|
Getting your Trinity Audio player ready…
|

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपाल पाउरोटी उद्योग संघसँग सहकार्य गरी बुधबार खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनका वशिष्ठ सदस्य एवं स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सुशिला वैद्यले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सम्बन्धी जानकारी दिनुभयो भने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तर निर्धारण प्रक्रिया तथा ट्रान्स फ्याटको अनिवार्य गुणस्तर सम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो।
प्रमुख अतिथि अन्जन श्रेष्ठले बेकरीजन्य खाद्य पदार्थमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरणका लागि आयात बिन्दुमा नियमन आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखी थप नियमन र कारबाही गर्नुपर्नेमा जोड दिए।
नेपाल पाउरोटी उद्योग संघका अध्यक्ष कमल अधिकारीले ऐन नियम कार्यान्वयनमा उद्योगीलाई समेत समेट्नुपर्ने, नियम लागू भएपछि सफल-असफलताको मूल्यांकन गर्नुपर्ने र प्रशोधन प्रक्रियामा हुने त्रुटि सुधार गर्न उद्योगी व्यवसायीहरू सधैं सकारात्मक रहेको टिप्पणी गरे ।
कार्यक्रममा सहभागीहरूबाट ट्रान्स फ्याट समस्यामा उद्योगीको भूमिका नेपाल सरकारले स्पष्ट गर्नुपर्ने, उपभोक्ता जनचेतना र उद्योगी नियमन समानान्तर रूपमा अघि बढाउनुपर्ने तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐनबारे जनचेतना अभिवृद्धि गर्ने थप कार्यक्रम आवश्यक रहेको सुझाव प्राप्त भएको विभागले जनाएको छ।
कार्यक्रममा बेकरी उद्योगी व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।


Leave a Reply