ताप्लेजुङ, २ साउन । युनेस्कोले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाडसँगको सहकार्यमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरण जडान सुरु गरेको छ।
जैविक विविधताको जानकारी सङ्कलनमा सुधार गर्न र वास्तविक समयको पारिस्थितिकीय अनुगमनलाई सहयोग पुर्याउने जनाएको छ। युनेस्कोको अनुसार साउन १ देखि ४ गतेसम्ममा तापेथोक, हेलोक र लेलेपमा जडान सम्पन्न गरिनेछ । उपकरण जडानले वैज्ञानिक विधिलाई आदिवासी ज्ञानसँग एकीकृत गर्ने लक्ष्यअनुरुप जडान थालनी गरिएको बताइएको छ।
क्यामेरा र जीपीएस उपकरण जडान गर्नुअघि, असार २९ र ३० मा दुई दिने क्षमता विकास तालिमको आयोजना लेलेपमा गरिएको थियो। यस कार्यशालाले कञ्चनजङ्घा संरक्षण क्षेत्र भित्र स्थानीय समुदायको सहभागिता र वातावरणीय पर्यवेक्षणमा प्रोत्साहन गर्नमा केन्द्रित गरेको थियो ।
यसले विद्यालयका विद्यार्थीहरू र अन्य स्थानीय सरोकारवालाहरू सहित आदिवासी जनजाति समुदायले जैविक विविधता संरक्षणसम्बन्धी सीपमा सुधार ल्याउन मद्दत गरेको छ। सहभागीहरूले आधुनिक वैज्ञानिक उपकरणहरू सञ्चालन तथा स्थापना गर्ने बारे व्यावहारिक अनुभव पनि प्राप्त गरेका छन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बुले आफ्नो जारी संरक्षण प्रयासहरूको बारेमा जानकारी दिदै, जैविक विविधताका हटस्पटहरू र संरक्षणका लागि सम्भावित पकेट क्षेत्रहरू पहिचान गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
“हामी युनेस्को बायोस्फियर रिजर्भको पदनाममा इच्छुक छौं र यसको महत्त्व प्रवर्द्धन गर्न स्थानीय जागरूकता कार्यक्रम सञ्चालन गर्ने योजनामा छौं,” उनले भने, “हामी अन्तर्राष्ट्रिय मान्यताका लागि सहयोग अपेक्षा गर्दछौं, जसले संरक्षण र दिगो व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
“ट्रेल क्यामेराको प्रयोग जस्ता तालिमले स्थानीय मानिसको जैविक विविधता अनुगमनमा आदिवासी समुदायको ज्ञान र क्षमतालाई सुदृढ पार्नेछ,“ उनले भने।
कार्यशालाका क्रममा सहभागीहरूलाई बायोस्फियर रिजर्भको अवधारणा बारे पनि जानकारी गराइएको थियो। यस सत्रले कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई युनेस्कोको मानव र बायोस्फियर कार्यक्रम अन्तर्गत बायोस्फियर रिजर्भको पदनाम प्राप्त गर्दा यसको महत्त्व, उद्देश्य, मनोनयन प्रक्रिया र सम्भावित फाइदाहरूबारे सचेत गरायो।
बायोस्फियर रिजर्भहरू जीवित प्रयोगशाला हुन्, जहाँ संरक्षण, दिगो विकास र वैज्ञानिक अनुसन्धानलाई एकीकृत गरी मानव र वातावरणबीच सन्तुलित र मेलमिलापपूर्ण सम्बन्ध सिर्जना गरिन्छ। यसले जैविक विविधताको संरक्षण र स्थानीय समुदायद्वारा यसको दिगो उपयोगबीच सामञ्जस्यपूर्ण सन्तुलन कायम गर्दछ।
कार्यशालाका क्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका म्याब समितिका सदस्य प्रा. डा. हरिप्रसाद अर्यालले कञ्चनजङ्घा जस्ता उच्च हिमाली पारिस्थितिक प्रणालीमा जैविक विविधताका चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय ज्ञानलाई वैज्ञानिक उपकरणहरूसँग एकीकृत गर्नुको महत्त्वमा जोड दिए।
“कार्यशालामा आदिवासी समुदायहरूको सहभागिता उत्साहजनक थियो,” प्रा. अर्यालले भने, “प्रकृतिको बारेमा उनीहरूको अन्तर्निहित बुझाइ र वन्यजन्तु, माटोको अखण्डता र जलस्रोतको संरक्षणप्रतिको प्रतिबद्धता दिगोपनको लागि एक नमुनाको रूपमा खडा हुनेछ।”
“हामीले यी संरक्षकहरूको ज्ञानलाई नम्रता र सम्मानका साथ सुन्नुपर्छ, सिक्नुपर्छ र कार्य गर्नुपर्छ,” उनले भने ।
यो पहलले वातावरण संरक्षणका लागि विश्वव्यापी अभियान आयुसिएन हरित सूची अनुसार अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्नेछ । अन्ततः युनेस्को बायोस्फियर रिजर्भको पदनाम प्राप्त गर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्रको दीर्घकालीन दृष्टिलाई समर्थन जनाउनेछ। यो कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता फ्रेमवर्कका लक्ष्यहरूसँग मेल खाने युनेस्कोले उल्लेख गरेको छ।
युनेस्कोअनुसार सो फ्रेमवर्क अघिल्ला संरक्षण रणनीतिहरूमा आधारित विश्वव्यापी दिगो विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत मिल्ने र सन् २०५० सम्ममा प्रकृतिसँग सन्तुलित रूपमा बाँच्ने विश्वको लागि एक महत्वाकांक्षी मार्गनिर्देशन प्रस्तुत गर्न तयार गरिएको हो।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले भने, “युनेस्कोका लागि कञ्चनजङ्घामा चलिरहेका पहलहरू केवल प्रकृति संरक्षणको बारेमा मात्र होइनन्। यो स्थानीय मानिसहरू, उनीहरूको आदिवासी ज्ञान र उनीहरूको दिगो जीविकोपार्जनलाई महत्त्व दिने बारे हो।”
“कञ्चनजङ्घा संरक्षण क्षेत्रमा, हाम्रो प्रयासले युनेस्कोको लक्ष्यसँग रूपमा मेल खान्छ,” याको दु तोइले भने ।
यी गतिविधिहरू “कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता संरक्षणका लागि सामुदायिक संलग्नता सुदृढ पार्ने“ परियोजनाका मुख्य कार्यहरु हुन्, जसलाई कुनमिङ जैविक विविधता कोषले आर्थिक सहयोग गरेको जनाएको छ।
Leave a Reply