
काठमाडौँ । सरकारले ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ बनाएपछि विज्ञहरूले सोको व्यवहारिक कार्यान्वयन गर्ने विषयमा अन्तरक्रिया गरेका छन् ।
काठमाडौँमा बधवार कान्तिपुर इन्टरनेशनल कलेज बुद्धनगरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङसँगको सहकार्य गरी सो कार्यक्रम आयोजना गरिएको हो ।
गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले बाँस सम्मेलनको आयोजना गरेपछि ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ आएको विज्ञहरूको भनाइ छ। तर त्यस मार्गदर्शनमा उल्लेख गरेअनुसार व्यवहारिक रूपमा प्रयोग हुन नसकेकोमा विज्ञहरू चिन्तित देखिएका छन् ।
पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले केन्द्रीय सरकारले बाँस प्रयोग सम्बन्धी मार्गदर्शन ल्याएको अवस्थामा प्रादेशिक र स्थानीय सरकारले कार्यान्वयन गर्नेबारे अन्योल रहेको बताए । उनले भने, “वातावरण मैत्री बाँसको अधिकतम प्रयोग नीति तथा अनुसन्धान कसरी र कसले गर्ने भन्नेबारे तीनै तहको सरकार प्रस्ट हुनुपर्छ । दिक्तेलमा बाँस सम्मेलन गरेपछि बाँसको महत्व बढेको पूर्वमन्त्री साहले उल्लेख गरे ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका मेयर तीर्थराज भट्टराईले विज्ञहरूले उपाय तथा प्रयोग गर्ने तरिका औँल्याएअनुसार स्वयमले पनि बाँसको प्रयोग गरी घर बनाउन पर्ने सुझाए । उनले नगर पालिकाले मात्र नभई स्वयमले बाँसबाट निर्मित घर बनाउन लागिएको बताए ।
शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर प्रदीप खनालले ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ का संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै भने, “नेपालमा बाँसबाट एघार लाख घरधुरी लाभान्वित भएको तथ्याङ्क छ ।”
उनका अनुसार नेपालमा २४ थरीका बाँसको प्रयोग स्थानीय रूपमा हुने गरेको छ। हिमाली क्षेत्रमा नियालो र तराई तथा पहाडी भेगमा धन बाँस बढी प्रयोग भएको पाइन्छन् ।
विज्ञहरूले गैरसरकारी संस्था आवारीले निर्माण गरेको बासको प्रयोग गरी बनाएको मदन पुस्तकालयको उदाहरण दिए । उनीहरूले तराई तथा पहाडी घरहरूमा प्रयोग गरिएको बाहेक कटेज रेस्टुरेन्टहरूमा बाँसको प्रयोग गरिएको उल्लेख गरे।
“तर नेपालमा संरचना निर्माण बिल्डिङ कोडले स्थानीय रूपमा प्रयोग गरिएको बाँसबाट बनेका घरहरूको नक्सा पास हुँदैन,” विभागका इन्जिनियर प्रदीप खनाल भने, “यसका लागि सहज हुनपर्दछ।”
उनका अनुसार बाँसबाट घर बनाउने अनुभवी कालिगड पनि अभाव छ । “वोर्याक्स ट्रिटमेन्ट गरेपछि यसको प्रयोग गर्न सकिने भए पनि कतिपय ग्रामीण परिवेशमा बाँसबाट बनेका संरचनामा त्यस्तो भएको देखिँदैन,” इन्जिनियर खनालले भने ।
त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति प्राडा जीवराज पोखरेलले स्थानीय स्रोत, साधन र मानव संसाधन प्रयोग गरी बाँसको भरपुर प्रयोग गर्न सकिने औँल्याए । उनका अनुसार बाँस तथा परम्परागत रूपमा बनेका घरहरू जाडोमा अधिक जाडो नहुने र गर्मीमा अधिक गर्मी नहुने विभिन्न अनुसन्धानबाट देखिएको छ।
“एक टन सिमेन्टले एक टन कार्वनडाइअक्साइड उत्पादन गर्नेछ । त्यस्तै एक टन स्टिलले २ टन कार्वनडाइअक्साइड उत्पादन गर्नेछ । तर एक टन बाँसले भने २ टन कार्बनडाइअस्साइड सोस्नेछ,” पोखरेलले भने ।
पुल्चोक इन्जिनियरिङका पूर्व क्याम्पस प्रमुख तथा आर्किटेक्ट गोकर्णबहादुर मोत्राले बाँसबाट बनेका हलुका संरचनागत घरहरू भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । उनले अधिक ओजन भएका संरचनामा भूकम्पीय जोखिम बढी देखिएको जिकिर गरे।
“नेपालमा ८० प्रतिशत घर कम लगानीमा बनेका छन्,” उनले भने, “ढुङ्गा माटो र बाँसबाट तीन तला सम्म घर बनाउन सकिन्छ।”
“बाँसको दलिनलाई कसरी बलिया बनाउने भनेर पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले विगतमा अनुसन्धान गरिसकेको छ । यसकारण हामीले बाँसलाई लामो समय टिकाउने वा किराले नखाने कसरी बनाउन भन्नेमा थप अनुसन्धान गर्न पर्ने देखिन्छ, ” मोत्राले भने ।
सोसाइटी अफ नेपलिज आर्किटेक्स (सोना)का अध्यक्ष ईश्वर लाल जोशीले सरकारले माटोमा सिमेन्ट मिसाएर बनेको घरलाई समेत मान्यता नदिएको उल्लेख गरे । उनले “बाँसका घरहरूलाई आगलागीबाट बच्ने उपायमा खोजी गर्न सुझाए ।
कान्तिपुर इन्टरनेशनल कलेजका अध्यक्ष नवीन कुमार जोशीले वातावरण मैत्री र बाँसको उपयोग मार्गदर्शन आइसकेको अवस्थामा यसको व्यवहारिक प्रयोगमा सोच्ने सबैको दायित्व भएको बताए ।
एउटा अग्राखको काठ तयार हुने रुख हुर्कन १ सय वर्ष लाग्ने देखिन्छ। तर‚ घर बनाउन मिल्ने बाँस पाँच वर्षमा उत्पादन हुने देखिएको छ । यद्यपी बाँसको प्रयोग बढाउन सकेमा बन जङ्गल फडानी रोक्ने मात्र नभई कार्वनडाइअक्साइड मात्र घटाउन मद्दत मिेल्ने विज्ञहरूले बताएका छन्।
बाँसको वैज्ञानिक नाम डेन्ड्रोक्यालमस स्पेसिस र ब्याम्बुसा स्पेसिस हो । उष्ण र उपोष्ण हावापानीमा धेरै पाइए पनि नेपालमा समुद्री सतहदेखि ४ हजार मीटरसम्म बाँस पाइन्छ । यो सबैभन्दा छिटो बढ्ने प्रजातिमा पर्दछ।


Leave a Reply