|
Getting your Trinity Audio player ready…
|

प्यारिस, माघ १४ । युरोपको नवीनतम मौसम उपग्रहले पहिलो तस्वीर सार्वजनिक गरेको छ । जसले भविष्यमा मौसम पूर्वानुमान अझै शुद्ध बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
मेटियोसाट थर्ड जेनेरेशन–साउन्डर (एमटीजी-एस) उपग्रहले २०२५ डिसेम्बर १५ मा पृथ्वीको सतहदेखि करिब ३६ हजार किलोमिटर माथि रहेको भू-स्थिर कक्षाबाट तापक्रम र आर्द्रता देखाउने दुई तस्वीर खिचेको हो। यी तस्वीरहरू ब्रसेल्समा आयोजित युरोपियन स्पेस सम्मेलनमा प्रस्तुत गरिएका थिए।
पहिलो तस्वीरले सतह तथा बादलको माथिल्लो भागको तापक्रम देखाउँछ। अफ्रिका र दक्षिण अमेरिका तातो क्षेत्रका रूपमा गाढा रातो रंगमा देखिएका छन् भने बादलको माथिल्लो भाग निलो रंगमा चिसो क्षेत्रका रूपमा देखिन्छ।
दोस्रो तस्वीरले वायुमण्डलको आर्द्रता देखाउँछ, जहाँ सहारा मरुभूमि र मध्यपूर्व क्षेत्र सुख्खा (रातो) देखिन्छ भने अफ्रिकाको पूर्वी भागमा उच्च आर्द्रता (निलो) देखिन्छ।
युरोपियन स्पेस एजेन्सी (इएसए) का पृथ्वी अवलोकन कार्यक्रम निर्देशक सिमोनेटा केलेले भने, “ एमटीजी-एस उपग्रहबाट प्राप्त पहिलो तस्वीरहरूले यस मिशनको सम्भावना स्पष्ट देखाएका छन्। यसले युरोपमा हुने भीषण आँधी–तूफानको पूर्वानुमान गर्ने तरिका नै बदल्नेछ।”
एमटीजी-एस उपग्रह भू-स्थिर कक्षामा राखिएको पहिलो युरोपेली हाइपरस्पेक्ट्रल साउन्डर हो। यसले प्रत्येक ३० मिनेटमा तापक्रम र आर्द्रताको नयाँ तथ्याङ्क उपलब्ध गराउँछ, जसले एमटीजी-इमेजर उपग्रहबाट प्राप्त बादल र बिजुलीसम्बन्धी तथ्याङ्कलाई पूरक बनाउँने इएसएले जनाएको छ।
इएसए परियोजना प्रमुख जेम्स च्याम्पियनले यसलाई “मौसम पूर्वानुमानमा क्रान्तिकारी उपलब्धि” भनेका छन्। इएसए प्रणाली तथा पेलोड प्रबन्धक पिटर भान डेन ब्रेम्बुस्चेले भने, “यो उपकरणले १७०० इन्फ्रारेड च्यानलमार्फत पृथ्वीको वायुमण्डलको त्रि-आयामिक नक्सा बनाउन सक्नेछ, जसले आँधी–तूफानलाई अझै छिटो र शुद्ध रूपमा पूर्वानुमान गर्न मद्दत गर्नेछ।”
यस नयाँ क्षमताले युरोप र उत्तरी अफ्रिकाका समुदायलाई चरम मौसम घटनाको तयारी गर्न समयमै चेतावनी दिने अपेक्षा गरिएको छ।


Leave a Reply