आयुर्वेद अध्ययन संस्थानको स्थापना किन ?

प्रा. डा. चन्द्रराज सापकोटा

नेपालमा युगौंदेखि आयुर्वेदको अध्ययन अध्यापन गुरुकुल परम्पराअनुसार चल्दै आएकोमा उपचारको लागि आवश्यक पर्ने औषधिहरूको निर्माणको क्षेत्रमा संस्थागत प्रयास राजा प्रताप मल्लले विसं १७०० तिर हनुमान ढोका दरबारमा वैद्यखानाको स्थापना गरेर सुरु गरेका थिए । समयक्रममा औषधि निर्माण प्रक्रिया शुरु भएपछि चिकित्सालय एवम् आयुर्वेद शिक्षाको लागि अलग्गै व्यवस्थागर्ने उद्देश्यले विसं १९७४ मा चार शैयाको आयुर्वेद चिकित्सालयको व्यवस्था हुनुको साथै आयुर्वेद अध्ययनको व्यवस्था पनि भयो । संस्थागत रुपले भने विसं १९८५ देखि आयुर्वेद क्याम्पस संचालन हुँदै आएकोमा विसं २०२९ सम्म आयुर्वेदाचार्यसम्मको पठनपाठन थालियो । चिकित्साशास्त्र अध्ययन संस्थान बनाउने कार्यक्रममा आयुर्वेदाचार्यसम्म पठनपाठन भएको आयुर्वेदको शैक्षिक कार्यक्रमलाई प्रमाणपत्र तहमा झारियो । उक्त अध्ययन संस्थानले आधुनिक चिकित्सा पद्दतिलाई मात्र बढाउने कामग¥यो र आजका दिनसम्ममा पनि आयुर्वेदको विकासमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बद्ध हँुदा विएएमएस (आयुर्वेदमा स्नातक) र एउटा विषयमा मात्र एमडी (विशेषज्ञता सेवा) आयुर्वेद संचालनमा छ । आयुर्वेद विधामा पनि २२ वटा विषयमा स्नात्तकोत्तर अध्यापनको व्यवस्था छिमेकी मुलुक भारत तथा श्रीलंकामा रहेको छ । आयुर्वेद अध्ययन संस्थानको स्थापना भएमा नेपालमा पनि यी विषयहरुमा स्नातकोत्तर संचालन गर्न सक्छौँ ।

संस्थागत रुपले भने विसं १९८५ देखि आयुर्वेद क्याम्पस संचालन हुँदै आएकोमा विसं २०२९ सम्म आयुर्वेदाचार्यसम्मको पठनपाठन थालियो । चिकित्साशास्त्र अध्ययन संस्थान बनाउने कार्यक्रममा आयुर्वेदाचार्यसम्म पठनपाठन भएको आयुर्वेदको शैक्षिक कार्यक्रमलाई प्रमाणपत्र तहमा झारियो ।

नेपालको स्वास्थ्य क्षेत्रमा लामो इतिहास बोकेको आयुर्वेद स्वास्थ्य विज्ञानको अवस्था अहिले पनि नाजुक छ । बदलिँदो विश्व परिवेशमा समयको माग र दबाबका कारण सुधार र विकासका लागि सकारात्मक सोचसहित केही पहल विशेषगरी नीति योजना निर्माणमा देखिएको छ । तर भएका नीति र कार्यक्रमको कार्यान्वयन हुननसक्दा आयुर्वेदको स्थिति अझै पनि दयनीय नै छ । आयुर्वेद सम्बन्धी सरकारी नीति तथा योजना र यसमै आधारित भएर अनुमान गर्दा आगामी वर्षहरुमा आयुर्वेद विशेषज्ञहरुको आवश्यकता पर्ने देखिन्छ । दक्ष जनशक्तिको अभावका कारण आयुर्वेदको स्तरीय सेवाबाट नेपाली जनता वन्चित हुन पुगेका छन् । विसं २०६३ मा स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनअनुसार झण्डै पाँच सयको हाराहारीमा आयुर्वेद क्षेत्रका लागि दक्ष जनशक्तिको आवश्यकता रहेको पाइएको थियो । त्यस यता एघार वर्ष बितिसकेको छ । तर उल्लेखित संख्यामा दक्ष जनशक्तिको उत्पादन भने हुन सकेको छैन । मुलुकले अपनाउन गइरहेको संघीय संरचनाा एवं सरकारी, गैह्रसरकारी र निजीस्तरबाट आयुर्वेद क्षेत्रमा हुने लगानीको आधारमा आगामी दश वर्षमा हाम्रो अध्ययनमा थप पाँच सय गरी एक हजार दक्ष आयुर्वेद जनशक्तिको आवश्यकता पर्ने देखिन्छ । आगामी दश वर्षमा आयुर्वेद जनशक्तिको मागको अनुपातमा हालको स्रोत र साधनमा आधारित शैक्षिक संस्थाको उत्पादनको अहिलेको अनुपातलाई नै आधार मान्ने हो भने पनि देश विदेशमा समेतगरी प्रतिवर्ष १२ जनामात्र उत्पादन गर्नसक्ने देखिन्छ । एकहजार चाहिनेमा १२० जनामात्र उपलब्ध हुने भनेको लाजमर्दाे अवस्था हो । अपुग जनशक्ति उत्पादन गर्न लगानी अभिबृद्धिगरी सातै प्रदेशमा कम्तीमा एक एक वटा आयुर्वेद अध्ययन संस्थान स्थापना गरी मागको पूर्ति गर्नुपर्ने देखिन्छ । वर्तमान समयमा प्रदेश नं तीनको लागि स्नातकोत्तर (एम.डी.÷एम.एस आयु.) तथा विद्यावारीधि सम्मको अध्ययन अध्यापन गराउने त्रि.वि आयुर्वेद अध्ययन संस्थान स्थापना गरेमा मात्र समग्र आयुर्वेद क्षेत्रको विकास र गुणस्तरीय सेवा प्रवाह हुने देखिन्छ । यसका लागि त्रि.वि परिसर कीर्तिपुरमा संचालित आयुर्वेद क्याम्पस र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र तथा सिंहदरबार वैद्यखाना र नरदेवी आयुर्वेद चिकित्सालयको स्रोत र साधनको उपयोग गर्नुपर्ने देखिन्छ । यसरी सुरुवात गर्दा हाललाई आर्थिक दायित्व पनि कमहुने र निश्चित समयभित्र स्नात्तकोत्तर कार्यक्रम सुरुवात गर्न सकिन्छ ।

नेपालमा आयुर्वेद शिक्षाको इतिहास निकै पुरानो र गौरवपूर्ण छ । विसं १९८५ मा चार शैयाको आयुर्वेद चिकित्सालय सहितको आयुर्वेद क्याम्पसको स्थापना गरिएको थियो । २०२९ सालमा सो विद्यालयलाई त्रिविविमा समाविष्ट गरिएको र चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना पश्चात सो संस्थान अन्तर्गत संचालित रहेको छ । विसं २०३१ मा नयाँ शिक्षा नीति लागू भएपछि आयुर्वेद एवं आधुनिक चिकित्सामा प्रवीणता प्रमाणपत्र तहको अध्ययन अध्यापन भइआएकोमा २०४४ सालदेखि स्नातक तहको अध्ययन अध्यापन शुरु भयो । तर त्यो २०४७ सालमा बन्द भयो । पुनः २०५३ सालदेखि आयुर्वेद स्नातक तह (विएएमएस) को अध्ययन अध्यापन निरन्तर छ । हाल त्रिविविमा चिकित्सा शास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पसले स्नातक र एमडी कायचिकित्सा कार्यक्रम संचालित छ ।

राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ को बुँदा छ मा आयुर्वेद शिक्षा तथा जनशक्ति विकास अन्तर्गत राष्ट्रिय आयुर्वेद अध्ययन संस्थानको स्थापना तत्कालै त्रिविविअन्तर्गत गरिने छ भन्ने छ । विसं २०५५ को उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले समेत बुँदा नं.१२ मा स्पष्ट रुपमा त्रि.वि.वि. अन्तर्गत आयुर्वेद अध्ययन संस्थानको स्थापनाको लागि सिफारिस गरेको छ । आयुर्वेद चिकित्सामा स्नातकोत्तर अध्ययन स्वदेशमै प्रारम्भ गर्नुपर्ने अनिवार्य देखिएको सन्दर्भमा यस चिकित्साशास्त्र अध्ययन संस्थानकोे प्राज्ञिक परिषद्बाट आयुर्वेद चिकित्सा विधाका तीन विषयहरुमा स्नातकोत्तर कार्यक्रम संचालन शैक्षिक सत्र २०६९ सालबाटै गर्ने भनिए पनि कायचिकित्सा विषयमा मात्र स्नातकोत्तर कार्यक्रम संचालन गरियो ।

आयुर्वेद अध्ययन संस्थान त्रि.वि.वि अन्तर्गत स्थापना हुन नसकेपछि नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वि.सं. २०६७ सालमा स्थापना भयो । दक्ष जनशक्तिको अभावमा उक्त संस्थानले २०६९ सालदेखि स्नातक अन्तर्गत वार्षिक रूपमा २१ विद्यार्थीलाई अध्यापन गराउँदै आएको भए पनि स्नातकोत्तर कार्यक्रमहरू भने संचालन गर्न सकेको छैन । दक्ष जनशक्तिको अभावले गर्दा नेपालमा वनस्पति सम्पदाको अध्ययन अध्यापन हुन सकेको छैन । जसकारण नेपालको पूर्वी क्षेत्रमा भएका जडीबुटीहरू बिहार राज्यको पटना तथा पश्चिमका जडीबुटी पुरानो दिल्लीको खारीबोलीमा भारत सरकारले संग्रहित गरेर राखी औषधि कम्पनीहरूलाई वितरण नै गरेको छ । श्रीलंकामा त्यहाँका सरकारी औषधि निर्माण कम्पनीहरूले प्रयोग गर्ने जडीबुटी भारतहुँदै नेपालबाट आएको भन्ने जानकारी म आफै केही वर्षअघि त्यहाँ जाँदा थाहा पाएको थिएँ । यसरी विदेशी औषधि निर्माण कम्पनीहरूले जडीबुटीहरू सस्तो मूल्यमा आयात गरी औषधि निर्माणगरी नेपाललाई नै निर्यातगर्दै आएका छन् । तर तिनै औषधि हामी भने महँगो मूल्यमा किन्न बाध्य छौँ । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ भनेजस्तै यो पीडा देशको आयुर्वेद क्षेत्रका हामीलाई मात्र थाहाभयो नीति निर्माताहरुले दुखेजस्तो पनि गरिदिएनन् ।

आयुर्वेद क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय स्तरका संस्थाहरु आयुर्वेद क्याम्पस, सिंहदरवार वैद्यखाना विकास समिति, नरदेवी आयुर्वेद चिकित्सालय विकास समिति, आयुर्वेद विभाग, स्वास्थ्य मन्त्रालय (आयुर्वेद महाशाखा) बीच सबै खाले सहयोगका लागि आपसी समन्वय र सहकार्य नै आयुर्वेद अध्ययन संस्थानको स्थापनाको बलियो आधार हो । आयुर्वेदमा एम.डी. तहको अध्ययन गराउने भारतीय शिक्षण संस्थाहरुको अध्ययन गर्दा झण्डै २२ वटा विषयमा बिशेषज्ञता हासिल गर्न सकिने देखिन्छ । सीमित श्रोत र साधनमा भर परेर सञ्चालन गर्नु पर्ने भएकोले यी सबै बिषयहरुमा तुरुन्तै स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न सम्भव नदेखिए पनि क्रमबद्ध रुपमा सञ्चालन गर्न भने पक्का सकिन्छ । यद्यपि यसका लागि एकाध चुनौती देखा पर्न सक्लान तर तिनको समाधान पनि हामीसँगै छ ।

यस संस्थानको स्थापना भएमा यसले अनुसन्धानमुलक ज्ञान, प्रविधिको विकास तथा उच्च गुणस्तरको जनशक्ति उत्पादन गरी विश्वबजारमा मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउने अपेक्षा गर्न सकिन्छ । नेपालमा रहेका जडिबुटी एवं वनौषधि स्रोतहरूको सदुपयोगबाट गुणस्तरीय खाद्यपदार्थ एवं औषधिको उत्पादन गरी निर्यात समेतगरी आयआर्जनको बाटो खुलाउन सकिन्छ । यसबाट रोजगारीको बढ्ने छ देशलाई सम्बृद्ध बनाउन मद्दत पुग्नेछ । नेपालमा यस प्रकारको संस्थानको अभ्यासबाट मुलुक भित्र रहेका अन्य उच्च शिक्षाका संस्थाहरूलाई आवश्यक पर्ने आयुर्वेद एवम् वनस्पति सम्बन्धि ज्ञानको सहयोग प्राप्त हुनेछ, जुन विश्वकै लागि आकर्षण हुन सक्छ । हाम्रो देशमा रहेको विशिष्ट प्राकृतिक, वानस्पतिक, जैविक विविधता एवं छोटो दुरीमै पाइने भौगोलिक तथा मौसमी विविधता, जलस्रोत, कृषि उत्पादन तथा उपलब्ध जडिबुटीको उपयोग र प्रवर्धनका लागि यो संस्थानको स्थापना अत्यावश्यक छ । त्यो त्रिवि हाताभित्र गर्ने पर्याप्त आधार पनि छन् ।

कस्तुरी मृग आफैले आफ्नो सुवास थाहा नपाएर जंगल चाहार्दै हिँड्छ । त्यही हालतमा आज हामी छौँ । नेपालमा आयुर्वेद शिक्षाको इतिहास निकै पुरानो र गौरवपूर्ण छ । तर त्यो गौरव हामीले आजका मितिसम्म आउदा देश विदेशमा फैलाउनुको सट्टा कायमै राख्न सकेका छैनौँ । बढ्दो जनसंख्या, उपलब्ध जडिबुटीहरु, विकसित प्रविधि, बढ्दो स्वास्थ्य चुनौतीको सामनाका लागि हाम्रो भूगोल र मानव सुहाउँदो आयुर्वेद चिकित्साको विकास गर्नुपर्नेमा तीन सय वर्षको आयुर्वेद उपचार पद्दति र ९० वर्ष लामो आयुर्वेद चिकित्सा शिक्षाको इतिहास बोकेर अहिले पनि अस्तित्वको खोजीमा छौँ । यो बिडम्बना हामी यस क्षेत्रका मानिसको मात्र नभई सिंगो देशकै हो । अनि यो गौरव जोगाउन नसक्नु हाम्रो लाचारीपन बाहेक अरु केही होइन ।

(लेखक त्रि.वि.वि आयुर्वेद अध्ययन संस्थान स्थापनार्थ समितिको संयोजक हुनुहुन्छ ।)

You may also like...

1 Response

  1. Laxman says:

    सुन्दर लेख ।