|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, माघ ५ । नेपालमा सुर्ती उद्योगले कर वृद्धि रोक्न र नीतिगत निर्णयमा प्रभाव पार्ने गतिविधि बढाएको अध्ययनले देखाएको छ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सुर्ती उद्योगले सामाजिक उत्तरदायित्व, राजस्व परामर्श, उपहार तथा प्रायोजनका नाममा हस्तक्षेप गर्दै आएको छ।
अध्ययनले नेपाललाई विश्वका १०० देशमध्ये १४औं स्थानमा राखेको छ। नेपालले ४४ अंक पाएको छ भने डोमिनिकन रिपब्लिकले ९८ अंकसहित सबैभन्दा बढी हस्तक्षेप भएको देशको सूचीमा शीर्ष स्थान पाएको छ। दक्षिण एसियामा माल्दिभ्स ८औं स्थानमा, श्रीलंका १७औं, पाकिस्तान ३३औं, भारत ४८औं र बंगलादेश ६९औं स्थानमा रहेका छन्।
प्रतिवेदनले नेपालमा सुर्ती उद्योगले कर वृद्धि रोक्ने, चेतावनी चित्र कमजोर बनाउने, नयाँ उत्पादनलाई नियमन बाहिर राख्ने र युवालाई लक्षित प्रचार गर्ने रणनीति अपनाएको उल्लेख गरेको छ।
स्वास्थ्य विज्ञका अनुसार उद्योगको हस्तक्षेप स्वास्थ्य मन्त्रालय मात्र नभई अर्थ, उद्योग, वाणिज्य र श्रम क्षेत्रमा पनि देखिएको छ। यसले कर नीति र स्वास्थ्य नीतिलाई कमजोर पार्ने जोखिम बढाएको छ।
प्रतिवेदनले नागरिक समाज, स्वास्थ्य अभियन्ता र सञ्चारमाध्यमको भूमिकालाई निर्णायक बताएको छ। उद्योगले विद्यालय, एम्बुलेन्स खरिद जस्ता सहयोगमार्फत आफूलाई सकारात्मक देखाउने प्रयास गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
अध्ययनले नेपाललाई ‘मध्यम जोखिम’ भएको देशका रूपमा चित्रण गरेको छ। पछिल्ला तथ्याङ्कअनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष करिब ३९ हजारभन्दा बढी मृत्यु हुने र ४५ अर्ब रुपैयाँ उपचारमा खर्च हुने गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कर वृद्धि गर्न नसकिएको स्वीकार गर्दै राजस्वको लोभमा स्वास्थ्य क्षेत्रमा ठूलो खर्च भइरहेको बताए।


Leave a Reply