|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, माघ १४ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा, काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा ‘काठमाडौं बिजनेश एक्सपो २०२६’ भृकुटीमण्डपमा माघ १४ देखि १७ गतेसम्म हुने भएको छ।
आयोजकले एक्सपोले काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई सुदृढ बनाउँदै स्थानीय उत्पादन, कला–संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ। घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र दृश्यता दिलाउने अपेक्षा गरिएको छ।
करिब २०० भन्दा बढी व्यवसायिक स्टल रहने एक्सपोमा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका प्रस्तुति, पर्यटन प्रवद्र्धन कार्यक्रम, स्वास्थ्य शिविर लगायतका गतिविधि हुनेछन्। आयोजकले १ लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरेको छ।
महोत्सवमार्फत बजार विस्तार, लगानी तथा व्यापारिक अवसर सिर्जना, रोजगारी बढाउने तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिइएको छ। साथै काठमाडौं महानगरपालिकाको “एक वडा – एक नमुना उत्पादन” अवधारणालाई सहकार्य गर्दै बजार प्रवद्र्धनमा जोड दिइनेछ।
कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स, हस्तकला, कृषि उत्पादन, फर्निचर, सूचना प्रविधि, ट्राभल तथा टुर, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात लगायतका क्षेत्रका प्रदर्शक सहभागी हुनेछन्।
अवलोकनकर्तामा सर्वसाधारण, व्यवसायी, उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।


Leave a Reply