|
Getting your Trinity Audio player ready…
|

अबुधाबी, पौष २७। अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) को १६औं महासभा शनिबार अबुधाबीमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस बैठकमा १७१ सदस्य राष्ट्रका मन्त्रीहरू, नीति निर्माता, प्रमुख कार्यकारी अधिकारीहरू तथा १५ सय भन्दा बढी उच्चस्तरीय प्रतिनिधिहरू सहभागी भएका छन्। यो २०२६ को पहिलो प्रमुख अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन हो।
“मानवतालाई शक्ति: साझा समृद्धिका लागि नवीकरणीय ऊर्जा” भन्ने विषयवस्तुमा आधारित यस सभाले ऊर्जा सङ्क्रमणलाई तीव्र बनाउन अन्तर्राष्ट्रिय सहकार्यका प्राथमिकता तय गर्नेछ। छलफलमा क्षेत्रीय ऊर्जा रणनीति, ग्रिड पूर्वाधार, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई), नवीकरणीय ऊर्जा वित्तीयकरण, दिगो विमान इन्धन, कृषि-खाद्य प्रणाली र हरित औद्योगिकीकरणमा नवीकरणीय ऊर्जाको भूमिका समेटिनेछ।
“ऊर्जा संक्रमणका लागि विश्वव्यापी सकारात्मक दृष्टिकोणलाई प्रज्वलित गर्ने समय आएको छ,” आइरेनाका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराले भने। “भू-राजनीतिक परिवर्तन र जलवायु प्रभावले ऊर्जा लचिलोपनलाई जोखिममा पारेका छन्। नवीकरणीय ऊर्जा वर्षेनी नयाँ रेकर्ड कायम गरिरहेको भए पनि प्रगति असमान छ।”
स्लोभेनियाका वातावरण तथा ऊर्जा मन्त्री तथा १५औं आइरेना महासभाका अध्यक्ष बोजान कुमेरले भने, “ आइरेना ले गत वर्ष चुनौतीहरू सफलतापूर्वक सामना गरेको छ र नवीकरणीय ऊर्जा प्रविधिमा विश्वसनीय आवाजको रूपमा उभिएको छ।”
डोमिनिकन गणतन्त्रकी ऊर्जा संक्रमण उपमन्त्री बेट्टी सोतोले आगामी अध्यक्षको हैसियतमा, साना द्वीप राष्ट्रहरूको दृष्टिकोण प्रस्तुत गर्दै भनिन्, “ऊर्जा संक्रमण हाम्रो लागि लचिलोपन, न्याय र सुरक्षित भविष्यसँग अविभाज्य रूपमा जोडिएको छ। सर्गासम-टु-एनर्जी परियोजनाजस्ता पहलहरूले देखाएको छ कि राष्ट्रिय संकल्प र अन्तर्राष्ट्रिय सहकार्य मिल्दा तीव्र प्रगति सम्भव हुन्छ।”
आइरेना महासभा एजेन्सीको सर्वोच्च निर्णय गर्ने निकाय हो, जसलाई ऊर्जा संक्रमणबारे समावेशी छलफलका लागि विश्वव्यापी मञ्चको रूपमा मानिन्छ। यस वर्षको छैठौं विश्व ऊर्जा संक्रमण दिवस सँगै महासभा जनवरी ११ मा उच्चस्तरीय संवादबाट सुरु हुनेछ।
महासभा अबुधाबीमा जनवरी ११–१५ सम्म हुने ‘अबुधाबी सस्टनेवेलिटी विक’को पनि उद्घाटन हो, जसमा राष्ट्राध्यक्ष, मन्त्रीहरू, उच्चस्तरीय प्रतिनिधि तथा विज्ञहरू सहभागी भई विश्वव्यापी दिगोपनाका प्रयासलाई अघि बढाउनेछन्।


Leave a Reply