सरकारले विज्ञान प्रविधिमा लगानी बढाउने

काठमाडौं– प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनेलगतै विज्ञान तथा प्रविधिको क्षेत्रमा सम्भावनाको खोजी गर्दै लगानी बढाउन पहल गरिरहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ३४ औं वार्षिक सभामा प्रधानमन्त्री दाहालले आफू विज्ञानको विद्यार्थी भएको स्मरण गर्दै विज्ञान–प्रविधिको विकास बिना देशले समृद्धि हासिल गर्न नसक्ने उल्लेख गरे ।

नास्टका उपकुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘विज्ञान–प्रविधिको युगमा कुनै पनि समाज यसबाट अछुतो रहन सक्दैन । त्यसैले देशको पहिचान माथि उठाउन राजनीतिज्ञले सोच्ने बेला आएको छ ।’ आफूले भारतका औद्योगिक कारखाना भ्रमण गर्दा अधिकांश जडिबुटी नेपालबाट खरिद गरेर लगेको पाइएको र त्यसखाले प्रशोधन केन्द्र नेपालले बनाउन नसकेकोमा खल्लो महसुस भएको अनुभव सुनाए । ‘सरकारको तर्फबाट विज्ञानमा लगानी बढाउनुका साथै वैज्ञानिकलाई उपयुक्त वातावरण तयार पार्न आफ्नो नेतृत्वको सरकार लागि पर्नेछ,’ उनले भने ।


वैज्ञानिक अनुसन्धानका लागि सातै प्रदेशमा प्रयोगशाला बनाउने योजना रहेको सरकारले जनाएको छ । नास्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले सातै प्रदेशमा काम गर्नका लागि नास्टले शाखा विस्तार गर्न लागेको बताए । उनले भने, ‘तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रासद कोइराला नेतृत्वको सरकारको पालामा भारत सरकारले नास्टको प्रांगणमा विज्ञान अध्ययन केन्द्र खोल्ने भनिए पनि त्यसको कार्यान्वयन हुन सकेन ।’ नेपाल, भारत र चीनसँगको त्रिदेशीय साझेदारीमा आर्थिक, सामाजिक तथा विज्ञान–प्रविधिको क्षेत्रमा काम गरिनुपर्ने उनले उल्लेख गरे ।

समारोहमा प्रधानमन्त्री दाहालले विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई पुरस्कृत गरे ।