
ताप्लेजुङ, कात्तिक १८ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता संरक्षणलाई सुदृढ बनाउन युनेस्कोले सञ्चालन गरेको कुन्मिङ जैविक विविधता कोष (केबीएफ) परियोजना अन्तर्गतको दुई दिने कार्यशाला फुङ्लिङमा सम्पन्न भएको छ।
आठ महिनासम्म चलेको यस परियोजनाको यो कार्यशाला अन्तिम चरणको रूपमा रहेको छ, जसले स्थानीय समुदायलाई संरक्षणको नेतृत्वमा अझ सशक्त बनाएको युनेस्कोले जनाएको छ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र (केसीए) हिउँ चितुवा, रेड पाण्डा लगायतका लोपोन्मुख प्रजातिहरूको महत्वपूर्ण वासस्थान हो। युनेस्कोका अनुसार यस क्षेत्रमा आधुनिक प्रविधि जस्तै ट्रेल क्यामेरा र जीपीएस उपकरणलाई आदिवासी तथा स्थानीय ज्ञानसँग एकीकृत गरेर जैविक विविधता अनुगमनलाई नयाँ स्तरमा पुर्याइएको छ।
यसअघि, स्थानीय बासिन्दा र सरोकारवालालाई व्यवहारिक तालिममार्फत क्षमता विकास गराइएको थियो। यसले समुदाय–नेतृत्वको अनुगमन प्रणालीलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सहज बनाएको छ।
परियोजना युनेस्कोको नेतृत्वमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपाल (आयूसीएन), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (डीएनपीडब्लुसी), कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसीएएमसी) र समृद्ध पहाडसँगको सहकार्यमा कार्यान्वयन गरिएको हो।
केसीएएमसीका अध्यक्ष खगेन्द्र फेम्बू लिम्बुले भने, “प्रकृति संरक्षणमा हामी सबैको भूमिका छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई ‘बायोस्फियर रिजर्भ’ घोषणा गरेर मात्र हामीले दिगो सुरक्षा सुनिश्चित गर्न सक्छौं। सामूहिक प्रयास नै यसको आधार हो।”
कार्यशालामा ट्रेल क्यामेराबाट प्राप्त तथ्याङ्क, आयूसीएन ग्रीन लिस्ट मापदण्डअनुसारको मूल्याङ्कन, र स्थानीय समुदायको अनुभव प्रस्तुत गरेका थिए। यसले सरोकारवालाहरूलाई परियोजनाको नतिजा प्रमाणीकरण गर्न र व्यावहारिक सिफारिसहरू तयार गर्न सहयोग पुर्याएको उल्लेख छ।
यी सिफारिसहरूले कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई भविष्यमा आयूसीएन ग्रीन लिस्ट र युनेस्को बायोस्फियर रिजर्भ जस्ता अन्तर्राष्ट्रिय मान्यता दिलाउने सम्भावना बढाएको छ।
कार्यशालाको क्रममा माध्यमिक विद्यालय तहका विद्यार्थीहरूका लागि तयार गरिएको जैविक विविधता संरक्षणसम्बन्धी स्रोत पुस्तिका केसीएएमसीलाई हस्तान्तरण गरिएको छ। यसले संरक्षण शिक्षालाई विद्यालय तहमै संस्थागत गर्ने अपेक्षा गरिएको छ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको दु तोईले भने, “यस परियोजनाले बायोस्फियर रिजर्भलाई दिगो विकासका लागि सिकाइ स्थलको रूपमा पुनः पुष्टि गरेको छ। यसले आदिवासी ज्ञान र युवा सहभागिताको महत्त्वलाई अझ प्रस्ट्याएको छ।”


Leave a Reply