|
Getting your Trinity Audio player ready…
|

नेपालगन्ज, माघ ८ । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–२०, राझाँमा जैविक चौतारीमार्फत संरक्षणसम्बन्धी सवाल, चुनौती र अवसरबारे छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बास नेपालले आयोजना गरेको हो भने डिभिजन बन कार्यालय नेपालगन्जले सहयोग गरेको थियो। स्थानीय समुदाय, सरोकारवाला निकाय तथा पदाधिकारीको सहभागितामा जैविक विविधता संरक्षण, जलवायु परिवर्तनका चुनौती र समाधान उपायबारे बहस गरिएको आयोजकले जानकारी दिए।
डिभिजन बन कार्यालयका वरिष्ठ बन अधिकृत शुशिल सुवेदी, सवडिभिजन कार्यालय राझाँका तोरणदेव गिरी, सामुदायिक बन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशकी सदस्य अमृता नेपाललगायतको उपस्थितिमा भएको संवादले ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
प्रतिबद्धतामा सामुदायिक बन आसपास बसोबास गर्ने परिवारलाई क्षतिपूर्ति दिन एकीकृत कोष स्थापना गर्ने, आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्री वितरण गर्ने, चोरी–निकासी रोक्न गस्ती र सचेतना बढाउने, गुरास सामुदायिक वनमा अवस्थित पर्यटकीय स्थल संरक्षणका लागि स्थानीय तहसँग समन्वय गर्ने, गुरासपुर सामुदायिक वनमा नदी कटान रोक्न पहल गर्ने, अतिक्रमित जमिन संरक्षणका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहकार्य गर्ने उल्लेख गरिएको छ।
संवाद बास नेपालका निर्देशक हेमराज भट्टले सहजीकरण गरेका थिए। कार्यक्रममा स्वागत तथा उद्देश्यबारे डिभिजन बन कार्यालयका वरिष्ठ बन अधिकृत सुवेदीले प्रकाश पारेका थिए। झण्डै दुई घण्टा चलेको कार्यक्रम बास नेपालकी सहजकर्ता ज्वती बुढाले सञ्चालन गरेकी थिइन्। सहभागी संख्या करिब २५ रहेको आयोजकले जनाएको छ।


Leave a Reply