
काठमाडौं । दक्षिण एसिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीनदिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । प्रदर्शनी अवलोकन गर्न सयौँ कला प्रेमी, कलाकार, समालोचक तथा संस्कृतिकर्मीरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रदर्शनीको उद्घाटन पुस ९ गते काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा औपचारिक समारोहबीच सम्पन्न भएको थियो । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नाफाका कुलपति नारदमणि हार्तम्छालीले कला प्रदर्शनी संस्कृतिगत समझदारी, सिर्जनशीलता तथा जनस्तरको अन्तरदेशीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे।
उद्घाटन समारोहमा प्रदर्शनी संयोजक तथा प्रख्यात मिथिला चित्रकार रञ्जु यादवले स्वागत मन्तव्य राख्दै कला भूगोल, विचारधारा र पहिचानको सीमाभन्दा माथि उठ्ने सार्वभौमिक भाषा भएको उल्लेख गरे।
चित्रकार यादवले नेपाल, बंगलादेश, भारत, मौरिससलगायतका मुलुकका कलाकारका चार दर्जनभन्दा बढी कलाकृति प्रदर्शनीमा समेटिएको जानकारी दिँदै यसले सांस्कृतिक विविधता, साझा मानवीय मूल्य र कलात्मक संवाद प्रतिबिम्बित गरेको बताए। उनले प्रदर्शनी आयोजक संस्था आर्ट हब, ढाका (बंगलादेश) तथा सह–आयोजक मिथिला आर्ट फाउन्डेसन, काठमाडौंप्रति आभार व्यक्त गरे।
प्रदर्शनीका क्युरेटर तथा आर्ट हब ढाकाका निर्देशक तैमुर हन्नान (बंगलादेश)ले पनि आफ्नो धारणा राख्दै सीमा पार कलात्मक सहकार्यको महत्व औँल्याए । उनले नेपाल–बंगलादेशबीच अघिल्ला सांस्कृतिक आदान–प्रदानको स्मरण गर्दै यस्ता अन्तर्राष्ट्रिय कला मञ्चले सिर्जनात्मक संवाद गहिरो बनाउने र क्षेत्रीय मित्रता सुदृढ गर्ने बताए ।

वरिष्ठ मिथिला चित्रकार विभा लालले धन्यवाद ज्ञापन गर्दै आयोजक, सहभागी चित्रकार, सहयोगी तथा दर्शकप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रमको अर्को प्रमुख आकर्षण पुस १० गते सम्पन्न कला कार्यशाला थियो, जसको संयोजन प्रदर्शनी संयोजक तथा मिथिला चित्रकार रञ्जु यादवले गरेको थियो । कार्यशालामा नेपालका नौ जना र बंगलादेशका छ जना चित्रकारहरु सहभागी भएका थिए ।
कार्यशालाले सिर्जनात्मक अन्तर्क्रिया, साझा सिकाइ र कलात्मक प्रयोगका लागि जीवन्त मञ्च प्रदान गरेको सहभागीहरूको भनाइ थियो । कलाकारहरूले विविध प्रविधि र विषयवस्तुमा काम गर्दै व्यावसायिक सम्बन्ध र सांस्कृतिक समझदारीलाई अझ सुदृढ बनाएका थिए ।
तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनी अवलोकन गर्न सयौँ कला प्रेमी पुगेका थिए । प्रकृति, संस्कृति, पहिचान, सामाजिक चेतना, अधिकार र समसामयिक यथार्थ झल्किने कलाकृतिहरूले दर्शकको ध्यान आकर्षित गरेको थियो । कला प्रेमीरूले प्रदर्शनीको अन्तर्राष्ट्रिय स्वरूप र दृश्य कलामार्फत सांस्कृतिक आदान–प्रदान प्रवद्र्धनमा यसको भूमिकाको प्रशंसा गरेका थिए ।
नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ पुस ११ गते सम्पन्न भएसँगै नेपालको अन्तर्राष्ट्रिय कला क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ भने छिमेकी तथा मित्र राष्ट्रहरूसँगको कलात्मक सहकार्य थप सुदृढ भएको छ ।


Leave a Reply