|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, पौष ३० । नेपाल भौतिक विज्ञान समाज(एनपीएस) स्थापनाको अवसरमा ४३ औँ वार्षिक उत्सव एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रम त्रिचन्द्र क्याम्पसमा आज सम्पन्न भएको छ।
यस अवसरमा संस्थाका संस्थापक उपाध्यक्ष प्रा. सुरेशराज चालिसे, सचिव प्रा. देवेन्द्र राज मिश्र, सहसचिव वसन्तकुमार गौतम, कोषाध्यक्ष जयश्री अमात्य, सदस्य प्रदीपराज प्रधान र जर्नल सम्पादक प्रा. डा. देवीदत्त पौड्याललाई सम्मानित गरेको हो ।
समारोहमा वक्ताहरूले भौतिक शास्त्रको महत्त्व र यसको विकासमा युवाहरूको भूमिका बारेमा जोड दिएका थिए। संस्थापक उपाध्यक्ष प्रा. सुरेशराज चालिसेले भौतिक शास्त्रलाई आधारभूत विज्ञानको रूपमा अगाडि बढाउन हिचकिचाउनु नहुने उल्लेख गर्दै भने, “यदि बेसिक साइन्स पछाडि पर्यो भने अन्य विज्ञान पनि समृद्ध हुन सक्दैन।”
संस्थाको योगदानलाई स्मरण गर्दै त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका पूर्व डीनसमेत भएका प्रा. चालिसले आगामी दिनमा सोसाइटीले अनुसन्धान, प्रकाशन तथा वैज्ञानिक गतिविधिलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले संस्थाको उत्थानका लागि सहयोग जुटाउन र सहयोग गर्न आफू सधैँ तयार रहेको बताए।

संस्थापक सचिव प्रा. देवेन्द्र राज मिश्रले भने, “भौतिकशास्त्र अध्ययनरत युवालाई चुनौती सामना गर्न सक्ने बनाउनु पर्छ, राज्यलाई झकझकाउन सक्ने बनाउनु पर्छ, अनि मात्र हामीले राज्यलाई प्रतिफल दिन सक्छौँ।”
कार्यक्रममा त्रिचन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवं निवर्तमान अध्यक्ष प्रा.डा. निलम प्रधानले कलेजमा रिसर्च म्यानेजमेन्ट सेल स्थापना गरिएको र निकट भविष्यमा जर्नल प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले समाजलाई कलेजले सधै साथ दिने वाावरण बनाइरहेको बताइन ।
समाजका अध्यक्ष प्रा.डा. प्रदीपकुमार भट्टराईले एनपीएस नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भौतिक शास्त्र ओलम्पीयाडमा सहभागी गराएको बताए ।
सो सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सहसचिव वसन्तकुमार गौतम, कोषाध्यक्ष जयश्री अमात्य, सदस्य प्रदीपराज प्रधान र त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. नारायणप्रसाद अधिकारीले मन्तव्य राखेका थिए ।
कार्यक्रमा भौतिकशास्त्रका प्रखर प्रा.डा. उदयराज खनाल, प्रा.डा. सीताराम व्याहुत, मुकुन्दमणि अर्याल र प्राडा शेषकान्त अर्याललगायत भौतिकशास्त्रीको उपस्थिति रहेको थियो ।


Leave a Reply