यसकारण वाउनले च्याउ नखाने मान्यता छ

च्याउविद् डा. महेशकुमार अधिकारीले विश्वका लागि १६ औं ढुंसी पत्ता लगाई सकेका छन् । डा. अधिकारी नेपालकालागि ३ सय ५० नयाँ प्रजाती पहिचान गरिसकेका बताउँछन् । पछिल्लो समय उनले भिमसिन पातिमा लाग्ने सेता पीठो जस्तो ढुंसीका नयाँ प्रजाति पत्ता लगाएका छन् ।  तरकारी तथा फलफूलजस्ता बनस्पतिमा देखिने एक प्रकारको सेता पीठोजस्तो रोग भएको अनुसन्धानकर्ता डा. अधिकारी बताउँछन् । उक्त अनुसन्धानको नतिजा माइकोलजिकल सोसाइटी अफ जपानको जर्नल ‘माइकोसाइन्स’मा हालै प्रकाशन भएको छ । ती सेता ढुँसीले काँक्रा, घिरौला फर्सी र नासपातीजस्तामा ‘पाउडरी मिल्डिउ’ रोग लाग्ने अनसन्धानकर्ता डा. अधिकरीको भनाइ छ ।  गोदावरीका वनस्पति उधानमा करीब ४ हजार प्रजाति संकलन गरेको अधिकारी बताउँछन् । ति वनस्पतिको अझै अनुसन्धान हुन सकेका छैनन् ।  डा. अधिकारीले पत्ता लगाएका च्याउहरु मध्य चार वटाको हुलाक टिकटमा तस्वीर छापिसकेका छन् । अनुसन्धानकोक्रममा श्रीमति र छोरासमेतलाई च्याउ संकलनमा लैजाने गरेको डा. अधिकारी बताउँछन् । डा. अधिकारीसँग रिभोसाइन्सले गरेको कुराकानीको संपादित अंशः

सुरूमा भेटिएको नयाँ च्याउ कुन थियो ?
‘नेपालीनोसिस’ नेपालको नाममा राखिएको हो । ‘रसलुला नेपालीनोसिस्’ च्याउको राष्ट्रिय हुलाक टिकट समेत छापिसकेको छ । विज्ञानकालागि नयाँ प्रजातीका ढुसीका चार वटा टिकट प्रकाशित भैसकेका छन् । पहिलो च्याउ सन् १९८९ मा पहिचान गर्न सफल भएको थिए ।

पहिले अनुसन्धान कसरी गरिन्थ्यो ?
हामीसँग त्यो बेलमा कम्प्यूटर भन्ने नै थिएन । गोदावरीको वानस्पतिक उधानमा काम गर्दा सूक्ष्मदर्शक यन्त्र मात्र थियो । अहिले जस्तो आधुनिक खालका ‘माइक्रोस्कोप’ भने थिएन । साधरण खालका माइक्रोस्कोपको सहायताले अध्ययन गर्न पर्दथ्र्याे । त्यसैको आधारमा जाती र प्रजाति पत्ता लगाइन्थ्यो । त्यस बेला वैज्ञानिक लेख समेटिएका पुस्तक धेरै हुँदैन्थ्यो ।

विदेशमा रहेका सोधकर्तालाई चिट्ठी लेखर लेख मगाउनु पर्दथ्यो । त्यो महिनौं दिनमा बल्ल–बल्ल नेपाल आइपुग्थ्यो । कतिपय संग्रह सूची ५/६ जनाको मागाउनु पर्ने हुन्थ्यो । त्यसकालागि १ वर्ष यतिकै जान्थ्यो । त्यसपछि आफूले भेटेको नमूनालाई अन्यले भेटेको प्रजातिसँग दाजेर हेरिन्थ्यो । त्यसरी हेर्दा नयाँ खालको शंका लागेमा त्यसलाई विशेषज्ञकहाँ पठाउन पर्दथ्र्याे । त्यो पठाउन सकिन्छ कि सकिन्न विचार गर्न पर्दथ्र्यो । नयाँ खालका कुरा आएपछि विदेशीलाई चिट्ठी लेखेर पठाउनु पर्दथ्यो । अन्तिममा प्रकाशनका कुरा तिर लागिन्थ्यो । कतिपय अवस्थामा च्याउसम्वन्धी काम गर्ने संस्था अन्तर्राष्ट्रिय माइकोलजीकल सोसाइटीले सहयोग गरेको थियो ।

च्याउमा अनुसन्धान गर्ने प्रेरणा कसरी मिल्यो ?
एमएस्सी भूगर्भशास्त्र पढ्ने इच्छा थियो । ‘जियोलजी’मा डिस्टिङ्सन थियो तर पढ्न पाइएन । त्यसपछि जीव विज्ञानमा स्नात्तकोतर अध्ययन गर्न प्रवेश परीक्षा दिएको थिए । यद्यपी नाम भने वनस्पति विज्ञानमा निस्केर आयो । चित्त नबुझेपछि क्याम्पस प्रमुखलाई भनें । तर उहाँले पनि पढ्दै गर्नुस पछि परिवर्तन गरौंला भन्ने जवाफ आयो । परीक्षा हुने वेलासम्म सार्ने अतोपतो नभएपछि वनस्पति विज्ञान मै अध्ययन गरें ।

सरूमा आइएस्सी, विएस्सी र एमएस्सी अध्ययन गर्दा च्याउका बारेमा अध्ययन गराउने शिक्षकबाट प्रेरणा मिलेको थियो । अर्को भनेको च्याउन सम्वन्धी पुस्तक ‘गोल्डेन बुक सेरिज’ भन्ने पुस्तक थियो । त्यो रंगीनमा छापेको पातलो किताबले मलाई अनुसन्धान गर्न प्रेरित गर्यो । कतिवटा च्याउ त मैले पढ्दा पढ्दै पहिचान गरिसकेका थिएँ ।

संयोग पनि कस्तो भने बनस्पति विभागमा भर्खर जागिरे पाएको थिए । विभागबाट साँखु माथि मणीचुर पर्वतमा खटाइदियो । जंगलको छेउछाउका थुप्रै च्याउमा अनुसन्धान गरें ।

शनिबार भएपछि जंगलमा च्याउ खोज्न गइन्थ्यो । खोजेर ल्याएर घाममा सुकाउथें । त्यो सानो पुस्तक हेर्दै प्रजाति छुट्याउने काम गर्थें । त्यो कितावमा नभएको च्याउका बारेमा नजानेमा विदेशीलाई सोध्थें । त्यसरी आफ्नो इच्छा बढ्दै गएको हो ।

नेपालबाटै विश्वकालागि १६ औं नयाँ ढुंसी पत्ता लगाउन कसरी सम्भव भयो ?
त्यसकालागी निकै मिहिनेत गर्नु पर्यो । त्यो बेलामा पनि गोदावरीको वनस्पति उधानबाट रिटायर भएपछि पनि स्यंम्भूस्थित प्राकृतिक विज्ञान संग्रालयमा परामर्शदाताको रुपमा काम गर्थें । त्यहाँ पनि अरुले संकलन गरेर राखेका करिब १ हजार ५ सय प्रजातीका वनस्पति पहिचान गरें । त्यस वरपर केही नयाँ प्रजातिका ढुंसी पनि भेटेको थिए । खोजकैक्रममा एक दिन भिमसिन पातीमा सेता धव्वा लागेको देखें । सेतो धव्वा लागेको किन होला भनेर ल्यावमा ल्याएर परिक्षण गरें । जाति थाहा पाइयो तर प्रजाति कुन हो थाहा पाइएन । पछि केही विदेशीलाई इमेल गरेर केही अध्ययन् सामग्री मगाए । विश्वमा पाइने ढुंसी प्रजाति संग्रह गरिएको पुस्तक जुन डा ब्राउनले पठाइदिएको थियो । त्यो अध्ययन गरें ।

तर त्यो अनुसन्धान नेपालमा अपूर्ण हुने देखिए पछी मार्टिन लुथर किङ्ग जर्मनका वैज्ञानिक डा वी ब्राउनसँग सम्पर्क गरेको थिए । ब्राउनले पनि जपानी अनुसन्धानकर्ता डा.जम्जान मीबून र डा. सुसुमु टाकामाट्सुसँगको सहकार्यमा आधुनिक खालका ‘पिसिआर र डीएनए सिक्वन्सिङ’ गरेपछि पत्ता लागेको थियो । करिब तीन वर्षमा बल्ल नयाँ प्रजातिका ढुंसी पत्ता लगाउन सफल भइयो ।

३ वर्षपछि विश्वका लागि नयाँ ढुंसी पत्ता लगाउँदा कस्तो अनुभूती हुदोरहेछ ?
आफ्नो मूल्यांकन तथा क्षमता थाहा पाउन सकें । आफूमा फरक खालको आत्मवल पैदा हुन्छ । मैलै गरेको काम ठीक हुँदा सन्तुष्टि मिल्नु स्वभाविक हो ।

च्याउमा अनुसन्धान पछिल्लो पुस्ताले किन गर्न नसकेको ?
थुप्रै अवसर छन् तर त्यसमा काम हुन सकेको छैन । मेरै नेतृत्वमा १ सय जना राखेर काम गरायो भनेपनि नेपालबाट त्यस्ता धेरै प्रजातीहरु पत्ता लाग्छन् । धेरै काम हुन वाँकी छ । त्यसमा सम्वन्धित निकायको कुरा हो ।

त्रिभुवन विश्वविद्यालयमा एमएस्सीमा माइकोलजी अर्थात् च्याउसम्वन्धी अध्ययन गर्न छोडिसेको देखिन्छ । त्रिविमा प्लान्ट प्याथोलजी भनेर पढाउने गरेको छ । तर माइकोलजी आधारभूत शिक्षा दिएको छैन । विद्यार्थीहरुलाई प्राथमिक कुरा अध्ययन गराएन भने उनीहरु माथी जान सक्दैनन् । अहिले त्रिभुवन विश्वविद्यालयले पनि माइकोलजी पाठ्यक्रममा राखेको पाइदैन । ‘प्लान्ट प्याथोलजी’ भनेको माइकोलजीको हाँगा हो । ‘विएस्सी र एमएस्सी’मा यो विधा अति आवश्यक हो यसलाई छोड्न हुँदैन थियो ।

नयाँ प्रजाति पत्ता लागेपछि फाइदा चै के हुन्छ ?
हेरेर हुन्छ । कुनै फाइदा जनक हुन्छ । कुनै हुँदैन् । उदाहरणकालागि कुनै नयाँ च्याउ पत्ता लगायो भने त्यसको रसायन, वायोकेमेस्ट्री हेर्न पर्ने हुन्छ । मानिसले च्याउ खादाँ हुने असरका बारेमा अध्ययन गर्न पर्दछ । त्यसले मानिसलाई फाइदा हुने गरेको छ भने त्यसबाट औषधि बनाउन सकिन्छ ।

सुन्नमा आएअनुसार ५ हजार वर्ष अगाडि नै च्याउमा अध्ययन भैसकेको भनिन्छ नी ?
चरक संहिता, सुश्रुतमा पनि छ । यि कुराहरु अन्दाजको भरमा वर्ष आइराखेको छन् तर लेखिएको अनुसार महाभारत केही कुरा उल्लेख छन् ।

आदीवासी समुदायले च्याउलाई कसरी प्रयोग गर्दा रहेछन् ?
घाउ, खटिरा, लुता आएको स्थानमा र मुटु रोग लागेकाहरुमा प्रयोग गरिन्छ । चीनीयाहरुले पहिलेदेखि नै यार्सागुम्वुको प्रयोग गरिराखेका छन् । ‘ज्ञानोडर्मा लुसिडम’ दुई हजार वर्ष पहिलेदेखिनै प्रयोग गर्दै आइरहेका छन् । त्यस्ता उदाहरण छन् हामीसँग ।

विभिन्न ग्रन्थमा च्याउ खाँदा पेट वटार्ने वान्ता हुने झाडा पखाला लाग्ने भनिएको छ । परालमा उम्रने च्याउ आर्युवेदले खाउ भनेको छ । त्यो मीठो पनि हुन्छ । धेरै हानिकारक तत्व पनि हुँदैन । अचेल च्याउ परालमा उमार्ने पनि त्यसैबाट आएको होकी भन्ने अनुमान छ ।

ढुंसी र च्याउको अन्तर चाही के हो ?
च्याउ ढुंसी हो । तर सवै ढुंसी च्याउ होइनन् । त्यसको अर्थ के हो भने च्याउलाई आँखाले देखिन्छ तर सबै ढुंसीलाई आँखाले देख्न सकिदैन ।
च्याउ दुई वर्ग हुन्छ । ‘एस्कोमाइकोटिना’ भनेको जसको विउ थैला भित्र हुन्छ । ‘पेजिजोमाइकोटिना’को विउ थैलो बाहिर हुन्छ । माइक्रोस्कोपमा राखेर हेरेपछि मात्र देख्न सकिन्छ । यी दुई वटा समुह मात्र च्याउ अन्तर्गत पर्दछ । वाँकी ढुंसी अन्तर्गत पर्दछ ।

उपत्यकामा च्याउका मुकुट पनि प्रदर्शन गरिदो रहेछ, किन ?
गाईजात्रा पर्वमा नेवार समुदायले च्याउको मुकुट लगाएर देखाउने गरेको पाइन्छ । अन्य मुकुन्डो काठ, माटोलगायतले बनेका हुन्छन् तर गाइजात्राको वेलामा च्याउले बनेको मुकुट प्रदर्शनमा राखिन्छ । जुन च्याउ ठूला हुन्छन् त्यस्ताको मुकुट बनाउने गरेको पाइन्छ ।

‘ग्यानोडर्मा एप्लानेटमा’ अर्थात विशालु च्याउको मुकूट बनेका हुन्छन् । काठमा उम्रने भएर काठे च्याउ पनि भन्छन् । पहिला उसिन्छन् । उसिन्दा खोप्न सजिलो हुन्छ । त्यसपछि आँखा, नाक निस्कने भागमा प्वाल पार्ने काम गर्दछ । धेरै वर्ष अगाडिदेखि नै चलन चल्तिमा आएका रहेछन् । त्यस्ता च्याउका मुकुट विदेशीले करीब ३० वर्ष अगाडि नै किनेर लगेका रहेछन् । त्यो बेलामा २÷३ सयमा किनर विदेश लगेको मुकुटलाई डेढ लाख सम्ममा विक्री गर्दारेछन् । त्यो अझै पनि बेच्छन् ।

च्याउको मुकुड अन्य देशमा पनि लगाइन्छ ?
यो परम्परा नेपालमा मात्र पाइन्छ ।

च्याउमा थप अनुसन्धान गर्न के गर्नु पर्दछ ?
नेपाल विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठान, वनस्पति विभाग, त्रिवि, काठमाडौं विश्वविद्यालय, वन मन्त्रालयले यसमा काम गर्न सक्छन् । आवश्यक जनशक्ति जुटाउनु पर्छ । अनि मात्र यो विधा अगाडि बढ्न सक्छन् । गोदावरीमा करिब ५ हजार संकलन गरेर राखेको थिए त्यसमा काम गर्ने मानिस अहिलेसम्म छैन ।

फरक प्रसंग, वाउनले च्याउ खावस् न स्वाद पावस् किन भनेको रहेछन्, एउटा समुदायलाई मात्र किन लक्षित गरेको रहेछन् ?
यसको उतर महाभारतमा लेखेको छ । वृत्रासुर भन्ने राक्षेस थिए । उनी जन्मले बाहुन थिए । कर्मले राक्षस थिए । उनले इन्द्रको आसन खोसेर लिए । लडाईमा जितेर आसन लिएपछि इन्द्रासनमा गएर बसे । उसलाई म इन्द्र हुँ भन्ने भ्रम भयो । त्यसपछि स्वर्गका राजा इन्द्र लुकेर बसे । फेरी देउताहरु मिलेर इन्द्रलाई उचाले । आसन भने वृतासुरले लियो तर आसन त इन्द्रको आफ्नै हुनु पर्ने थियो । त्यस्तो हुन नसकेपछि देउताहरुका गुरु वृहस्पतिले इन्द्रलाई वृत्रासुरसँग मितेरी लगाउन सुझाव दिए । मितेरी लगाएपछि पनि लामो समय पदमा बसी रहेपछि इन्द्रले जुक्ति निकाले । एक दिन इन्द्रले भने, ‘ए मित्र! हामी समुन्द्र किनारामा घुम्न जाउँ कति हामी एकै ठाँउमा बस्ने ।’ आनन्द लिन जाउँ पौडी खेल्न जाँउ भनेछ । त्यसपछि वृत्रासुरलाई तिमि पहिले पौडी खेल पछि म आउँछु भनेछ ।

समुन्द्रको छेउको फिजमा नुन मिसिएको पानी हुन्छ । त्यस फिजबाट इन्द्रले अस्त्र बनाउँछन् । बज्र बनाउँछन् । त्यहाँ इन्द्रले वृत्रासुरलाई बज्रले पहार गरेपछि छातीमा लाग्छन् । रगत छरपस्ट हुन्छन् । रगतका छिटाहरु जहाँ जहाँ पर्यो त्यही त्यही च्याउ उम्रियो । बालुमा पनि च्याउ उम्रन्छ । काठमा उम्रन्छ । भूईमा उम्रन्छ । जहाँ–जहाँ गएर प¥र्यो त्यही–त्यही च्याउ उम्रने मान्यता छ । उम्रन्छ पनि । वृत्रासुर जन्मले बाउन र कर्मले राक्षस भएको मानिन्छ । यसैकारण बाउनको रगतबाट च्याउ उम्रेको हुनाले वाउनले खान हुँदैन भन्ने मान्यता राखेको पाइन्छ ।

अर्को भनाई के छ भने ऋषि महर्षिहरु पहिले बाउन थिए । उनीहरुले योग ध्यान गर्दथें । उसको कर्म अनुसार बाउन मानिन्थ्यो पहिले । हाम्रो शरीर पञ्च भौतिक शरीरले बनेको भन्छौं । पृथ्वी, जल, वायु, तेज र आकाशगरी पञ्च तत्वले बनेको मान्यता छ । मानिसको शरीर वायु प्रधान हुन्छ । यसमा प्राण, अपान, उदान, समान र व्यान पञ्च वायु हुन्छन् ।

प्राण भनेको प्राण वायु भयो । समान वायु भनेको जिउ भरिको भयो । उदान भनेको पेटको वायु भयो । यसले खाना पचाउन काम गर्दछ । समान वायुले शरीरका अन्य भागमा पठाउने काम गर्दछ । त्यसलाई प्रभाव पार्दछ ।

कनै च्याउ वान्ता गराउने खालका हुन्छ । दिसा गराउने र रिङ्गाउने खालका हुन्छन् । कुनै आँखा झिम झिम पार्ने हुन्छ । यस्ता च्याउ धेरै छन् जुन चरक संहिता उल्लेख गरेकोे पाइन्छ । त्यो च्याउको असरले गर्दा ऋषि महर्षि र वाउनहरुले योग ध्यानमा केन्द्रित हुन पाउँदैनन् भन्ने मान्यता छ । ध्यानमा व्यवधान हुने भयो । त्यसकारण वाउनले च्याउ नखावस् भनेको हो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *