रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

काठमाडौँ । विज्ञान प्रविधिको क्षेत्रमा सिप, दक्षता र आर्थिक विकासका लागि रसियासँग जनस्तरको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

रसियन हाउस र नेपाल-रसिया साइन्स सोसाइटीले संयुक्त रूपमा काठमाडौँमा आज आयोजना गरेको ‘विज्ञान प्रविधि मार्फत जन कूटनीति’ कार्यक्रममा विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।

नेपाल रसियाको ७० वर्ष सम्बन्ध स्थापना तथा विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरिएको जनाएको छ। सन् १९५७ जुलाई २० मा सोभियत संघ र  नेपाल बिच दौत्य सम्बन्धमा हस्ताक्षर भएको थियो । यस सम्बन्ध पश्चात् नेपालमा शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको सुरुवात भएको पाइन्छ ।

सन् १९६५ मा निर्मित पनौती जलविद्युत् आयोजना पहिलो मेगावाट क्षमताको रुसले उपहार स्वरूप निर्माण गरिदिएको थियो । त्यस्तै, सन् १९६३ मा मुलुकको पहिलो बाल अस्पताल ‘कान्ति बाल अस्पताल’ निर्माण गरिदिएका थिए।

यी ठुला परियोजनाका नजिरलाईलाई स्मरण गर्दै विज्ञहरूले नेपाल-रुस वैज्ञानिक तथा प्राविधिक सम्बन्धको आधार तय गरी विश्वास र सहकार्यका लागि विज्ञान कूटनीतिको रणनीति अघि सारेका छन् । उनीहरूले सरकार विज्ञान कूटनीतिक पहलमा चुकेको भन्दै ‘भिजन २०५०’ रोडम्याप बनाउन रसियन हाउसलाई अनुरोधसमेत गरेका छन् ।

अधिकांश रसिया अध्ययन गरेर आएका नेपाली विज्ञहरूको समूहले नेपाल सरकारका कमीकमजोरी तथा रसियासँग भएको पहिलेको कूटनीतिक सम्बन्धलाई नेपाल सरकारले शैक्षिक तथा विकासका क्षेत्रमा सदुपयोग गर्न नसकेको जिकिरसमेत गरेँ ।

उनीहरूले भनेका छन्, ‘नेपाल विकासका लागि रसियासँग स्टिम शिक्षा, सूचना प्रविधि, अन्तरिक्ष विज्ञान, नवीकरणीय ऊर्जा, स्वास्थ्य तथा जैविक प्रविधि र विज्ञान नीति तथा कूटनीति जस्ता मुख्य बुँदाहरूमा सहकार्य गर्न सकिने आधार तय गरिएको छ ।

विज्ञान कूटनीति किन?

नेपाल-रसिया साइन्स सोसाइटीका अध्यक्ष तथा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री इन्जिनियर गणेश साहले भने, “नेपालमा अबको विकास विज्ञान कूटनीति मार्फत हुनुपर्दछ । जब राजनीतिक नियुक्ति पाएकाका कूटनीति असफल प्रायः हुन्छ तब वैज्ञानिक कूटनीतिक आवश्यकता देखिन्छ।”

“हामी नेपाली रसिया पढेर आएका जमात धेरै छौँ, यस कारणले पनि सर्वप्रथम रसियासँग जनस्तरबाट विज्ञान कूटनीतिको पहल गर्दछौ,” पूर्व विज्ञान मन्त्री साहले भने, “यसमार्फत हामी नेपाली विद्यार्थीलाई रसियाका विश्वविद्यालयमा थप सहकार्य गरी अनुसन्धानकर्ता उत्पादनको दिशा तय गर्नेछौँ।”

“शिक्षा तथा नवप्रवर्तनका लागि हामी पहल गर्दछौ,” उनले भने।

विज्ञहरूले औल्याए अनुसार विज्ञान कूटनीति मार्फत विश्वसनीयता कायम गरी दुई देशका विश्वविद्यालय तथा जनस्तरमा थप सम्बन्ध कायम गरी संयुक्त वैज्ञानिक अनुसन्धान, युवा तथा वैज्ञानिकहरूको भ्रमण र बहुउद्देश्यीय सहभागीताकालागि युनेस्को, व्रिक्स प्लस र ‘एसको’ जस्ता प्लेटफर्ममा नेपालले अवसर लिन सकिने देखिएको छ ।

त्यस्तै, प्रविधि मार्फत परिवर्तन गर्न सकिने धेरै आधारहरू छन् । त्यसका लागि विज्ञहरूले स्टिम शिक्षा पुनरुत्थान, अन्तरिक्ष प्रविधि, डिजिटल इन्फ्रास्टकचर र नवीकरणीय ऊर्जामा रूपान्तरण जस्ता विषयमा काम गर्न सकिने विज्ञहरूले औँल्याएका छन् । तर त्यसका लागि सरकारसँग एउटा फरक खालको डरले काम गरिरहेको छ, जो कुरा सर्वसाधारण समक्ष आइपुग्दैनन्,”पूर्व जलस्रोत तथा सिँचाइ मन्त्री डा. दीपक ज्ञवालीले भने, ” रुसले कान्ति बाल अस्पताल निर्माण गरेपछि पनि केही योजनाहरू प्रस्ताव गरेका थिए, त्यो अदृश्य डरका कारणले आलटाल भयो त्यो योजना अहिलेसम्म अगाडी बढेको छैन।”

उनले थपे, “जलविद्युत उत्पादन तथा आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा विज्ञान कूटनीति मार्फत काम गर्न सकिने प्रशस्त ठाउँहरू छन् ।”

विज्ञहरूले औँल्याएअनुसार दुई देशीय संयन्त्र बनाउनका लागि विभिन्न किसिममा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । सीमित नीति तथा संस्थागत संरचनाले दिगो अनुसन्धानका आधार हासिल गर्न सकिँदैन । त्यसका लागि सन्तुलित लगानी र संरचना बनाउनका लागि आपसी सम्झौताका आधार तय गर्नुपर्ने देखिएको छ ।  संयुक्त राष्ट्रसंघका पूर्वराजदूत डा. शम्भुराम सिम्खडा भने,भूराजनीतिक परिवर्तनको सामना गर्नुपर्ने हुँदा पहिले राज्यले विश्वसनीय वातावरण बनाउनु पर्दछ।” अर्को भनेको जनस्तरको विज्ञान कूटनीतिका साथै फियरलाई ट्रस्टमा रूपान्तरण गर्नु पर्ने उनले बताए ।

नास्टका पूर्वउपकुलपति प्रा.डा. जीवराज पोख्रेलले नेपाल र रसियाबिचमा प्राचीन देखि आधुनिक ज्ञानका पारस्परिक अनुसन्धान गर्ने तथा ज्ञान आदानप्रदान गर्न सकिने ठाउँ रहेको बताए । उनले भने, “यसका लागि जनस्तरको विज्ञान कूटनीतिले छिट्टै सहजीकरण हुनसक्ने बताए ।

नास्टले विभिन्न देशका विश्वविद्यालय तथा वैज्ञानिक संस्थाहरूसँग आपसी सम्झौता गरेको अनुभव सुनाउँदै उनले भने, “रुससँग पनि हामीले त्यहाँका विश्वविद्यालय तथा अनुसन्धानरत निकायसँग सहकार्य गरी हाम्रो शैक्षिक तथा प्राविधिक विकासमा सहकार्य गर्न सक्छौँ ।  नेपाल सरकारले पनि यसका लागि थप कदम चाल्न जरुरी हुनेछ।”

रुसी परियोजनाकति ?

तत्कालीन सोभियत संघ (रुस)ले पनौती जलविद्युत् आयोजना, वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, वीरगन्ज कृषि औजार कारखाना, नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड, १०९ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गको ढल्केबर–पथलैया खण्ड र कान्ति बाल अस्पताल सहयोग गरेका थिए। “तिनीहरूको अवस्था नेपालमा कस्तो छ, त्यसको लेखाजोखा गर्ने हो भने हामीले विश्वसनीयताको वातावरण गुमाएको अवस्था छ, ” विश्लेषक तथा लेखक डा. मीनबहादुर पौडेलले भने।

अहिले नेपालको परराष्ट्र नीतिमा सार्वजनिक कूटनीति र आर्थिक कूटनीतिले मात्र काम गरिरहेको छ, अबका दिनमा परराष्ट्र मन्त्रालयले विज्ञान कूटनीति मार्फत पनि सम्बन्ध स्थापन गर्न पहल गर्नुपर्ने उनले सुझाए ।

भिजन २०५० रोडम्याप

नास्टका प्राज्ञ प्रा. डा. अञ्जना सिंहले राष्ट्र विकासका लागि विज्ञान कूटनीति विषय प्रस्तुति दिएकी थिइन । उनले भनिन्, ‘नेपालमा विज्ञान कूटनीतिमा सुरुवाती अवस्थामा छ, यसको उपयोगिता विस्तारका लागि सरकार, नीति निर्माता, वैज्ञानिक र सरोकारवाला संस्थासँग वृहत्तर छलफल गरी ज्ञान र विज्ञता कायम गरी अगाडी बढ्नुपर्ने देखिन्छ।’

उनले नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को नेतृत्वमा नेपाल रसिया विज्ञान तथा नवप्रवर्तन काउन्सिलको स्थापना,  संयुक्त सरकारको तर्फबाट अनुसन्धान तथा नवप्रवर्तन कोषको स्थापना,  वार्षिक विज्ञान कूटनीति फोरम र विज्ञान राजदूत पदवी स्थापना जस्ता भिजन २०५० पहलकदमी हुन पर्ने बताइन् ।

नेपालमा जलविद्युतबाट ऊर्जामा रूपान्तर करिब ५ प्रतिशत भएको छ। अझै धेरै उत्पादन गर्न सकिने आधारहरू छन्। त्यसका लागि हामीले रसियासँग सहकार्य गर्न सकिने ठाउँहरू छन्। जलवायु परिवर्तन, इन्जिनियरिङ, नवीकरणीय क्षेत्रमा विषय विज्ञ उत्पादनका लागि सहकार्य भएमा नेपाली विद्यार्थीहरूले स्वदेशमा आएर काम गर्न सकिने त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पूर्व डीन प्रा. डा. त्रिरत्न बज्राचार्यले औँल्याए ।

रसियन हाउसका निर्देशक एनथेसिया खोखलोभाले कृषि, हाइड्रो इन्जिनियरिङ तथा शैक्षिक वैज्ञानिकको क्षेत्रमा काम गर्ने वातावरण बनाउनका लागि थप पहल गर्ने बताइन । उनले दुई देशका वैज्ञानिक अनुसन्धानशालाबीचका सहकार्यका लागि पहल तथा छात्रवृत्ति कोटालाई कसरी बढाउँन सकिन्छ, त्यसका लागि रसियाका विश्वविद्यालयसँग थप संवाद गरिने बताए।

“हामीले ‘पिपल टु पिपल रिलेशनसीप’को थप वातावरण विकसित गर्न सकेमा उच्च तहको सम्झौता कुरेर बसिरहन पर्दैन,” उनले भनिन् ।  

कार्यक्रमका सञ्चालक काठमाडौँ विश्वविद्यालयका प्रा. डा. रमेश मास्केले परराष्ट्र नीतिमा विज्ञान कूटनीतिके विकास गर्नसके अनुसन्धान तथा नवप्रवर्तनमा राष्ट्रिय क्षमतामा वृद्धि हुने र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता कायम गर्न सहज हुने बताए ।

रसियाका विभिन्न विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय परियोजनाको अनुभव बटुलेकी स्वेतलाना अलेक्जान्ड्रोभ्ना बोकेरिया र अनास्तासिया निकोलाएभना क्रिक्लोभायाले भिडियो कन्फेरेन्समार्फत वैज्ञानिक तथा शैक्षिक सहकार्य भनेको अन्तर्राष्ट्रिय कूटनीति प्रविधि हुन भन्ने तुलनात्मक अध्ययनमा प्रस्तुति दिएकी थिइन ।

साथै, विज्ञान र शिक्षा मार्फत रुसी विश्वविद्यालयसँग कूटनीति शीर्षकमा विभिन्न विश्वविद्यालयका व्यवस्थापन तथा शैक्षिक फोटो प्रदर्शनीका गरिएको थियो । सो फोटो प्रदर्शनीको उद्घाटन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

×