|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, पुष २५ । राष्ट्रिय समाचार समिति (रासस) ले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि परिमार्जित आचारसंहिता निर्वाचन आयोगलाई हस्तान्तरण गरेको छ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई राससका अध्यक्ष धम्रेन्द्र झा र महाप्रबन्धक सन्दिप राईसहित अन्य आयुक्तहरूले आचारसंहिता हस्तान्तरण गरेका हुन्।
राससले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी तथा संस्थाबाट उत्पादन हुने सामग्रीमा स्वनियमन सुनिश्चित गर्ने उद्देश्यले आचारसंहिता परिमार्जन, २०८२ जारी गरेको हो।
बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उक्त आचारसंहिता कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। राससले तयार पारेको २३ बुँदे संहितामा ऐन, नियम तथा विनियमको कार्यान्वयन, सामाजिक सद्भाव अभिवृद्धि, सबै राजनीतिक दलप्रति समान व्यवहार र महत्त्वजस्ता विषय समावेश गरिएको छ।
त्यसैगरी, पछिल्लो समय सूचना प्रविधिको दुरुपयोग रोक्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई), इलस्ट्रेसन तथा प्रतीक चिह्नको प्रयोगमा सावधानी अपनाउने व्यवस्था पनि संहितामा समेटिएको छ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।


Leave a Reply