
लाखौँ वर्षसम्म ढुङ्गामा फँसेका ग्यासहरूको जटिल रासायनिक विश्लेषणले स्कटल्याण्ड र आयरल्यान्ड मुनि रहेका सुनका भण्डारहरूको उत्पत्तिबारे नयाँ खुलाशा गरेको छ।
ग्लासगो विश्वविद्यालयका प्राध्यापक फिन स्टुअर्टको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले गरेको यो खोजले भविष्यमा भूमिगत सुनका भण्डारहरूको स्थान पहिचान गर्न मद्दत पुर्याउन सक्छ।
टोलीले क्यालेडोनियन पर्वत शृङ्खलाका ‘अयस्क (ओर)’ भण्डारहरूमा रहेका सुनयुक्त सल्फाइड खनिजहरूको नमूनामा ‘मास स्पेक्ट्रोमेट्रिक’ विश्लेषण गरेर सुन भित्रि पृथ्वीबाट उत्पन्न भएको निष्कर्ष निकालेका छन्। यो निष्कर्षले विश्वका प्रमुख सुन भण्डारहरूको उत्पत्तिबारे लामो समयदेखि चलिरहेको बहसलाई समाधान गर्न मद्दत पुर्याउने देखिएको छ।
क्यालेडोनियन पर्वत शृङ्खला १,८०० किलोमिटर लामो छ, जसले उत्तर अमेरिकाको एप्लाचियनदेखि उत्तरी नर्वेसम्म फैलिएको छ। यो शृङ्खला करिब ४९०–३९० मिलियन वर्षअघि प्राचीन महाद्वीपीय प्लेटहरू लरेन्टिया, बाल्टिका, र एभालोनियाजस्ता पृथ्वीको आन्तरिक शक्तिबाट टकराउँदा बनेको उल्लेख छ।
वैज्ञानिकहरूले दशकौँदेखि बहस गर्दै आएअनुसार विश्वका प्रमुख पर्वत शृङ्खलामा रहेका खनिज भण्डारहरू पृथ्वीको बाहिरी भाग ‘भूपर्पटी’ मुनि रहेका तातो ढुङ्गा पग्लिँदा बनेका हुन् । अर्थात् भूकम्पीय हलचलका क्रममा भूपर्पटीका ढुङ्गा तातिँदा र विकृत हुँदा निस्किएका तातो तरल पदार्थले धातुहरू सारिएका हुनसक्छन् ।
जर्नल जियोलजीमा प्रकाशित एक लेखमा अनुसन्धानकर्ताहरूले निष्कर्षअनुसार क्यालेडोनियन शृङ्खलाका प्रमुख सुन भण्डारहरू भूपर्पटी प्लेटहरू टकराउँदा बनेका विशाल ग्रानाइट शरीरसँग सम्बन्धित म्यान्टल पग्लिने प्रक्रियासँग निकट सम्बन्धित छन्।
टोलीको प्रमुख अवलोकन भनेको प्राचीन अयस्क तरल पदार्थमा घुलिएका अल्प मात्रामा रहेका हिलियम मुख्यतः पृथ्वीको म्यान्टलबाट आएको हो।
स्कटिश युनिभर्सिटीज एनभाइरोन्मेन्टल रिसर्च सेन्टरमा गरिएको उच्च-परिशुद्धता मास स्पेक्ट्रोमेट्रिक विश्लेषणले पहिलो पटक देखाएको हो । रिसर्च सेन्टरका अनुसार सबै भण्डारहरूमा, आकार वा उमेर जे भए पनि, म्यान्टल पग्लिने प्रक्रियाबाट उत्पन्न भएको संकेत दिने हिलियमको समस्थानिक संरचना पाइन्छ। यसले सुनयुक्त तातो तरल पदार्थहरूको परिसंचालनलाई चलाउने ताप पनि गहिरो पृथ्वीबाट आएको हो भन्ने देखाउँछ।
टोलीले उल्लेख गरेअनुसार गहिरो स्रोतको हिलियमको अनुपात र खनिजीकरण गर्ने तरल पदार्थको तापक्रम सुन भण्डारको आकारसँग मेल खान्छ। अध्ययनले सुन अन्ततः भूपर्पटी होइन, म्यान्टलबाट उत्पन्न हुने र हिलियम समस्थानिकहरूले सम्भावित सुन भण्डारहरूको आकार निर्धारण गर्न सरल भू-रासायनिक विधि प्रदान गर्ने दुई महत्त्वपूर्ण निष्कर्ष निकालेको छ।
पश्चिमी गोल्ड एक्सप्लोरेसनका अन्वेषण भूवैज्ञानिक तथा अध्ययनका प्रमुख लेखक डा. क्यालम लायलले भने, “यी नयाँ हिलियम समस्थानिक हस्ताक्षरहरूले विश्वभरका प्रमुख खनिज प्रणालीहरूको पहिचानका लागि प्रमुख सूचकको रूपमा काम गर्न सक्छन्।”
ग्लासगो विश्वविद्यालय र स्कटिश युनिभर्सिटीज एनभाइरोन्मेन्टल रिसर्च सेन्टरका प्राध्यापक फिन स्टुअर्टले परियोजनाको नेतृत्व गरेका थिए। उनले भने, “क्यालेडोनियन ओरोजेनिक शृङ्खलाका सबै भण्डारहरूमा गहिरो हिलियमको उपस्थितिले म्यान्टल पग्लिने प्रक्रिया विश्वव्यापी महत्त्वपूर्ण सुन भण्डारको निर्माणका लागि अपरिहार्य भएको स्पष्ट देखाउँछ। अन्य प्रविधि-सम्बन्धी महत्त्वपूर्ण धातुहरूको उत्पत्तिलाई पनि यसले व्याख्या गर्छ वा गर्दैन भन्ने प्रश्न अझै खुला छ।”
लीड्स विश्वविद्यालय र तस्मानिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि यस अनुसन्धानमा योगदान दिएका छन् र सह-लेखक बनेका छन्।


Leave a Reply