डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

तस्बिर: डब्लुएचओ

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट २०२५ अनुसार क्षयरोग (टीबी) अझै पनि विश्वकै घातक संक्रामक रोगमध्ये एक रहिरहेको छ। गत वर्ष मात्र यस रोगले १२ लाखभन्दा बढी मानिसको ज्यान लिएको छ भने करिब १ करोड ७ लाख मानिस प्रभावित भएका छन्।

डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भने, “परीक्षण, उपचार, सामाजिक सुरक्षा र अनुसन्धानमा भएको प्रगति स्वागतयोग्य हो, तर यो विजय होइन। क्षयरोग रोकथाम र उपचार सम्भव हुँदाहुँदै पनि हरेक वर्ष लाखौं मानिसको मृत्यु हुनु अस्वीकार्य हो।”

विश्वव्यापी प्रगति र सफलताहरू

  • २०२३–२४ बीच क्षयरोगको संक्रमण दर करिब २ प्रतिशत घट्यो भने मृत्यु दर ३ प्रतिशतले कम भयो।
  • अफ्रिकी क्षेत्रले २०१५–२४ बीच संक्रमण दरमा २८ प्रतिशत र मृत्युमा ४६ प्रतिशत कमी गरेको छ।
  • युरोपेली क्षेत्रमा संक्रमण दर ३९ प्रतिशत र मृत्यु दर ४९ प्रतिशतले घटेको छ।
  • १०० भन्दा बढी देशले कम्तीमा २० प्रतिशत संक्रमण दर घटाएका छन् भने ६५ देशले क्षयरोगजन्य मृत्युमा ३५ प्रतिशतभन्दा बढी कमी गरेका छन्।

तर, रोगको भार अझै केही देशमा केन्द्रित छ। २०२४ मा ३० देशमा ८७ प्रतिशत संक्रमित भेटिएका थिए। भारत, इन्डोनेसिया, फिलिपिन्स, चीन, पाकिस्तान, नाइजेरिया, कङ्गो र बङ्गलादेशमा मात्र विश्व कुलको दुई तिहाइ केस देखिएका छन्।

उपचार र परीक्षणमा प्रगति

  • २००० देखि अहिलेसम्म समयमै उपचारले ८३ मिलियन जीवन बचाएको अनुमान।
  • २०२४ मा ८.३ मिलियन मानिस नयाँ संक्रमित भई उपचारमा पुगे, जुन कुल संक्रमितको ७८ प्रतिशतहो।
  • छिटो परीक्षणको पहुँच ४८ प्रतिशतबाट बढेर ५४ प्रतिशत पुगेको छ।
  • सामान्य क्षयरोग उपचारको सफलता दर ८८ प्रतिशत कायम।
  • औषधि-प्रतिरोधी क्षयरोग घट्दै, २०२४ मा १.६४ लाखले उपचार पाए, सफलता दर ७१ प्रतिशतमा सुधार।
  • उच्च जोखिममा रहेका ५.३ मिलियन मानिसले रोकथाम उपचार पाए।

उच्च भार भएका देशहरूमा सामाजिक सुरक्षा असमान छ। युगान्डामा ३.१ प्रतिशत मात्र पहुँच छ भने मङ्गोलियामा ९४ प्रतिशत रहेको छ । त्यस्तै, १९ देशमा ५० प्रतिशत भन्दा कम पहुँच छ। मुख्य जोखिम कारकहरूमा कुपोषण, एचआईभी, मधुमेह, धूमपान र मदिरा प्रयोग रहेका छन्। यी समस्यालाई गरीबी जस्ता संरचनात्मक कारणसँगै बहुक्षेत्रीय प्रयासले मात्र समाधान गर्न सकिने उल्लेख छ।

वित्तीय अभाव र अनुसन्धान चुनौती

२०२४ मा क्षयरोग रोकथाम, परीक्षण र उपचारका लागि उपलब्ध रकम ५.९ अर्ब अमेरिकी डलर मात्र थियो, जुन २०२७ सम्मको लक्ष्य २२ अर्बको चौथाइ हो। २०२५ देखि दातृ निकायको सहयोग घटेमा २०३५ सम्म थप २० लाख मृत्यु र १ करोड संक्रमित हुन सक्ने चेतावनी गरिएको छ।

२०२३ मा १.२ अर्ब अमेरिकी डलर मात्र जुटिएको थियो। हाल ६३ परीक्षण विकासमा, २९ औषधि क्लिनिकल परीक्षणमा र १८ भ्याक्सिन उमेदवार परीक्षणमा छन्।

डब्ल्यूएचओका एचआईभी, टीबी, हेपाटाइटिस तथा एसटीआई विभागकी निर्देशक डा. तेरेजा कसाएभाले भनिन्, “हामी निर्णायक मोडमा छौं। वित्तीय कटौती र रोगका कारणहरूले प्रगति उल्ट्याउने खतरा छ। तर राजनीतिक प्रतिबद्धता, लगानी र वैश्विक एकताले हामी क्षयरोगलाई अन्त्य गर्न सक्छौं।”

डब्ल्यूएचओले सरकारहरूलाई राजनीतिक प्रतिबद्धता, घरेलु लगानी वृद्धि र अनुसन्धानलाई तीव्र बनाउन आग्रह गरेको छ, ताकि २०३० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य पूरा गर्न सकियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

×