|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, माघ ९ । युरोपेली अन्तरिक्ष इन्जिनियरहरूले मंगल ग्रहमा सुरक्षित अवतरण सुनिश्चित गर्न विशेष खुट्टा परीक्षण गरिरहेका छन्।
युरोपीयन स्पेश एजेन्सी (इएसए)ले ‘क्सोमार्स रोसालिन्ड फ्र्याङ्कलिन रोभर मिसन ‘ सन् २०३० मा मंगलमा अवतरण गर्ने तयारी गरिरहेको छ, जसका लागि प्यारेसुट, इन्जिन र अवतरण खुट्टा अत्यावश्यक उपकरण मानिन्छ।
इटालीको ट्युरिनस्थित ‘एलटेक’ प्रयोगशालामा एक महिनाभन्दा बढी समयसम्म ‘थेल्स एलेनिया स्पेस’ र ‘एअरबस’ टोलीहरूले अवतरण प्लेटफर्मको पूर्ण आकारको मोडेल प्रयोग गरी दर्जनौं पटक ठाडो अवतरण परीक्षण गरेका छन्। ‘थेल्स एलेनिया स्पेस’ मिशनको औद्योगिक नेतृत्वमा छ भने ‘एअरबस’ले प्लेटफर्म उपलब्ध गराएको इएसएले जनाएको छ।
परीक्षणमा प्रयोग गरिएका हल्का, फैलिन सक्ने खुट्टा आपसमा जडान गरिएका छन् र झट्का सोस्ने उपकरणले सज्जित छन्। यी खुट्टाले मंगलमा पठाइने वास्तविक संरचना र आयामलाई नक्कल गरेका छन्। सम्भावित सबै अवतरण अवस्थालाई ध्यानमा राख्दै ढल्किएको वा ढुंगामाथि अवतरण भएमा पनि स्थिरता कायम गर्न सक्ने क्षमता परीक्षण गरिएको छ।
इएसएका टोली प्रमुख बेन्जामिन रासेले भने, “मंगल सतहमा अवतरण गर्दा प्लेटफर्म पल्टिनु अन्तिम कुरा हो। यी परीक्षणहरूले अवतरणको स्थिरता पुष्टि गर्नेछन्।”
अवतरण सेन्सरको परीक्षण
परीक्षण अभियानको अर्को उद्देश्य अवतरण सेन्सरहरूको कार्यक्षमता जाँच गर्नु थियो। सबै चार खुट्टामा जडान गरिएको प्रणालीले अन्तरिक्षयान सतह नजिकिँदा पत्ता लगाउँछ र नरम अवतरणपछि इन्जिन बन्द गर्छ।
यदि सेन्सरले ढिलो सूचना दिए भने रकेटको धुवाँले मंगलको माटो माथि उडाएर प्लेटफर्मलाई क्षति पुर्याउन सक्छ। यसलाई रोक्न इन्जिन बन्द गर्ने समय २०० मिलिसेकेन्डभन्दा बढी नहोस् भन्ने लक्ष्य राखिएको छ।
थप परीक्षणको तयारी
दर्जनौं ठाडो परीक्षण अवतरणमा विभिन्न गति र उचाइ प्रयोग गरिएको छ। मोडेललाई कडा सतह र धुलोयुक्त मंगल-जस्तै माटोमा झारिएको थियो।
आगामी महिनाहरूमा प्लेटफर्मलाई अझ उच्च गतिमा स्लेजमा झारिनेछ, ताकि ढल्किएको अवतरणको अवस्थामा स्थिरता परीक्षण गर्न सकियोस्। यसका लागि परीक्षण स्थलमा अतिरिक्त सुरक्षा सुधार गरिँदैछ।
उच्च-गति क्यामेरा, सेन्सर, एक्सेलेरोमिटर र लेजरबाट प्राप्त मापनहरू कम्प्युटर मोडेलमा प्रयोग गरिने बताइएको छ। इएसएका अनुसार एल्गोरिदममार्फत मंगलमा सम्भावित अवतरण अवस्थाहरूको अनुकरण गरिनेछ। मिशनको प्रक्षेपण सन् २०२८ मा हुने तय गरिएको छ।


Leave a Reply