
युनिभर्सिटी अफ द आर्ट्स हेलसिंकीका अनुसन्धानकर्ता काइ लेहिकोइननले आफ्नो नयाँ पुस्तकमा सामाजिक रूपले संलग्न कलाको परिवर्तनकारी शक्ति उजागर गर्दै संस्थाहरूलाई असहजता, विविधता र अन्तरक्षेत्रीय सहकार्य अँगाल्न आह्वान गरेका छन्।
गरिबी, जलवायु संकट, राजनीतिक ध्रुवीकरण, मानवीय आपतकालजस्ता विश्वव्यापी चुनौतीहरूको सामना गरिरहेको वर्तमान युगमा कला समावेशी र दिगो भविष्य निर्माणको महत्वपूर्ण माध्यम बन्न थालेको उनले उजागर गरेका छन् ।
यस विषयमा अनुसन्धानकर्ता काइ लेहिकोइननले सामाजिक रूपले संलग्न कला अभ्यासले लोकतन्त्र सुदृढ गर्न र सामाजिक एकता प्रवर्द्धन गर्न सक्ने तर्क प्रस्तुत गरेका छन् ।
“सामाजिक रूपले संलग्न कलाले हामीलाई असहजता सामना गर्न, जटिलता अँगाल्न र हाम्रो समयका गम्भीर चुनौतीहरू सामूहिक रूपमा सम्बोधन गर्न प्रेरित गर्छ,” लेहिकोइनन लेख्छन्।
समाज रूपान्तरणको उपकरणका रूपमा कला
लेहिकोइननका अनुसार कलाकार, शिक्षक, अनुसन्धानकर्ता, विद्यार्थी र संस्थाहरू सबैले आजका जटिल समस्याहरू समाधान गर्न सक्रिय भूमिका खेल्नुपर्छ। उनी कलात्मक सोचलाई विभिन्न क्षेत्र र पेसाबीचको पुलका रूपमा देख्छन्, जसले संवाद र सहकार्यको वातावरण सिर्जना गर्ने बताउँछन् ।
उनी भन्छन्, “यस्ता अन्तरक्रियाबाट स्थानीय तथा विश्वव्यापी रुपमा नै नयाँ दृष्टिकोण र समाधानहरू जन्मिन्छन् ।’
उनले सामाजिक रूपले संलग्न कलालाई विश्वविद्यालयहरूको तेस्रो उद्देश्य समाजमा योगदानको हिस्सा मानेका छन् । कला शिक्षाका संस्थाहरूले सामाजिक सेवा, शिक्षा, वातावरण र अर्थतन्त्रसँग सहकार्य गर्नुपर्ने उनको सुझाव छ। यस्ता अन्तरक्षेत्रीय सहकार्यमा कला उत्प्रेरकको रूपमा काम गर्न सक्छ, जसले गोप्य दृष्टिकोणहरू उजागर गर्दै जटिल समस्याहरूको समाधानको नयाँ बाटो खोल्न सक्छ।
विविधता, संवाद र प्रतिरोध
आजको समाजमा अर्थ र सहकार्यभन्दा प्रतिस्पर्धा र संख्यालाई प्राथमिकता दिइन्छ। सामाजिक रूपले संलग्न कलाले अर्थपूर्ण र समावेशी सोचको माध्यमबाट नयाँ प्रवृत्तिको विकल्प प्रस्तुत गर्छ।
लेहिकोइननका अनुसार मानव विविधता बाधा होइन, प्रेरणा र शक्ति हो। सांस्कृतिक, सामाजिक र व्यक्तिगत भिन्नताहरू संवादलाई गहिर्याउने अवसर हुन्। यस्ता कलात्मक अभ्यासले सामाजिक एकता, पहिचान सशक्तीकरण र पृथ्वीको कल्याणमा सकारात्मक योगदान दिन सक्छ।
भावना, शक्ति र नागरिक समाजको भूमिका
लेहिकोइनन सामाजिक आन्दोलनसँग जोडिएको भावनात्मक तीव्रता पनि उठान गर्छन्। उनी भन्छन्न, “कारात्मक भावना अत्यधिक भएमा ध्रुवीकरण, आत्म-सेंसरशिप र कलात्मक संवादको मौनता निम्त्याउन सक्छ।”
शिक्षा विज्ञ गर्ट बिएस्टाको सन्दर्भ दिँदै उनी भन्छन्, “हामीलाई असहजता स्वीकार गरिने वातावरण चाहिन्छ, जहाँ फरक दृष्टिकोणहरू एकअर्कालाई रचनात्मक रूपमा चुनौती दिन सकून्।”
आजको युगमा सानो समूहले धन र प्रभावमार्फत अत्यधिक शक्ति प्रयोग गरिरहेको प्रति उनले चेतावनी दिए। त्यसैले नागरिक समाजले सामूहिक चिन्तन र समाधान खोजीमा संलग्न हुनुपर्छ। सहभागी कलात्मक अभ्यासले समावेशिता सुदृढ गर्न, लोकतन्त्रको लचिलोपन बढाउन र सार्वजनिक संवादको दायरा फराकिलो बनाउन सक्छ।
“सामाजिक रूपले संलग्न कलाको सम्भावना विशाल छ, तर त्यसलाई साकार पार्न दीर्घकालीन प्रतिबद्धता, सहकार्य र साझा दृष्टिकोण आवश्यक छ। अब नै कार्य गर्ने समय हो,” लेहिकोइनन निष्कर्ष निकाल्छन्।
Leave a Reply