
टोकियो, जापान — विश्वव्यापी जलवायु परिवर्तनका कारण जनघनत्व बढी भएका सहरहरूमा तापक्रम बढ्दा मानिसहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेको छ।
सहरको सूक्ष्म स्तरमा दीर्घकालीन जलवायु तथ्यांक उपलब्ध नभएका कारण समाधान कसरी गर्ने भन्नेमा विज्ञहरुलाई कठिनाई भइरहेको बताइन्छ । यद्यपि समाधानका प्रयासहरू खोजिरहेका छन् ।
हालै, यूटोक्यो-आइआइएसका अनुसन्धानकर्ताहरूले विकास गरेको नयाँ प्रविधि सस्टेनेवल सिटिज् एण्ड सोसाइटीमा प्रकाशित गरेको छ । सो अध्ययनले टोकियो सहर र उपनगरहरूमा हावाको तापक्रममा हुने परिवर्तनहरू पुनर्निर्माण गर्न सक्ने क्षमता विकास गरेको बताइएको छ ।
यस प्रविधिमा जलवायु विश्लेषण डेटासेटहरू र मौसम अवलोकनहरूलाई समायोजन (फ्युजन) गरेर सहरको जलवायु परिवर्तनको प्रभावलाई अझ सटीक रूपमा मूल्याङ्कन गर्न सकिने देखाइएको छ।
मुख्य लेखक सिआङ वाङ भन्छन्, “परम्परागत जलवायु तथ्याङ्कले सहरमा मानिसहरूले अनुभव गर्ने तापक्रमलाई समेट्न सक्दैन, किनभने रुख, भवन, पार्कजस्ता तत्वहरूले सहरमा सूक्ष्म जलवायु बनाउँछन्। हाम्रो समायोजन विधिले तापक्रम र आर्द्रता कसरी परिवर्तन भएको छ भन्ने विस्तृत चित्र दिन्छ।”
यो प्रविधिमा गणितीय अवधारणाहरू र सम्भाव्य अनुमान विधि प्रयोग गरी क्षेत्रीय स्तरको संख्यात्मक मोडल डेटासेटलाई ३० वर्षको मौसम स्टेशन तथ्यांकसँग समायोजन गरिएको छ।
यसले अघिल्ला विधिहरूको सीमालाई हटाउँदै उच्च–रिजोल्युसन स्थानिक डेटामार्फत तापक्रमको विविधता सटीक रूपमा नक्साङ्कन गर्न सक्ने बनाएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

पुनर्निर्मित तथ्यांक अनुसार, औसत दिउँसोको तापक्रममा १° सेल्सिएस भन्दा बढी वृद्धि देखिएको छ भने केन्द्रीय टोकियोमा रातको गर्मीमा २° सेल्सिएसले वृद्धि भएको छ।
त्यस्तै, अझ चिन्ताजनक कुरा, ४०.६° सेल्सिएस भन्दा माथिको अत्याधिक गर्मी भएका दिनहरूको सङ्ख्या सन् २०२१ पछि दोब्बर भएको छ, जुन १९९० दशकको तुलनामा निकै उच्च हो। यो प्रवृत्ति सहर विस्तार र अपारदर्शी सतहहरूको वृद्धिसँग सम्बन्धित भनिएको छ। कुमागाया जस्ता क्षेत्रहरूमा अत्यधिक गर्मीको प्रभाव केन्द्रीय टोकियोभन्दा बढी देखिएको उल्लेख छ।
वरिष्ठ लेखक हिदेकी किकुमोटो भन्छन्, “हाम्रो अध्ययनले विगत ३० वर्षमा टोकियो वरपर तापक्रम र आर्द्रता कहिले, कहाँ, कति बढेको हो भन्ने स्पष्ट रूपमा पहिचान गरेको छ। रातको तापक्रम वृद्धि स्वास्थ्यका दृष्टिले विशेष चिन्ताको विषय हो।”
यद्यपि यो प्रविधिले सहरको जलवायु परिवर्तनको विश्लेषणमा नयाँ दृष्टिकोण दिएको छ। अनुसन्धानकर्ताहरूले अवलोकन स्थलअनुसार शुद्धता फरक हुने र पार्क वा भवनजस्ता स्थानीय तत्वहरू पूर्ण रूपमा समेट्न नसकिएको स्वीकार गरेका छन्।
यो मोडलिङ विधिले सहर योजनाकारहरूलाई लक्षित समाधान रणनीति बनाउनुका साथै गर्मी अनुकूलन नीतिहरू निर्माण गर्न वैज्ञानिक आधार प्रदान गर्ने आशा गरिएको छ । त्यस्तै, यो विधिले टोकियोमा वर्तमान र भावी पुस्ताको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने विश्वास गरिएको उल्लेख छ।
Leave a Reply