|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, पुष २० । कोशी प्रदेशका दुर्गम जिल्लाका स्वास्थ्य चौकीहरूमा नवजात शिशुको जीवनरक्षा गर्ने उद्देश्यले ज्योति विकास बैंकले बेबी वार्मर (न्यानोनानी) मेसिन हस्तान्तरण गरेको छ। ग्रामीण क्षेत्रमा सुरक्षित प्रसूति सेवा सुनिश्चित गर्न बैंकले आफ्ना शाखा नभएका स्थानहरूमा समेत अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ।
सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१२ स्थित सिसुवाखोला स्वास्थ्य चौकी, रमकालु गाउँपालिका–५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङ जिल्लाको जालपा–१२ स्थित पुजनसेवा नगर अस्पताल तथा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–२ स्थित एकतीन स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको हो।
उपकरण हस्तान्तरण कार्यक्रममा स्थानीय स्वास्थ्य चौकीका पदाधिकारी, चिकित्सक, नर्स तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सो अवसरमा विशेषज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो।
ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकेको छ। यसअघि प्रदान गरिएका ६६ उपकरणमार्फत हरेक वर्ष करिब २४४२ भन्दा बढी नवजात शिशु लाभान्वित हुँदै आएका छन्। हालसम्म करिब १२,२१० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा सुरक्षित सेवाबाट लाभान्वित भएका छन्।
बैंकले अन्य वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा छुट्याउँदै आएको छ। गत आर्थिक वर्षमा मात्र बैंकले रु. ४१ करोड कर योगदान गरेको जनाएको छ।
ज्योति विकास बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ


Leave a Reply