निम्तिएको हो ।

पूर्वाधार विकासका विज्ञ इन्जिनियर सूर्यराज आचार्य एक्काइसौं शताब्दीको इन्जिनियरमा समय सुहाउँदो प्राविधिक ज्ञान हुनुपर्नेमा जोड दिन्छन् । ‘यस्तो दक्षता नभए नाम मात्रको इन्जिनियर होइन्छ, त्यसैले पठनपाठनलाई समयसापेक्ष परिवर्तन गर्दै जानु आवश्यक छ,’ आचार्य भन्छन् । सरकारले इन्जिनियरिङ शिक्षालाई समय सुहाउँदो बनाउनुपर्ने उनको विचार छ । पछिल्लो समयमा सरकारी तथा निजी इन्जिनियरिङ कलेजले यो विषय पढाउँदै आए पनि यसलाई प्राविधिक ज्ञानको कसीमा नाप्न सकिएको छैन ।

इन्जिनियरिङ पढाइ पूरा गरिसकेर पनि विषयगत दक्षता हासिल गर्न नसक्नुमा यहाँको पुरातन शैलीको पठनपाठन शैली कारक रहेको छ । ‘यहाँका कलेजमा इन्जिनियरिङ पढाउने अल्पव्यवस्था छ, पठनपाठनमा देखिएका समस्या निराकरण गर्दै यसलाई व्यावहारिक र जीवनोपयोगी बनाउनेतर्फ ध्यान जान सकेको छैन,’ आचार्य भन्छन् ।

एकातिर, राज्यले इन्जिनियनियरिङ शिक्षालाई प्रभावकारी तथा प्रविधियुक्त बनाउनका लागि उचित वातावरण बनाउन सकेको छैन । अर्कातिर, निजी क्षेत्रबाट सञ्चालित कलेजले सीमित स्रोत–साधनका बाबजुद त्यसतर्फ काम कदम चाल्न सकेका छैनन् । इन्जिनियरिङ शिक्षाको समस्याप्रति अनभिज्ञता प्रकट गर्ने स्थिति रहेको छ । ‘विद्यार्थीलाई समय सुहाउँदो शिक्षा दिन नसक्नु धोका हो, सरकार र विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका छन्,’ उनी भन्छन् । इन्जिनियरिङको पाठ्यक्रम समयअनुसार परिमार्जन हुन नसक्दा सिकाइमा त्यसको प्रत्यक्ष असर पर्ने उनको धारणा छ ।

वर्षौ पुरानो पाठ्यक्रम
मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्विद्यालय मातहतका इन्जिनियरिङ कलेजमा २० वर्षभन्दा बढी समयदेखि उही पाठ्यक्रममा आधारित विषयवस्तुको पढाइ हुँदै आएको छ । त्यसपछि खुलेका पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङको पाठ्यक्रममा केही परिमार्जन गर्न खोजे पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । पोखरा र पूर्वाञ्चलको सम्बन्धनमा सञ्चालित इन्जिनियरिङ कलेजमा विद्यार्थीको संख्या उल्लेख्य भए पनि नयाँ पद्धतिमा पढाइ भएको पाइँदैन । ती कलेज पनि सुगा रटाइको सैद्धान्तिक शिक्षाबाट माथि उठ्न सकेका छैनन् ।


 

suresh
ई. सूर्यराज आचार्य, विज्ञ, पूर्वाधार विकास

‘इन्जिनियरिङको पाठ्यक्रम त्रुटिपूर्ण छ’

स्कुले शिक्षामा जुन खालका समस्या छ, इन्जिनियरिङमा पनि त्यही बेथिति छ । समयमै सुधान नगर्ने हो भने कमसल इन्जिनियर उत्पादन हुने स्थिति छ । अहिले इन्जिनियरिङ कलेजको पढाइबाट विद्यार्थीले १५–२० प्रतिशतभन्दा बढी ज्ञान हासिल गर्न सक्दैनन् । विद्यार्थीले आफ्नो ढंगबाट सिकाइमा जसरी वृद्धि गर्नुपथ्र्यो, त्यो हुन सकेको छैन । धन्न, पुल्चोक क्याम्पसका विद्यार्थी ए ग्रेडका भएर मात्र यो शिक्षाको इज्जत धानिएको छ ।

इन्जिनियरलाई किताबी ज्ञानदेखि समाजका गतिविधि पनि थाहा हुनुपर्छ । पूर्वाधार‚ हाइड्रोपावर‚ मेकानिक्सका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने ज्ञान हुनुपर्छ । पहिले इन्जिनियरलाई गणितमा गल्ती नगर्ने मानिस भनेर चिनिन्थ्यो । अहिले गणितको काम क्याल्कुलेटर तथा कम्प्युटरले गर्न थालिसकेको छ । पहिले डिजाइनको काम हातैले गर्नुपथ्र्यो । तर, अहिले त्यो काम कम्प्युटर सफ्टवेयरले गर्छ ।

शिक्षकले आफूले पढेको बेलाको तौरतरिकाबाट इन्जिनियरिङ पाठ्यक्रम पढाउने गरेको पाइन्छ । अहिले सैद्धान्तिकसाथै प्रयोगात्मक शिक्षाको बढी उपयोगिता हुन्छ । इन्जिनियरिङ व्यवहारिक विधा भएकोले यसको काम पनि त्यही अनुसार हुनुपर्दछ । त्यस्ता कुरा हामीले पाठ्यक्रममा परिवर्तन गर्न सकेका छैनौं ।

इन्जिनियरिङको पाठ्यक्रम समयअनुसार सुधार गर्दै लैजानुपर्छ । त्यो हुन सकेको छैन । अहिले सर्भे गर्ने टेक्निक्स परिवर्तन भैसकेको छ तर, हामीले पुरानै विधि पढाइरहेका छौं । नेपालका इन्जिनियरमा समय सुहाउँदो प्राविधिक ज्ञानको कमी छ ।

इन्जिनियरको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । तर, उनीहरुलाई राम्रोसँग सीप तथा दक्षता हासिल गराएको छैनौं । ज्ञान र सीपमा दक्षता हासिल नगरेका इन्जिनियरले पुनर्निर्माणलाई सही बाटोमा अगाडि बढाउन सक्दैनन् ।

एउटा इन्जिनियरलाई इन्जिनियरिङ म्यानेजमेन्टदेखि सैद्धान्तिक‚ प्राविधिक‚ प्रशासनिक‚ सञ्चार, वातावरण आदिबारे ज्ञान दिनुपर्छ । तर, कलेजको पढाइ सानो घेरामा सीमित हुन्छ । अहिले औद्योगिक क्षेत्रमा काम गर्नसक्ने इन्जिनियरिङ शिक्षाको विकास हुन सकेको छैन । बजारमा कस्तो इन्जिनियरको माग छ, त्यही अनुसार उत्पादन थालनी गर्नुपर्छ ।

शिक्षक‚ विद्यार्थी‚ डिन‚ कर्मचारीमा राजनीतिकरण छ । यसकारण नेपालमा इन्जिनियरिङ क्षेत्र पनि यसबाट अछुतो छैन । उपकुलपति, डिनदेखि हरेक नियुक्ति राजनीतिक भागबन्डामा हुन्छ । नेपालका इन्जिनियर कस्ता हुन् भने उनीहरुलाई रेलका कुरा पढाइन्छ तर, कतिपयले रेल देखेको हुँदैनन् । समाजले यो कुरा बुझ्न अझै दशौं वर्ष लाग्छ । यहाँका प्राध्यापक २० वर्षअघि राम्रा र समर्पित भावका थिए । त्यसबेला यस्तोविधि राजनीतिकरण भएको थिएन ।

यो शिक्षामा प्राविधिक पक्षको सिकाइ कमजोर हुँदै गएको छ । पहिले कम्प्युटर थिएन । अहिलेजस्तो प्रविधि थिएन । अहिले इन्टरनेट छ । हरेक कुरा घरमै बसेर थाहा पाउन सकिन्छ । अहिलेका इन्जिनियर पुरानाभन्दा तगडा हुनुपर्ने हो, तर, त्यस्तो पाइँदैन ।
(कुराकानीमा आधारित)


पछिल्लो समयमा इन्जिनियरको संख्या बढ्दै गए पनि त्यसको तुलनामा गुणस्तर वृद्धि हुन सकेको देखिँदैन । गुणस्तरीय शिक्षाका लागि सरकार र निजी क्षेत्रका कलेजले समन्वयात्मक ढंगले जसरी अगाडि बढ्नुपर्ने हो त्यो भएको पाइँदैन । नेपाल इन्जिनियरिङ कलेज एशोसिएसनका अध्यक्ष रामेश्वर रिजाल राज्यको निजी कलेजलाई हेर्ने दृष्टिकोण सही नभएको बताउँछन् । ‘पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्न नपाएका विद्यार्थीले निजी कलेजमा भर्ना पाएर अध्ययन गरिरहेका छन्, यसबाट कम्तीमा देशको पुँजी बाहिर जानबाट रोकिएको छ,’ उनी भन्छन्, ‘निजी कलेजले शैक्षिक क्षेत्रमा ठूलो योगदान पु¥याएका छन् ।’ ंिनजी कलेजले सरकारले बनाएको नीतिनियम पालना गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरे पनि नियामक निकायले अनावश्यक झमेला थप्ने गरेको आरोप उनले लगाए । ‘हामीले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्नु त परै जाओस्, असजिलो अवस्था खेप्नुपरेको छ,’ उनी थप्छन् ।

इन्जिनियरिङ शिक्षामा आधुनिक प्रविधि अपनाएर पाठ्यक्रमलाई गुणस्तरीय बनाउन थप लगानी आवश्यक पर्छ । यसो गर्दा निजी कलेजमा पढ्ने विद्यार्थीले अझै रकम तिर्नुपर्ने हुन्छ । ‘शिक्षा प्रणालीमै परिवर्तन गर्ने काममा सरकारले उचित भूमिका खेल्नुपर्छ, खाली निजी कलेजलाई मात्र देखाएर हुँदैन,’ रिजाल भन्छन् ।

इन्जिनियरिङ कलेजको पाठ्यक्रम पुरानो भएकोले यसलाई सुधार गर्दै लैजानुपर्नेमा कलेज सञ्चालक मतैक्य छन् । हिमालयन कलेज अफ इन्जिनियरिङका निर्देशक मनोज थापा विश्वविद्यालयले इन्जिनियरिङको पाठ्यक्रम परिमार्जन गरेर यसलाई अझै व्यावहारिक बनाउनुपर्नेमा जोड दिन्छन् । ‘पाठ्यक्रम परिमार्जनको कुरा त छँदैछ, शैक्षिक संस्थामा गरिने बन्द–हडताललाई पनि सधैंका लागि निषेध गरिनुपर्छ,’ उनी भन्छन् । नियमित कक्षा सञ्चालन हुन नसकेमा कोर्स पूरा गर्न नसकिने र त्यसले विद्यार्थीको शैक्षिक उपलब्धीमा असर पर्ने उनको धारणा छ ।

विद्यार्थीमा नयाँ विषयवस्तुबारे खोजी गर्ने बानी हराउँदै गएको देखिन्छ । पठन सामग्री व्यापक भए पनि अध्ययन गर्ने बानी घट्दै गएको छ । सगरमाथा इन्जनियरिङ कलेजका प्रिन्सिपल रमेश श्रेष्ठ भन्छन्, ‘विद्यार्थीमा जुन प्रकारको आत्मविश्वास हुनुपर्ने हो, त्यो देखिँदैन । शिक्षकमा परनिर्भर बन्दै जाने बानीको विकास भएको देखिन्छ ।’ पढ्नको लागि सन्दर्भ सामग्रीको कुनै अभाव नरहेको तर विद्यार्थीमा पढ्नुपर्छ तत्परता नेदखिएको केहीको अनुभव छ ।

कतिपय कलेज सञ्चालक पाठ्यक्रम सुधार गरेर विश्व बजारको माग अनुसार इन्जिनियर उत्पादन नगर्ने हो भने समस्या आउनसक्ने तर्क गर्छन् । ‘हामीले नेपालको इन्जिनियरिङ पाठ्यक्रमलाई सुधार नगरिकन यथास्थितिमा चलाउने हो भने यहाँका विद्यार्थी भारतलगायत अन्य मुलुकमा जान सक्छन्,’ श्रेष्ठ भन्छन्, ‘त्यसै त भारतीय कलेजले नेपाली विद्यार्थीलाई प्रलोभन देखाएर लगिरहेका छन् । झन् समयअनुसार चल्न सकिएन भने अप्ठ्यारो पर्छ ।’


 

satyanarayan shaha
ई. सत्यनारायण साह अध्यक्ष‚ नेपाल इन्जिनियरिङ परिषद्

‘परिषद छ कि छैन जस्तो लाग्छ’

कतिपय अवस्थामा मलाई नेपाल इन्जिनियरिङ परिषद छ कि छैन जस्तो लाग्छ । परिषदले इन्जिनियरिङ शिक्षालाई उकास्न जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन

संरचना कस्तो बनाउने भन्ने मुख्य जिम्मेवारी इन्जिनियरको हुन्छ । इन्जिनियरिङ संरचनाले सधै शतप्रतिशत काम गर्छ भन्ने हँुदैन किनभने इन्जिनियरले जहिले पनि लागत प्रभावकारिताको हिसाबले संरचनाको डिजाइन गरेको हुन्छ । संरचनालाई कति दरिलो र प्रभावकारी बनाउने भन्ने निर्माणकर्तामा भर पर्छ ।

मानवनिर्मित संरचना आर्थिक हिसाबले किफायती हुनुपर्छ । पहिले मिस्त्रीहरुको भरमा घर बन्ने गरेको पाइन्थ्यो । अहिले पनि ठेकेदारको भरमा घर निर्माण भइरहेका छन् । समाजले इन्जिनियरलाई काम लगाउनुपर्ने हुन्छ । यदि समाजले माग सिर्जना गरेन भने इन्जिनियरले त्यतिकै काम गर्ने भन्ने हुँदैन । मानिसले घर बनाउन करोड खर्च गर्ने भए पनि डिजाइनका बेलामा हजार खर्च गर्न चाहँदैनन् । यो सांस्कारिक दोष हो । जनशक्ति तथा संस्थागत विपद् सामना गर्न हामी तयार हुन सकेनौं ।

भबितव्यलाई कसैले टार्न सकिँदैन । तर, त्यसको न्युनीकरण गर्न सकिन्छ । आगो लागेपछि निभाउने संस्कार मात्र हामीले जानेका छौं तर, हामी पूर्वसावधानी अपनाउँदैनौं । सडक इन्जिनियरिङको कुरा नमिल्दा दुर्घटना हुन्छ । गाडीको क्षमताबारे बेवास्ता गर्दा नेपालमा दैनिक सरदर ५ जनाको मृत्यु हुन्छ ।

कलेजको गुणस्तरको कुरा गर्दा त्यहाँबाट उत्पादित जनशक्तिले कस्तो काम गरेका छन् भन्ने महत्वपूर्ण हुन्छ । परिषद‚ शिक्षा मन्त्रालय‚ विश्विद्यालय तथा विश्वविद्यालय अनुदान आयोगले इन्जिनियरिङ शिक्षालाई प्रभावकारी बनाउन वातावरण तयार गरिदिनुपर्छ । गुणस्तरीय इन्जिनियरिङ जनशक्ति उत्पादन अहिलेको आवश्यकता हो । यदि कलेजले कमसल जनशक्ति उत्पादन ग¥यो भने तिनीहरुले रोजगारी पाउन गाह्रो हुन्छ र यस क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षण घट्दै जान्छ । यसतर्फ हामीले विचार गर्नुपर्ने हुन्छ ।

नेपाल इन्जिनियरिङ परिषदले कलेजको आधारभूत संरचनादेखि लाइब्रेरी‚ प्रयोगशाला, शिक्षक फ्याकल्टीको अनुगमन गर्छ । कलेजको कमीकमजोरी देखिएमा लिखित पत्राचारमार्फत सुधारका लागि आग्रह गर्छौ । कतिपय कलेजलाई त्यतिले मात्र पनि पुग्दो रहेनछ, नियमअनुसार अन्य कदम पनि चाल्नुपर्ने अवस्था आउँदो रहेछ ।

संस्थागत रुपमा नेपालमा इन्जिनियरिङ शिक्षालाई प्रभावकारी व्यवस्थापन गर्न सकिएको छैन । सरकारी निकायले इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित संस्थाको विकासका लागि वातावरण सिर्जना गर्नुपर्छ । सरकारी निकायले त्यस्तो काम गर्न सकेको छैन ।

परिषदमा दर्ता भएका इन्जिनियरले नक्कली प्रमाणपत्र पेश गरेकोबारे व्यापक चर्चा चलेको छ । अख्तियारले यसको छानबिन गरिरहेको छ । उनीहरुविरुद्घ अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

अहिले परिषदले विश्वविद्यालयले दिएका प्रमाणपत्रको आधारमा इन्जिनियरको दर्ता गरिरहेको छ । त्यसैले गर्दा गुणस्तरीय इन्जिनियर छान्न कठिन भएको छ । अब ऐन संशोधन भएपछि परीक्षा लिएर मात्र उनीहरुको दर्ता प्रक्रिया अगाडि बढ्छ । त्यो कामका लागि नियमावली परिवर्तन हुनुपर्दछ । त्यो हुन सकेको छैन ।
यसो हेर्छु, कतिपय अवस्थामा मलाई नेपाल इन्जिनियरिङ परिषद छ कि छैन जस्तो लाग्छ । परिषदले इन्जिनियरिङ शिक्षालाई उकास्न जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । इन्जिनियरिङ सम्बन्धी केही ऐन २०५५ को समसामयिक प्रस्ताव यसअघि मन्त्रालय पठाए पनि फिर्ता आयो । फेरि साढे एक वर्षअघि उक्त प्रस्ताव पठाए पनि त्यसमाथि कुनै कारबाही भएको छैन ।
(कुराकानीमा आधारित)


 

विकास र इन्जिनियर
दक्ष इन्जिनियरबिना मुलुकले विकासको क्षेत्रमा फड्को मार्न सक्दैन । विश्वका हरेक देशमा इन्जिनियरिङको प्रभावकारिता उस्तै छ । पहिले सिभिल इन्जिनियरको खुबै चर्चा चल्ने गरे पनि अहिले इलेक्ट्रोनिक्स‚ आर्किटेक्चर‚ मेकानिकल‚ एरोनोटिकल र बायोमेडिकल इन्जिनियरको चर्चा चल्ने गरेको छ । नेपालमा भने सिभिल इन्जिनियरबाहेक अन्य इन्जिनियरको चर्चा कम छ । नेपालमा जुन रुपमा औद्योगिक विकास हुनुपर्ने हो, त्यसअनुसार नभएकोले समग्रमा इन्जिनियरिङ क्षेत्र प्रभावित बन्ने गरेको छ ।
उत्पादित इन्जिनियरमा जस्तो खालको आत्मविश्वास र दक्षता नभएकाले प्रतिस्पर्धी बजारमा बिक्न गाह्रो हुन्छ । सीमित संख्यामा रोजगारीको सम्भावना भएकाले इलक्ट्रोनिक्स इन्जिनियरले योग्यता अनुसार काम पाउन सकेका छैनन् । नयाँ विधाको रुपमा भित्रिएको बायोमेडिकल इन्जिनियरिङको भने ‘स्कोप’ बढ्दै गएको कलेज अफ बायोमेडिकल इन्जिनियरिङका प्रिन्सिपल डा. विश्वप्रकाश श्रीवास्तव बताउँछन् । ‘कलेजबाट उत्पादित बायोमेडिकल इन्जिनियर अस्पतालमा खपत हुन थालेका छन्,’ उनी भन्छन्, ‘सरकारले सय बेड क्षमताको अस्पतालमा एक बायोमेडिकल इन्जिनियर राख्नुपर्ने नीति बनाएपछि माग बढेको छ ।’ त्यसबाहेक निजी अस्पतालमा पनि बायोमेडिकल इन्जिनियरले काम गरिरहेका छन् ।

दक्ष जनशक्ति खाँचो
इन्जिनियरिङमा विद्यार्थीले भौतिकशास्त्र‚ रसायनशास्त्र‚ गणित‚ वातावरण विज्ञान‚ मेकानिक्सलगायत विषय पढ्नुपर्छ । यी विषय पढाउनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको कलेज सञ्चालकको भनाइ छ । युनिभर्सल इन्जिनियरिङ साइन्स कलेजका प्रबन्ध निर्देशक रामचन्द्र कँडेल भन्छन्, ‘पुल्चोक क्याम्पसमा अनुभवी प्राध्यापक छन्, त्यसबाहेक अन्य कलेजमा पढाउने शिक्षक उस्तै–उस्तै स्तरका छन् ।’ भर्खर पढाइ पूरा गरेका आएका शिक्षकमा जोस र जाँगर हुने भएकाले उनीहरुलाई सिक्ने वातावरण उपलब्ध गराइदिनुपर्ने पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख प्रा.डा. गोकर्णबहादुर मोर्टाको भनाइ छ । उनी भन्छन्, ‘नयाँ शिक्षकलाई सिक्ने अवसर दिनुपर्ने हुन्छ । कतिपय शिक्षक पुल्चोक क्याम्पसमा केही वर्ष पढाउँछन् । विदेश गएर राम्रो सेवा–सुविधा पाएपछि उतै बस्छन् ।’

नेपालमा सबै विषय पढाउनको लागि पर्याप्त जनशक्ति नभएको कलेज अफ बायोमेडिकल इन्जिनियरिङका प्रिन्सिपल श्रीवास्तव बताउँछन् । ‘हामीले कलेजमा ‘बायोमेकानिक्स’ पढाउने शिक्षक चाहियो भनेर अन्तर्राष्ट्रिय रुपमै भ्याकेन्सी खोल्यौं । पछि अमेरिकाबाट उक्त विषय पढेर फर्किएका नेपालीले आवेदन दिए, त्यही भएर सजिलो भयो,’ उनी भन्छन् ।

 

ई. रामेश्वर रिजाल अध्यक्ष, एशोसियन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन)
ई. रामेश्वर रिजाल
अध्यक्ष, एशोसियन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन)

‘इन्जिनियरिङ कलेज सकसमा छन्’

इन्जिनियरिङ कलेजलाई एउटै निकायले नियमन गर्नुपर्छ । यसका लागि विश्वविद्यालय, शिक्षा मन्त्रालय, इन्जिनियरिङ परिषद्को एउटा उच्स्तरीय टिम बन्नुपर्छ । अहिले केवल विधि पु¥याउने खालको निगरानी छ । यसका लागि ‘क्वालिटी अडिट’ प्रक्रियामा जानुपर्छ । 

 

 

संख्या बढेको बढ्यै
पुल्चोक इन्जिनियरिङ कलेजले हरेक वर्ष १ हजार ७ सय ४६ विद्यार्थी भर्ना लिन्छ । नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएका कलेजको संख्या ४९ छ । ती कलेजबाट वार्षिक ८ हजार ३ सय ७० इन्जिनियर उत्पादन हुन्छन् । त्यसबाहेक विदेशबाट इन्जिनियरिङ अध्ययन गरेर आउने संख्या छुट्टै हुन्छ । अहिलेसम्म परिषदमा दर्ता भएका महिला तथा पुरुष इन्जिनियरको संख्या ३३ हजार ४ सय ८६ छ ।

नेपालमा १६ विधामा इन्जिनियरिङको पढाइ भए पनि इन्जिनियरिङ परिषदमा ४६ विधाका इन्जिनियर दर्ता भएका छन् । कतिपयले विदेशबाट नयाँ विषय पढेर आएका हुन् । उनीहरु सबैले नेपालमै बसेर काम गरिरहेका छन् ।

भूकम्पपछि इन्जिनियरको काँधमा अझै चुनौती थपिएको छ । विकासको संरचना तयार पार्दा त्यसलाई कसरी भूकम्पप्रतिरोधी बनाउने भन्नेमा ख्याल गर्नुपर्छ । जस्तैः २०७२ वैशाख ११ को भूकम्पका बेला कुलेखानीको ड्याम फुटेपछि विद्युत अवरुद्घ भएको थियो । निर्माण भएका संरचनालाई कसरी दिगो बनाउने भन्ने दायित्व इन्जिनियरको रहेको नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष सत्यनारायण साह बताउँछन् ।

पछिल्लो समय इन्जिनियरको संख्या बढेसँगै गुणस्तरको बारेमा विभिन्न प्रतिक्रिया आइरहेका बेला परीक्षा लिएर मात्र प्रमाणपत्र दिनुपर्ने कुरा उठिरहेको छ । तर, नेपाल इन्जिनियरिङ परिषदले परीक्षाको व्यवस्था गर्ने गरी ऐन संशोधन गर्नका लागि प्रस्ताव मन्त्रालय पठाएको डेढ वर्षभन्दा बढी समय बिते पनि काम अगाडि बढेको छैन । ‘कतिपय अवस्थामा मलाई परिषद नै छ कि छैन जस्तो लाग्छ, यसले प्रभावकारी ढंगले काम गर्न सकेको छैन,’ अध्यक्ष साह भन्छन् । इन्जिनियरलाई पेशाप्रति मर्यादा बनाउन रोजगारदाताले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । ‘गुणस्तरहीन इन्जिनियरलाई काममा लगाउँदा लगानीकर्ता आफैं समस्या पर्छन् । त्यो पक्षलाई राम्ररी हेर्नुपर्छ,’ उनी भन्छन् ।

स्रोत नेपाल इन्जिनियरिङ परिषद्
स्रोत नेपाल इन्जिनियरिङ परिषद्

अबको बाटो
इन्जिनियरिङ शिक्षालाई एक्काइसौं शताब्दीको हावापानी सुहाउँदो बनाएर अगाडि बढाउनु चुनौतीपूर्ण रहेको विज्ञहरुको धारणा छ । आवश्यक भौतिक संरचना, योग्य शिक्षक, प्रयोगशाला, फिल्ड वर्कलगायत पक्षमा ध्यान दिनु जरुरी छ ।

निजी शिक्षण संस्था कम्पनी ऐनअनुसार चलाउने कि गुठीमा जाने भन्ने द्विविधा रहेको एशोसियन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन) का अध्यक्ष ई. रामेश्वर रिजाल बताउँछन् । ‘सरकारले स्पष्ट नीति नल्याउँदा इन्जिनियरिङ कलेजलाई अगाडि बढ्न असहज हुन्छ, निजी शिक्षण संस्थालाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ,’ उनी भन्छन् । उता, कतिपय निजी इन्जिनियरिङ कलेजले चर्को शुल्क लिए पनि गुणस्तरीय शिक्षा दिन नसकेको विद्यार्थीको गुनासो छ ।

नेपाल इन्जिनियरिङ परिषदले विश्वविद्यालयले विद्यार्थीलाई दिएको प्रमाणपत्रको आधारमा इन्जिनियरको दर्ता गर्ने प्रणाली परिवर्तन गर्नुपर्ने धारणा अघि सार्दै आएको छ । यसैअनुरुप परिषदले ऐन संशोधनका लागि मन्त्रालयमा पठाए पनि सरकारले त्यसलाई अगाडि बढाएको छैन । नयाँ नियम तय भएपछि इन्जिनियरले पनि परीक्षा पास गरेर मात्र परिषदबाट दर्ता प्रमाणपत्र पाउँछन् । यसले गुणस्तरीय इन्जिनियर उत्पादनमा सहयोग पुग्ने परिषदको तर्क छ भने कतिपय इन्जिनियर यसबाट झनै झन्झट थपिने मत राख्छन् । यद्यपि, इन्जिनियरिङ शिक्षालाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन समयसापेक्ष ऐन–नियम परिवर्तन गर्नुको विकल्प छैन । विश्वका अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न पाठ्यक्रमदेखि शैक्षिक पद्धतिसम्म परिवर्तन गर्नुपर्छ ।

इन्जिनियरिङ शिक्षालाई समयअनुकूल बनाउन उच्चस्तरीय संयन्त्र निर्माण गरी नेपाललाई कस्ताखाले इन्जिनियर चाहिएको हो, त्यसमा स्पष्ट हुनुपर्छ । निजी कलेज पढेर औसत ज्ञान र सीप सिकेका इन्जिनियरलाई तालिमको व्यवस्था गरेर दक्ष बनाउन सकिने विज्ञहरुको भनाइ छ । कुनै ठेकदार वा मिस्त्रीले बनाएको संरचनाभन्दा इन्जिनियरिङ तयार गरेको संरचना राम्रो र दरिलो हुनुपर्ने इन्जिनियर आचार्यको धारणा छ । उनी भन्छन्, ‘उचित वातावरण र राम्रो अवसर पाएमा नेपालका इन्जिनियरले धेरै राम्रो काम गर्न सक्छन् ।’

 

प्रकाशित

समाचार

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

×