जुर्मुराउँदै स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालय

रामगाई

–लक्ष्मण डंगोल
स्वयम् (आफैं) र भू (जमिन) का रूपमा स्वयम्भूलाई बुझिन्छ । विश्व मानचित्रमा स्वयम्भूको अर्थ मात्र पृथक होेइन, यसको प्राकृतिक छटा पनि वर्णन गरी साध्य छैन । त्यसैले स्वयम्भूको मौलिक चिन्तन जीवन्त राख्न संयुक्त राष्ट्रसंघीय शैक्षिक, शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ । यसलाई प्राचीन संस्कृतिभित्रको कला मात्र होइन, संस्कृतिभित्रको ‘विज्ञान’ मान्नेहरू कम छैनन् । यस्ता प्रविधि आजसम्म जीवन्त छन् । यही मौलिक प्रविधिमा नेपालको विज्ञान झल्किएको पाइन्छ । यो हाम्रो खुला संग्रहालय पनि हो । स्वयम्भूमा आउने पर्यटकको रोजाइमा परोस् भनेर प्राकृतिक विज्ञान संग्रहालयमा विदेशी पर्यटक भि त्र्याउने योजना बनाईरहेको छ ।

‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड’ त्यत्तिकै भनिएको होइन । यो नेपाली परम्परागत उखान जति सान्दर्भिक छ, त्यसको मर्म पनि उत्तिकै गहिरो छ । अहिले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्वयम्भूको दक्षिण पश्चिम मोहडामा अवस्थित राष्ट्रिय प्राकृतिक विज्ञान संग्रहालयको हालत उस्तै छ । सरकारले मर्म बुझ्न नसक्दा त्यसले आकार लिन सकेको देखिँदैन ।

गाेही

आदिमानव रामापिथेकसको जीवाशेष यहीँ राखिएको छ । त्यस्ता दुर्लभ मानिने जीवाशेषको महत्वको कुरा गरी साध्य छैन । आफ्ना सन्ततिबारे जान्न र बुझ्न खोज्नेलाई यस्ता जीवाशेष अति उपयोगी मानिन्छन् । यस्ता दुर्लभ अवशेषको अवलोकन गर्न पाइने संग्रहालालयको उचित प्रचार–प्रसार तथा सम्वर्द्धन हुन सकेको छैन । संग्रहालयका प्रमुुख प्रा. डा. धर्मराज डंगोल यसको उन्नयनका लागि अहोरात्र खटिँदै आएका छन् ।

संग्रहालयको प्रर्वद्धन सामग्रीमा नेपालको प्राकृतिक सम्पदाको अध्ययन तथा अनुसन्धान गर्ने, प्राप्त अनुसन्धानात्मक नतिजाको अभिलेख तयार गर्ने, नमूना संकलन तथा संरक्षण गर्ने, प्राकृतिक विज्ञानसम्बन्धी तालिम प्रदान गर्ने र विभिन्न संघसंस्थासँग सहकार्य गर्ने संग्रहालयको उद्देश्यमा प्रस्ट उल्लेख छ । नेपाल सरकारद्वारा संग्रालयलाई संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) अन्तर्गत वन्यजन्तुसम्बन्धी आधिकारिक निकाय तोकिएको छ ।

२०३२ साल साउन २ गते स्थापना भएको संग्रहालयमा चराचुरुंगी, माछा, कीराफट्यांग्रा र स्तनधारी जीवजन्तुका नमुना छन् । वनस्पतिजन्य काई, ढुसी तथा च्याऊ, लेउ र झ्याउ चट्टान तथा खनिज पदार्थका नमुना छन् ।

रामापिथेकसकाे ब‌गारा

उपत्यकामा भेटिएको ९ फिट ३ इन्च लामो राजगोमन, कुखुराको चारखुट्टे चल्ला, दुईटाउके सर्प, बाख्राको आठखुट्टे पाठी, आदिमानवका बंगारा छन् । विभिन्न स्थानबाट संकलन गरिएका वनस्पतिका नमुना छन् । पुतलीका नमुना छन् ।

स्वयम्भू वातावरणीय उद्यान निर्माण गरिएका छन् । उद्यानमा रैथाने बिरुवा, जुरेमयल, कुकुरदाइनो, रुद्राक्ष, राजवृक्ष, अमला, चुत्रो, जमानेमान्द्रो, ऐंसेलुजस्ता बिरुवा छन् । अहिले संग्रहालय परिसरमा वनस्पति उद्यान छन् ।

प्रा. डंगोल भन्छन्, ‘संग्रहालय वरपरका ४० विद्यालयसँग सहकार्य तथा उनीहरूलाई संग्रहालयमा ल्याउने वातावरण तयार गरिसकिएको छ । पहिलो चरणमा वडासँग सहमति भैसकेको छ । जैविक विविधताको धनी स्वयम्भू क्षेत्रमा पाइने वनस्पति पहिचान गरी तिनीहरूको नामकरण गर्न खोजिएको छ ।

संग्रहालयमा करिब ६ हजार नमुना छन् । एक पटकमा ३०–५० जनाले मात्र नमुना अवलोकन गर्न सक्छन् । आएकाले पर्याप्त समय दिएर अवलोकन गर्न पाउँदैनन् । संग्रहालयको करिब ३ सय वर्ग मिटर क्षेत्रफल भुइँतल्ले संरचना छन् । विद्यार्थीले सहज रूपमा अवलोकन गर्नका लागि नयाँ भवन आवश्यक छ । ‘नयाँ भवन व्यवस्थापन गर्न सके प्राकृतिक संग्रहालयको उचित संरक्षण हुनेछ,’ संग्रहालयका प्रमुख प्रा. डंगोल भन्छन् । यद्यपि, स्वयम्भू परिसरमा संग्रहालयको २२ रोपनी जग्गा छ ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. रामप्रसाद खतिवडाले संरचनाको लागि त्रिवि कीर्तिपुरस्थित जग्गामा संग्रहालयको भवन बनाउन पहल भैरहेको बताए । उनले रिभोसाइन्ससँग टेलिफोनमा भने, ‘एक दशकअघि कीर्तिपुरको उपकुलपति कार्यालयसँगै भवनका लागि जग्गा छुट्याइएको थियो । अझैसम्म भवन बन्न सकेको छैन ।’

त्रिविका डिन खतिवडाका अनुसार स्वयम्भू युनेस्कोको संरक्षित क्षेत्रभित्र पर्दछ । त्यहाँको जग्गामा आधुनिक खालका संग्रहालय भवन बनाउन मिल्दैन । खतिवडा भन्छन् ‘विशेष किसिमले संग्रहालय बनाउन चाँडै समिति बनाएर काम आगाडि बढाउन संग्रहालय प्रमुखलाई जिम्मेवारी दिइसकिएको छ । समितिको सदस्य चयन भैसकेपछि संग्रहालयको उचित व्यवस्थापन हुनेछ ।’

स्रोतका अनुसार त्रिविले संग्रहालयलाई दिने भनेको जग्गामा उपकुलपति कार्यालय र रजिस्ट्रारको कार्यालय बनिसकेको छ । तर, त्रिविले त्यसको विकल्पमा अन्यत्र ६ सय रोपनी जग्गा दिने भन्दै आएको छ ।

सालक

यसअघि संग्रहालय प्रमुख प्रा. रमेश श्रेष्ठको पालामा संग्रहालय विकासका लागि भनेर बजेटसमेत विनियोजन भैसेकेको थियो । प्राचीन मौलिक प्रविधिमा आधारित संग्रहालय भवन निर्माणका लािग बोलपत्र आह्वान भएको थियो । पछि स्वयम्भू महासमितिले विश्व सम्पदा सूचीकृत क्षेत्रभित्र संरचना बनाउन नहुने भनेर युनेस्कोलाई पत्राचार गरेपछि एकाएक काम रोकिएको थियो ।

संग्रहालय स्वयम्भूको दक्षिण–पश्चिम मोहडामा भएकै कारणले पर्यटक उत्तिकै संख्यामा संग्रहालयमा ठोक्किन आउने हुँदा यसले फाइदा पुगेको बताउँछन् संग्रहालयका प्रमुख प्रा. डंगोल । उनका अनुसार संग्रहालय अवलोकनका लागि विदेशीले एक पटकमा नेपाली सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीका लागि २० रुपैयाँ तोकिएको छ । दक्षिण एशियाली मुलुकका नागरिकका लागि ४० रुपैयाँ लाग्नेछ । फोटो खिचेको १ सय, भिडियो खिचेको ४ सय लिने गरिएको प्राध्यापक डंगोलले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा १७ हजार विद्यार्थीले संग्रहालय भम्रण गरेका थिए । करिब ८२ प्रतिशत विद्यालयका विद्यार्थीले संग्रहालय भ्रमण गरेको तथ्यांकले देखाउँछ । यद्यपि, आफ्नै आयस्रोत चल्न सक्ने क्षमता राखिएको संग्रहालय भए पनि यसको उचित व्यवस्थापन भने हुन सकेको छैन । अहिले संग्रहालयमा प्रमुखसहित १८ कर्मचारी छन् । सरकारले तलबसहित वार्षिक करिब एक करोड बजेट छुट्याएको छ । यद्यपि, संग्रहालयमा दैनिक १५ सय विद्यार्थी भम्रण गराउन सकेमात्रै सञ्चालन रकम स्वतः संकलन हुनसक्ने देखिन्छ । गत वर्षको तथ्यांकको आधारमा करिब ५० जना विद्यार्थी दैनिक भ्रमणमा आउने गर्छन् ।

संग्रहालयको प्रवद्र्घन तथा नयाँ पिँढीलाई जानकारी दिन विद्यालयका विज्ञान शिक्षकलाई तालिम, स्थानीय स्तरमा पाइएको वनस्पतिको नमूना संकलन विधि, अवशेष संकलन र संग्रहालय प्रविधिबारे तालिम दिने गरिएको छ । विद्यार्थीले संग्रहालय भम्रण गरिसकेपछि निबन्ध तथा रिपोर्ट लेख्न लगाउन शिक्षकलाई सुझाएको संग्रहालय प्रमुख प्रा. डंगोल बताउँछन् ।

पछिल्लो समय संग्रहालयले दुई गैरसरकारी संस्था, तीन सामुदायिक विद्यालय र दुई निजी विद्यालयसँग सहकार्यका लागि सहमति गरिसकेको छ । संग्रहालयले कीर्तिपुर जैविक विविधता अनुसन्धान कार्यक्रम गर्न क्रियटिभ एकेडेमीसँग सहकार्य गरिसकेको छ । विद्यार्थीलाई वनस्पति नमूना संकलन गर्न सिकाउने र त्यसलाई वैज्ञानिक किसिमले नामकरण तथा लामो समयसम्म सञ्चय गर्ने विधि सिकाइरहेको प्रा डंगोलले जानकारी दिए । उनका अनुसार संग्रहालयले कमलपोखरीस्थित रसियन साइन्स एन्ड कल्चर सेन्टरसँग सहकार्य गर्दैछ ।

डंगोलका अनुसार ‘म्युजियम म्यानेजमेन्ट एन्ड मार्केटिङ प्लान’ले काम सुरु गरिएको छ । यसरी काम गर्नका लागि कर्मचारीको पनि उत्तिकै सीप विकास गर्नुपर्ने भएको छ । तर, त्यस किसिमको क्षमता अभिवृद्धिका लागि पर्याप्त तालिम दिन सकिएको छैन । उनीहरूलाई उत्प्रेरणा दिने काम भने संग्रहालयकै पहलमा भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रा. डा. मुकेश चालिसेका अनुसार बुटवलमा भेटिएको, प्युठानको राप्ती नदीको किनारमा भेटिएका दुईवटा जीवाशेष संग्रहालयमा राखिएको बताउँछन् । जर्मन अनुसन्धानकर्ता मोभिस कोर्भिनसले अनुसन्धानका क्रममा भेटिएका हुन् ।

जपनी वैज्ञाकिन इतिहाराले सन् १९६८मा प्रकाशन गरेको वैज्ञानिक लेखमा चुरेपहाड क्षेत्र उदगम स्थल भनेर लेखेको थियो । त्यही अनुसन्धानका आधारमा बाँदर, मान्छे, वनमान्छे, पुच्छर भएको÷नभएको ‘निर्सिङ्ग शास्त्र’भित्र पर्ने उनैले बताएको थियो । सन् २०१७ मा प्राध्यापक चालिसेले गरेको अनुसन्धानमा गण्डकी क्षेत्र पहरे वाँदरको उत्पत्ती क्षेत्र भएको जनाए ।

‘नेपालको चुरे पहाडमा मानिसको उत्पत्ति भएको हुनुपर्ने कुरा सन् १९६८ ताका जापानिज अनुसन्धानकर्ताको सोधले देखाइसकेको छ । यस्ता विषयवस्तुमा अध्ययन–अध्यापन गराउने उद्देश्य प्राकृतिक विज्ञान संग्रालयले बाकेको छ,’ प्राध्यापक चालिसेले भने, ‘अहिले त्यसरी काम हुन सकेको छैन । विगतमा जर्मनीका चर्चित अनुसन्धानकर्ता हर्मन स्लाइखले संग्रहालयमार्फत कछुवाको अनुसन्धान गरेकी थिइन् । उनले संग्रहालयमार्फत् केही विद्यार्थीलाई विद्यावारिधिसमेत गराएको चालिसेको भनाइ छ ।

भालु तथा अन्य

संग्रहालयको काम जीवजन्तुको जीवाशेष संकलन तथा त्यसबारे अनुसन्धान गर्ने हो । दुर्लभ जीवाशेष खोजी तथा त्यसको संरक्षण गर्ने यसको ध्येय हो । बेलायत, अमेरिका, जर्मनी, जापानलगायत देशका संग्रहालयले धेरै काम गरेका छन् ।

कुनै बेला संग्रहालयमा रामगाई राखिएको भए पनि त्यो लोप भैसकेको छ । नेपालमा पाइने चार प्रकारका लिडेँ मुसाबारे तथ्यांक राख्न सकेको छैन । त्यसमा अनुसन्धान गर्न सकिन्छ । विदेशी अन्य संग्रहालयसँग समन्वय गरी थप अध्ययन तथा संग्रालयको गर्न सकिने प्रा. चालिसेको भनाइ छ । उनी भन्छन्, ‘पछिल्लो समयमा त्यसरी काम हुन सकेको छैन ।’ यद्यपि, संग्रहालयका प्रमुख प्रा. डंगोल भने संग्रहालयको विकास हुनेमा आशावादी छन् ।