|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, फागुन २३। दक्षिण कोरियाको डेगु ग्योङबुक इन्स्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी (डीजीआइएसटी) का ऊर्जा विज्ञान तथा इन्जिनियरिङ विभागका प्राध्यापक सु–इल इन नेतृत्वको अनुसन्धान टोलीले “पेरोभ्स्काइट’ आधारित ‘बेटाभोल्टाइक’ ब्याट्रीमा महत्वपूर्ण प्रगति हासिल गरेको छ।
टोलीले कार्बन–१४ न्यानोपार्टिकललाई बीटा विकिरण स्रोतका रूपमा प्रयोग गर्दै ‘पेरोभ्स्काइट’ सामग्रीलाई विकिरण अवशोषकका रूपमा विकास गरेको हो।
यस क्रममा योनसेई विश्वविद्यालयका प्राध्यापक जोङ ह्योक पार्कसँगको संयुक्त अनुसन्धानमार्फत मिथाइलअमोनियम क्लोराइड (एमएसीआइ) र आइसोप्रोपानोल (आइपीए) आधारित ‘एन्टिसोल्भेन्ट’ प्रविधि प्रयोग गरी क्रिस्टल वृद्धि तथा दोष नियन्त्रणमा सफलता प्राप्त गरिएको छ।
यस प्रविधिबाट पेरोभ्स्काइट क्रिस्टलको आकार ठूलो बनाइयो र भित्री दोष घनत्व घटाइयो, जसले बीटा कणको टकरावबाट उत्पन्न इलेक्ट्रोनहरू पुनः संयोजनमा नफस्ने वातावरण सिर्जना गर्यो। परिणामस्वरूप, टोलीले प्रति बीटा कण करिब ४ लाख इलेक्ट्रोन उत्पन्न हुने “इलेक्ट्रोन एभालान्च” घटनालाई प्रयोगात्मक रूपमा पुष्टि गरेको छ।
विकसित ब्याट्रीले १०.७९ प्रतिशत ऊर्जा रूपान्तरण दक्षता हासिल गरेको छ, जुन अघिल्लो पेरोभ्स्काइट आधारित बेटाभोल्टाइक ब्याट्रीको करिब १.८३ प्रतिशत दक्षताभन्दा करिब छ गुणा बढी हो। लगातार १५ घण्टाभन्दा बढी सञ्चालन परीक्षणमा पनि प्रदर्शनमा गिरावट देखिएन।
प्राध्यापक इनले भने, “यस अध्ययनले परम्परागत बेटाभोल्टाइक ब्याट्रीको कम दक्षता समस्यालाई पेरोभ्स्काइट सामग्री प्रयोग गरेर समाधान गरेको छ। हामी आगामी दिनमा यसलाई चौथो औद्योगिक क्रान्ति र एआई प्रविधि क्षेत्रमा स्वतन्त्र ऊर्जा स्रोतका रूपमा व्यावसायिकरण गर्न थप अनुसन्धान गर्नेछौं।”
यो अनुसन्धानलाई दक्षिण कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय, राष्ट्रिय अनुसन्धान प्रतिष्ठान लगायतका कार्यक्रमहरूले सहयोग गरेका थिए। अनुसन्धान नतिजा कार्वन इनर्जी जर्नलमा प्रकाशित गरिएको छ।


Leave a Reply