
हनोइ, मंसिर २५। नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुगेको अवसरमा दुई देशका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारबारे विशेष छलफल भएको छ।
भियतनामको राजधानी हनोइमा बिहीबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच सहकार्य गर्ने सहमति बनेको छ। छलफलमा सहभागी नेपाली व्यवसायीहरूले पर्यटन, जलविद्युत्, कृषि लगायतका क्षेत्रमा भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई देशबीच आर्थिक सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै भने, “नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा ठुलोबजार सम्भावना छ। नेपाल र भियतनामका अर्थतन्त्र एक–अर्काका पूरक बन्न सक्छन्।” उनले नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण सुधारिएको, कानुन लगानीमैत्री बनेको र सरकार विदेशी लगानीको सुरक्षामा सचेत रहेको जानकारी दिए।
भियतनामी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउँदै व्यापार र लगानीका क्षेत्रमा ठुलो सम्भावना रहेको उल्लेख गरे। “हाल दुई देशबीच सहकार्य सीमित छ, तर आगामी दिनमा यसलाई विस्तार गर्नेछौं,” उनले भने।
कार्यक्रममा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले पनि नेपालमा लगानीको ठुलो सम्भावना रहेको औंल्याउँदै व्यापार र लगानीका अवसर सदुपयोग गर्न दुवै देशले पहल गर्नुपर्नेमा जोड दिए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।


Leave a Reply