
मनिला । फिलिपिन्समा नोभेम्बरदेखि मार्चसम्म चल्ने अमिहान उत्तरपूर्वी मौसमी वर्षामा हुने भारी वर्षा प्रायः ‘शियर लाइन’ नामक मौसमीय प्रणालीका कारण हुने गरेको छ। यी शियर लाइनहरू तातो र चिसो हावाको लामो पट्टी मिलेर बनेका हुन्छन्, जुन लगातार सर्दै–फर्दै जाने भएकाले उपग्रहबाट समेत सजिलै देख्न कठिन हुन्छ।
फिलिपिन्सका वैज्ञानिक नेतृत्वमा बनेको अन्तर्राष्ट्रिय टोलीले भौतिक विज्ञानमा आधारित नयाँ एल्गोरिदम विकास गरेको छ, जसले शियर लाइनलाई मात्र पहिचान गर्ने नभई त्यसलाई पछ्याउन पनि सहयोग पुर्याउँछ। कृत्रिम बुद्धिमत्तासँग एकीकृत गरिएमा यसले शियर लाइन मात्र नभई अन्तर–उष्णकटिबन्धीय अभिसरण क्षेत्र (आइटीसीजेठ) जस्ता अन्य क्षणिक मौसमीय घटनाको निगरानीमा पनि प्रगति ल्याउने अपेक्षा गरिएको छ।
“हाम्रो अध्ययन फिलिपिन्समा शियर लाइन पहिचान र निगरानीका लागि वस्तुगत सूचकांक विकास गर्ने पहिलो प्रयास हो,” प्रमुख अनुसन्धानकर्ता लिण्डन मार्क पी. ओलागुएराले भने। “शियर लाइन पहिचानका लागि विश्वव्यापी रूपमा स्वीकार्य सीमा वा मापदण्ड छैनन्, जस्तै चिसो फ्रन्ट वा उष्णकटिबन्धीय चक्रवातमा हुन्छ। यी प्रणालीहरू समुद्रको तातो पानीमा प्रवेश गर्दा संरचना हराउने चिसो फ्रन्टबाट उत्पन्न हुन्छन्।”
एटेनेओ दे मनिला विश्वविद्यालय, मनिला वेधशाला, टोकियो मेट्रोपोलिटन विश्वविद्यालय र फिलिपिन्स मौसम तथा खगोल सेवा प्रशासन (पागसा) का अनुसन्धानकर्ताहरूले दशकौँको मौसमीय तथ्याङ्क अध्ययन गरेका थिए। विशेषगरी सन् २०१७ मा शियर लाइनका कारण भएको चरम वर्षा घटनालाई आधार बनाएर उनीहरूले हावा, तापक्रम र आर्द्रता जस्ता सामान्य मौसमीय विशेषतामार्फत शियर लाइन छिट्टै पहिचान गर्ने विधि विकास गरेका हुन्।
अनुसन्धानकर्ताहरूले यो विधि उत्तरपूर्वी मौसमी वर्षामा शियर लाइनले गर्ने योगदान मापन गर्न, भारी वर्षा हुने सम्भावना बढी भएका क्षेत्र पहिचान गर्न, र यस प्रणाली कसरी विकसित हुन्छ भन्ने बुझ्न उपयोगी हुने बताएका छन्।
ओलागुएराले भने, “यस एल्गोरिदमको मुख्य प्रयोग मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणाली विकासमा हुनेछ। तर यसलाई जलवायु अध्ययन, संख्यात्मक मोडेलको परीक्षण, मौसम पूर्वानुमान प्रणाली सुधार, र पूर्वानुमानको प्रदर्शन मूल्याङ्कनमा पनि प्रयोग गर्न सकिन्छ।”
यो अध्ययनले फिलिपिन्सको मौसम निगरानी तथा पूर्वानुमान क्षमतामा महत्वपूर्ण प्रगति गरेको बताइएको छ। अनुसन्धानकर्ताहरूले शियर लाइन पहिचान अझ प्रभावकारी बनाउन थप मापदण्ड विकास गर्नुपर्ने सुझाव दिएका छन्।
लिण्डन मार्क पी. ओलागुएरा, जोन ए. मनालो, जुन मात्सुमोतो, फे अबिगेल टी. क्रुज र जोसे रामोन टी. भिल्लारिनले आफ्नो अध्ययन जापान मौसम विज्ञान समाजको साइन्टिफिक अनलाइन लेटर्स अन दि एटमसफेरमा नोभेम्बर २०२५ मा प्रकाशित गरेका थिए।


Leave a Reply