‘आयोनुनले विद्यार्थीको बौद्घिक क्षमता विकास भएको छ’

बज्रेशकुमार झा,
विभागीय प्रबन्धक, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड

महोत्तरी जिल्लाको बथनाहाँ गाविस वडा नं ६ मधवामा जन्मिएका हुन् बज्रेशकुमार झा । पिताको सरकारी नोकरीका कारण उनको बाल्यकाल पहाडी भूभाग धादिङको गजुरीमा बित्यो । राजधानी काठमाडौंको चाबहिलस्थित पशुपति माध्यामिक विद्यालयमा उनले कक्षा ९ सम्म अध्ययन गरे । उनले बिएस्सीसम्मको अध्ययन पूरा गरेका छन् ।
२०४९ सालमा उनले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा जागिर जीवनको सुरुआत गरेका हुन् । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा स्नातकोत्तर अध्ययन सुुरु गरेको भए पनि जागिरको चापले गर्दा उनले पूरा गर्न सकेनन् । साल्ट ट्रेडिङ कर्पोरेसनमा २५ वर्ष सेवा गरिसकेका उनी अहिले विभागीय प्रबन्धकका रूपमा कार्यरत छन् ।

सन् १९६५ मा नेपाल सरकार, युनिसेफ र विश्व स्वास्थ्य संगठनलगायत संस्थाले गरेको सर्भेक्षणमा नेपालको कूल जनसंख्याको ५५ प्रतिशत जनतामा आयोडिन कमी रहेको पाइएको थियो । सन् २०१६ मा स्वास्थ्य मन्त्रालय, युनिसेफले गरेको सर्भेक्षणले नेपालमा ९४ प्रतिशत मानिसमा आयोडिनयुक्त नुनको पहुँच पुगेको देखाएको छ । यो अवस्थामा आइपुग्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ठूलो हात छ । नेपाल आयोडिनयुक्त नुनको पहुँचमा दक्षिण पूर्वी एसियाली मुलुकमा सबैभन्दा अगाडि आएको छ । निजी–सार्वजनिक साझेदारीमा सञ्चालित नेपालकै पहिलो संस्थाको रूपमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई लिने गरिएको छ । यसै सेरोफेरोमा रिभोसाइन्स मासिकले विभागीय प्रबन्धक झासँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईंका मुख्य जिम्मेवारी के–के छन् ?
–ब्रान्ड प्रमोसनदेखि मिडियासँगको सम्बन्धअन्तर्गतका काम गर्दै आएको छु ।

काममा कतिको चुनौती छ ?
–कामको हिसाबले भन्दाखेरि कर्पोरेसनको फाइदाका लागि गर्नुपर्ने हुन्छ । कर्पोरेसनको फाइदाको ध्येय लिएर काम गरेमा रमाइलो हुँदो रहेछ । जुनसुकै काममा पनि चुनौती हुन्छ नै ।

पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेसनले के–के कुरा बिक्रीवितरण गरिरहेको छ ?
साल्ट ट्रेडिङ कर्पोरेसनको स्थापना २०२० साल भदौ २७ गते भएको हो । नेपालमा पाइने कच्चा पदार्थको प्रयोग गरेर विभिन्न वस्तु उत्पादन गर्नुपर्छ भनेर यसले काम गरिरहेको छ । हेटौडा औद्योगिक क्षेत्रभित्र पहिलो मैदा मिल स्थापना भयो । साल्ट ट्रेडिङले पहिलो वनस्पति घिउ उद्योग स्थापना गरेको छ ।

इन्सुरेन्स, फाइनान्स र गोरखकाली रबर उद्योग, काठमाडौं मेट्रो ग्यास, एचटिसीको बिक्रीवितरण गरिरेहका छौं । कागज, राइटिङ/प्रिन्टिङ पेपर सप्लाइ गरिरहेका र्छौ । नेपाल सरकारले अनुदानमा दिएको रासायनिक मल बिक्री–व्यवस्थापन गर्छौं । आमजनतासँग जोडिएका दैनिक उपभोग्य वस्तुमा हामी केन्द्रित छौं । चामल, दाल, घिउ, चिनी, नुनलगायत सामग्री पनि बिक्री वितरण गरिरहेका छौं ।

पछिल्लो समय तपाईंहरुले दुई बालबालिकाको चिह्न भएको आयो नुन प्रयोग गर्नू भन्नुभयो, किन त्यसो गरिएको हो ?
–सन् १९९५ को एक सर्भेले नेपालमा ५५ प्रतिशत बालबालिकामा आयोडिनको कमी देखाएको थियो । त्यो आफैंमा दुर्भाग्यपूर्ण थियो । आयोडिनको कमीले चार प्रतिशत बालबालिका सुस्त मनस्थितिका देखिएका थिए, जुन ‘नेपाल माइक्रो न्युट्रियन्ट स्टाटस सर्भे १९९८’ मा उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, युनिसेफ र भारत सरकारसँग सहकार्य गरेर सन् १९७३ देखि नेपालमा ‘आयोडाइज साल्ट’ अर्थात् आयोडिन मिसाइएको नुन बिक्रीवितरण हुन थालेको हो । त्यसबेला नेपालमा ढिके नुन खाने चलन थियो । ढिके नुनमा मिसाइएको आयोडिन बाहिरी सतहमा मात्र देखिन्थ्यो । केही मानिसले घरमा नुन धोइ–पखाली गरी घाममा सुकाएर प्रयोग गर्ने गरेको पाइयो । त्यसबाट आयोडिन नष्ट भयो । उक्त समस्या निराकरणका लागि पिसिएको नुनमा आयोडिन मिसाएर ‘प्याकेट’ बनाउन सुरु गरिएको हो । नुन हाम्रो शरीरलाई आवश्यक पर्ने आयोडिन छ भन्नका लागि आधिकारिक रूपमा दुई बालबालिका भएका लोगो राखिएको हो ।

दुई बालबालिकाकै चिह् प्रयोग किन गर्नुभएको ?
–खासगरी आयोडिन कमी भएमा विभिन्न समस्या देखिन्छ । जस्तैः महिला गर्भवती भएको बेला आयोडिन कमी भएमा गर्भ तुहिने, नाबालक शिशु लुलोलंगडो वा सुस्त मनस्थितिको हुनसक्छ । शिशु जन्मेको केही समयमा मृत्युसमेत हुनसक्छ ।

जन्मेका शिशुको सिक्ने क्षमता कमजोर देखिन सक्छ । विद्यालय तहमा उसको सम्झने क्षमता, खेलकुद, पढाइ्लगायत कमजोर हुन्छ । आयोडिन कमी भएमा शारीरिक तथा मानसिक क्षमता ह्रास हुन्छ । यसको कमी भएमा किशोरीमा महिनावारी अनियमित हुन्छ । महिनावारीका बेलामा रगत बढी जाने समस्या देखिनसक्छ ।

आयोडिन कमीले बालबालिकाको ‘आइक्यु लेभल’ सामान्य अवस्थाभन्दा ‘१५ प्वाइन्ट’ कम भएर जान्छ । त्यही भएर हामीले आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएका छौं । सबल नागरिक बनाउनका लागि दुई बालबालिकाको चिह्न भएको प्रमाणित आयोडिनयुक्त नुन अपरिहार्य छ ।

त्यसो भए आयोडिनको मात्रा चाहिँ कति राखिन्छ ?
एकजना वयस्क व्यक्तिलाई प्रतिदिन १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्छ । बालबालिका तथा गर्भवति महिलालाई आयोडिन कम आवश्यक पर्छ । दूध खुवाउने महिलालाई प्रतिदिन २२० माइक्रोग्राम आयोडिन आवश्यक पर्छ ।

शरीरले यस्ता आयोडिन विभिन्न वस्तुमार्फत् लिने गर्छ । यदि माटोमा आयोडिन छ, त्यहाँ उत्पादन भएका साग–सब्जीलगायतबाट आयोडिन प्राप्त गर्न सकिन्छ । तर, सबैभन्दा राम्रो उपाय भनेको नुनमा मिसाउनु हो । विज्ञहरूको सुझावका आधारमा करिब १३० देशले नुनमा आयोडिन मिसाएर बिक्रिी–वितरणको व्यवस्था मिलाउँदै आएका छन्, त्यसैअन्र्तगत हामीले काम गरेका हौं ।

मानिसले दैनिक ६ ग्राम मात्र नुन खान उपयुक्त भनिन्छ, आयोडिन बढी खाँदा समस्या हुँदैन ?
हामीले खाने सागसब्जी र फलफूलमा केही न केही मात्रामा आयोडिन पाइन्छ । नुनमा ५० माइक्रोग्राम आयोडिन मिसाइएको हुन्छ । यसलाई ५० पिपिएम अर्थात् पार्ट पर मिलियन भनिन्छ । यो भनेको १ ग्राममा ५० माइक्रोग्राम मिसाइएको हो । हामी दैनिक ६ ग्राम नुन खाँदाखेरी ३०० माइक्रोग्राम आयोडिन नुनबाट लिने सम्भावना देखिन्छ । तर, तरकारी पकाउँदा नुन पहिले राख्ने गरिन्छ । यसरी नुन राख्दा केही मात्रामा उडेर वा नष्ट भएर जान्छ । पसिना/पिसाब दिसाबाट केही मात्रामा आयोडिन निष्कासन हुन्छ । तसर्थ, ३००–४०० माइक्रोग्राम आयोडिनले शरीरमा हानी गर्दैन ।

त्यसो भए बेला–बेलामा अनुसन्धान पनि गर्नुहुन्छ होला नि !
–हाम्रो अनुसन्धान गर्ने काम होइन । तर, हाम्रो पनि प्रयोगशाला छ । जति पनि नुन प्याकिङ गर्ने स्थान छन्, त्यसमा हाम्रो ‘ल्याब’ छ । त्यहाँ हामीले युनिसेफले तोकेको ‘लट क्वालिटि एसुरेन्स सिस्टम’ –एलक्युएएस) पद्धतिको आधारमा जाँच गरी बजारमा बिक्रीवितरण गर्दै आएका छौं । यसमा के हुन्छ भने १० वटा नमूना प्याकेट परीक्षण गर्दा एउटा मात्र फेल भएछ भने त्यो ‘रिजेक्ट’ हुँदैन । तर, दुईवटा फेल भएमा त्यो लट नै ‘रिजेक्ट’ हुन्छ । त्यसलाई फेरि आयोडिन मिसाएर बजारमा निर्यात गर्दछौं ।

प्याकिङपछि पनि छुट्टाछुट्टै परीक्षण गर्छौ । यसबाट सकारात्मक परिणाम देखाएपछि ‘लट ठीक छ’ भन्ने अवस्था आउँछ । हामी त्यो ‘क्वालिटी कन्ट्रोल’मा सर्तक छौं । स्वास्थ्य मन्त्रालयले तोकेको मात्राअनुरुप नुनमा आयोडिन मिसाइएको हुन्छ । खानेकुराको प्रकृति हेरेर नुनमा ५० पीपीएमसम्म आयोडिन मिसाइएको हुन्छ । खाना खाने बेलामा छर्केर खाने हो भने हामीलाई १५ देखि ३० पिपिएम आयोडिनको मात्रा भए पुग्छ । हामीले आयोडिन अन्य स्रोतबाट पनि केही न केही पाइरहेका हुन्छौं । यस हिसाबले आपूर्ति भएको आयोडिन बढी छैन र यसले कुनै असर पुर्याउँदैन ।

आयोडिन मिसाउने काम भारतमा हुन्छ कि नेपालमा ?
उतैबाट आयोडिन मिसाएर ल्याएको हुन्छ किनभने यता मिसाउँदा दोहोरो झन्झट व्यहोर्नुपर्ने हुन्छ । खर्च पनि बढी लाग्ने हुन्छ । ‘डिपार्टमेन्ट अफ फुड टेक्नोलजी एन्ड क्वालिटी कन्ट्रोल’ले परीक्षण गरेर मात्र ल्याएको हुन्छ । भारत साल्ट कमिसनरले आयोडिनको मात्रा ठिक भएको रिपोर्ट दिएपछि मात्र त्यसलाई उपभोग गरिन्छ । नुनको गुणस्तरदेखि आयोडिनको लेबलसम्म त्यहाँबाट प्रमाणित गरेको हुनुपर्छ । हाम्रो ‘ल्याब’मा पनि यसको परीक्षण गरिन्छ । वितरण हुने बेलामा एलक्युएएसबाट फेरि जाँचपडताल गरिन्छ ।

वर्षदिनमा नेपालभर कति नुन वितरण गरिन्छ ?
–१ लाख ८३ हजार मेट्रिक टन ।

नुन प्रयोग गर्ने तरिका सिकाउनुपर्छ नि, होइन ?
खाद्य ऐनले निर्दिष्ट गरेअनुसार कुनै पनि वस्तु बजारमा पठाउँदाखेरि प्रयोग गर्ने कुरा हामीले उल्लेख गरेका हुन्छौं । ती वस्तुमा कुन–कुन चीज मिश्रण गरिएको छ भनी उल्लेख गर्नुपर्छ । त्यसपछि फाइदा÷बेफाइदाजस्ता पक्षबारे जानकारी गराउनुपर्दछ ।

नुनको प्याकेटमा प्रयोग गर्ने विधि, स्टोर गर्ने विधिलगायत यसबाट हुनसक्ने फाइदा विस्तृत रूपमा लेखिएको हुन्छ । सामाजिक उत्तरदायित्वको हिसाबले आयोडिनको कमीले हुने विकृति रोकथामका लागि जनचेतना अभियान सञ्चालन गरेका छौं ।

बिक्री–वितरण गर्दा केकस्ता चुनौती आइपरेका छन् ?
चुनौतीहरू दुई–तीनवटा छन् । राजनीतिक संक्रमणकालमा भारतसँग ट्रेड एन्ड ट्रान्जिट अर्थात् व्यापार तथा पारवहन सन्धी नविकरण नहुँदाखेरि पनि नुनको कमी भएन । त्सरकारको नीतिगत निर्णयअनुसार ६ महिनाका लागि नुन भण्डार गर्नुपर्ने हुन्छ । हामीले अहिले पनि त्यहीअनुसार भण्डारण गरेर राखेका छौ । मधेस आन्दोलन वा अघोषित भारतीय नाकाबन्दीको बेला पनि नुनको अभाव भएन । मूल्यमा एक रुपता रह्यो । अरु वस्तु जस्तो मूल्यमा तलमाथि हुन दिएनौं ।

नुन उत्पादन गरेको कति मितिसम्म खान हुन्छ ?
नुन आफंैमा बिग्रिँदैन । ‘सोडियम क्लोराइड’लाई इडिबल साल्ट अर्थात् खानयोग्य नुन भनिन्छ । यो ‘स्टेबल कम्पाउन्ड’ भएकाले त्यतिकै बिग्रेर जाँदैन । यसले ‘प्रिजरभेटिभ’को रूपमा काम गर्छ । अचारमा राखेको नुनले बिग्रन÷कुहिन दिँदैन । छालामा राखेको नुनले ‘प्रिजरभेटिभ’को रूपमा काम गर्छ ।

नेपालको खाद्य ऐनअनुसार दुई वर्षको अवधि लेखिएको हुन्छ । तर, नुन आफैंमा ‘एक्सपाएर’ हुँदैन । आयोडिन पनि ‘एक्सपाएर’ हुँदैन । कतै प्याकेट ‘प्वाल’ परेर केही उडेर जाला, तर, त्यसले असर गर्ने भन्ने हुँदैन । कतिपय देशमा नुनमा ‘एक्सपायर डेट’ राखिएको हुँदैन ।

अन्त्यमा, नुनको सही प्रयोग गर्नेबारे के सल्लाह दिनुहुन्छ ?
–आजभन्दा २०–२५ वर्षअघि दुर्गमका स्कुलबाट एसएलसीमा विद्यार्थी उत्तीर्ण दर अत्यासलाग्दो हुन्थ्यो । तर, अहिले आयोनुनले विद्यार्थीको शैक्षिकस्तर उकास्न मद्दत गरेको छ । ‘आयोडाइज साल्ट’ले विद्यालयको नतिजा राम्रो देखिएको पुष्टि भएको छ । यस विषयमा कुनै सर्भे नभए पनि आयोडिनले गर्दा ग्रामीण भेगका बालबालिकाको बौद्धिक क्षमता विकास भएको मैले पाएको छु ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *