
अस्ट्रेलियाली आदिवासी संस्कृति मानव सभ्यताको सबैभन्दा पुरानो निरन्तर जीवित संस्कृतिमध्ये एक मानिन्छ। वैज्ञानिक साहित्यअनुसार, साहुल भनिने समूहको रूपमा उनीहरू करिब ६५ हजार वर्षअघि अस्ट्रेलिया महाद्वीपमा पुगेका थिए।
तर, युटा विश्वविद्यालयको नेतृत्वमा गरिएको नयाँ आनुवंशिक अनुसन्धानले होमो सेपियन्समा पाइने निएन्डरथल डीएनएको विश्लेषणले उनीहरूको वास्तविक आगमन ५० हजार वर्षभन्दा बढी पुरानो छैन।
अनुसन्धानकर्ता जेम्स ओ’कोनेलले अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयका सहकर्मीहरूसँग मिलेर ‘आर्कयालजी इन ओशियनिया जर्नल’मा प्रकाशित अध्ययनमा नयाँ निष्कर्ष प्रस्तुत गरेका छन्।
अध्ययनका अनुसार होमो सेपियन्स र निएन्डरथलबीच एकपटक मात्र अन्तरप्रजनन भएको थियो, जुन ४३ हजार ५ सय देखि ५१ हजार ५ सय वर्षअघिको अवधिमा भएको हो। आजका अधिकांश मानवहरू, जसमा अस्ट्रेलियाली आदिवासीहरू पनि छन्, १–४ प्रतिशत निएन्डरथल डीएनए बोकेको पाइन्छ। त्यसैले, उनीहरूको आगमन उक्त समयसीमाभन्दा पुरानो हुन सक्दैन।
त्यस्तै, अस्ट्रेलियाका अधिकांश पुरातात्विक स्थलहरूको मिति पनि ४३-५४ हजार वर्षको बिचमा पर्ने देखिन्छ। ओ’कोनेल भन्छन्, “उनीहरूको उपनिवेशीकरणको मिति यही दायरामा पर्छ, जुन पश्चिम युरेसियामा निएन्डरथलहरूको विस्थापन सुरु भएको समयसँग मेल खान्छ।”
उनका अनुसार होमो इरेक्टस जस्ता अन्य मानव प्रजातिहरू दक्षिण–पूर्वी एसियामा १० लाख वर्षभन्दा बढी समयदेखि बसोबास गरिरहेका थिए, तर अस्ट्रेलियामा स्थायी जनसंख्या बनाउन पर्याप्त संख्यामा समुद्र पार गर्न सकेका थिएनन्। यसले होमो सेपियन्सको आगमनको महत्व दर्शाउँछ।
म्याडजेडबेबे नामक एक पुरातात्विक स्थलमा गरिएको अध्ययनले ५९-७० हजार वर्ष पुरानो मिति देखाएको छ। सन् २०१७ मा नेचर जर्नलमा प्रकाशित अध्ययनमा प्रयोग गरिएको प्रविधि ‘अप्टिकली स्टिम्युलेटेड ल्युमिनेसेन्स (ओएसएल)’ हो, जसले क्वार्ट्ज वा फेल्डस्पार खनिजमा सञ्चित ऊर्जा मापन गरेर तिनीहरू अन्तिम पटक प्रकाशमा कहिले आएका थिए भन्ने निर्धारण गर्छ।
तर, ओ’कोनेलले भन्छन्, “मिति सही भए पनि मानव उपस्थितिको भौतिक प्रमाण (जस्तै, उपकरणहरू)सँगको सम्बन्ध अझै अस्पष्ट छ। अस्ट्रेलियाको त्यो भागमा पुराना स्थलहरू प्रायः बालुवाको तहमा हुन्छन्, जहाँ सामग्री समयसँगै तल सर्न सक्छ।”
साहुल समूहले सम्भवतः दक्षिण–पूर्वी एसियाबाट डुङ्गा वा बेडाहरू प्रयोग गरेर अस्ट्रेलिया पुगेका थिए। तर, उनीहरूले १५ सय किलोमिटर लामो वालासियन द्वीप समूह पार गर्नुपर्ने थियो, जसमा कम्तीमा ८ पटकको समुद्री यात्रा आवश्यक पर्थ्यो, सबैभन्दा लामो यात्रा ९० किलोमिटरको थियो।
प्रारम्भिक उपनिवेशीकरण कम्तीमा चार छुट्टाछुट्टै समूहहरूबाट भएको थियो। माइटोकन्ड्रियल डाटा अनुसार, प्रत्येक समूहमा ५–१० प्रजनन योग्य महिलाहरू थिए, जसले २५–५० जनाको जनसंख्या संकेत गर्छ। यी समूहहरू केवल केही शताब्दीको अवधिमा अस्ट्रेलिया पुगेका थिए।
ओ’कोनेल भन्छन्, “यो यात्रा योजनाबद्ध थियो, संयोगवश होइन। यसका लागि बलियो डुङ्गा आवश्यक थियो, जसमा १० जना मानिस, खाना, र पानी राख्न सकिने क्षमता हुनुपर्थ्यो।”
यस प्रविधिक प्रगतिको साथ, ५० हजार वर्षपछिको आगमन मिति अझ बलियो देखिन्छ। यस अवधिमा गुफा चित्रकला, उपकरणहरू, र सजावटहरू जस्ता नवप्रवर्तनहरू देखा परेका थिए।
सन् २०१८ देखि अस्ट्रेलियाली मानवशास्त्रमा ५० हजार वर्षको सिद्धान्त बहसको केन्द्रमा रहँदै आएको छ। चार छुट्टाछुट्टै अनुवांशिक अध्ययनले देखाए अनुसार आधुनिक न्यू गिनी र अस्ट्रेलियाली आदिवासीहरू ५५ हजार वर्षभन्दा पहिले अस्ट्रेलिया पुगेका थिएनन्। तर, केही वैज्ञानिकहरू अझै ६५ हजार वर्ष पहिलेलाई समर्थन गर्छन्, जसलाई ओ’कोनेल अस्वीकार गर्छन्।
उनी भन्छन्, “अर्काे पाँच वर्षभित्र हामी सबैले ५० हजार वर्षभन्दा कमको आगमन समयमा सहमति जनाउनेछौं। यो आफ्रिकाबाट युरेसियातर्फ फैलिएको मानव लहरसँग मेल खान्छ, जुन हजारौं वर्षमा फैलिएको प्रक्रिया हो। यसले हामीलाई मानव व्यवहारमा भएका परिवर्तनहरूबारे अझ गहिरो प्रश्नहरू उठाउन प्रेरित गर्छ।”
Leave a Reply