|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, माघ ११ । गृह मन्त्रालयले राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी प्रचारप्रसारका क्रममा नेपालको राष्ट्रिय झण्डा जताभावी प्रयोग नगर्न निर्देशन दिएको छ।
मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता विपरीत झण्डाको प्रयोग भए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले ‘निर्वाचन आचारसंहिता, २०८२’ को प्रावधानलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
आचारसंहिताको परिच्छेद ४, दफा १३ अनुसार जुलुस, आमसभा वा कोणसभामा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने व्यवस्था छ। अन्य प्रचार सामग्री वा विज्ञापनमा झण्डा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
मन्त्रालयले चुनावमा मात्र नभई अन्य समयमा पनि झण्डाको अपमान हुने कार्य नगर्न सचेत गराएको छ। व्यापारिक विज्ञापनमा झण्डा राख्न, कम्मरभन्दा तलको कपडामा झण्डा छाप्न वा झण्डा च्यात्न–जलाउन निषेध गरिएको स्मरण गराइएको छ।
‘मुलुकी अपराध संहिता, २०७४’ को दफा १५१ अनुसार झण्डाको अपमान गर्ने व्यक्तिलाई सजायको व्यवस्था छ। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आफ्नो क्षेत्रमा झण्डाको प्रयोग आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्न निर्देशन दिएको छ।



Leave a Reply