खुमलटार, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४७ औँ प्राज्ञ सभा सम्पन्न भएको छ । प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका कुलपति के.पी. शर्मा ओलीको अध्यक्षतामा सम्पन्न प्राज्ञ सभाबाट आ.व. २०८१/८२ को वार्षिक कार्यक्रमहरू सञ्चालनार्थ ५० करोड ६८ लाख ३९ हजार बजेट स्वीकृति भएको नास्टले जनाएको छ ।
भाद्र २५ गते प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् प्रतिष्ठानकी सहकुलपति विद्या भट्टराईलगायत ४० प्राज्ञ सभा सदस्यहरूको उपस्थिति रहेको थियो । सो प्राज्ञ सभाले गत आ.व. २०८०/ ८१ मा प्रज्ञा-प्रतिष्ठानबाट सम्पन्न गरिएका कार्यहरूको प्रगति विवरण ‘वार्षिक प्रतिवेदन’ स्वीकृत गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, आ.व. २०७९/ ८० को प्रस्तुत लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएका कुराहरू उपर प्रज्ञा-प्रतिष्ठानको व्यवस्थापन परिषद्लाई आवश्यक निर्देशन दिने र कर्मचारी प्रशासन नियमावली, २०६४ को अनुसूची ८ मा गरिएको संशोधनलाई अनुमोदन गर्ने जस्ता निर्णयहरू गरेको छ ।
नास्टको प्रेस विज्ञप्तिअनुसार सभामा सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीले राष्ट्रिय आवश्यकता तथा जनताको अपेक्षा अनुरूप विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अनुसन्धान, विकास र प्रवर्धनका कार्यलाई घनिभूत बनाउन निर्देशन दिइएको छ ।
नास्टका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले आ.व. २०८१-८२ मा निर्माणाधीन रेडियोधर्मी परीक्षण गर्ने प्रयोगशाला, जलवायु परिवर्तन, अन्तरिक्ष प्रविधि, साना जलविद्युत प्रविधिका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य गर्नेजस्ता कुरा सभामा जानकारी गराएका थिए ।
Leave a Reply