काठमाडौं । विद्यार्थीहरुको क्षमता अभिवृद्धि लक्षित ‘टेक्सपायर इनोभेटएक्स्पो’ आयोजना भएको छ । सो एक्स्पो रोबटिक्सको क्षेत्रमा काम गरिरहेको खुट्किलाले टेक्सपायर रोबटिक्स क्लबसँगको सहकार्यमा गरेको हो ।
दुई दिनसम्म चल्ने एक्स्पोमा विद्यालय तहका विद्यार्थीहरूले तयार गरेका विभिन्न किसिमका नमुनाहरू प्रदर्शन तथा रोबटिक्स रेसहरूको प्रतिस्पर्धा भइरहेका छन् ।
श्री गणेश इङ्लिस बोडिङ् स्कुल टोखा कक्षा १० मा अध्ययनरत छात्रा अराइना डंगोलको समूहले ‘दिगो विकासका लागि नवीकरणीय ऊर्जा’ को नमुना विकास योजना प्रस्तुत गरेका छन् । सो नमुना प्रोजेक्ट वायु, सौर्य तथा जलस्रोत ऊर्जा उत्पादनमा रोबटिक्सको प्रयोगका बारेमा छन् ।
‘हामीले यस खाले कल्पना नेपाली भूगोलअनुसार तयार गरेका हौँ, ’ डङ्गोल भन्छिन्, ‘प्रयोगात्मक रूपमा रोबटिक्सको नमुना प्रोजेक्ट तयार गर्न पाउँदा खुसी छौँ।’
भ्याली भ्यु स्कुल वानेश्वर कक्षा ४ मा अध्ययनरत छात्रा अग्रिम चटौत ‘ग्रिन टेक्नोलोजी पार्क’ महत्त्व सम्झाउँदै थिइन् । उनको समूहले तयार गरेको नमुना प्रोजेक्टमा ‘सहरी विकास योजनामा प्राविधिक पार्कको महत्त्व’ देखाएका छन् ।
ललितपुर इमाडोलमा अवस्थित न्यू मिलिनियम स्कुल कक्षा ८ मा अध्ययनरत छात्रा अवनी गौतमको समूहले स्वच्छ ऊर्जाको परिकल्पना गरेका छन् । ‘द ब्वए हु हार्नेस द विन्ड’ दक्षिण सुडानको वास्तविक घटनामा आधारित भएर नमुना विकास गरेको विद्यार्थी गौतमले बताइन्। उनी भन्छिन्, ‘वायु ऊर्जाको प्रयोगले कसरी खेती तथा आफ्नो घरमा पानीको प्रयोग गर्न सकिन्छ भन्ने महत्त्व दर्साउन नमुना परियोजना प्रदर्शनीमा राखेको हो।’
यस एक्स्पोको आयोजनाको मुख्य उद्देश्य विद्यार्थीहरूलाई नवप्रवर्तन तथा रोबटिक्समा लाग्न प्रेरित गर्ने रहेको खुट्किलाका संयोजक सुगम ढकालले बताए । उनका अनुसार रोबटिक्स प्रतिस्पर्धा ६० टिमको सहभागिता रहेको छ ।
‘स्वच्छ वातावरण तथा रोबटिक्सका क्षेत्रमा आकर्षण गर्न रोबो रेस, रोबो सकर र रोबो सुमोको प्रतिस्पर्धा आयोजना गरिएको हो, ’ सह-आयोजक टेक्सपायर रोबटिक्स क्लबका अध्यक्ष सुजल काजी श्रेष्ठले बताए ।
पछिल्लो समय नेपालमा विद्यालय तहका विद्यार्थीहरू माझ रोबोटसम्बन्धी रचनात्मक क्रियाकलापहरू बढ्दै गएको छ । यस रोबोटिक्स तथा इनोभेसन प्रतिस्पर्धाका विभिन्न विधामा कूल साँढे एक लाखको नगद पुरस्कार तथा पचास हजारको उपहार व्यवस्था गरेको आयोजकले जनाएको छ ।










Leave a Reply