मेगा बैंक दशौं वर्षमा

देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । यसैगरी, १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेण्टहरुको सञ्जाल फैलिएको छ ।

कक्षा ११ अध्ययनरत छिरिङ तावा बुढालाई १ लाख रुपैयाँ सहयोग गरेको दृश्य ।

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड साउन सात गतेदेखि दशौं वर्षमा प्रवेश गरेको छ । सोे अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले उच्चतमसफलता प्राप्त गरेको बताएका छन् । 

अध्यक्ष शाहले, ‘विगत ९ वर्षसम्ममा शाखाहरु विस्तारमा झण्डै ८ गुणा, एटीएम सञ्जाल विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको बताए । ‘जुन उद्देश्यका साथ ९ वर्षअघि यस बैंकको स्थापना गरिएको थियो, त्यो सोचले सार्थकता प्राप्त गरेको मैले अनुभूति गरेको छु’ साहले भने ।

बैंकको दीर्घकालीन रणनीति अनुसार, देशका ७ वटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्य पहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका÷महानगरपालिकाहरुमा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको साहले बताए ।

‘सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवर्धन गर्न लगानी वृद्धि गर्दै जाने मेगा बैंकले जनाएको छ । सोही अनुरुप व्यापार प्रवर्धन गरिएका क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेश सरकारहरुसँग समन्वय गर्ने लक्ष्य लिइएको अध्यक्ष साहले बताए । 

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन । ‘एक दशकमै मेगा बैंकले समकालिन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको छ,’ सिइओ खुञ्जेलीले भनिन्, ‘अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरुका कारण पनि ग्राहकहरुको विश्वास जित्न सफल भएको मलाई अनुभूति भएको छ । अब मिडक्याप बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढ्नेछौँ ।’

‘मेगा बैंकले डिजिटाइजेशन र नवीनतम प्रविधिहरु भित्र्याएको बताउँदै क्यूआर कोड पनि त्यसकै उदाहरण भएको सिइओ खुञ्जेलीले बताइन । सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा गरेका छन् । ‘शिक्षानै ज्योति अभियान’ मार्फत् प्रत्येक शाखाबाट एक जना छात्राहरुलाई १२ कक्षासम्म अध्ययनका लागि आर्थिक सहायता दिने कामको सुुरुवात भइसकेको सिइओ खुञ्जेलीले ‘बताइन ।

हलसम्म् बैंकले १०२ जना छात्राहरुलाई समावेश गरिसकेको छ । छात्रवृत्तिको संख्या बैंकको शाखा विस्तार भएसंगै बढ्दै जानेछ’– सिइओ खुञ्जेलीले भन्नुभयो ।

‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा लिएको मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन रु. १९ अर्ब बढेर करिब रु. ८२ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि रु. १५ अर्ब ५० करोड बढेर करिब रु. ७३ अर्ब पुगेको छ । ग्राहक संख्या पनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको छ ।

सहयोग हस्तान्तरण

यसैबीच, वार्षिकोत्सवका अवसरमा मेगा बैंकले उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ ।

एसईई सकेपछि उच्च शिक्षा अध्ययन गर्न आर्थिक अभाव झेल्दै आएका बुढालाई गत वर्ष बैंकले कक्षा ११ अध्ययन गर्न १ लाख रुपैयाँ सहयोग गरेको थियो । अहिले कक्षा १२ मा अध्ययनरत बुढालाई नवौँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले पुनः १ लाख रुपैयाँ सहयोग गरेको हो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेलीले छिरिङ तावा बुढालाइलाई सहयोग रकम हस्तान्तरण गरको थियो । मेगा बैंकले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई हरेक वर्ष सहयोग गर्दै आएको छ ।