|
Getting your Trinity Audio player ready…
|

चितवन, माघ ४। चितवन प्रदर्शन केन्द्रमा तीन दिनसम्म चलेको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो माघ ४ गते सम्पन्न भएको छ। माघ २ देखि ४ गतेसम्म सञ्चालन भएको यस प्रदर्शनीमा ३१ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।
नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता लगायत विभिन्न क्षेत्रका सहभागिता उत्साहजनक रहेको थियो।
मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार छोटो अवधिमा सम्पन्न भए पनि अवलोकनकर्ताको रुचि उल्लेखनीय देखिएको छ। उनले भने, “अवलोकनकर्ताले प्रविधि र उत्पादनबारे बुझ्ने, जान्ने तथा प्रयोगसम्बन्धी जानकारी लिएका छन्। प्रदर्शकहरू पनि सन्तुष्ट छन्।”
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अपेक्षाभन्दा बढी अवलोकनकर्ता आएको बताए। उनका अनुसार यसपटक लक्षित समूहका अवलोकनकर्ताको उपस्थिति उल्लेखनीय रह्यो। उनले भने, “यस्ता कार्यक्रमले सार्थकता पाउँदै गएका छन् र अवलोकनकर्ताले अधिकतम लाभ लिएका छन्।”
तीन दिनसम्म चलेको प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय भन्दा बढी स्टलहरू रहेका थिए। प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, पशु स्वास्थ्य, खाद्य प्रविधि, फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको थियो। साथै राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा संलग्न थिए।


Leave a Reply